Filed Under:  पर्यटकीय गन्तव्य

अप्सराझैं सुन्दर स्यार्पू दह | धनिराम शर्मा

28th November 2014   ·   0 Comments

Syarpu tal Rukum bigनीलो र कञ्चन पानीले भरिएको स्यार्पू साँच्चिकै अप्सराजस्तै देखिन्छ । कञ्चन जलको बहावले प्रकृतिसँग रम्नेहरुलाई मोहित बनाउने जादू स्यार्पूसँग छ । अजंग पहाडहरुको बीचमा प्राकृतिक सुन्दरताले ठाँटिएर पर्यटकलाई नियालिरहेको छ– स्यार्पू । कयौं आन्तरिक तथा बाह्य पर्यटकलाई लठ्ठ बनाएको स्यार्पूले नयाँ आगन्तुकहरुको आगमनलाई चियाइरहेको छ । खासगरी शरद र बसन्त ऋतुमा अत्यन्तै मनमोहक देखिने स्यार्पू प्राकृतिक नामधारी अप्सरा बनेर अतिथिको स्वागत गर्दछ शान्ति रंगको भावले ।

मानवलाई मात्र सत्कार स्वागत होइन पशुपंक्षीहरुलाई पनि स्यार्पूले सुन्दरताको मोहनी लगाएको छ । त्यसैले थुप्रै चराचुरुंगी स्यार्पूको निलो बहावमा रम्ने गर्दछन् । त्यही सुन्दरताको मोहनीले पर्यटकलाई प्राकृतिक आनन्दको अनुभूति हुने गर्दछ ।

रुकुमको सदरमुकाम खलंगादेखि पाँच कोष उत्तरतर्फ पर्दछ स्यार्पू ताल । सानी भेरीको दायाँतर्फ अवस्थित स्यार्पू प्राकृतिकरुपमा निकै मनमोहक छ । सदरमुकाम खंलगाबाट सडक यात्राबाट चालीस मिनेट दूरीमा पुग्न सकिने स्यार्पू तालले २ दशमलव ६ वर्ग किलोमिटरमा फैलिएको छ । पर्या–पर्यटन गर्न चाहनेले पर्यटकले स्यार्पूमा डुंगा बिहार, विभिन्न चराचुरुंगीहरुको अध्ययन अवलोकन गर्न सक्छन् । तालको उत्तरतिर रहेका पहाडमा नौ वटा धारामा विभाजित भई बग्ने स–साना झरनाहरु छन्– जसलाई नौ बहिनी भगवतीहरुले स्नान गरेको धार्मिक विश्वास छ । पर्या–पर्यटनको हिसाबले मात्र होइन धार्मिक पर्यटनका लागि पनि नौ धाराहरु गन्तव्यका आधार हुन् । तर पर्यटकीय महत्व बोकेको स्यार्पूको संरक्षण सम्वद्र्धनमा अपेक्षाकृत ध्यान नपुगेको स्थानीयहरु बताउँछन् ।

Syarpu tal rukumस्यार्पूको सुन्दरता बिस्तारै संकटमा पर्दै गएको त्यहाँका बासिन्दाहरुले चिन्ता गरेका छन् । ताल संरक्षणमा पहल भए पनि तालमाथिका पहाडबाट वर्षेनी बग्ने माटोले ताल पुरिदै गएको स्थानीय तुलसा मल्लले बताइन् । स्नातक तह अध्ययनरत मल्लले तालका लागि बजेट आए पनि दलका अगुवाहरुले संरक्षणभन्दा सडक बनाउनतिर लागि पर्नाले ताल खतरामा रहेको मल्लले बताइन् । ‘तालमाथि सडक बनाउने अनि वर्षातमा माटो बग्ने गरेको छ, उनले भनिन्, ‘बग्ने प्रक्रिया वर्षातमा निरन्तर छ ।’ प्राकृतिक रुपमा सुन्दर रुकुमको गहना स्यार्पूलाई सम्वद्र्धन गर्न ध्यान दिइएन भने दश पन्ध्र वर्षमा ताल पुरिदै जाने उनको दावी छ । राजनीतिक दलका अगुवाहरुले क्षणिक लाभका लागि मात्र सोच्ने तर त्यसको दिर्घकालीनरुपमा आउने समस्याका बारेमा गम्भीर नबन्दा बजेटको सही सदुपयोग हुन नसकेको उनको जिकीर छ ।

राप्तीमै पर्यटनको क्षेत्रमा रुकुमले अब्बलता कायम गरेकोबाट पनि प्रष्ट हुन्छ रुकुममा पर्यटकीय सम्पदाहरुको संरक्षण प्रर्वद्धनका काम भएका छ भनेर । तर भएका कामहरुले मात्र स्यार्पूको सुन्दरतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न नसकिने पर्यटनसँग सरोकार राख्नेहरुको धारणा छ । दिगो व्यवस्थापनसहितको गुरुयोजना कार्यान्वयन गर्न सम्बन्धित निकायले ध्यान दिन आवश्यक भएको उनीहरुको सुझाव छ । गुरुयोजनासहितको पर्यटन विशेष कार्यक्रम सञ्चालन गर्न सके स्यार्पूको महत्वलाई थप अभिवृद्धि गर्न सकिने उनीहरुको धारणा छ ।

स्यार्पूमा डुंगा बिहारपछि सानी भेरीमा पर्यटकले ¥याफ्टिङको पनि आनन्द लिन सक्छन् । सानी भेरीको बहावको संरचनाले अधिकांश स्थानमा ¥याफ्टिङ गर्न सकिन्छ । स्यार्पू पुग्ने पर्यटकले छोटो पैदलपछि ¥याफ्टिङ पनि सम्भव छ ।

पर्यटकीय गन्तव्यहरुसम्म पुग्नका लागि ट्रेकिङ रुटहरु पनि रेखांकन भएका छन् । खलंगादेखि स्यार्पू, सानीभेरी, कमलदह, सिस्ने र ढोरपाटनलगायतका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकहरु पुग्न सक्छन् । यतिमात्र होइन मगर संस्कृतिले सम्पन्न रुकुमका तकसेरा, हुकाम, मैकोटलगायतका मगर बस्तीमा सांस्कृतिक स्वाद पनि चाख्न पाउँछन् ।

sarpu tal baphiklotस्यार्पूको पर्यटन प्रवद्र्धन गर्न स्यार्पू महोत्सवको पनि आयोजना गरिएको थियो । त्यस्तै, साहसिक खेल ट्राथलनको परिक्षण पनि गरिएको थियो । पर्या, साहसिक र सांस्कृतिक पर्यटनका लागि स्यार्पू एक उचित गन्तव्य भएको स्थानीयबासिन्दा बताउँछन् । जिल्ला विकास समितिको नेतृत्वमा भएका कार्यक्रमले केही परिणाम पनि ल्याएको स्थानीय अगुवाहरुको धारणा छ । पर्यटनबोर्ड, बाँफीकोट गाविस र स्वयं जिविसको लगानीमा प्रचार प्रसार र पूर्वाधार निर्माण गरिएका छन् । तर दिगो व्यवस्थापनमा अझै ध्यान जानुपर्ने उनीहरुले औंल्याएका छन् ।

उता स्थानीय विकास अधिकारी भरतकुमार शर्माले उपभोक्ताको मागका कारण सडक खनिएको बताएका छन् । सडक निर्माण भए पनि ताललाई बचाउन पहल भइरहेको शर्माले बताए । ताल संरक्षणको लागि जिविसले पनि पहल लिइरहेको बताउँदै युनाइटेड मिसन नेपालले संरक्षणका लागि काम गरिरहेको शर्मा बताउँछन् । ‘स्यार्पूलगायत अन्य पर्यटकीय गन्तव्यको लागि जिविसबाट कार्यक्रम सञ्चालन गरेका छौं ।’ तालको लागि पर्यटन बोर्ड, जिल्ला विकास समिति, गाविस र जिल्ला भू–संरक्षण कार्यालय रुकुमले प्रवद्र्धन र पूर्वाधार निर्माणमा लागि परेको स्थानीय विकास अधिकारी शर्माको तर्क छ । गुरुयोजना निर्माणपछि रुकुमको दिगो पर्यटनमा सहयोग पुग्ने उनको विश्वास छ ।

स्यार्पू तालमा माछापालन गरी आयआर्जन गर्ने गरिएको छ भने तालबाट दुइ सय पचास वाटको विद्युत उत्पादन गरी सदरमकाम लगायत आसपासका बस्तीमा पनि उज्यालो पु¥याउने काम भएको छ । प्राकृतिक सुन्दरता मात्र होइन स्यार्पूसँग ऊर्जा कृषिका लागि पनि उपयुक्त गन्तव्य बनेको छ । विकास निर्माण गर्दा केही क्षति हुने भए पनि दिगो व्यवस्थापनमा ध्यान दिन सके पर्यटकीय गन्तव्यहरुको संरक्षण गर्न सकिन्छ । त्यसका लागि जिम्मेवार निकायहरुले गम्भीरता देखाउन सकेमा स्यार्पूजस्ता उत्कृष्ट गन्तव्यहरुलाई बचाउँदै स्थानीयको जीवन रुपान्तरणको माध्यम पर्यटकीय गन्तव्यकहरु बन्न सक्ने अर्थ विश्लेषकहरु बताउँछन् ।

By

Readers Comments (0)