Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुंगी २०७१ कार्तिक २९ गते

28th November 2014   ·   0 Comments

फुचुंग्री : सुन्नु भो काका ? हाम्रा प्रचण्ड अंकल एक साताका लागि रोल्पातिर आएको त राजधानीमा निकै हल्लीखल्ली पो मच्चियो । रोल्पासँग किन यति त्रसित छन् मान्छेहरु ?

काका : तेरा प्रचण्ड अंकल पनि कम्ताका छन् र भन्या ? रोल्पामा जान्छु, बंकरमा पस्छु, लात खान बानी परेकाहरुले बात मानेनन् भनेर हुंकार छोड्न थालेछन् । अनि त डरले थुरथुर काँप्न थाले होलान् नि त । त्यै भएर कोकोहोला मच्चिएको त होला नि ।

फुचुंग्री : सुकुम्बासी समस्या समाधान आयोगले हुकुम्बासीका समस्या पनि समाधान गर्ने भनेर प्रचार गरेछ काका । अनि त सम्हाल्नै नसक्ने मान्छेको लर्को लागेपछि समाधान गर्ने आयोग आफै अल्झेको छ रे । अब त्यो आयोग अल्झिरहला कि समाधान गर्ला हँ काका ?

काका : खै फुच्ची ? उहिले उहिले हाम्रा पालामा नि सुकुम्बासी समस्या समाधान गर्ने भन्थे । उतिबेलादेखि अहिलेसम्म समाधान हुन सक्या छैन । “नमच्चिने पिङको सय झड्का” हो कि साँच्चै हो ? त्यो त अब थाहा हुँदै जाला नि त ?

फुचुंग्री : हाम्रा मोदी अंकल फेरि नेपाल आउन थाल्नुभा’छ रे । जताजता मोदी अंकल जाने कार्यक्रम छ उतै उतैका ठाउँहरु त सिंगापुरै पो भा’छन् रे त ?

काका : धन्न तेरा मोदी अंकल आउने भएछन् । कमसेकम उनलाई देखाउन केही दिनलाई भए पनि झिंगापुर एक्कासी सिंगापुर भएछ । बरु तेरा मोदी अंकललाई छ महिना बिराएर यता आउने व्यवस्था मिलाए नेपालको विकास छिट्टै हुन्थ्यो कि ?

फुचुंग्री : अनि हाम्रा हात्ती पार्टीका टाउके नेताको शीर्ष हो कि पुच्छर बैठक र “वीरबलको खिचडी”मा के फरक छ हँ काका ?

काका : उफ !!! के–के सोध्छे यो फुचुंग्री पनि ???!!!

By

Readers Comments (0)