Filed Under:  पर्यटकीय गन्तव्य

धार्मिक पर्यटनको केन्द्र खैराबाङ | प्रतीक इच्छुक

21st September 2014   ·   0 Comments

Pratik sharmaKhairabang_salyanखैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको हिवल्चा गाविसमा अवस्थित खैराबाङ मन्दिर रहेको स्थानमा सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भम्रण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।

खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिण हिवल्चाको खैराबाङमा पर्दछ । सदरमुकाम खलंगाबाट खैराबाङ पुग्न सल्यानको व्यापारिक केन्द्र शीतलपाटीबाट दुई घण्टा र सदरमुकाम खलंगाबाट साढे दुई घण्टामा खैराबाङ मन्दिर पुग्न सकिन्छ ।
खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ । चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरुको घुइँचो लाग्ने मन्दिरका पुजारी छविरमण शर्माले बताउनुभयो । भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने बाह्मण क्षेत्रीहरुले मन्दिर वरिपरि चण्डीपाठ गर्दछन् ।

खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (इष्र्या) त्याग्न देवीसँग माग गरिन्थ्यो । पौराणिककालबाट बलि दिने चलन सुरु भएको बताइन्छ । खैराबाङमा पञ्चबलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने गरेको नागरिक अगुवा हरिशरण आचार्यले बताउनुभयो ।

धार्मिक पर्यटनको धरोहर खैराबाङ भुवनेश्वरी मन्दिरमा दर्शन गर्न अर्घाखाँची, गुल्मी, बाग्लुङ, दाङ, रुकुम, रोल्पा, प्यूठान, दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, डोल्पा, कैलाली, बर्दिया, बाँके, कञ्चनपुर, काठमाण्डौं, ललितपुर र भक्तपुरलगायत देशका विभिन्न भाग र बाहिर भारतका विभिन्न स्थानबाट पनि दर्शन गर्न भक्तजनहरु आउने गरेको खैराबाङ भुवनेश्वरी मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष बमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

मन्दिरमा सदरमुकामबाट मोटरबाटो सुविधा तथा विद्युत सेवा उपलब्ध छ । मन्दिर २७ रोपनी जग्गामा फैलिएको छ । मन्दिर संरक्षण र सम्वद्र्धनको लागि गुठीको पनि व्यवस्था गरिएको छ । भक्तजनहरुको धेरै उपस्थिति हुने भएकाले बस्नका लागि अहिले भएको धर्मशाला सानो भएकाले थप धर्मशाला आवश्यक रहेको स्थानीयको भनाई छ । यसलाई व्यवस्थित गर्दै प्रचार प्रसार गरेर लैजान सके सल्यान जिल्लालाई धार्मिक र प्राकृतिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना प्रचुर मात्रामा रहेको छ ।

३७ वर्षपछि मन्दिरका गहना सुरक्षित भेटिए

खैराबाङ भगवती मन्दिरमा भक्तजन तथा राजामहाराजाहरुले चढाएको धेरै बर्ष पुरानो सुन र चाँदीको गहना जिल्ला प्रहरी कार्यालयमा सुरक्षित भेटिएको छ । चाँदीका सिक्री तथा विभिन्न प्रकारका गहनामा जडित सुन आठ तोला २४ लाल र चाँदी झण्डै सात किलो रहेको छ । जिल्ला प्रहरी कार्यालयमा धेरै बर्षअघि राखेको सेफ तोड्दा सुन तथा चाँदीका गहना सुरक्षित भेटिएका हुन् । जिल्ला प्रशासन, प्रहरी र मालपोत कार्यालयमा तीनवटा चाबी राखे पनि हराएपछि मन्दिरका पुजारी, उपभोक्ता, स्थानीयबासी, पत्रकार, प्रशासन र प्रहरीको रोहबरमा सेफ तोडिएको थियो ।

सेफभित्र भेटिएको कागजअनुसार सुनको तिलहरी, पोटे, बेलपाड, एक असर्फी, चाँदीको सिक्रीमा जडित पिपलपाते, बेलपत्र, पाता, मुड, गजुर मुन्द्रमाला रहेका थिए भने चाँदीका मुन्डमाला, कचौरा, चमरा बिड, पानस, छाता, करुवा, सुराही, टिकाभाडा, डमरु, आरती, अर्घ, पञ्चपात्रो, धुपौरो, छातामा खुट्टा, ओदान, कमल फूल, मुकुट, बालालगायतका गहना रहेका थिए । सुनका गहनाहरु सबै खाममा राखिएको थियो ।

ती सामानहरु मन्दिरमा बारम्बार चोरी भएपछि सुरक्षाको लागि २०३४ सालमा जिल्ला प्रशासन कार्यालयमा ल्याएर बुझाएको र त्यसपछि प्रहरी कार्यालयमा राखिएको भगवती मन्दिरका अध्यक्ष बलबहादुर बुढाथोकीे बताउनुभयो । स्थानीय बुढापाकाका अनुसार सुनको दुईवटा मूर्तिसमेत राखेको सुन्नमा आए पनि सेफमा मूर्ति नभेटिएको बुढाथोकीको भनाई छ । सेफमा रहेका गहनाहरु संस्कृति एवम् पुरातात्विक महत्वका भएको प्रहरी नायब उपरिक्षक अरुण शाहले बताउनुभयो । उहाँका अनुसार विभिन्न समयमा मन्दिर दर्शनका क्रममा दर्शनार्थीहरुले चढाएका ती गहनाहरुमा मिति र नामसमेत लेखिएको र ती सबै वि.सं. १९४१ अगाडिका रहेका छन् ।

By

Readers Comments (0)