Filed Under:  कुराकानी

विचारबिनाको कला खोक्रो हुन्छ

19th July 2014   ·   0 Comments

Keshav_thapaकेशव थापा (अध्यक्ष) प्रगतिशील लेखक सङ्घ, नेपाल दाङ शाखा

केशव थापा दङाली प्रगतिशील साहित्यिक आन्दोलनमा स्थापित नाम हो । साहित्यमा कविता लेखनलाई मुख्य विधा बनाएका थापाको चराहरुको गीत– २०६४ कविता सङ्ग्रह प्रकाशित छ । त्यसका अतिरिक्त फुटकररुपमा विभिन्न साहित्यिक तथा अन्य पत्रपत्रिकाहरुमा उनका कविता प्रकाशित भइरहेका छन् । विगत साढे दुई वर्षदेखि प्रगतिशील लेखक सङ्घ, नेपाल दाङ शाखाको नेतृत्व गरिरहेका थापासँग नयाँ युगबोध दैनिक शनिबारको सौगातका लागि डिल्ली मल्लले कुराकानी गरेका छन् ।

तपाइँ प्रगतिशील लेखक सङ्घ, नेपाल दाङ शाखाको अध्यक्ष हुनुहुन्छ, प्रलेस दाङ शाखाले के गर्दैछ आजभोलि ?

प्रगतिशील लेखक सङ्घ, नेपाल दाङ शाखा २०५० सालमा स्थापना भएको हो । स्थापनाकालदेखि नै यसले विविध साहित्यिक क्रियाकलापहरु गर्दै आइरहेको छ । दाङका विभिन्न स्थानहरुमा पुगेर मासिक रुपमा केही न केही साहित्यिक कार्यक्रम गर्ने, छलफल, अन्तरक्रिया र प्रशिक्षणहरु गर्ने काम प्रलेसले गरिरहेको छ । त्यस्तै, प्रकाशनका हिसाबले प्रलेस दाङ शाखाको मुखपत्र बहिङ्गा नियमित प्रकाशन गरिरहेको छ । र, २०७१ सालको बहिङ्गाको प्रकाशन अन्तिम चरणमा पुगेको छ ।

प्रलेसले सिर्जनात्मक कार्यक्रमहरुभन्दा जन्मोत्सव, स्मृति दिवसजस्ता औपचारिक कार्यक्रमहरु मात्र गर्छ भन्ने आरोप पनि छ नि ?

यो विषयलाई दुइटा दृष्टिकोणबाट हेर्नुपर्छ जस्तो लाग्छ । जसरी मासिकरुपमा भइरहेका अग्रज स्रष्टाहरुका जन्मोत्सव, स्मृति दिवस मनाउनु अग्रजहरुको सम्मान र सम्झना हो । त्यसलाई मनाउँदै जाँदा एकातिर स्रष्टाहरुप्रतिको सम्मान त छँदैछ, अर्कोतर्फ संस्था पनि जीवन्त रहन्छ, केही न केही गतिविधि भइरहेको हुन्छ ।

अर्कोतर्फ, सिर्जनात्मक क्षेत्रमा काम गर्न पनि आवश्यक छ । हामीले गएको पुसमा मध्यपश्चिम क्षेत्रस्तरीय साहित्यिक प्रशिक्षण तथा कवि गोष्ठी सञ्चालन गरेका थियौं । त्यो कार्यक्रम सान्दर्भिक र उत्पादनमूलक भएजस्तो लाग्छ । वार्षिकरुपमा केही रचनात्मक, सिर्जनात्मक कार्यक्रमहरु गर्नेतर्फ हामीले सोचिरहेका छौं ।

दाङको प्रगतिशील साहित्यको अवस्था कस्तो छ ?

प्रगतिशील साहित्यको अवस्था आशलाग्दो नै छ । दाङमा रहेर, दाङलाई कर्मथलो बनाएर प्रगतिशील साहित्य सिर्जनामा क्रियाशील थुप्रै व्यक्तित्वहरुले राष्ट्रियस्तरमै आफ्नो स्थान बनाउनु पनि भएको छ । अझैं प्रगतिशील लेखक सङ्घकै सन्दर्भमा सांगठनिक हिसाबले भन्ने हो भने प्रलेसको केन्द्रमा दाङबाटै अध्यक्षलगायत केही पदाधिकारी र सदस्यहरुको उल्लेख्य सहभागिता रहेको छ । सिर्जनाको क्षेत्रमा पनि राष्ट्रिय स्तरमै राम्रो अवस्था देखिएको छ । तर, अझैं पनि धेरै गर्न बाँकी छ दाङको प्रगतिशील साहित्यका क्षेत्रमा । त्यसका लागि गम्भीर चिन्तनमनन्, अध्ययन, अनुसन्धान र लेखन आवश्यक छ ।

प्रगतिशील साहित्य भनेको के हो ?

प्रगतिशील साहित्य भन्नेबित्तिकै समाज रुपान्तरणका लागि लेखिने साहित्य हो भन्ने बुझ्नुपर्दछ । प्रगतिशील साहित्यले सीमान्तकृत समुदायका आवाजहरु, बहुसंख्यक गरिब, पिछडिएका र उत्पीडनमा परेका जनताका पीडा, जिविकाका सवाल, सुख दुःख र दैनिकीका कुराहरुलाई उजागर गर्नुपर्छ । साथै उनीहरुको चेतनास्तर र समग्र जीवन परिवर्तन गर्नेतर्फ प्रगतिशील साहित्यको लक्ष्य प्रष्ट हुनुपर्दछ ।

साहित्य लेखनमा राजनीति घुस्नु हुँदैन भन्ने प्रसङ्ग बेला–बेलामा चर्को सुनिन्छ नि ?

स्वभाविकरुपमा त्यो प्रश्न उठेको छ । समाजमा एकथरि निश्चित राजनीतिक विचारधारालाई गुरु मानेर लेख्ने पक्ष छ भने अर्कोथरि साहित्यलाई राजनीतिभन्दा अलग्गै राखेर लेख्नुपर्छ भन्ने पक्ष पनि छ । यो अलि वैचारिक कुरा हो ।

मानिस कुनै न कुनै विचार सिद्धान्तभन्दा अलग हुन सक्दैन । जीवनका हरेक पक्षहरु, दैन्दिनी वा मानिसको समग्र जीवनको पाटो राजनीतिबाट अछुतो छैन । यी सबै कहीं न कहीं राजनीतिक विचारबाटै सञ्चालित र निर्देशित छन् । त्यसकारण राजनीतिलाई नछोइकन, राजनीतिबाट टाढा रहेर रचना सिर्जना गर्न सकिन्छ जस्तो लाग्दैन ।
साहित्यमा राजनीतिक विचार आउनुपर्छ तर त्यो नाराको रुपमा होइन । सिर्जनात्मक र कलात्मकरुपमा प्रस्तुत गर्नु त लेखक साहित्यकारको खुबीको कुरा हो । त्यसलाई कोरा नारा होइन, दुनियाँको मन–मनमा बस्ने गरी विचारलाई कलाचेतनाले लैस गरेर प्रस्तुत गर्नुपर्छ । विचारबिनाको कला त खोक्रो हुन्छ ।

प्रतिध्रुवीय साहित्यकारहरुले प्रगतिशील भन्नेहरुलाई साहित्यमा नाराबाजी भयो भनेर आरोप लगाइरहन्छन्, प्रगतिशील साहित्यकारहरुले यो आरोपबाट छुटकारा पाउन के गर्नुपर्ला ?

यो विषयमा गम्भीर छलफल, बहसको जरुरी छ । साहित्य लेखनकै विषयमा बहस भइरहँदा स्वभाविकरुपमा यस्ता आरोपहरु आउँछन् नै । देश नै लामो संक्रमणकालबाट गुज्रिरहेको छ । विभिन्न राजनीतिक परिवर्तनका लागि हुने आन्दोलन, परिघटना र गतिविधिहरुले लेखकहरुमा राजनीतिक आन्दोलनको छाप पर्नु स्वभाविक हो । यसको प्रष्ट प्रतिबिम्ब साहित्यमा पनि देखा पर्छ । कहिलेकाहीं साहित्यमा नाराबाजी आउनु पनि स्वभाविक हो । तर, त्यस्तो अवस्था अहिले घट्दो क्रममा छ । त्यसका लागि प्रगतिशील स्रष्टाहरुले प्रतिध्रुवीय साहित्यदेखि विश्व साहित्यको समेत गहन अध्ययन गर्न र आफ्ना रचनाहरुलाई कलाचेतनाले लैस बनाउन उत्तिकै जरुरी छ ।

साहित्य किन लेख्ने ?

साहित्य जीवनका लागि लेखिन्छ । शुरुवाती चरणमा स्रष्टाले आफ्नो सन्तुष्टिका लागि पनि लेख्छन् सायद । तर, जब लेखनी पत्रपत्रिकामा आउन थाल्छ र संस्थागतरुपमा लेखकको जन्म हुन थाल्छ, त्यसपछि उसको लेखनी आफ्नो सन्तुष्टिका लागि मात्र हुँदैन । साहित्य लेखन समाज, राष्ट्र र जीवनका लागि हुन्छ ।

तपाइँ आजभोलि के लेख्दै हुनुहुन्छ नि ?

अध्ययन र लेखन दुबैलाई सँगसँगै बढाउनुपर्छ भन्ने मान्यता हो मेरो । खासगरी म कविता विधा रुचाउँछु, लेख्छु पनि । अहिले केही कविता कृतिहरु र केही गद्य पनि अध्ययन गरिरहेको छु । फुटकर कविता पनि लेखिरहेको छु ।

जीवन के हो ?

जीवन इन्द्रेनीजस्तै रहेछ । सुख–दुःख, अप्ठ्यारा–सप्ठ्यारा, अनुकूलता–प्रतिकूलता सबैसँग जुध्दै जानुपर्दो रहेछ । प्रतिकूलतालाई अनुकूलतामा ढाल्दै जाने हो भने जीवनलाई अगाडि बढाउन सकिदोरहेछ । जीवन सङ्घर्ष पनि रहेछ । हामी सङ्घर्ष गरिरहेका छौं र त अहिले पनि अस्तित्वमा छौं । समग्रमा जीवन सबै पक्षको एउटा सुन्दर इन्द्रेनीजस्तो लाग्छ ।

अन्त्यमा थप केही भन्नु थियो कि ?

यो अवसर दिएकोमा नयाँ युगबोध दैनिक र तपाइँलाई धेरै–धेरै धन्यवाद ।

By

Readers Comments (0)