Filed Under:  पर्यटकीय गन्तव्य

फालाबाङ भगवतीको धार्मिक र ऐतिहासिक

11th October 2014   ·   0 Comments

Guruprasad Sharma-[गुरुप्रसाद शर्मा रेग्मी]

विजया दशमीको पावन अवसरमा भुवनेश्वरी भगवतीको दर्शन गर्न भनेर १७ जनाको हाम्रो पारिवारिक टोली सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ११ को फालाबाङमा स्थित निकै पुरानो धार्मिक र ऐतिहासिक महत्व राख्ने भुवनेश्वरीको दर्शन गरेर आत्मिक आस्था र निष्ठा राखेर गयौं । भगवती भुवनेश्वरीको दर्शन गरेर आत्मिक सुख र आनन्द प्राप्त हुन गयो । यो मन्दिर कसले बनायो होला भन्ने जिज्ञासाले मनमा कुत्कुती लाग्न थाल्यो । जानकारी लिने उद्देश्यले सोधपुछ गर्दा परिचय हुने कुनै बुकपोष्ट या अरु कुनै साधन देखिएन । स्थानीय ज्येष्ठ नागरिकसँग भेट गरेर केही जान्ने प्रयासमा थिएँ । त्यही बेला पूर्वपुजारी नारायणप्रसाद उपाध्यायका छोरासँग भेट हुन गयो । उहाँले दिएको जानकारीअनुसार पाठकहरुलाई पनि सुखद धार्मिक अनुभूति गराउने उद्देश्यले भुवनेश्वरी भगवतीको प्रसादीको रुपमा पाठकहरुसामु पस्किदिएको छु ।

भुवनेश्वरी मन्दिरको पूर्वदक्षिणको कोठामा रहेको शिलागढीमा राजाको दरबार थियो । राजालाई सपनामा भुवनेश्वरी भगवतीले आफू फालाबाङको टापुमा रहेको गुफामा रहेको र त्यहाँ आई पूजा गर भनेपछि राजाले त्यहाँ गएर हेर्दा भुवनेश्वरीको दर्शन पाएपछि पूजाअर्चना प्रारम्भ भएको रहेछ । पूजा सधैं नियमित भइरहोस् भनेर दुई स्थानमा राजाले विर्ता दिएका रहेछन् त्यसैबाट पूजा चलिरहेको थियो । एउटा स्थान सल्यानमै भएकाले त्यसबाट नियमितरुपमा आयस्ता आइरहेको छ । अर्काे विर्ताबाट पहिले आयस्ता आए पनि हाल त्यो रोल्पामा परेको र त्यसको आयस्ता आउन छाडेको पनि धेरै भइसक्यो । भक्तहरुले चढाएको रकमभन्दा अरु कुनै आयस्ता छैन । मन्दिरप्रति जिविस सल्यानको दृष्टि पनि सकारात्मक भएको देखिदैन । फालाबाङ छायाँक्षेत्रजस्तो धार्मिक पर्यटकीय महत्व राख्ने स्थानसम्म जाने यातायात तथा मन्दिर विकास र विस्तारमा जिविस सल्यान उदासिन रहेको पुष्टि हुन्छ ।

यस मन्दिरको बारेमा पुष्टि गर्ने तिथि मिति त छैन तर आफै उत्पति भएकी ‘उद्देयनपीठ भनिदोरहेछ । यो मन्दिर जनसमक्ष प्रकट भएको एकीकरण भन्दा पहिले भएको रहेछ । यसमा शाह वंशहरुको ठूलो योगदान पनि रहेछ । त्रैलोक्य वीरविक्रम शाहदेवको ब्रतबन्धको अवसरमा भुवनेश्वरी भगवतीको मन्दिरमा तामाको बाकस चढाएका रहेछन् । त्यो आज पनि मन्दिर भएको स्थानमा छ । त्यसमा मन्दिरमा चढाएका बहुमूल्य बस्तुहरु सुरक्षित राख्ने गरिएको छ । यसैगरी मध्यपश्चिम भ्रमणमा आएका राजा महेन्द्रले तत्कालीन पुजारी नारायणप्रसाद उपाध्यायलाई तिमीहरुले नै पूजा गर्नू, मन्दिरमा चढाएको रकम पुजारीले नै राख्ने र पूजा चलाउनू भनी तामपत्र लेखिदिएका रहेछन् । त्यही बेलादेखि पुजारीले मन्दिरभित्र चढाएको रकम लिने र मासिक तलब १० हजार लिने गरेका रहेछन् । यति बेला नारायणप्रसादको देहान्त भएको र छोरा जागिरे भएकाले उनको एकाघरको भाइ नै पुजारी बनी पूजा गरिरहेका छन् । यो मन्दिरमा वलि दिने गरिन्छ ।

मन्दिरको अवस्था ज्यादै जीर्ण देखेर वीरेन्द्र वीरविक्रमले वर्तमानको मन्दिर शिलान्यास गरी २०४२ सालमा उद्घाटन गरेको शिलालेखमा उल्लेख छ । यो भुवनेश्वरी मन्दिर पितृहरुको मोक्ष र सन्तान प्राप्तिको लागि विख्यात मानिदोरहेछ । यस अतिरिक्त फालाबाङ क्षेत्रमा महामारी, उल्का या कुनै प्रकारको आपतविपत आयो भने गाउँलेहरु एकलरुपमा या सामूहिकरुपमा भुवनेश्वरी मन्दिरमा जाने, धार दिने र पूजाअर्चना गर्ने हो भने त्यो निवारण हुने गर्दथ्यो भन्ने जानकारी पाइयो ।

त्यहाँ नित्य नैमित्य सबै धार्मिक कार्यहरु र अनुष्ठानहरु हुने गर्दछन् । यसमा गणेशको मन्दिर र भैरवको मन्दिर पनि छ । प्रारम्भिक अवस्थामा जो गुफा थियो त्यहाँबाट चिसो बतास आउने गर्दथ्यो । त्यो गुफाभित्र के छ कसैलाई थाहा नै थिएन । गुफाको खुला दर्शन गराउँदा दर्शनार्थी भक्तहरुमा कोही बेहोश हुने, कोही टाउको दुख्यो भनेर रुने, कोही पेट दुख्यो भन्ने, कसैले रिङ्गटा लाग्यो भन्ने र कसैलाई देवी चढेर काम्न थालेपछि गुफाको खुला दर्शन गराउन बन्द गरेको र अहिले पनि कुनै भक्तले दर्शन गर्न चाहेमा विशेष व्यवस्था गरी गराउन सकिन्छ ।

यस्तो विकट ठाउँमा प्राकृतिक वातावरणलाई सल्लाको सुसाइले झन मनोहर र आकर्षक बनाइदिएको छ । तथापि त्यहाँ जाने भक्तहरुको लागि खानेपानी, नास्ता, खाना र अन्य आवश्यक पूजा सामग्रीहरुको अभाव र यातायातको झन ठूलो समस्या भएकाले शारदा नगरपालिकाको दृष्टि यस मन्दिरप्रति सकारात्मक भएको देखिदैन । सल्यान जिल्लाकै महत्वपूर्ण धार्मिक स्थलको रुपमा रहेको भुवनेश्वरी मन्दिर र छायाँक्षेत्रको यो अवस्था पक्कै पनि हुने थिएन । यी मन्दिर वास्तवमा भन्ने हो भने सल्यान जिल्लाको पहिचान हो भन्दा अत्युक्ति नहोला ।

भुवनेश्वरीको मन्दिरमा जानुभन्दा पहिले छायाँक्षेत्रमा क्षत्रेश्वरीको मन्दिर छ । यहाँ सतिको ढाड खसेको भनिन्छ । यहा ज्योतिर्लिङ्ग पनि छ । क्षत्रेश्वरी भगवतीको बारेमा जानकारी गराउने र मन्दिर बनाउने, मूर्ति स्थापना गर्ने महत्वपूर्ण काम नागा प्रेम गिरी बाबाबाट भएको रहेछ । यो मन्दिरमा बलि चढाइँदैन । मन्दिरमा चढाइएको रकम पनि पुजारीले नपाउने, पुजारीलाई मासिक सात हजार तलब दिने व्यवस्था रहेछ । मन्दिरमा चढाएको रकम र दुई विगाह जति जग्गा भएकाले त्यसैको आयस्ताबाट पूजाआजा चलेको रहेछ । जग्गादान दिएर गुठीको स्थापना गरिदिने चनु जैसी रेग्मीका नाति माघु रेग्मी रहेछन् । अरु पनि भक्तहरुले गुठीमा जग्गादान दिएका छन् । यो क्षेत्रलाई छायाँक्षेत्र भनेर नामकरण गरिएको छ ।

यहाँ रहेको एउटा विशाल शिलामा पहिले जाने जो कोहीले आफ्नो अनुहार देख्न सक्थे तर धुवाँ र धुलोले गर्दा यतिबेला त्यो सम्भव देखिदैन तर आज पनि त्यो शिलालाई राम्रोसँग धोइपखाली क्षत्रेश्वरीको स्मरण गर्दै आफ्नो बस्तु हराए, चोरी भएमा वा अरु कुनै कुराको जानकारी गराइदिन आस्था र विश्वासका साथ त्यो शिलामा हेर्ने हो भने कसरी चोरी भयो ? कसले कहाँ लग्यो या कहाँ छ सबै कुरा शिलामा देख्न सकिन्छ भन्ने भक्तहरुको मान्यता रहेछ । त्यही शारदा नदीकै किनारको पहाडमा एउटा गुफा छ, जहाँ चनु जैसीले तपस्या गरेको त्यही दृश्य अदृश्य हुने गरेकाले छायाँक्षेत्रमा रहेका रेग्मी डोटीबाट आएका वंशजहरुको बासस्थान रहेछ ।

वास्तवमा सल्यान जिल्लाको पहिचान गराउने पर्यटकीय स्थल बन्ने भुवनेश्वरीको मन्दिर छत्रेश्वरीको मन्दिर क्षेत्रमा यातायात, खानेपानी जस्ता आवश्यक पूर्वाधार तयार गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखिन्छ । यसमा रोपवेको व्यवस्था गरेर सुगम पनि बनाउन सकिन्छ । यसतर्फ सल्यान जिविस, नगरपालिका र आम जनताले यसलाई आत्मसात गर्नुपर्दछ ।

By

Readers Comments (0)