Filed Under:  कुराकानी, सौगात विशेष

लेखन साधना हो, आराधना हो

23rd May 2014   ·   1 Comment

Ramesh chhitij_1रमेश क्षितिज समकालीन नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । विशेषगरी कविता र कथा लेखनमा कलम चलाइरहेका क्षितिज आफूलाई कविका रुपमा परिचित गराउन चाहन्छन् । अर्को साँझ पर्खेर साँझमा (२०५७), घर फर्किरहेको मानिस (२०६८) कविता सङ्ग्रहका साथै क्षितिज गीति एल्बमलगायतका रचनाहरु प्रकाशन गरिसकेका क्षितिजसँग नयाँ युगबोध दैनिकको सौगातका लागि डिल्ली मल्लले गरेको कुराकानी ।

कानूनको विद्यार्थी भएर पनि तपाईं साहित्यमा कसरी प्रवेश गर्नुभयो ?

जीवन कैयौं संयोगहरुको श्रृंखला हो । स्कूलमा विज्ञान र अप्सनल म्याथ लिएर पढेको थिएँ । विज्ञान वा साहित्य पढ्थें हुँला । त्यसो त कानूनको विद्यार्थी हुनुअघि नै म साहित्यको विद्यार्थी थिएँ । फेरि कवि, कलाकार हुनु भनेको कुनै कोर्स वा उपाधि पनि होइन ।

जीवन योजनावद्ध हुन्छ जस्तो पनि लाग्दैन । लेखनमा सानैदेखि रुचि थियो । संघर्षले, सपनाले र संयोगले मलाई यहाँ ल्याइपु¥यायो । र, लेखन मेरा लागि अब सौख मात्र नभएर जीवन जिउने पद्धतिको एक हिस्सा भइगयो ।

तपाइँको पछिल्लो कवितासंग्रह ‘घर फर्किरहेको मानिस’ ले निकै चर्चा पायो । कस्तो लागिरहेको छ ?

खुशी छु । ‘अर्को साँझ पर्खेर साँझमा’ संग्रहकोे बाह्र वर्षपछि यो संग्रह फाइन प्रिन्टबाट प्रकाशन भएको हो । छोटो समयमा नै हामीले केही कविताहरु समेत थपेर तेस्रो संस्करणसमेत ल्यायौं ।

कविताले उज्यालो दिन्छ, ऊर्जा दिन्छ, मानिसको अन्तस्करणलाई रुपान्तरण गर्छ, त्यसैले कविता अद्यापि लोकप्रिय छ– यसको प्रमाण हो यो । मैले पाएको पाठकको राम्रो रेस्पोन्सले अझ राम्रो लेख्न अभिप्रेरित गरिरहेको छ मलाई ।

तपाइँ ठूलो जिम्मेवारी बोकेको कार्यालय प्रमुख भएर पनि साहित्यमा सफल व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ, कामको प्रकृतिका हिसाबले विपरीत ध्रुवका विकास निर्माणका काम र साहित्यलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

सफल व्यक्तिको रुपमा देख्नु भएकोमा यहाँलाई धन्यवाद । जीवनका विविध पाटा र भूमिका छन् । समय व्यवस्थापनको चुनौती मात्र हो नत्र एक क्षेत्रको अनुभव र अनुभूतिले अर्को क्षेत्रलाई सघाइरहेको हुन्छ नै ।

गाउँमा जन्मे हुर्केर संघर्षशील जीवन जिउनुको रोमाञ्चक अनुभव गरें मैले । कामको सिलसिलामा नै अनेकौं मानिसलाई भेट्ने सुयोग प्राप्त भयो । विभिन्न क्षेत्र र भूगोल टेकें । जीवनका विविध अध्याय देखें । त्यसले मेरो लेखनलाई नयाँ धरातल र क्षितिज दियो । तर, समय प्रशस्त भएको भए अझ लेख्थें हुँला भन्ने पनि लाग्छ कहिलेकाहीं ।

अहिले के लेखिरहनुभएको छ नि ?

कविताहरु लेखिरहेको छु । त्यसो त म अलि कम नै लेख्ने मानिस हो कि जस्तो लाग्छ । आफूले भोगेको अनुभव, आफ्नो जीवन दर्शन र समयको घुम्तीमा भेटेका अद्भूत मानिसहरु थिए र छन्– त्यसलाई समेटेर एउटा उपन्यास लेख्ने तयारी पनि छ । फुटकररुपमा कथा र लेखहरु पनि लेखिरहेको छु ।

तपाइँले कविता र कथामा उत्तिकै कलम चलाइरहनुभएको छ, कविताका पुस्तकाकार कृति पनि प्रकाशित छन् तर कथाका कुनै पुस्तक निस्किएका छैनन् नि, किन ?

एउटा कथासंग्रह निकाल्ने सोच छ । तर, समय जुरेको छैन । सबै कुराको आफ्नो समय हुन्छ सायद– म पर्खिरहेको छु ।

साहित्यमा धेरै लेखिने विधा कविता हो तर कविताको बजार खस्किदै गएको छ भन्ने पनि सुनिन्छ, खासमा समकालीन कविताको अवस्था कस्तो छ ?

समकालीन कविताको सीमा फराकिलो हुँदै गएको छ । कविताको बजार खस्किएजस्तो लाग्दैन । अर्को कुरा, सबै कुरालाई बजारले मूल्यांकन पनि गर्न मिल्दैन । कविता त मन्त्रजस्तो, ध्यानजस्तो कुरा हो । हृदय र आत्मासँग जोडिएको कुरा बिक्रीसँग दाँजेर मात्रै कसरी हेर्नु ?

संसारमा केही प्रश्नहरु सधैं छन्– तिनका उत्तरको खोजी हो कविता । नेपाली कवितामा विविधता, मौलिकता र बहुलता आइरहेको छ– त्यो सुखद् कुरा हो भन्ने लाग्छ मलाई ।

तपाइँको विचारमा सिर्जनालाई कसले शक्तिशाली बनाउँछ ?

विचार र कलाको उत्कृष्ट संयोजनले सिर्जनालाई शक्तिशाली बनाउँछ । हामै्र वातावरण र परिवेशको अनुभूति सिर्जनामा आउने हो तर मौलिकता र प्रस्तुतिकरणले हृदयलाई स्पर्श गर्ने सामथ्र्य हुनुप¥यो । अन्तस्करणका तारहरुबाट झङ्कार पैदा गर्ने जुन शक्ति र अभिप्रेरणा हुन्छ सिर्जनामा त्यसले जीवनलाई रुपान्तरण गर्न सक्छ– सिर्जनाको सौन्दर्य त्यही हो ।

साहित्य सिर्जनालाई कतिपयले आत्मसन्तुष्टिका लागि र कतिपयले सामाजिक उत्तरदायित्वका लागि भन्ने गरेका छन्, तपाइँलाई के लाग्छ ?

मलाई चाहिँ यो दुवै हो जस्तो लाग्छ । उद्देश्यविहीन लेखन हुन्छ जस्तो लाग्दैन । लेखेर वा पढेर आत्मसन्तुष्टि नहुने भए साहित्य कसले लेख्थ्यो, कसले पढ्थ्यो होला र ? तर, प्रत्येक लेखकका लागि आफ्ना उद्देश्य र आत्मसन्तुष्टिका आधारहरु फरक–फरक चाहिँ हुन्छन् होला ।

केही मानिसहरु साहित्यमा विचार र राजनीतिको सम्बन्धलाई ठाडै अस्वीकार गरेको पाइन्छ । साहित्यमा विचारको उपस्थितिलाई यहाँले कसरी परिभाषित गर्नुहुन्छ ?

राजनीति वा विचार भनेको केवल नारा वा घोषणापत्र हो जस्तो लाग्दैन मलाई त । संसारका प्रत्येक कुरा र मानिससँग जोडिएर आउने सबै चिज लेखनका आधारभूमि वा विषयवस्तु हुन्, शर्त यत्ति हो कि कलात्मकताको लेपन हुनुप¥यो । ढुङ्गालाई असल कालीगढले भेट्यो भने सुन्दर मूर्ति बनाउँछ लेखन पनि त्यस्तै हो ।

नेपाली साहित्यको पछिल्लो अवस्थालाई तपाइँले कसरी हेरिरहनुभएको छ ?

त्यसै पनि म त आशावादी मानिस हुँ । झन् अहिले नेपाली साहित्य समृद्धिको बाटोमा छ । लेखक हुनु गौरवको विषय हुने दिन आएका छन् अहिले– लेखन पेशाको रुपमा स्थापित हुँदै गएको छ । हिजो र आजको समय लेखनको सन्दर्भमा धेरै फरक भइसक्यो ।

पछिल्लो समयमा आख्यानले नै साहित्यको बजार कब्जा गरिरहेको जस्तो देखिन्छ नि, तपाइँलाई कस्तो लाग्छ ?

बिक्रीको हिसाबले यो सत्य हो जस्तो लाग्छ । रुखमा हरियो पात, हाँगा वा फूल जे राम्ररी हुर्के पनि समग्रमा ती रुखकै अवयव हुन् । साहित्यको जुन विधा लोकप्रिय भए पनि त्यो खुशीकै कुरा हो । कुन ठूलो कुन सानोजस्ता कुरा निरर्थक ठान्छु म । विधा जुनसुकै भए पनि लेखन उत्कृष्ट हुनप¥यो, बस् ।

साहित्यमा बजारीकरण भइरहेको भन्ने टिप्पणीप्रति तपाइँ सहमत हुनुहुन्छ ?

स्वाभाविक हो– बजारलाई चटक्कै बिर्सने अवस्था नहोला । तर, पुस्तक विक्रीको सन्दर्भमा अलि फरकढंगले हेर्नुपर्छ होला । ज्ञान, विवेक र पे्रमलाई किनबेच गर्न सकिन्न । साहित्य बजारलाई हेरेर मात्र लेखिनु हुन्न । लेखकको लागि लेखन साधना हो, आराधना हो ।

नयाँ पुस्तामा साहित्यप्रतिको रुचि र सम्भावना कस्तो देख्नुभएको छ ?

नयाँ पुस्ताका लेखक र पाठकहरु बढिरहेका छन् । प्रत्येक नयाँ पुस्ता एक कदम अगाडि बढेर नै साहित्यको इतिहास रचिदै जाने हो– यसरी नै गइरहेको देख्छु म । आजको दश वा बीस वर्षअघि यस्तो थिएन । नयाँ पुस्ताले रुची लिएको छ– लेखकले चाहि असल किताव पढेर मेरो समय सार्थक भयो भन्ने अनुभूति पाठकलाई दिन सक्नुप¥यो ।

एउटा स्रष्टा सामाजिक राजनीतिक आन्दोलनहरुसँग जोडिन कत्तिको आवश्यक छ ?

समाज रुपान्तरणको प्रक्रियामा लेखक त जोडिन्छ नै । तर, राजनीतिलाई पछ्याउँदै सिर्जना हिँड्ने होइन । समाजलाई उज्यालो, आशा र मार्गदर्शन दिने काम पनि साहित्यले गर्नुपर्छ । व्यक्ति राजनीतिक कार्यकर्ता होला तर लेखकको व्यक्तित्व त विराट हुनुपर्छ, सबैका लागि हुनुपर्छ ।

जीवन के हो जस्तो लाग्छ ?

जीवन एउटा किताबजस्तो जति पढ्दै गयो उति रहस्य बाँकी रहेजस्तो । जीवन एउटा यात्राजस्तो जति हिँड्यो उति पुग्न बाँकी भएजस्तो । जीवन त पढेर हेरेर होइन– भोगेरै बुझ्ने हो यसको सौन्दर्य ।Ramesh_chhitij

पाठकलाई थप केही भन्नु छ कि ?

भन्नु छ– धन्यवाद !

By

Readers Comments (1)

  1. Bpg says:

    Ramro 6 interview…….