Filed Under:  कुराकानी

लोकगीतको विधा विनिर्माण जरुरी छ

19th July 2014   ·   0 Comments

govind_acharyaडा. गोविन्द आचार्य, लोकसंस्कृतिका अध्येता

डा. गोविन्द आचार्य समकालीन नेपाली लोकसंस्कृति, भाषासाहित्य, गीतसंगीत, कला क्षेत्रमा स्थापित नाम हो । त्रिभुवन विश्वविद्यालयबाट ‘राप्ती अञ्चलका लोकगीतको विश्लेषण’ शीर्षकमा विद्यावारिधि गरेका आचार्य हाल लोकसंस्कृतिका विविध पक्षको अनुसन्धान कार्यमा क्रियाशील छन् । सुसेली– गीतसङ्ग्रह, आमा– कवितासङ्ग्रह, राप्ती लोकसाहित्य, थारु लोकवार्ता र लोकजीवनलगायतका दर्जन बढी साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशन, जर्नलहरुको सम्पादन, वृत्तचित्र तथा गीति क्यासेटहरुको प्रकाशन गरिसकेका उनले विभिन्न राष्ट्रियस्तरका पुरस्कार पनि प्राप्त गरिसकेका छन् । अनुसन्धान, प्राध्यापन तथा साहित्य सिर्जनामा सक्रिय आचार्यसँग नयाँ युगबोध दैनिकको शनिबारको सौगातका लागि डिल्ली मल्लले कुराकानी गरेका छन् ।

तपाइँ लामो समयदेखि लोकसाहित्य र संस्कृतिका क्षेत्रमा काम गर्दै आउनुभएको छ । अहिले के काममा व्यस्त हुनुहुन्छ ?

तपाइँले भनेजस्तै म लोकसाहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि संलग्न छु । र, सुदूर भविष्यसम्म मेरो संलग्नता यही क्षेत्रमा रहनेछ । आजभोलि पनि लोकसंस्कृतिकै विविध पक्षहरुको अनुसन्धानमा व्यस्त छु । भर्खरै अवधि लोक संगीतको विश्लेषण पुस्तक प्रकाशित भयो । तत्काल त्यही पुस्तकको लागि अनुसन्धान र सम्पादनमै समय बित्यो ।

त्यस्तै, दुई महिनाअघि मात्रै मगर लोकसंगीतको विश्लेषणबारे अनुसन्धान पूरा गरें । र, सँगसँगै केही महिनापछि दाङमा हुन गइरहेको राष्ट्रियतरको लोकवार्ताको तयारीमा लागिरहेको छु ।

लोकवार्ता सङ्गोष्ठी भनेको कस्तो कार्यक्रम हो ?

लोकवार्ता भनेको लोक संस्कृतिकै आधुनिक नाम हो भने हुन्छ । किनकि यसलाई हामी फोकलोर भनेर बुझ्ने गर्छौं आजभोलि । लोकवार्ता अर्थात् लोकसंस्कृतिभित्र लोकजीवनका यावत विषयहरु पर्छन् । यो अभियानका रुपमा नेपालमा विगत पाँच वर्षदेखि सञ्चालित छ । तर, यो नेपालमा मात्र नभएर भारतमा पनि फैलिएको छ । यो अभियानमा नेपाल र भारतका थुप्रै विशेषज्ञहरु समावेश छन् । चार वर्षअगाडि यसको देहरादुनमा अन्तर्राष्ट्रिय सेमिनार भएको थियो । त्यसपछि पोखरा, भैरहवा र धनगढीमा पनि उक्त सेमिनार भयो । धनगढीकै सेमिनारबाट दाङमा सङ्गोष्ठी गर्ने निर्णय गरिएको हो ।

सेमिनारमा लोकवार्ताका यावत विषयसँग सम्बन्धित लोकवार्ताविद्का गोष्ठीपत्रहरु प्रस्तुत हुने गर्दछन् । जसमा नेपाली लोकजीवनका अनेक जातजाति, भाषाभाषी, हाम्रो इतिहास, पुरातत्वलगायतका विषयसँग सम्बन्धित नेपाल र भारतका विज्ञहरुले आ–आफ्ना प्रस्तुतिहरु दिनुहुन्छ । भारतका विज्ञहरुले विशेषगरी नेपालसँगको साँस्कृतिक सम्बन्धलाई मलजल पुग्ने गरी त्यससँग सम्बन्धित विषयलाई उठाउनुहुन्छ, जो नेपालमा पनि छ र भारतमा पनि ।

यसरी हेर्दा यो कार्यक्रम अन्तर्राष्ट्रियस्तरको सेमिनारको रुपमा दाङमा सम्पन्न हुँदैछ । हामीले यसलाई चौथो राष्ट्रिय लोकवार्ता सङ्गोष्ठी भनेका छौं ।

लोकवार्ता सङ्गोष्ठी कहिले र कहाँ हुँदैछ नि ?

यो कार्यक्रमको खाका एक वर्षअघि नै तयार भइसकेको हुन्छ । दाङमा हुने चौथो लोकवार्ता सङ्गोष्ठी २०७१ असोज २९, ३०, ३१ र कार्तिक १ गते चार दिन हुनेछ । शुरुका तीन दिन गोष्ठीपत्र प्रस्तुति र टिप्पणी हुनेछ भने अन्तिम दिनको कार्यक्रम भ्रमणमूलक हुनेछ । त्यसका लागि विशेषतः दाङ र अझ राप्ती क्षेत्रका पर्यटकीय एवम् लोकसंस्कृतिका हिसाबले महत्वपूर्ण स्थलहरुको भ्रमण गराउने लक्ष्य राखेका छौं ।

लोकसाहित्य, लोकसंस्कृतिलाई आम पाठकले कसरी बुझ्ने ?

लोकसाहित्य पनि लोकसंस्कृति, लोकवार्ताभित्रकै विषय हो । त्यसलाई छुट्टै रुपमा बुझ्नु हुँदैन । लोकवार्ता वा लोक साहित्य भनेको खास लोकजीवनको आफ्नो निर्माण हो । लोकवार्ताभित्र लोक प्रविधिको कुरा छ । लोकज्ञान, लोकशिक्षा, लोकगीत, लोकसाहित्य छ । लोककथा, लोकसंगीत छ । अर्थात् हामी के बुझ्छौं भने खास लोकजीवनले आफ्नो विषयमा आफै निर्माण गरेको चीज नै लोकवार्ता हो ।

जस्तो, हामी शिष्ट साहित्यको कुरा पनि गर्न सक्छौं, त्यो बाइप्रोडक्टजस्तै हो । शिष्ट साहित्य हामी कसैको बारेमा लेखिदिन्छौं, कति ती हाइपोथेटिक पनि हुनसक्छन्, कति यथार्थ पनि । तर, लोकवार्ताभित्रका कुरा विगत इतिहास र लोकजीवनका कुरा हुन् । ती विगत लोकजीवनका पाइला हुन् र वर्तमानमा खेलिरहेको प्रत्यक्ष चित्र हो लोकवार्ता÷लोकसंस्कृति । त्यसैले लोकसाहित्य पनि लोक जीवनको आफ्नै साहित्य हो । जसभित्र ऊ सुखी छ या दुःखी छ ? अँध्यारो छ या उज्यालो छ ? सबै कुरा प्रतिबिम्बित भइरहेको हुन्छ ।

पछिल्लो समयमा आधुनिकीकरणको नाममा लोकसंगीतको मर्मविपरित विकृति आइरहेको जस्तो लाग्दैन तपाइँलाई ?

तपाइँले एकदम सही प्रश्न गर्नुभयो । यो विषयमा मैले भर्खर एउटा आलेख तयार गरेको छु । लोकसंगीतमा विधा विनिर्माणको अवस्था धेरै अघिदेखि नै आएको थियो । र, अहिले त्यो उत्कर्षमा पुगेको छ । अहिलेका उत्पादनहरु ती लोकगीत हुन् भनेर मैले पनि भन्न सक्दिनँ । के हुन् भन्नलाई त्यसको सजिलो जवाफ पनि छैन । तर, लोकगीतै भनिरहेका छन् । मैले मेरो आलेखमा प्रष्ट लेखेको छु कि अब विधा विनिर्माण गर्न जरुरी छ किनभने दूध र पानी एकै ठाउँमा मिसाउनु हुँदैन ।

लोकसंगीत वा लोकगीत त्यो हो कि होइन भनेर जाँच्ने तीनवटा प्रश्न छन् । ती तीनवटा प्रश्नको जवाफ आयो भने त्यो लोकगीत वा संगीत हो । जवाफ आएन भने त्यो लोकगीत वा संगीत होइन । त्यो निर्मित हो, आयोजित लेखन हो । त्यसलाई आधुनिक गीत भने पनि बिग्रिदैन ।

ती तीन प्रश्नमध्ये पहिलो प्रश्न हो, त्यो लोक गीत वा लोकसंगीत कुन स्थानमा प्रस्तुत गरिन्छ ? सुदूरपश्चिममा, हिमाली क्षेत्रमा, पूर्वाञ्चल वा कहाँ हो ? त्यसको जवाफ आउनुपर्छ ।

दोस्रो प्रश्न, त्यो लोकगीत वा लोकसंगीत कहिले प्रस्तुत गरिन्छ ? त्यसको समय निर्धारण हुनुप¥यो । हामी बैशाख जेठमा भैलो गाउँदैनौं नि । त्यसको निश्चित समय छ । भैलो एउटा जातिको परम्परा होइन, हरेक जातिमा छ ।

तेस्रो प्रश्न, त्यो लोकगीत वा लोकसंगीत कुन समुदायमा प्रस्तुत हुन्छ ? त्यो नेपाली भाषीले प्रस्तुत गर्छ वा थारु भाषीले वा अवधि, मैथली, हिमाली, शेर्पा कसले प्रस्तुत गर्छ ? यी तीनवटा प्रश्नको जवाफ जुन–जुनमा आउँदैन ती लोकगीत होइनन् ।

तपाइँले भनेजस्तै चाडपर्व र संस्कृतिको रुप बिगार्ने गरी आएका चीजहरु विकृति हुन् । तिनले मनोरञ्जन त देलान्, हामीले पनि ए यसो त नहुनुपर्ने हो भनौंला । विदेशीहरु हाम्रो लोक गीत संगीतको अनुसन्धान गर्न आए र उनीहरुका हातमा तिनै क्यासेट हात परे भने उनीहरुले नेपाली लोकगीत यस्तो रहेछ भनेर बुझ्छन् र गलत सन्देश प्रवाह हुन्छ ।

यहींनेर प्रश्न उठ्छ, त्यसो भए अहिले सिर्जना भएका यी चीजहरु कला होइनन् त ? त्यसो पनि होइन, यी कला नै हुन् । यिनले मनोरञ्जन पनि दिन्छन्, सिर्जनाहरु हुन्, मीठा पनि छन्, राम्रा पनि छन् । त्यसैले मैले भन्ने गरेको छु, अब विधा विनिर्माण गर्नुप¥यो ।

माथि भनिएका तीन प्रश्नको जवाफ आउने गीत संगीतलाई परम्परागत लोक गीतसंगीतको वर्गमा राखौं । र, जुन तपाइँ हामीले लोक गीतकै रुपमा लिन नसक्ने नयाँ गीत संगीतहरु छन् तिनलाई छुट्टै वर्गमा नामाकरण गरौं । उदाहरणका लागि, तीजको बेला टिभीमा रातो सारीबाहेक गीत, संगीत र शब्दमा अन्यत्र कतै सम्बन्ध देखिदैन । त्यस्ता गीत आधुनिक लोक गीतहरु हुन् । ती गीतहरुको पूरै आधुनिकतासँग सम्बन्ध छ– लय निर्माणदेखि शब्द लेखनसम्म । लोकगीतमा त संकलनबाहेक अरु केही पनि हुँदैन । त्यसैले यी परम्परागत लोकगीतको विशेषतासँग नमिल्ने भएको हुनाले यसरी आएका गीतलाई आधुनिक लोकगीत भन्न सकिन्छ ।

पश्चिमाहरुले पनि लोकसंगीत भनेर नबुझिने भएकाले परम्परागत लोकसंगीत भन्दा रहेछन् । सायद त्यहाँ पनि अहिले हाम्रोमा देखिएको समस्या आएको हुनुपर्छ । त्यसैले म विधा विनिर्माण गरिदिनुपर्छ भन्ने पक्षमा छु ।

अहिलेको भूमण्डलीकरणको युगमा हरेक समुदायका आफ्ना परम्परागत संस्कृति जोगाइराख्न सम्भव छ त ?

पहिलो कुरा, लोकवार्ता, लोकसंस्कृति वा लोकसाहित्यलाई हामीले हुबहु जोगाउनै सक्दैनौं । जुन अहिले हाम्रो संस्कृति भनिरहेका छौं, त्यो पचास वर्ष त के १० वर्ष पहिलेको भन्दा धेरै फरक छ । लोकसंस्कृतिको प्रवृत्ति हे¥यो भने स्वयम् ऊ परिवर्तनशील छ र परम्परागत पनि ।

परम्परागत यस अर्थमा कि यसभित्र केही न केही आरम्भिक चरणका लक्षणहरु छन् । साथै केही न केही परिवर्तन हुँदै जानु पनि यसको प्रवृत्ति छ । त्यसैले यसलाई जस्ताको तस्तै रोक्न सकिदैन । संस्कृतिका कयौं कुराहरुलाई छोड्नु वा परिवर्तन हुनुका पछाडि हठात् परिवर्तनका कयौं घटनाहरु पनि हामीसँग छन् । हठात् परिवर्तन गरिनुहुन्न भन्ने मेरो धारणा छ । आफ्नो समयअनुसार हुने परिवर्तनले त्यसलाई खासै असर पनि पार्दैन । त्यसैले बिस्तारै परिवर्तन होस् भन्ने म चाहन्छु ।

परिवर्तनका लागि अन्तर्राष्ट्रिय प्रभाव मात्रै होइन, आन्तरिक प्रभाव पनि त्यत्तिकै छ । जस्तो, थारु लोक गीतमा नेपाली भाषा मिसाएर गाइरहेका छन् । गाउँगाउँमा थारु जातिका मान्छेहरु माघीमा नाच्नुपर्ने, त्यतिबेला अरु नै नाचिरहेका छन् भने तिहारमा थारु जातिका मान्छेहरु भैलो पनि खेलिरहेका छन् । परम्परागतरुपमा त्यस्तो थिएन । त्यसैले समाज पनि अहिले मिश्रित बन्दैछ, त्यसले संस्कृतिमा पनि मिश्रित हुने नै भयो । यसले धर्म, जाति, भाषा भिन्न हुँदाहुँदै पनि मिश्रण हुने अवस्था छ र अझ यो तीव्र रुपमा बढिरहेको छ । त्यसकारण हाम्रो संस्कृतिलाई पूर्णरुपमा पहिले जे थियो, त्यही रुपमा संरक्षण गर्ने भन्ने असम्भव कुरा नै हो ।

हामीले परम्परागत संस्कृतिलाई यस्तो थियो है भन्ने चिनारी दिनका लागि साँस्कृतिक संग्रहालय बनाएर संरक्षित गर्न सक्छौं । र, कमसेकम संस्कृतिको परिवर्तन नियतवश हठात् होइन, समयक्रमसँगै विस्तारै परिवर्तन होस् भन्नेसम्म हामी पुग्न सक्छौं ।

दाङ जिल्लामा लोकसंस्कृतिका रुपमा सङ्ग्रह गरेर राख्नलायक के–के चीजहरु छन् नि ?

दाङ भन्नेबित्तिकै राप्ती अञ्चल मात्रै होइन, लुम्बिनीदेखि कर्णाली र भेरी अञ्चलका केही जिल्लाहरु समेतको प्रतिनिधित्व गर्ने विविधता दाङमा छ । त्यसकारण हामीसँग यहाँको आदिबासी थारु जातिको निकै गहिरो संस्कृति छ । अनि त्यत्तिकै नेपालीभाषी खसको सांस्कृतिक सम्पत्ति पनि हामीसँग छ ।

त्यस्तै, उत्तरी भेगमा निकै ठूलो मगर समुदायको मगराँत क्षेत्र छ भने दक्षिणतिर अवधि क्षेत्र त्यत्तिकै मात्रामा छ । त्यसका अतिरिक्त भाषिक दृष्टिले लोपोन्मुख अवस्थाको कुसुण्डा भाषा छ । त्यसकारणले भाषिक, साँस्कृतिक, साहित्यिक वा कला र संस्कृतिका अन्य पक्षहरु जातीय भेषभुषा, हस्तकलाका कुराहरु पनि छन्, ती सबैलाई संरक्षण गर्नुपर्ने र चल्न सक्ने चीजलाई पुनस्र्थापित गर्ने, चल्न नसक्ने चीजलाई कमसेकम संग्रहित गरेर संरक्षण गर्नुपर्ने जरुरी छ ।

तर, समस्या के छ भने यी विषयमा गम्भीर हुने निकायको ज्यादै अभाव छ । यसका लागि लगानी त चाहियो । संग्रहालयका लागि भौतिक पूर्वाधारदेखि विभिन्न सामग्रीहरुको संकलन, निर्माण र तालिम चाहियो, त्यसका लागि लगानी जरुरी छ ।

तपाईं अनुसन्धानतर्फ लागिरहँदा साहित्यिक÷सांगीतिक क्षेत्रबाट छुट्दै गएकोजस्तो लाग्दैन ?

हो, यो एकदम सत्य कुरा हो । म अहिले साहित्य र संगीतका क्षेत्रमा पछाडि परें । परिस्थिति नै त्यस्तै बन्यो, म नेपाल म्यूजिक सेन्टरमा रिसर्च कोर्डिनेटरको जिम्मा लिएपछि रिसर्चको फाँटमा लाग्नुपर्ने भयो । यो बीचमा मैले २५ महिना लगाएर नेपालका २२ जिल्ला पुगेर थारु लोकसंगीतको विश्लेषण सकेको छु, जुन अर्को वर्ष पुस्तकको रुपमा आउँदैछ ।

त्यस्तै, मगर र अवधि लोकसंगीतको विश्लेषण पनि गरेको छु । त्यसैले रिसर्च बेसमा काम गर्न थालेपछि मेरो सिर्जनाको पाटोमा पछाडि परेको छु ।

रिसर्चमा बुद्धिको काम बढ्ता हुने र हृदयको काम कम हुने अनि सिर्जनाको काममा हृदयको काम बढी हुने र एकान्त बढी चाहिने रहेछ । म एकान्तबाट बढ्ता मास बेसमा काम गर्न फिल्डमा जानुपर्ने भएकाले कविता, गीत सिर्जना गर्ने वातावरण नै भएन । त्यस्तै, गीत गाउनका लागि जुन हिसाबले रियाज गर्नुपथ्र्यो त्यो पनि छुटेकाले म आफूलाई नै एउटा ठूलो पाटोबाट वञ्चित भइरहेको महसुस गरेको छु ।

लोकसंस्कृतिका क्षेत्रमा योगदान गरेवापत तपाईं भर्खरै सरकारले प्रदान गर्ने क्षेत्रीय प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ, कस्तो महसुस गर्नुभएको छ नि ?

मलाई जसले पुरस्कृत ग¥यो, त्यसमा म खुसी नै छु । पुरस्कारले मान्छेलाई काम गर्नका लागि प्रोत्साहित गर्छ, प्रेरणा प्रदान गर्दछ । मेरो यहाँनेर थोरै भावना के छ भने हामी अहिले उमेर र कामका हिसाबले परिपक्व भइसक्यौं । पुरस्कार नदिएर डिस्करेज हुने र पुरस्कार दिएर साह्रै फुर्किनुपर्ने समय छैन । यसले मलाई त्यस्तो प्रभाव पार्दैन । पुरस्कार दिने सरकारी होस् या निजी निकाय नै पुरस्कार प्राप्त गर्ने व्यक्तिको कृतिगत मूल्याङ्कनका आधारमा हुनुपर्छ । त्यसलाई कहिले दिने, कुन पुरस्कार दिने भन्ने स्पष्ट हुनुपर्छ भन्ने मलाई लाग्छ ।

मध्यपश्चिम क्षेत्रमै हे¥यौं भने मैले अहिले पाएको पुरस्कार म भन्दा धेरै पछिका धेरै कम कृति गरेकाहरुले आजभन्दा १० वर्ष पहिले नै पाइसकेको मलाई थाहा छ । मलाई यही पुरस्कार अलि समयमै दिएको भए अझ बढी प्रेरित गथ्र्यो होला । अथवा केही समय पर्खेर राष्ट्रिय प्रतिभा पुरस्कार दिएको भए पनि हुन्थ्यो होला । तर, जे जसो भए पनि कसैको मूल्याङ्कन गर्ने विषय भनेको ठ्याक्कै हिसाब गरेजस्तो जोड घटाउ हुँदैन ।

सरकारले मलाई सम्झियो, त्यसप्रति आभारी छु । यसले केही न केही प्रोत्साहित गर्छ भन्ने नै लाग्छ ।

जीवन के हो जस्तो लाग्छ ?

कर्म जीवन हो जस्तो लाग्छ मलाई । बिदाको दिन केही पनि सिर्जना गरिएन भने त्यो दिन मरेजस्तो लाग्छ । हरेक दिन कुनै न कुनै सिर्जना होस्, कुनै न कुनै काममा बितोस् भन्ने चाहन्छु । यसअर्थमा मैले कर्म नै जीवन हो भन्ने ठानेको छु ।

By

Readers Comments (0)