Filed Under:  कुराकानी

उपन्यासमा युद्ध लड्नेहरुको कथा छ

17th August 2014   ·   0 Comments

Dipshikhaदीपशिखा नेपाली प्रगतिवादी साहित्यको क्षेत्रमा सशक्त युवा प्रतिभाको नाम हो । विशेषगरी कविता र निबन्धमा कलम चलाइरहेका दीपशिखाले भर्खरै जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको विषयवस्तुमा केन्द्रित राजनीतिक उपन्यास ‘रात फुलेको याम’ पाठकमाझ ल्याएका छन् । २०६३ मा ‘फेरि इतिहास रचिनेछ’ कविता सङ्ग्रह प्रकाशित गरेका उनीसँग ‘रात फुलेको याम’ र युद्धसाहित्यका विषयमा केन्द्रित रहेर नयाँ युगबोध दैनिकको शनिबारको सौगातका लागि डिल्ली मल्लले कुराकानी गरेका छन् ।

के गर्दै हुनुहुन्छ आजभोलि ?

भर्खरै प्रकाशित मेरो पहिलो उपन्यास ‘रात फुलेको याम’ बजारमा छ । तीव्र क्रिया प्रतिक्रिया आइरहेका छन् । पाठकसँगको संवादमा छु आजकाल ।

कस्तो प्रतिक्रिया पाइरहनुभएको छ नि ?

सामान्य प्रतिक्रियाका लागि पनि निश्चित समय चाहिन्छ । त्यो समय पनि पुगिनसकेको अवस्थामा यस्तै प्रतिकृया रह्यो भन्दा मनोगत होइन्छ । अहिलेसम्म जति प्रतिक्रिया आएका छन्, तिनीबाट म उत्साहित छु । ‘सोचेभन्दा राम्रो’ भनेर केही पाठकले सामाजिक सञ्जालहरुमा लेखिसक्नुभएको पनि छ । इमेल र फोनमा आउने प्रतिक्रिया झन् उत्साहबर्दक छन् । लेखनको पहिलो प्रयास र पहिलो प्रतिक्रियाले लेखकलाई उत्साहित बनाउनु खुसीको कुरा हो । खासमा यो चार दिनमै यसको सामान्य आँकलन हुने गरी प्रतिक्रियाको निचोड आइसकेको छैन ।

उपन्यासको विषयप्रति भने पाठकभन्दा पनि बाहिरबाट केही प्रश्न उठेको सुनेको छु । खासमा मलाई ती प्रतिक्रिया हुन् भन्ने लाग्दैन ।

‘रात फुलेको याम’ कसको कथा हो ?

यो मूलभूतरुपमा राजनीतिक उपन्यास हो । ०५२ बाट ०६३ मा आएर सकिन्छ । गणतन्त्र प्राप्तिका खातिर नेपालमा जसरी जनयुद्ध सञ्चालन भयो त्यो युद्ध लड्ने भुइँमान्छेहरुको कथा छ । सारभूत रुपमा नसक्नेहरुले सकेको एउटा महान तथा ऐतिहासिक आन्दोलनको भुइँकथा हो– रात फुलेको याम । यो एउटा सङ्घर्षको कथा हो । हामीले बाँचेको गणतन्त्र नेपाल, संस्थागत हुँदै गइरहेको संघीयता, धर्मनिरपेक्ष मुलुकका लागि लड्ने र बलिदान दिनेहरुको कथा हो । जसले राजतन्त्रको अन्त्य ग¥यो, त्यो लडाइँको जीवन्त कथा । परिवर्तन र अग्रगमनका लागि तत्कालीन राज्यका ‘आंतककारी’ भएर लडे, ती ‘आंतककारी’को कथा । उपन्यासमा तिनले बेहोरेको बलिदान, तिनको त्याग, वीरता र महानता छन् ।

जनयुद्धलाई आधार बनाएर धेरै रचना आए पनि अधिकांशले पाठकलाई आकर्षित गर्न सकेका छैनन् । चुनौतीबारे कत्तिको सजग हुनुभएको छ ?

तपाईंले भन्नुभएको आकर्षण निकै गह्रुङ्गो विषय हो । आकर्षणका लागि समाजका वा सामाजिक चरित्रका थुप्रै पक्षको भूमिका हुन्छ । आकर्षणका साधन आफैमा रचनामात्रै होइनन् र हुँदैनन् । निमित्त कारणहरु पनि महत्वपूर्ण हुन्छ । सुन्दर र कुरुप पाठकले त्यतिबेला छुट्याउँछ जतिबेला उसले देख्न र अनुभूत गर्न पाउँछ । यहाँ एउटा वर्ग पाठकबाट देख्न र अनुभूत गर्नै वञ्चित गर्ने कर्ममा छ । जनयुद्धका रचना आफैमा कमजोर थिए भन्ने होइन, त्यसलाई कस्तो ऐना या छायामा हेराइयो भन्ने सवाल हो । निलो छायामा मान्छे पनि निलो–निलो देखिनु र यो बिषय उस्तै हो । लेखनमा दशकौं बिताएकाहरुका अगाडि ती कमजोर थिए भन्नेचाहिं स्वीकारिनुपर्छ । तर ती सुन्दर पनि थिए ।

यसकारण म चुनौतीबारे भन्दा पनि बिषयसित सरोकृत भएँ । जब लड्नेहरु नै अपमानित र दलित हुनुप¥यो भने उनका बारेमा लेखिएको एउटा रचनाको नियति के हुन्छ भनेर सोच्नुको मलाई खास अर्थ छ जस्तो लाग्दैन । फेरि पनि आफ्ना रचनाहरुमाथि भनिएका पर्खाल नाघेर पाठकसम्म पुगून् भन्ने चाहना एउटा लेखकले राख्नैपर्छ । यो प्रगतिशील साहित्यिक धाराकै चुनौती हो । किनभने आज पनि यो धारा प्रतिपक्षी धारा हो ।

‘रात फुलेको याम’ लेख्ने आँट, उत्साह र प्रेरणा कसरी प्राप्त गर्नुभयो ?

यो निकै महत्वपूर्ण सवाल हो । जनयुद्धलाई महान र आतंकवाद दुबै भन्ने मानिसहरु छन् । आममानिसहरु यसलाई महान भन्छन् । तर महान भनिएको जनयुद्ध लड्नेहरु यतिबेला अपमानित छन् । जसले गणतन्त्र ल्याए, पहाडहरुमा बन्दुक बोकेर घिरिली खेल्नेहरुले लडे अभिजातहरुसँग । घनघस्याको उकालोमा म्याराथुनजस्तो मेसिनगन बोकेर दौड्नेहरुले लडे, हामीले भोग्दै गरेको गणतन्त्रका खातिर ।

ती तिनै थिए– पहाडमा बन्दुक बोक्नेहरु, जो काठमाण्डौंको आन्दोलनमा स्याउला बोकेर लडे । जब ती काठमाण्डौं छिरे– तिनले जिते । त्यो जितेको याम थियो । जित्नेहरु फेरि हराइदैछन् । लडेबापत मागेका केही छैनन्– आफू लडेको प्रमाणबाहेक । उनले जितेको ताजमाथि निरोजस्तै बाँसुरी बजाइरहेछन् हार्नेहरु । लडेकाहरु गुपचुप छन् । ती त्यसरी लडेबापत भाग्नुपर्ने । ती त्यसरी जागेबापत कठघरामा उभिनुपर्ने । समय फेरि हरुवाहरुको कब्जामा छ । लडेकाहरुका विरुद्ध फर्मान जारी भएको समय । लड्नेहरु गुमनाम छन् । जो देशका लागि लडे– ती अरब र खाडीमा फेरि लड्दैछन् आफै बाँच्न ।

ती लड्नेको नाममा मेरो पनि नाम छ । अबको साहित्यमा तिनी आउनुपर्छ भन्ने लाग्यो । ती सहिद, घाइते, बेपत्ता योद्धाको उत्प्रेरणाले लेख्ने उत्साह र प्रेरणा आयो । तिनका बारेमा कम लेखियो । अझ भनौं लेख्ने भन्नेहरुले त झन लेखेनन् । त्यसैले उनकै बिषय लेख्नुपर्छ– जसले आफू मरेर, मुलुकलाई अग्रगामी रुपान्तरण गरे ।

बन्दुक बोकेर युद्धमोर्चाको नेतृत्व गर्दा र कलम बोकेर युद्धको कथा उपन्यासमा उतार्दा कुन अवस्था कठीन लाग्यो नि ?

यी दुवै उत्तिकै जटिल सवाल हुन् । बन्दुक बोक्नुको कठिनता आफ्नै प्रकारको थियो । उपन्यास लेख्दाको कठिनता आफ्नै हुँदोरहेछ । मलाई लाग्छ यी दाँज्ने बिषय होइनन् । जटिलता, कठिनता, उत्साह र उत्प्रेरणाका स्रोतहरु अलग–अलग हुन्छन् । आ–आफ्नै अप्ठ्यारा हुन्छन् र भयो । यी दुवै उत्तिकै कठिन विषय हुन् ।

साठीको दशकयता जनयुद्ध साहित्यका विषयमा थुप्रै कृति लेखिएका छन् तर त्यसको प्रतिनिधित्व गर्ने सशक्त कृति आउनै सकेनन् नि । किन होला ?

सायद यसको उत्तर म दिन सक्दिनँ र हैसियत पनि राख्दिनँ । यसबारे मेरा अग्रजहरु र यही क्षेत्रमा कपाल फुलाएका पाकाहरुलाई जिम्मा दिउँ ।

एउटा युवा लेखकका हिसाबले समकालीन नेपाली साहित्यको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

साहित्यको क्षेत्र उज्ज्वल छ । पछिल्ला वर्षहरुमा साहित्यका पाठक ह्वात्तै बढेका छन् । साहित्यिक कृतिहरुको चाप पनि छ । प्रकाशन संस्थाहरु व्यावसायिक भएर आएका छन् । स्रष्टा र प्रतिभाहरुलाई आफ्नो सृजना पाठकसम्म पु¥याउने सयौं विकल्प पनि छ । अझ सामाजिक सञ्जालले झन् निकै सरल ढंगबाट स्रष्टा जन्माउन थालेको छ । हिजोको जस्तो गुरुदक्षिणा राखेर स्रष्टा बन्नुपर्ने बाध्यतात्मक अवस्था अहिले छैन । प्रविधिको विकाससँगै यो क्षेत्र उज्ज्वल हुँदै गइरहेको छ ।

नेपाली साहित्यमा प्रगतिवादी साहित्यको स्थान कहाँनेर छ ?

स्रष्टा र पाठकको कुरा गर्ने हो भने एक नम्बरमै छ । प्रगतिशील साहित्यका पाठकको बहुमत छ । लेखकहरु पनि छन् । तर, प्रगतिशील साहित्य, साहित्यिक सत्तामा छैन । यो पहिलो नै हो तर दोस्रो भइरहेको छ ।

जीवनको छोटै समयमा जनसेना, राजनीतिक कार्यकर्ता र पत्रकारको भूमिका निर्वाह गर्नुभयो । अहिले साहित्यकारको पहिचानमा देखिनुभएको छ, जीवनका यी उतारचढावहरुलाई कसरी हेर्नुहुन्छ ?

यो अनिवार्य चक्र हो । बारीको कान्लामा गीत गाउने हाम्री दिदीबहिनी पनि यही जीवनचक्रमा हुन्छन् । नत्र तिनले गीतका भाका निकाल्दैनथे । कसैको आम हुन्छ कसैको सीमित । फरक यत्ति हो । मैले कुनै अनौठो ठानेको छैन ।

जीवन के हो जस्तो लाग्छ ?

भोग्नुपर्ने अनिवार्य सत्य हो । नभोग्ने छुट कसैलाई हुँदैन । यही जीवन हो ।

By

Readers Comments (0)