Filed Under:  पर्यटकीय गन्तव्य

प्राकृतिक तथा धार्मिक पर्यटन केन्द्र कुमाख

9th November 2014   ·   0 Comments

kumakha_1प्रतीक इच्छुक शर्मा

कुमाख धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थलको नाम हो । सल्यान सदरमुकाम खलंगाबाट आठ घण्टा पैदल यात्राको दुरीमा रहेको कुमाख धार्मिक तथा प्राकृतिक पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।

समुन्द्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख पहाड जिल्लाकै सबैभन्दा अग्लो पहाड हो । जिमाली, मर्मपरिकाँडा र शिद्धेश्वरी गाविसको संगमको रुपमा रहेको पहाडको चुचुरोमा शिद्ध मन्दिर रहेको छ ।

पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफाहरु पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ । गुफाको अवलोकनका साथै पूजा आरधना गर्नेको पनि कमी नरहेको कर्ण चलाउनेले बताए । उनले भने, ‘गुफाहरुमा रहेका विभिन्न खालका आकृतिहरु निकै रमणीय रहेका छन् ।’

स्थानीयहरुले कुमाखमा रहेको गुफाबाट पठाएका कुकुरहरु बाँझकाँडाको मोख्ला र कालागाउँ थदरामा रहेको गुफाबाट निस्किएकाले गुफाहरुको लम्बाइ निकै भएको भनाई छ । पहिले गुफाको लम्बाइ पत्ता लगाउन ककुर पठाएको बूढापाकाले सुनाएका जिमालीका लिलाधर रेग्मीले बताए । उनले भने, ‘पचास मिटरभन्दा तल कोही गएका छैनन् ।

कुमाख प्राकृतिकरुपमा निकै मनोरम रहेको छ । कुमाखको टुप्पोबाट १५ जिल्लाका भू–भागहरु देख्न सकिन्छ । कुमाख पहाडबाट उत्तरमा रहेका सिस्ने, धौलागिरी, चाखुरे हिमाल, डिग्रे भगवतीको मन्दिर, जन्ती बस्ने लेकलगायतका ढुङ्गे पहाड र अधिकांश गाउँहरु एवम् तराईका विभिन्न भू–भाग अवलोकन गर्न सकिने मर्मपरिकाँडाका शिक्षक हेमराज केसीले बताए । उनका अनुसार कुमाख पहाडको चुचुरोबाट भारतको रुपैडियासम्म देख्न सकिन्छ ।

kumakha_2कुमाख पहाडमा उच्च पहाडी जंगलमा पाइने महत्वपूर्ण जडिबुटी, बस्नपति, फूलहरु पनि पाइन्छन् । त्यस्तै, दुर्लभ मानिएका चराचुरुङ्गी र जंगली जनावरहरु पनि कुमाख पहाडका आसपासमा रहेका जंगलमा पाइने गरेका छन् । पहाडमा रहेका गुफा, खोंच र वनजंगल निकै बाक्लो रहेकाले पनि जंगलमा राते मृग, घोरल, चितुवा रहेको स्थानीयको भनाई छ । पछिल्लो केही समययता कुमाख र आसपासका जंगलमा चोरी शिकारी बढेको भन्दै स्थानीय डिल्लीप्रसाद जैसीले संरक्षणतर्फ सबैको ध्यान जानुपर्ने बताए । उनले भने, ‘प्राकृतिक र धार्मिक महत्वको कुमाख पहाडको संरक्षण, विकास र सम्वद्र्धनमा सबै लाग्न जरुरी छ । वन्यजन्तुहरुको सुरक्षित बासस्थानका रुपमा समेत कुमाखको वनजंगल संरक्षित गर्नुपर्ने देखिन्छ ।’

कुमाखलाई दृश्यावलोकनका लागि भ्यूटावरको रुपमा विकास गर्न सके आन्तरिक पर्यटनका साथै बाह्य पर्यटनको गन्तव्य कुमाख बन्न सक्ने निश्चित छ । कुमाख पहाड भएर ढोरचौर–गुरुदासे–स्यानीपिपली सडक, थारमारे–चौरपानी–ओखरबोट गुरुदासे सडक निर्माण गरिएको छ । दुबैतिरबाट कुमाखको टुप्पोमा पुग्न उकालो एक घण्टा पैदल यात्रा गरे टुप्पोमा पुग्न सकिन्छ । कुमाखको टुप्पोमा अहिले दक्षिण पश्चिम मोहडाबाट आरोहण सहज रहेको छ । प्राकृतिक एवं धार्मिक पर्यटकहरुको लागि अध्ययन, अनुगमन र दृश्यावलोकन गर्नका लागि कुमाख पहाड राम्रो गन्तव्य बन्न सक्छ ।

धार्मिक विश्वासका साथ भक्तजनहरुले कुमाखमा रहेको सिद्ध मन्दिरमा चतुर्दशी र कोजाग्रत पूर्णिमाको दिन पूजा आरधनाका गर्ने गरेको पुजारी लालबहादुर डाँगीले बताए । उनले भने, ‘पहिलो पटक कुमाख पुग्नेले सात पटक मन्दिरको परिक्रम गरेर बर माग्ने र सो पूरा भएपछि भेडाको बलि चढाउने प्रचलन चलिआएको छ ।

कुमाखमा कोजाग्रत पूर्णिमाका दिन सिद्ध मन्दिरदेखि १ किलोमिटर तल जिमालीतर्फको समथर भू–भागमा मेला (जात्रा) लाग्ने गर्दछ । मेलामा आसपासका विभिन्न गाउँका मेलारुहरुले स्थानीय लोकसंस्कृति झल्कने बनगाडी, टप्पा, सोरठी, पैसेरी, दोहरी ,सेरेङ्गेजस्ता नाच प्रदर्शन गर्ने गर्दछन् । आ–आफ्ना गाउँका पहिचान मेलामा देखाउने, जमघटन हुने पर्वका रुपमा कुमाख मेलालाई लिइने साहित्यकार एवम् राजनीतिकर्मी मोहलाल चन्दले बताए । लोकसंस्कृतिमा कुमाख मेलाले टेवा पु¥याए पनि विस्तारै लोप हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

पूर्वाधारको निर्माणको साथै प्रचारप्रसार गर्न सके यसबाट आन्तरिक र बाह्य पर्यटनको केन्द्रको रुपमा कुमाख पहाड पर्यटन गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना रहेको छ ।
०००

By

Readers Comments (0)