Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुंग्री | २०७१ कार्तिक २२

28th November 2014   ·   0 Comments

फुचुंग्री : हजुरका बूढेसकालका कानमा परे कि नाइँ ? हाम्रा रामचन्द्र पौडेल अङ्कलले त यसपालि लास्टै बाजी मारेछन् । एकैपटकमा छोरा, सम्धि र ज्वाईंलाई गतिलैसँग लक्ष्मीको बास हुने ठाउँमा सरकारी नियुक्ति दिलाएछन् नि ! भगवानले दिन थालेपछि त छप्परै फाँडेर दिन्छन् भन्छन् । हो रै’च नि काका ?

काका : बिचरा ! १७ पटकसम्म प्रधानमन्त्रीमा लडेका हुन् तर सजिलै फुस्के । तेरा सुशील अङ्कलले कार्यवाहक सभापति पनि नदिएपछि बूढा ठुस्केर बसेका छन् भन्ने हल्ला थियो । ठिकै छ, कांग्रेस र एमालेको खानपिनमा भागबण्डा पनि मिल्यो रे । देशै त खाइसक्न थाले, तेरा रामचन्द्र अङ्कलका छोरा, सम्धि र ज्वाईं त तह लागेछन् कम्तिमा !

फुचुंग्री : कांग्रेस र एमालेले उच्चस्तरीय संयन्त्रको बैठक बहिस्कार गर्ने भएपछि संयन्त्रले त हावा खालाजस्तो पो भो रे त काका ? यो तालले संविधान ल्याउलान् त नेताहरुले ?

काका : खै के खै के ? तेरा केपी ओली अंकलले त ‘असंवैधानिक संयन्त्र’को बैठकमा नजाने भन्दिए रे । कि त असंवैधानिक संयन्त्र नबनाउनुपर्ने । बनाएपछि बैठकमा गएर के पो बिग्रिने थियो र ? हुन त यत्रो १०–१२ वर्षसम्म बैठक बसेर के लछारपाटो ला’छन् र नि ?

फुचुंग्री : हाम्रा डा. गोविन्द केसी अंकल त फेरि पनि अनसन बस्ने रे । यी बूढाले पनि खाने भनेर गएका स्वास्थ्यमन्त्री र तिनका आसेपासेलाई राम्ररी ‘गरिखान’ नदिने भए नि ?

काका : त्यै त भन्या फुच्ची । बिचरा डाक्टरसापलाई तोरी पेलेको जस्तो पेल्ने रै’छन् । तर, तेल चुहिएला भनेको त बूढा फुत्त निस्केर उल्टै भोक हड्तालको धम्की दिन थाले । बिचरा भोकानाङ्गाहरुको लस्करलाई ‘कबावमा हड्डी’ बनेकै छन् बूढा । सक्ने भए उहिल्यै घारी पुराइदिने थिए । अलि आँट्न सकेका छैनन् र पो ?

फुचुंग्री : हाम्रा खुमबहादुर खड्का अंकल भ्रष्टाचारको आरोपमा मामाघरमा बसेर आएपछि बिक्न छाडेका थिए । बिक्न छाडेपछि बूढाले त धर्मको व्यापार पो शुरु गरेका छन् रे नि ?
काका : उफ !!! के के सोध्छे यो फुचुंग्री पनि ???!!!

By

Readers Comments (0)