Filed Under:  विचार | टिप्पणी

रोल्पाली गजल र गजलकारहरु | रमेश सुवेदी

2nd August 2014   ·   2 Comments

Ramesh_subediरोल्पामा साहित्यिक माहोल बढेको कुरा चर्चाको बिषय बनेको छ । विगतमा औंलामा गन्ने कृति र कृतिकारहरू रहेको यस जिल्लामा पछिल्लो चरणमा यहाँका युवापङ्ति साहित्यमा उत्साहित हुनु अत्यन्त हर्षको कुरा हो । रोल्पाका साहित्यकार डी.बी.टुहुरोका अनुसार यस जिल्लामा हालसम्म गजलका कृतिमात्र ५२ थान प्रकाशित भइसकेका छन् ।

रोल्पा गर्पामा जन्मिएर दाङलाई कर्मथलो बनाएका गजलकार टीकाराम उदासीको ‘वर्तमान बाँच्न खोज्दा’ (२०५०) हुँदै रोल्पा खुङ्ग्रीका नारायण रेग्मी जिज्ञासुको ‘उनको बयान गर्दिनँ म’ (२०७१) सम्म आइपुग्दा रोल्पाले धेरै गजलकारहरु जन्माइसकेको देखिन्छ । टुहुरोको अनुसार टीकाराम उदासीको वर्तमान बाँच्न खोज्दा–२०५०, पछि उदासीकै ‘परिवेशका धूनहरू–२०५६, उदय जीएम र नवीन विभासको संयुक्त संग्रह ‘उनका गजलहरू’ (२०५९) प्रकाशित भयो । तत्पश्चात् रमेश सुवेदीले आफ्नो अध्ययनताका पोखरामा ५० को दशकमा सिर्जना गरेका गजलहरु सङ्गहित ‘मनको तरेलीमा’ नामक संग्रह (२०६०) प्रकाशित गरे । २०६० मै ओम पंक्षीको ‘तरङ्ग’, प्रकाशित गरेपछि डी.बी. टुहुरो, स्व.इन्द्र यात्री र ओम पंक्षी मिलेर ‘स्पन्दन भाग–१’ नामक संयुक्त संग्रह प्रकाशित गरे । यिनी तीन जना श्रष्टा रोल्पामा ललित साहित्य परिषद् नामक साहित्यिक संस्था खोलेर रोल्पाली भूमिमा साहित्यलाई मौलाउन महत्वपूर्ण भूमिका खेल्ने युवाहरू पनि हुन् ।

२०६१ सालमा कृष्ण निर्जन ‘आँसु’को ‘आत्मकथा’मात्र प्रकाशित हुन सफल भयो भने २०६२ मा रोल्पाली नारी हस्ताक्षर गायत्री घर्तीमगरको ‘जिन्दगी’, ओमप्रकाश पुन ‘ज्वाला’को ‘आँखीझ्यालमा तस्वीर’ तथा पुनः डी.बी. टुहुरो, इन्द्र यात्री, ओम पंक्षी, कृष्ण डी.सी. निर्जन, के.वी. विरही, मिलन, उपहार पुन, सुशील जलन, कूल अवशेष र मोहन विवशसमेतको ‘स्पन्दन भाग–२’ प्रकाशित भए । यसरी २०६२ मा तीन थान गजल कृति प्रकाशित भएको देखिन्छ भने २०६३ मा इन्द्र यात्रीको ‘जिजीविषा’, नवीन डी.सी. अनमोलको ‘युद्धका पीडाहरू’ गरी दुई कृति प्रकाशित भए ।

रोल्पामा २०६४ सालमा तीन वटा गजलकृति प्रकाशित भएकामध्ये रक्ष क्षेत्रीको ‘चञ्चल मन चुलबुल हुँदा’, निमबहादुर घर्तीमगरको ‘कथा कहानी’ तथा धिरज बी.एम. ‘अथाहसागर’ को ‘तड्पिएका मनहरू’ हुन् । २०६५ सालमा केवी बिरहीको ‘बिरहीका गजलहरू’, केशव पुनमगर लगायत २० जना गजलकारहरुको ‘मरुभूमिको साहित्य यात्रा’ गरी दुई कृति आए भने २०६६ सालमा दिपेश पराइ विष्टको ‘आफ्नै देशको माटो प्यारो’ बिचरा बसन्त बिष्ट अलपत्र निशानीको ‘पलपलको याद’, विवेश सेनको ‘निशानी’, बोमबहादुर घर्तीमगर ‘अवतार’को ‘सोच्वोके’ नामक मगरखाम भाषाको गजल संग्रह आए भने २०६७ सालमा दुइवटा संयुक्त गजल संग्रहको कृति रोल्पाले पायो । ती दुई कृतिमा दीपेश पराइ विष्ट, डोर मुस्कान विष्ट, एल.बी. सुवास महरा, धानमाला विष्ट, लक्ष्मी विष्ट ‘सिम्पल कान्छी’, भूपेश समर्पण, खगेन्द्र विष्ट, रेसम संगीत पुन, घनश्याम गिरी ‘पहाडी’, खेमराज गाउँले र माणिक विष्टसमेत ११ जनाको ‘क्रान्तिकारी हातहरू’ तथा रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायको ‘त्रिवेणी’ हुन् ।

२०६८ सालमा रोल्पामा सात थान गजलकृति प्रकाशित भए । जसमा प्रेमप्रकाश मायालु, प्यास एम.जी. र व्योम जी. अवतारको त्रि–सिन्धु, जलजला रोकामगरको ‘समर्पण’, डी.बी. मगर स्वेदको ‘यात्रा अनेक मोड’, टेकबहादुर रोकामगर, अमर बुढामगर, सुकबहादुर बाँठामगर र कमलराज बुढामगरको ‘कोसेली’, विष्णु सन्यास मगर, खबपु चञ्चल मगर, प्रकाश अभाव मगरसमेतको ‘सपना र संकल्प’ रेशम संगीन पुनको ‘जीवन उपदेश’, टीकाराम उदासीको ‘बोल्दैछ आफै मौसम’ हुन् ।

२०६९ तथा २०७० साल रोल्पाली गजल प्रकाशनको लहरमा उर्वर देखिएको छ । किनकि यस वर्ष रोल्पामा एक दर्जन गजलकृति प्रकाशित हुन सफल भए । प्रेमप्रकाश मायालुको ‘अनुभूति’, राज एकान्त जीएमको ‘प्रेमालाप’, डी.बी. टुहुरोद्वारा सम्पादित तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाद्वारा प्रकाशित रोल्पाली गजल र गजलकार (प्रतिनिधि गजल संग्रह), प्रेमप्रकाश मायालु (रोल्पा), वाइबी जीएम (सल्यान), घनश्याम अस्तित्व (प्यूठान), भीम बीसी (रुकुम) र बरुण योगी (दाङ)को संयुक्त गजलसंग्रह ‘राप्ती’, नवराज बुढा ‘नवीन उदासी’को ‘पर्खाइका बाटाहरू’, दिलकुमारी बुढाको ‘स्मृतिका पानाहरू’, कुलानन्द गिरीका ‘प्रचण्डका सपना’, विराज पुनमगरको ‘तिमी मात्र तिमी’, चाँदनी केसीको ‘उदिप्त मन’, व्योम जी अवतारको ‘मौसम बदलिदा’, डीबी मगर स्वेद, गायत्री रोकामगर, माकुरो र प्रशान्तसमेतको ‘अंकुराए पल्लवी’, राजबिक्रम बुढाको ‘सम्पत्ति’, भगवती बुढामगरको ‘सपना’ २०६९ सालमा प्रकाशित गजल संग्रहहरु हुन् ।

यसैगरी गत वर्ष अर्थात् २०७० मा खबपु चञ्चल मगर र लोकेन्द्र सेन ‘सिम्पल कान्छा’को ‘चोकमा उभिएका नयनहरू’, दिपेश संकल्पको ‘अधुरा सपनाहरू’, दुर्गा बीएमको ‘अक्सिजन’, के.बी. घर्ती घायलको ‘विछोडका घाउहरू’, एम बिरहीको ‘सामीप्य’, कमला विधुमगरको ‘सम्झनाका बाछिटाहरू’, डि.बी. मगर स्वेदको ‘हिमालको ओतमुनि’, रेशम संगीतलगायत १२ जनाको ‘साहित्यिक यात्रा’ टंक झाँक्री मगर समीपको ‘हुरीले उडायो सुनौलो सपना’ तथा ललित साहित्य परिषद्ले प्रकाशित गरेको स्व.इन्द्र यात्रीका केही गजलहरू समेटिएको कृति ‘इन्द्र यात्री’ तथा नारायण रेग्मी जिज्ञासुको ‘उनको बयान गर्दिनँ म’ गरी एक दर्जन कृति प्रकाशित भए । यद्यपी ‘इन्द्र यात्री’ तथा ‘उनको बयान गर्दिनँ म’को २०७१ सालमा लोकार्पण भएको हो ।

यसरी पचासको दशकबाट शुरुवात भई फाट्टफुट्ट रुपमा मात्र प्रकाशनमा आएको रोल्पाली गजल लेखन तथा प्रकाशनको लहर साठीको दशकमा उल्लेखनीय रुपमा बृद्धि भएको देखिन्छ भने यसको प्रवृत्तिको आँकलन गर्दा सत्तरीको दशकमा यसले अझ धेरै फड्को मार्ने देखिन्छ । यद्यपि रोल्पाली गजलकारहरूले गजलको संरचना तथा भाव एवम् शैली पक्षको गहन अध्ययन गरी परिमाणमा भन्दा गुणमा भने ध्यान दिनुपर्ने पनि देखिन्छ ।

By

Readers Comments (2)

  1. Kumar Avagi says:

    हुनुपर्नेमा
    राजबिक्रम बुढाको‘सपना’ , भगवती बुढामगरको ‘सम्पत्ति’

    भएको छ
    राजबिक्रम बुढाको ‘सम्पत्ति’, भगवती बुढामगरको ‘सपना’

  2. basanta magar(abhishek) says:

    सर्जक हरुलाई सलाम साथै भोलिका दिनमा अझै अरु कृतिहरु आउन सफलताको कामना।।।