Filed Under:  संस्मरण | निबन्ध, सौगात विशेष

गुरिल्ला ट्रेकमा दश दिन | विनोद के.सी.

19th July 2014   ·   1 Comment

binod_kcमानवअधिकारवादी संस्था हरप्लेसले सञ्चालन गरेको कार्यक्रमको प्रभाव र उपलब्धिहरुको अनुगमन, मूल्यांकनको मुख्य उद्देश्यसहित रुकुमबाट रोल्पाको थवाङ हुँदै सुलिचौर लिवाङसम्मको गुरिल्ला टे«कका लागि लागि हाम्रो यात्रा तय भयो । यो मार्गमा पर्ने युद्धकालमा तत्कालीन नेकपा माओवादीले गरेका महत्वपूर्ण बैठक स्थलहरु, सरकारी सेना र माओवादी लडाकूबीच भएका भीडन्तका स्थल, युद्धकालमा तयार पारिएका बंकरहरु, लडाइँस्थलहरु यही रुटमा पर्ने गर्दछन् । त्यसैले पनि यो बाटोको यात्रा तय गरियो । यस अर्थमा द्वन्द्वले असर पारेका मान्छेहरुका विचार बुझ्ने र स्थलहरुको अवलोकन गर्ने नै प्रमुख लक्ष थियो । गत वर्षदेखि नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय गन्तव्यसूचीमा राखेको गुरिल्ला ट्रेकको महत्वको कारणले पनि यसतर्फ जान हामी आकर्षित भएका थियौं ।

binodदाङको घोराहीबाट असार ५ गते बिहान हाम्रा यात्रा शुरु भयो । स्थानीय बसको यात्रापछि तुलसीपुरबाट राप्ती लोकमार्गको सल्यान हुँदै रुकुमका लागि बसको यात्रा शुरु भयो । तुलसीपुरबाट बिहान ८ बजे शुरु भएको हाम्रो बस यात्रा साँझ ५ बजे रुकुमको सदरमुकाम खलंगामा पुगेर टुङ्गियो । द्वन्द्वप्रभावित सिम्ली र मुरु गाविसको यात्रा, घटना भएका ठाउँहरु र यसले पारेका असरहरुको जानकारी र जिल्लाको सदरमुकामका सरोकारवालाहरुको भेटघाटमा नै तीन दिन सकियो । रुकुम जिल्ला विकास समितिले तयार पारेको गुरिल्ला ट्रेकको योजना, त्यसका लागि तयार पारेको नक्सा हेर्दै स्थानीय विकास अधिकारी भरतकुमार शर्मासँगको कुराकानीले हामीलाई गुरिल्ला ट्रेकमा अघि बढ्न थप प्रेरित ग¥यो । यो ब्रिफिङपछि खलंगाबाट असार ८ गते झुलखेत बजार हुँदै चौखावाङको गलम्पाटीमा साँझको बास भयो ।

असार ९ गतेको बिहानीको शितलतासँगै गलम्पाटीबाट हाम्रो यात्रा शुरु हुन्छ । पातीहाल्नाको उकालोसँगै तल्लो तिलाको लेक पार गरी हामी रोल्पाको पाछावाङ गाविसमा प्रवेश ग¥यौं । रुकुमको चुनवाङ पुग्न पनि रोल्पाको भू–भाग हुँदै जानुपर्ने भौगोलिक अवस्था रहेको छ । हुन त गलम्पाटीबाट माथिल्लो टिला हुँदै हामी चुनवाङको सिमचौर छिर्न सक्थ्यौं तर चुनवाङ गैरीगाउँ जान सजिलो होस् भनेर तल्लो टिलाकै बाटो प्रयोग ग¥यौं । यी दुबै टिलाका लेकहरुमा युद्धकालका प्रशस्त अवशेष भेटाउन सकिन्छ र तत्कालीन छापामारले दुईवटै बाटो पर्याप्त मात्रामा प्रयोग गर्ने गरेकाले दुबै रुटलाई गुरिल्ला टे«कको रुपमा अघि बढाउने सम्भावना छ ।

हामी रोल्पा पाछावाङको तातापानीबाट बिहान १० बजे पुनः रुकुमकै चुनवाङ गैरीगाउँ पुग्यौं । गैरीगाउँमा बिहानको खानापछि स्थानीय द्वन्द्वपीडित एकल महिला समूहका सदस्यहरु र अन्य सरोकारवाला निकायहरुसँग भेटघाट भयो । चुनवाङ रुकुमको मात्र होइन नेपालकै चर्चित गाउँ हो, जहाँ युद्धकालमा धेरैले ज्यान गुमाएका छन् । धेरै भिडन्तहरु यहाँ भएका छन् र कैयौं निर्दोषले अनाहकमा ज्यान गुमाएका छन् । त्यति मात्र होइन २०६२ सालमा भएको नेकपा माओवादीको चर्चित बैठक पनि यहीं भएको थियो । हामी बैठकस्थल हेर्न चुनवाङको भेडीडाँडामा पुग्यौं, जहाँ १८ दिनसम्म युद्धकालमै बसेको माओवादीको बैठकले डा. बाबुराम भट्टराईलाई गरिएको पार्टी कारवाही फुकुवा गरी अन्य दलहरुसँग मिलेर लोकतान्त्रिक आन्दोलन गर्ने कार्यनीति तय गरेको थियो । प्रचण्ड र भट्टराईबीच देखिएको मतभेतको अन्त्य गर्दै एक आपसमा विलय भएको घोषणा यही भेडीडाँडामा भएको थियो । बैठकको समापनपछि भेडीडाँडा गाउँको माथि रमणीय खुल्ला चौर भएको डाँडामा केन्द्रीय नेताहरुका लागि कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । युद्धकालीन कथामा आधारित गीति नाटक हेरेर त्यतिबेला प्रचण्ड, बाबुरामलगायतका केन्द्रीय नेताहरु डाँको छाडेर रोएको भिडियो सार्वजनिक भएपछि यो ठाउँले थप चर्चा पाएको थियो । यो चर्चासँगै माओवादीले आफ्नो युद्धकालीन कार्यनीति परिवर्तन गरी लोकतान्त्रिक धार तय ग¥यो र लावाङ बैठकबाट भट्टराईलाई गरिएको कारवाही पनि चुनवाङ बैठकबाट फुकुवा ग¥यो । अहिले फेरि प्रचण्ड र भट्टराईबीच खट्पट् भइरहेको बेला हाम्रो यस पटकको यात्रामा यस्तो महत्वपूर्ण संयोग जु¥यो, हामी भट्टराईलाई कारवाही गर्न बैठक बसेको स्थल लावाङ र कारवाही फुकुवा गर्न बैठक बसेको स्थल चुनवाङ दुबै ठाउँ पुग्यौं । चुनवाङ भेडीडाँडा र माथिको चौरमा साँस्कृतिक कार्यक्रम स्थल, बैठकको सुरक्षा र आइपर्ने खतरालाई प्रतिवाद गर्न तयार पारिएका युद्धमोर्चाका बंकरहरु अझैं पनि अवलोकन गर्न लायक छन् । यस महत्वपूर्ण ठाउँको अवलोकनपछि साँझको बास स्थानीयबासीहरुको आतिथ्यतामा भेडिडाँडामै भयो ।

binod_2चुनवाङको भेडीडाँडाबाट १० गते बिहान हाम्रो टोली थवाङका लागि प्रस्थान ग¥यो । त्यो बिहानीमा पनि ठूलै लेकपार गरी रुकुमको महत गाविसको भित्रीवन हँुदै हामी लावाङमा खाना खान पुग्यौं । स्थानीयहरु भन्दै थिए– यो मार्ग युद्धकालमा माओवादी लडाकू र नेताहरुले सबैभन्दा धेरै प्रयोग गर्ने गरेका थिए । यो गाउँमा बसेको नेकपा माओवादीको बैठकले सो पार्टीका नेता लालध्वज अर्थात् डा. बाबुराम भट्टराईलाई कारवाही गरेको थियो । हामी हिँडेको मार्ग युद्धकालीन विभिन्न अवशेष र नेकपा माओवादीका चर्चित बैठकहरु गरेका गाउँहरु थिए । त्यसो त हामी ती ऐतिहासिक र चर्चित बस्तीहरुको खोजीमै हिडेकाले भेटिनु स्वाभाविक पनि थियो । यो बिहान पनि भेटघाटमै बित्यो । बिहानको खानासँगै स्थानीयसँग भेटघाट, कुराकानी र गाउँको अवलोकनपछि रुकुमकै धर्मशाला गाउँ हुदै साँझ चर्चित बस्ती रोल्पाको थवाङमा पुग्यौं, जुन गाउँ अन्तर्राष्ट्रियरुपमा पनि चर्चाको शिखरमा छ ।

साँझ ४ बजे हामी थवाङ पुग्दा विद्यालयहरु बिदा भएर विद्यार्थीहरु घर फर्किदै थिए । वनतिर चर्न गएका बस्तुभाउहरु फर्कदै थिए । गाउँका प्रत्येक घरहरुमा हल्का धँुवाको संकेतले गाउँका मान्छेहरु बासको तयारी गर्दै गरेको र हामीलाई ती घरहरुमा स्वागत गरेको आभास हुन्थ्यो । गाउँको प्रवेशद्वार अगाडिको ठूलो भित्तामा माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका पेन्ट गरेका फोटोहरुले पनि हामीलाई स्वागत गरिरहेको जस्तो लाग्थ्यो । हामी होमस्टे भई नसकेको तर तयारीमा रहेको यो गाउँमा बासको खोजी गर्दै रेशम शाहको घर खोज्दै गयौं । शाह २०४० सालमा रुकुमकोटबाट शिक्षक बनेर गएका र यहीं घरजम गरी गाउँका अगुवा बनेका रहेछन् । साँझको बास यिनै शाहको घरमा बसियो । थवाङको पछिल्लो जानकारी लिन पनि हामी पछि परेनौं । युद्धका अवशेषहरु र त्यसबेला स्थानीयले पाएको दुःखको जानकारीपछि थकाइ लागेकोले कतै नघुमेर बिहान घुम्ने योजनासहित हामी आराम गर्नतिर लाग्यौं ।

binod_barman११ गते बिहानीको निद्रा खुलेसँगै २०४८ सालका आफ्नै परम्परागत भेषमा संसद भवनमा जाने चर्चित पूर्वसांसद बर्मन बुढाको घरमा पुग्यौं । उमेरका हिसाबले बुढा भइसकेका बर्मनको चिन्ता थवाङको विकास कसरी गर्ने भन्ने रहेछ । यस गाउँलाई नेपाली सेनाले पनि चासोका साथ हेर्न थालेको रहेछ । हामी पुगेकै अघिल्लो दिन तीन दिनको स्वास्थ्य शिविर सकेर सेना फर्केको रहेछ । अहिलेको संविधानसभाका सभासदहरुले जातीय पोशाक र भाषा बोल्ने गरेकोलाई नाटकको संज्ञा दिने बर्मनले धेरै पुराना प्रसंगहरु सुनाउनुभयो । आफूले त्यतिबेलै फेटा लगाएर खाम मगर भाषामा बोलेको सम्झदै उहाँले थप्नुभयो– ‘एकपटक सभामुख दमननाथ ढुंगानाले आज संसदमा राजाको सम्बोधन छ राष्ट्रिय पोशाक लगाएर आउनु र राष्ट्रिय भाषामै बोल्नु भनेका थिए तर मैले म बोल्ने भाषा र मैले लगाएको पोशाक के राष्ट्रिय होइन ? भनेर प्रतिप्रश्न गरेको थिएँ ।’ सभामुखको रुलिङ अवज्ञा गर्दै उहाँ त्यतिबेला फेटासहित नै संसदमा जानुभएछ । यो पोशाक लगाएर जाँदा आफूलाई ‘यो को बहुला आयो ?’ भनेर प्रश्न गर्ने गरेको पनि उहाँले सुनाउनुभयो । बर्मनसँगका यस्तै भलाकुसारीमा थवाङमा दुईघण्टा बित्यो ।

थवाङलाई बिदाई गर्दै हामी कम्युन परिवार बसेको फुन्टिवाङतिर लाग्यौं, जहाँ द्वन्द्वपीडित एकल महिलाका समस्या सुन्ने संयोग मिलाइएको थियो । त्यहाँ केही समय बिताएपछि हामी अर्को पहाडको उकालोतिर लाग्यौं उवा गाउँतिरको यात्रामा । त्यो उकालो जंगलको बाटोमा झिमझिम पानीको झरीसँगै उकाली–ओराली गर्दै ११ गते साँझ उवागाउँमा हाम्रो बास भयो । १२ गते बिहानै हामी द्वन्द्वपीडित एकल महिलाहरुको घरतिर लागियो र उनीहरुको समूहसँग द्वन्द्वले पारेका असर र अहिलेको जीविकोपार्जनको बारेमा कुराकानीपछि हाम्रो टोली फुलीवनतिर लाग्यो । फुलीवनमा बिहानको खानापछि हामी सुलीचौर बजारतिर हानियौ । सुलीचौरबाट साँझको हाम्रो बास रोल्पा सदरमुकाम लिवाङमा भयो ।

१३ गते बिहान द्वन्द्वका कारण एकल भएका महिला र पुरुषले पुनर्विवाह गरी समाजमा स्थापित हँुदाका चुनौती र सामना गरेका व्यवहारका बारेमा उनीहरुसँग भेटघाट र अन्तक्र्रिया भयो । त्यससँगै रोल्पामा द्वन्द्वको बेला सबैभन्दा धैरै ज्यान गुमाएको गाविस जेलवाङ र सेनासँग माओवादीको ठूलो भिडन्त भएको गाम गाविसको गुरिल्ला मार्गको बारेमा सोही गाविसहरुका स्थानीयसँग छलफल भयो । जिल्लाको पर्यटनको विकास र यसको सम्भावनाका बारेमा जिल्ला विकास समितिको कार्यालयमा पर्यटन शाखाका प्रमुख दीपेन्द्र डिसी र सूचना अधिकृतसँग छलफल भयो । यसरी यो दिनको काम पछि १३ गते हाम्रो टोली रोल्पाबाट दाङको लागि प्रस्थान ग¥यो ।

हुन त हामी युद्धकालीन घटनाबारे जानकार नै नभएको होइन तर गुरिल्ला ट्रेकको यो परिभ्रमणपछि युद्धकालीन घटनाका धेरै पाटापक्ष र स्थलहरुको जानकारी भएको छ । यो यात्राले नेपालमा चलेको युद्धको ‘फ्ल्यास ब्याक’को काम गरेको छ । युद्धकालीन झझल्को दिएको आभाष भएको छ । युद्धकालीन मानवीय, भौतिक र दोहोरो भिडन्त त्यसका लागि प्रयोग गरेको बाटोको हिसाबले पनि यो मार्ग पर्यटक र अध्ययनकर्ताहरुका लागि राम्रो मार्ग बन्न सक्छ । यो मार्गको स्तरबृद्धि र विकासका लागि सरकारले विशेष योजना बनाएर लागू गर्दा यस ठाउँको विकासको राम्रो सम्भावना बन्न सक्छ । यसका लागि लडाकूहरुले प्रयोग गरेका बाटाहरु, भिडन्त भएका पहाडहरु, बास बसेका घरहरु, अहिलेसम्म पारेका असरहरुको गहिरो अध्ययनसहित तिनीहरुको संरक्षण र प्रचारप्रसार जरुरी छ । ती पहाडहरु, आश्रय स्थल बनेका घरहरु र आश्रय दिने मान्छेका कुराहरु नै यो मार्गको महत्व रहेको छ । यी र यस्तै कुराहरुसँग भलाकुसारी र लुकामारी गर्दै दश दिनको गुरिल्ला ट्रेक यही सकिन्छ ।

By

Readers Comments (1)

  1. Sumi says:

    Absolutely, it trek can enjoy never ending beauty . We may promote our touristic spot. Thanks.