Filed Under:  कुराकानी

नेपाली साहित्य राजनीतिजस्तै अलमलमा छ

31st July 2014   ·   0 Comments

Nabin_bibhas-[नवीन विभास], साहित्यकार

नवीन विभास समकालीन नेपाली साहित्यमा युवा साहित्यकारको रुपमा स्थापित नाम हो । कथा, कविता, निबन्ध र गजल विधामा कलम चलाइरहेका विभासले आधा बाटो हिडेपछि– २०५७ कथा सङ्ग्रह, मौसमका हरफहरु– २०५८ कविता सङ्ग्रह (संयुक्त), उनका गजलहरु– २०५९ (संयुक्त) र रात पनि ऐठन परेको रातमा– २०६० निबन्ध सङ्ग्रह प्रकाशित गरिसकेका छन् । पछिल्लो समयमा पुस्तक लेखनमा व्यस्त नवीनसँग नयाँ युगबोध दैनिक शनिबारको सौगातका लागि डिल्ली मल्लले कुराकानी गरेका छन् ।

के गर्दै हुनुहुन्छ आजभोलि ?

लेख्दैछु । अंग्रेजी भाषाको मेरो पहिलो किताब । पहिलो डाफ्ट सकियो । रोटीकारिता (पत्रकारिता) यात्राको थालनीदेखि मैले पछ्याएका पात्रका माध्यमबाट २०४६ देखि आजसम्मको नेपालको अनुहार देखाउने जमर्को गरेको छु । यसैगरी, कथा र निबन्ध भेला पार्दैछु । र, केही नयाँ लेख्दै र पुरानालाई काँटछाँट गर्दैछु ।

पुस्तक प्रकाशनको मामिलामा तपाईं निकै ढिलासुस्ती गर्नुहुन्छ भन्ने आरोप छ नि ?

११ वर्ष भएछ पाठकसित किताबमार्फत् भेट नभएको । रोटीकारिताले मनकारितालाई खेदेपछिको परिणाम हो यो । ढिलासुस्ती ‘गरेको’ होइन ढिलासुस्ती ‘भएको’ हो । र, ढिलासुस्ती ‘आरोप’ होइन, ‘साँचो’ हो । यसपालि यो ‘साँचो’लाई ’झुटो’ साबित गर्ने प्रयासमा छु ।

पछिल्लो दश वर्षको नेपाली साहित्यको अवस्थालाई तपाईंले कसरी हेर्नुभएको छ ?

संचारमाध्यम र प्रविधिको विकासका साथै जनयुद्ध, आदिवासी जनजाति, मधेसी, महिला र दलितले आफ्नो स्पेस खोजेका आन्दोलनले नेपाली साहित्यको अनुहारमा फरकपन ल्याएको छ । परम्परागत लेखनका जिम्दारले सपनामा समेत नचिताएका नयाँ–नयाँ अनुहार आएका छन् जो जनयुद्धको झरीमा भिजेका थिए । सायद यै होला यस अवधिको नेपाली साहित्यको लागि सबैभन्दा सुखद् पक्ष ।

यसैगरी, निजी क्षेत्रका प्रकाशनगृहको आगमनले पुस्तकका अनुहारमा प्रतिष्पर्धा बढेको छ र ‘सम्पादन संस्कृति’ पनि भित्रिएको छ । साहित्यिक गतिविधि र प्रकाशन बढेको छ । पछिल्ला वर्ष सामाजिक सञ्जालले चर्चा र गतिविधिको दायरा फराकिलो बनाएको छ । तर, प्रकाशित पुस्तकले संख्याअनुरुप स्तरीयताको भार भने थामेका छैनन् । यो दुखद् सत्य हो ।

यसबीचमा चर्चित भनिएका किताब परम्परागत ढाँचाकै छन् । तिनले आफ्नो छुट्टै मानक बनाउन सकेनन् ।

नेपाली साहित्यको बजार बिस्तार हुँदैछ । तर, बजार कर्पोरेट हाउस र बहुराष्ट्रिय कम्पनीले निर्धारण गर्न थालेका छन् । यसको पक्ष र विपक्षमा बहस जारी छ । नयाँ पुस्ता र बदलिदो नेपाली जीवनशैलीसित साहित्यको सम्बन्ध सुखद् देखिएन ।

यसैगरी, प्रिन्ट र इलेक्टोनिक किताब पढ्ने यामको संक्रमणकालमा छौं ।

यस अवधिका साहित्यमा माओवादी केन्द्रमा छ । चाहे विरोधमा चाहे समर्थनमा । तर, तिनमा माओवादी जनयुद्धले फेरेको नेपाली समाजको स्वाभाविक अनुहार छैन । या त माओवादीको विरोधमा कालो पोतिएको छ या त समर्थनमा अस्वाभाविक लालीक्रिम ।

दस वर्षको अवधिलाई प्रतिनिधित्व गर्ने एउटा किताबको नाम भनम् भन्दा पनि मुश्किल छ । आजका लेखकका लागि योभन्दा अर्को लाजमर्दो के होला ?

समग्रमा नेपाली साहित्य पनि नेपाली राजनीतिजस्तै संक्रमणमा छ । कता जाने ? अलमलमा ।

साहित्यमा ठूला मिडियाको प्रभाव र बजारको स्वार्थले साहित्य समाजका लागि भन्दा सस्तो मनोरञ्जनका लागि बन्ने स्थिति बन्दैछ, यसले नेपाली साहित्यको दिशा कतातिर लैजाला ?

ठूला मिडियाको दिशानिर्देश र बहुराष्ट्रिय कम्पनीले आयोजना गर्ने साहित्यिक गतिविधिले उपभोक्ता संस्कृतिलाई बढावा दिदै आफ्नो बजार बिस्तार गर्दैछन् । आज ठूला सञ्चारगृहले राम्रो भन्दैमा कुनै किताब राम्रो र नराम्रो भन्ने मूल्य निर्धारण गर्दैछन् । प्रगतिशील लेखकको रुपमा स्थापित लेखकसमेत बहुराष्ट्रिय कम्पनीको बजारमा देखिएका छन् । अबको नेपाली साहित्यको मूल्य र बजार निर्धारण बहुराष्ट्रिय कम्पनी र ठूला सञ्चारगृहले गर्दैछन् । यसविरुद्ध जुध्न परम्परागत सोंच र लेखन शैलीले सम्भव छैन । समाजलाई सुसंगत र उज्यालो दिशातिर लाने लेखनका चुनौती अझ अग्लिएका छन् ।

तपाईंले विश्वसाहित्यका विविध कृति पढिरहनुभएको छ, विश्वसाहित्यमा नेपाली साहित्यको स्थान कहाँनेर छ ? विश्वसाहित्यमा नेपाली साहित्यको स्थान सबल बनाउन नेपाली साहित्यकारहरुले गर्नुपर्ने काम के हो ?

मौलिक लेखनलाई जोड दिने हो । यसको लागि नयाँ खोज्ने । नयाँ शैली पछ्याउने हो । नयाँ बाटो खन्ने हो । कोही हिडिसकेको बाटोमा हिडेर कहीं पुगिदैन । यसको लागि अध्ययनको दायरा बढाउनुपर्छ । पाठकसित सिधा सम्वाद गर्ने र सम्पादनको संस्कृति बसाल्नुपर्छ । पाठक र समालोचकसित आलोचनात्मक सम्बन्धको विकास गर्नुपर्छ ।

यसैगरी, नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने प्रक्रिया बढाउनु पर्छ ।

हाम्रो स्थान कहाँनेर छ विश्वसाहित्यमा ? भन्न त गाह्रो छ । तर, यति गरेपछि विश्व साहित्यमा स्थान बनाउन अवश्य सहयोग हुनेछ ।

देशले भर्खरै भोगेको १० वर्षे जनयुद्धको समर्थन वा विरोधमा थुप्रै साहित्य लेखियो तर जनयुद्धको सजीव तस्वीर आउने खालका साहित्यिक कृतिहरुको अभाव देखिन्छ नि ?

जनयुद्धबारे लेखिएका नेपाली साहित्यबारे त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा (अंग्रेजी साहित्य) शोध गरेको थिएँ । शोधको निचोड थियो, नेपाली साहित्यको बजारमा आएका जनयुद्धसित सम्बन्धित साहित्यले जनयुद्धलाई प्रतिनिधित्व गर्दैनन् । कारण छ, जनयुद्धका पक्षमा लेख्नेले जनयुद्धको ‘गीता’ मात्रा गाए भने विपक्षमा लेख्नेले सत्तोसराप मात्र हाले । सायद लेखिएका किताब कि माओवादी नेता र कार्यकर्ताले लेखे कि माओवादीविरोधीले । विरोधी वा समर्थक जो भए पनि जनयुद्धले छोएको नेपाली समाजको खसोखास अनुहार लेखे अभाव पूर्ति हुन्थ्यो कि !

तपाईं साहित्य किन लेख्नुहुन्छ ?

पाठकसित सिधा संवाद गर्न । ‘यो बाटो कता ?’ ‘उज्यालो बाटो यता’ भनेर पात्रका सहारा लिएर भन्दा आनन्द लाग्छ ।

स्रष्टाको जीवन व्यवहार र उसको सिर्जनाका बीचमा के सम्बन्ध रहन्छ ?

नेपालको सन्दर्भमा सिर्जना र जीवनको तादाम्यता मिलेका नजिकका उदाहरण कृष्ण सेन ‘इच्छुक’ हुन् । सायद मुखमा शब्द र कर्मबीच मेल हुनुपर्छ भन्नेमा धेरैका विमति नहोला । तर, व्यावहारिकरुपमा भेट्न भने शीला खोज्नुपर्छ । शब्द र कर्मबीचको दूरी मेट्न हरेक स्रष्टाले कोसिस गर्नैपर्छ । होइन भने योभन्दा अर्को ढोङ दुनियाँमा के होला ?

शब्द र कर्मबीच तादात्म्यता मिलाउनु हरेक स्रष्टाको लागि सिर्जनाजत्तिकै चुनौती हो ।

तपाईं साहित्यकार, पत्रकार वा अरु केही ?

सायद ‘हुन’ खोजेको तर ‘नभइसकेको’ साहित्यकार, पत्रकार । त्यसैले होला, साहित्यकारले ‘पत्रकार’ भन्छन्, पत्रकारले ‘साहित्यकार’ ।

तपार्इंलाई के लाग्छ ?

जीवन के हो जस्तो लाग्छ ?
रहस्यको प्याज । उप्कदैछन् पत्र । कतिखेर बोध हुन्छ जीवन ‘यै रहेछ’ भन्ने त्यतिखेर तपाईंंलाई भन्छु, जीवन के हो ।

By

Readers Comments (0)