Filed Under:  पर्यटकीय गन्तव्य

ओझेलमा नौ बहिनी देवस्थल | राधिका भुसाल

11th October 2014   ·   0 Comments

Radhika_bhusalsayaulibangभौगोलिक हिसाबले १ हजार ३ सय ६५ वर्ग किमि क्षेत्रफल ओगटेको प्यूठान जिल्ला एक सुन्दर र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको जिल्ला हो । यहाँका विभिन्न ठाउँहरु स्वर्गद्वारी, गौमुखी, भित्रीकोट, झाँक्रीस्थान, ऐरावती, नौ बहिनी देवस्थल र विभिन्न स्थानमा रहेका मन्दिर र गुफालगायतका रमणीय धार्मिक स्थालहरुले प्यूठानको परिचय दिएका छन् । तर, जिल्लाका यी पर्यटकीय स्थलहरुको उचित प्रचार प्रसार, विकासका पूर्वाधार र पर्यटकीय दृष्टिले उनीहरुको संरक्षण र सम्वद्र्धन हुन नसक्दा सम्भावनासँगै चुनौतीहरु तेर्सिएका छन् ।

प्यूठान जिल्लाकै उच्च स्थान स्याउलीवाङ गाविसस्थित कोठीभीरमा नौ बहिनी देवस्थल भएता पनि प्रसार प्रसार र प्रर्वद्धन हुन नसक्दा ओझेलमा परेको छ । प्यूठानको बाग्दुलाबाट बाहाने हुंँदै उकालो चढी करिब २६ किमि उत्तरपूर्वमा पर्दछ नौ बहिनी देवस्थल । स्याउलीवाङ गाविसको ठूलो गाउँबाट पश्चिम उत्तर पँधेरा खोलाको किनारबाट करिब डेढ किमि हिडेपछि नौ बहिनी देवस्थल पुग्न सकिन्छ । यस आसपासको करिब साढे दुई किमि क्षेत्रलाई नौ बहिनी क्षेत्र भनिन्छ । स्याउलीवाङ समुन्द्र सतहबाट करिब १ हजार ६ सय ३७ मिटरको उचाइमा अवस्थित नौ बहिनी देवस्थल रहेको छ ।

किंवदन्तीअनुसार नौ बहिनी देवताका नौ बहिनीहरुले महिलाको रुपधारणा गरी नौ वटै दिशातर्फ नाता सम्बन्ध राखी विभिन्न अनुहारका र विभिन्न स्वभावका मानिसहरुको जन्म भएकाले ती सबै दाजुभाइ दिदीबहिनीहरु एकै ठाउँमा भेट भई नौ वटै बहिनीहरुको पूजाआजा गरेको हुँदा यही स्थानमा देवस्थल स्थापना गरी पूजाआजा गरेको जनविश्वास छ ।

लोपोन्मुख संस्कृति तथा भेषभुषालाई जोगाइराख्नु यहाँका बासिन्दाको अर्को महत्वपूर्ण विशेषता हो । यहाँ कोदो, गहु, जौं, मकै, आलुलगायतका कृषिजन्य वस्तुहरु उत्पादन गर्न सकिन्छ । विदेशतिर लोभिएका युवायुवतीहरुलाई गाउँमै सीप सिकेर आफ्नै ठाउँमा बसी रोजीरोटी गर्न सकिन्छ भन्ने पाठ स्याउलीवाङबासीले सिकाएका छन् । उनीहरुले दैनिक रुपमा सिस्नोको धूलो बनाउने, झोला बुन्ने, धागोबाट विभिन्न सामग्रीहरु बुन्ने, डोको, लोरो बनाउने अनि विभिन्न सजावटी सामानहरु रुमाल, लेस बुन्नेलगायतका काम गरी आफ्नो जीविका निर्वाह गर्दै आएका छन् ।

यहाँ पर्यटकहरुलाई भित्र्याउन सके ग्रामीण स्तरमै उत्पादित सामग्रीहरुले बजार पाउनुका साथै संस्कृतिसँग जोडिएको परम्परागत सीप, कला र रहनसहनको संरक्षण गर्न सहज हुने देखिन्छ । यहाँको ऐतिहासिक पृष्ठभूमिलाई आत्मसात गर्ने हो भने नौ बहिनी देवस्थल र स्याउलीबाङ क्षेत्रलाई जिल्लाकै महत्वपूर्ण पर्यटन गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।

स्याउलीबाङ र त्यहाँको नौ बहिनी देवस्थलको संरक्षण, सम्वद्र्धन र विकासका लागि सबैभन्दा पहिले मोटरबाटोको राम्रो व्यवस्था गर्नुपर्ने देखिन्छ । साथसाथै अन्य विकासका पूर्वाधारहरुको निर्माणतर्फ सबैको ध्यान जान जरुरी छ । बाक्लो जनजाति बस्ती भएको कारण पनि स्याउलीबाङमा होमस्टे सञ्चालन गर्न सकिने राम्रो सम्भावना छ ।

By

Readers Comments (0)