Filed Under:  पर्यटकीय गन्तव्य

थारु समुदायको सैदान | सन्तोष दहित

30th August 2014   ·   0 Comments

Santosh Dahitसदरमुकाम घोराहीदेखि ६ किमि पश्चिम–दक्षिण सौडियार गा.वि.स. वडा नं. ९ सिसहनियामा दुई सय बढी घरधुरी रहेको बस्ती छ । सिसहनिया गाउँमा दुई–चार घरबाहेक सबै थारु समुदायको बसोबास रहेको छ । त्यही गाउँको दक्षिणतिर खोलाको किनारमा रहेको छ– थारु नमूना ग्राम ।

परम्परागत शैलीमा पाँच वटा ‘बाँरा’ टहरा घर निर्माण गरिएको छ । घरको उत्तरपट्टि दुईवटा पोखरी बनाइएको छ भने पूर्वतिर सानो बनक्षेत्र छ । पोखरीमा माछा पालिएको छ । पश्चिमतिर करेसाबारी रहेको छ । करेसाबारीमा बेमौसमी तरकारी खेती गर्दै आएका छन् थारु नमूनाग्रामको रेखदेख गर्नेले ।

घोराहीबाट बस चढेर ४५ मिनेटमा पुग्न सकिने र मोटरसाइकलमा आधा घण्टामै पुग्न सकिने सिसहनियाँलाई थारु नमूना ग्रामको रुपमा पर्यटकीय गन्तव्य निर्माण गर्न खोजिएको छ ।

tharugram 1थारु समुदायको पहिचान र परम्परागत जीवनशैली, रहनसहन, भाषा, संस्कृति र कलाको जगेर्ना गर्न र त्यसको सम्वद्र्धन गर्न थारु नमूना ग्रामको स्थापना गरिएको हो । यहाँका घरहरुलाई थारु समुदायका पुर्खाहरुले बस्दै आएको परम्परागत शैलीमा निर्माण गरिएको छ । घरको भित्तामा समेत पुर्खाहरुले निर्माण गरेको हाते चित्र हात्ती, मयूर, माछालगायत माटोले बनाएको पाइन्छ । जसलाई नमूना थारुग्राम भनी जिल्ला विकास समिति दाङबाट घोषणा भइसकेको छ । नमुना थारु ग्राममा गएपछि थारु समुदायको पहिचान ‘सैदान’ देख्न पाइन्छ ।

नमुना थारु ग्राममा थारु समुदायको परम्परागत चालचलन, रीतिरिवाज, खानपिन, पूजाआजा र नाचगानसमेत देख्न पाइन्छ । त्यस्तै, यहाँ परम्परागत सामग्रीहरु धान कुट्ने ढेकी, दाल पिस्ने चकीया, माछा मार्ने हेल्का, जाल, माछा बल्झाउने खोङ्ग्या, माछा राख्ने डेल्या राखिएको छ । त्यसैगरी बैठक कोठाको उत्तरपट्टिको भित्तामा कृष्ण जन्माष्टमीको दिन कृष्ण भगवानलगायत विभिन्न थरिका तस्विरहरु रङ्गीन कलरमा देख्न पाइन्छ । त्यसैगरि सुत्ने कोठामा लुगा राख्ने पुर्खाले प्रयोग गर्दै आएको ‘भौका’माथि झुण्ड्याएको छ । त्यही घरमा आवासीयरुपमा जाने पर्यटकहरुलाई बस्ने, सुत्ने व्यवस्था गरिएको पाइन्छ ।

नमूना थारु ग्रामलाई देखाउनको लागि मात्र नभएर व्यवहारमा समेत ल्याएको पाइन्छ । नमूना थारु ग्रामलाई पर्यटकहहरुको लागि थारु परिकारको पनि व्यवस्थासमेत गरिएको पाइन्छ । थारु परिकारमा ड¥या भात, उज्जर भात, दाल, सिन्की, कप्वा, माछा, गुल्यहार घोङ्गी, नम्मा घोङ्गी, गंगटा, सुंगरको मासु, लोकल चल्लाको मासु, लगायतको खानपिन उपलब्ध गराइन्छ । त्यसैगरि चिसो मार, तातो मार, जाँरक झोल, अन्दी जाँरको झोल, छब्वा जाँर, हिहो¥वा जाँर र रक्सी पनि पाइन्छ । त्यति मात्र नभएर पर्यटकहरुको माग अनुसार बजारमा पाइने फरक आइटमका खानपिनको पनि व्यवस्था गर्दै आएको नमूना थारु ग्रामका अध्यक्ष बेझलाल चौधरी बताउनुहुन्छ ।

tharugram 2थारु नमुना ग्राममा आवासीय रुपमा जाने पर्यटकहरुलाई थारु समुदायको संस्कृतिमा आधारित मघौटा, छोक्रा, हुरदुँख्ग्या, संख्या, दशैको पैयालगायतका नाचहरु देखाइन्छ । नमूना थारु ग्राममार्फत् थारु समुदायको पहिचान र अस्तित्व कायम गर्दै अरुलाई पनि थारुहरुको परिचय दिन खोजिएको छ । त्यस्तै, नमूना थारु ग्राम थारु समुदायको रहनसहन, लवाइखवाइका साथै उनीहरुको बारेमा अध्ययन गर्ने माध्यम बनेको छ । उसो त आफ्नो संस्कृति भुल्दै गएका थारु समुदायका युवाहरुलाई आफ्नो पहिचानको बारेमा जानकारी लिने, थलो पनि बन्न सक्छ नमूना थारुग्राम ।

पछिल्लो समयमा थारु भाषा, लवाइ–खवाइदेखि थारुहरुको भेषभुषा, संस्कृति, नाचगान लोप हुँदै गइरहेको बेला सिसहनिया गाउँका सम्पूर्ण थारु समुदायले आफ्नो संस्कृति बचाउनको लागि परेका छन् ।

नमूना थारु ग्रामलाई व्यापक प्रचारप्रसार गर्न सकेमा दाङको लागि मात्र नभएर मध्यपश्चिमकै लागि राम्रो पर्यटकीय स्थल बन्न सक्छ ।

उसो त पछिल्लो समयमा थारुग्राममा स्वदेश तथा विदेशबाट थारु समुदायको रहनसहन, जीवनशैली, कला संस्कृति अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गएको छ । बाह्य तथा आन्तरिक पर्यटकहरुको उचित व्यवस्थापन र प्रचारप्रसारको आवश्यकता देखिन्छ । अझैं नमूना थारुग्राममा थारु संग्रहालय र होमस्टे सञ्चालन गर्न सके जिल्लाकै गतिलो पर्यटकीय गन्तव्य बन्न सक्छ ।

By

Readers Comments (0)