Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

२०७१ कार्तिक १ गते शनिबार

9th November 2014   ·   0 Comments

फुचुंग्री : हाम्रा प्रचण्ड अंकलको कुरा सुन्नु भो काका ? खुला मञ्चबाट जुँगा बटार्दै कांग्रेस र एमाले पहिचानसहितको संघीयतामा नआए जनविद्रोह गर्ने चेतावनी पो दिनुभएछ हगि ?

काका : यस्तै हो फुच्ची नेपालको चलन । सत्तामा जो छ उसले दुबै कान थुनेर बस्ने अनि विपक्षीको कुरै नसुन्ने । विपक्षीले चाहिं धम्कीमाथि धम्की दिइरहने । कहिलेकाहीं धम्की दिने सत्तामा गए भने उसले पनि कान नसुन्ने अनि पहिले कान नसुन्नेले चाहिं फेरि धम्कीमाथि धम्की दिइरहने । कि कसो ?

फुचुंग्री : अनि हाम्रा सुशील’दा र केपी शर्मा ओली अंकलबीच त कानको जाली फुट्ने गरी मोबिलमा चर्काचर्की र भनाभन पो भो रे नि ?

काका : एउटालाई थाहै नदिएर अर्कोले कपाकप खान थालेपछि बूढाहरुको चर्काचर्की भा’को रे । कानको जाली फुट्नेमात्र हैन झण्डै सरकारको कुर्सीसमेत भूइँचालोले हल्लाएझैं हल्लाएको रे । धन्न ढल्दाढल्दै बचेको रे नि । बुझिस् ?

फुचुंग्री : हाम्रो संविधानसभामा फेरि कार्यतालिका फेर्ने कुरा आएछ काका । यिनीहरुले हाम्रो पुस्ता मरिसकेपछि पनि संविधान बनाउँदैनन् कि क्या हो नि ?

काका : खोई ? तँ फुच्ची फतरफतर गर्दागर्दै यति ठूली भइहालिस् । तेरो पुस्ताको पालामा त जसोतसो आइहाल्ला । बरु म बूढो पो गणतान्त्रिक नयाँ नेपालको संविधान नदेखेरै मर्छु कि क्या हो !

फुचुंग्री : हाम्रा ड्यास माओवादीका अध्यक्ष मोहन वैद्य अंकलले त पार्टी फुटाउनाले एमाओवादी र आफ्नो पार्टीलाई घाटा लागेको पो बताएछन् । ‘कुन गतिको मति घट्टमा हालेर झन घटी’ भनेजस्तो भएछ कि क्या हो काका ? बूढाको बुद्धि फिरेकै हो त ?

काका : उफ !!! के के सोध्छे यो फुचुंग्री पनि ???!!!

By

Readers Comments (0)