Filed Under:  संस्मरण | निबन्ध

बादलमा हराउँदा | खिमु केसी

17th July 2014   ·   1 Comment

Khimu kcअसार २५ गते बिहान ८.३० मा सिमकोट विमानस्थलबाट सुर्खेतका लागि जहाज उड्यो । सिमकोटबाट बाजुराको कोल्ट्री विमानस्थलको आकाशसम्म रमाइलो रहेको यात्रा त्यसपछि अचानक बदलियो । निलो आकाशमा सेता हिमाल अवलोकन गर्दै गरेका आँखाहरु कालो बादलको भुमरीमा अल्झिए । जहाजको रुट देखिएन । पाइलट डिस्प्ले थिच्दै थिए । क्षण–क्षणमा पाइलटका हातहरु विभिन्न टुल्समा चल्दै थिए ।

प्रायः म जहाजमा पाइलटको पछाडिको सिटमा बस्छु । पाइलटको डिस्प्ले हेर्छु । यो पटक पनि त्यही डिस्प्ले हेर्दै थिएँ । जहाज कालो बादल र सेतो कुहिरोभित्र पस्यो । अगाडि केही देखिएन केवल कालो बादल र सेतो कुहिरो । जहाजको गति तीव्र थियो । कुहिरो र बादललाई छिचोल्दै उडेकै थियो जहाज । जहाज कहाँ जाँदै थियो डिस्प्लेमा हेर्न मिल्दैनथ्यो । बाहिर केवल कालो बादल जसले भिजिविलिटी देख्न सकिने थिएन । जहाजका दुई पखेटाबाट तप्प–तप्प चुहिएका शीतका थोपाबाहेक केही देखिदैनथ्यो ।

plane 1गोमा एयरलाइन्सको ट्याङ्गो जहाज नौ जना यात्रुहरु बोकेर गन्तव्य हराएझैं बादलभित्र उड्दै थियो । अब कता जान्छ जहाज, के हुन्छ कसैले अड्कल गर्ने ठाउँ थिएन । सबै भगवान भरोसामा थिए । त्यहाँ कसैको केही चल्दैनथ्यो । चल्थ्यो त पाइलटको साहस र हिम्मत । कि भने भगवान दाहिने हुनुपथ्र्यो । आफूसहित एघार जनाको जीवन बोकी उडेका दुइ पाइलटको हातमा थियो जीवनको रिमोट । कुनचाहिं च्यानल लगाउने उनकै हातमा थियो । जीवन कि मृत्यु । यात्रुहरुमा मौनता छाएको थियो ।

‘दाइ हामी कहाँ आइपुग्यौं ?’
­

जहाजका एक यात्रुले सोधे । आँखाको डिलभरि आँसु थियो उनको । आत्तिएर सोधेका थिए उनले ।

उत्तर दिन सक्ने अवस्थामा थिइन म । उनीजस्तै एक यात्रु थिएँ म । हालत पनि उनको जस्तै । केवल फरक थियो त उनीभन्दा बढी जहाज चढेको थिएँ म । अलि बढी आकाश यात्रामा अनुभव थियो । बस् अनुभव । अर्थहीन अनुभव । जहाँ त्यो अनुभवले कुनै महत्व राख्दैनथ्यो । नाजवाफ भएँ म । तैपनि प्रतिउत्तर दिन खोजें । बिस्तारै आधा सासले,

‘सायद कालिकोट होला भाइ ।’

मलाई यति भने थाहा थियो कि बाजुरापछि कालिकोटको आकाशमा हुन्छ जहाज । बाजुरासम्म भिजिविलिटी भएको आकाश अचानक बदलिएको थियो । बिचरा राजकुमार सर ! उनले अलिकति सु पनि गरिसकेका रहेछन् । आँखामा आँसुका ढिका जम्मा भएका थिए उनका । घरमा श्रीमती प्रेगनेन्टको डेडलाइन सकिन लाग्यो भनेर अर्कैको टिकटमा उडेका थिए । आफ्नो साथीलाई अर्को जहाजमा आउन आग्रह गरी साथीको टिकटमा उडेका थिए उनी । उनलाई हेर्छु, बिचरा शरीर काँप्दै थियो उनको । पहिलो पटक हुम्ला आएका उनी होस गुमाउँदै थिए ।

‘आज यति नै रहेछ बाँच्ने !’ लामो सुस्केरा हाले । मुटु थाम्न खोज्दै थिएँ म । चाहेर पनि थामिएन मन । शरीर काँप्न थाल्यो । जहाज कैले ह्वात्त तल, कहिले माथि गर्दै थियो । कहिल्यै नखेलेको चर्खे पिङजस्तै । आवाज छैन । सास सुकिसकेको थियो । बोल्न खोज्छु स्वर नै खुल्दैन । सबैका मलिन अनुहार बचेको आधा प्राणबाट नियाल्दै थिएँ । घरपरिवार, साथीभाइ, इष्टमित्र सबैलाई सम्झिएँ एकपटक । यो मन सोच्दै थियो बाँच्नु भन्ने यत्ति नै रहेछ । भाग्यको रेखा आजैसम्मको लागि रहेछ । यस्तै सोच्दै थिएँ म । भए जति देवीदेवता सम्झिएँ, ‘सक्छौ भने बचाऊ ! अब यो घडिमा तिम्रोबाहेक अरु कसैको केही लाग्दैन ।’ मनमा यतिसम्म भन्न भ्याएँ । आमा र बा शब्द धेरै पटक आयो मनमा । भक्कानो छाडेर छोरा अनि जीवनसंगिनी बोलेझै लाग्छ एकछिन बेहोसीमा । कतै बेहोसीमा हराएँ । कतै अत्तालिएर रोएँ । सबै आत्तिएका । डराएका । म जस्तै । केही विकल्प थिएन आत्तिनुबाहेक । फगतको अट्टहास । आत्तिएर पनि केही हुने थिएन । न आत्तिएर पनि बस्न सकिने थियो । अवस्था त्यस्तो थियो । अन्ततः उही ठाउँ जहाजमा यथास्थानमा बस्नुबाहेक के नै थियो यात्रुसँग ? थियो त आश पाइलट र भगवानको ।

विपरीत साइडतिर बसेका एक प्रहरीको पनि होस गुमिसकेको थियो । बाजुरासम्म विभिन्न ठाउँहरुको नाम बताउँदै सबैलाई जानकारी गराइरहेका उनी कालो बादलभित्र जहाज पसेपछि भने स्तब्ध भए । कानमा कपास उनले मात्र राखेका थिए । सायद जहाजको आवाज नसुनियोस् भनेर होला । एयर होस्टेज नहुने यो जहाजमा कपास र चकलेटको व्यवस्था यात्रु स्वयम्ले गर्नुपर्छ । एक व्यापारी जो नेपालगञ्ज सामान ढुवानी गर्न आएका थिए । उनी एकताल मुन्टो ठाडो पारेनन् । केवल सिटमा टाउको निहुराएर काँप्दै थिए । एक जना बीए दोस्रो वर्षको परीक्षा दिने विद्यार्थी जो आँखा चिम्लिएर त्राही–त्राहीमा बसेका थिए । सायद आधा प्राण भएर पनि सबैको अवलोकन गर्ने म मात्रै थिएँ । खै मैले कसरी सबैलाई अर्ध बुझाई गर्न सकेछु । सबै निःशब्द । आवाज थियो त त्यही पापी जहाजको । जसले हामीलाई कहाँ पो लग्दै थियो । मनमा डर र भयका ढ्याङ्ग्राहरु शंखनाद गर्दै थिए । लाग्दै थियो, मान्छेलाई बाँच्न कति मन लाग्दोरहेछ । बुझ्दै थिएँ शरीरको माया । अनि आफ्नो शरीरपछि जोडिएर आउनेहरुको माया । जो प्राणसरि प्यारो हुन्छ ।

यो जहाजमा मेरो पच्चीसौं यात्रा थियो । यस्तो घटना भने पहिलो । जहाजबाट सधैं नयाँ वस्तुहरु अवलोकन गर्थें म । राम्रा राम्रा दृश्यहरु निकोनको सेमी एसएलआर क्यामरामा कैद गर्थें म । कर्णालीका विभिन्न जिल्लाहरुको थुप्रै राम्रा दृश्यहरु मेरो क्यामराले कैद गरेको छ । थुप्रै भिडियो क्लिपहरु पनि छन् कर्णालीका आकाशबाट कैद गरेका । तर यसपटक भने यस्तो बेहाल ।

तीतो सम्झनाबाहेक केही बटुल्न सकिएन यसपटकको यात्रामा । धेरैले सुनाउने गर्थे जहाजका तीता अनि वियोगान्त कथाहरु । पत्रकार जे.एन. सागरले पनि मुगुबाट नेपालगञ्ज आउँदा गोमा एयरकै जहाजले सातो लगेको कथा सुनाएका थिए । कहिल्यै जहाज नचढ्ने गरी तर्सेको जे.एन. सुनाउँछन् । आज आफ्नै कथा बन्यो आकाशको । जहाँ पच्चीस मिनेट बिताउन वर्षौं जस्तो कठिन भयो ।

असार २४ गते हुम्ला विमानस्थलमा तारा एयरका दुई जहाजले प्रतिकूल मौसमका कारण ल्याण्ड गर्न सकेका थिएनन् । विमानस्थललाई चार पटक फन्का लगाई अन्तमा जहाज नेपालगञ्ज फर्केको थियो । सबै जनामा हिजोकै घटना ताजा रहेको थियो । त्यसैले पनि हामीमा त्रासको सिमा अलि धेरै थियो । अघिल्लो दिनको सिमकोटको आकाश आँखामा झलझली थियो । हिजो आँखाले हेरेर डराएका थियौं । कति जोक्स पनि बनेका थिए ठट्टै ठट्टामा । आज आफूलाई पर्दाको आपत बिल्कुल पृथक थियो । ओठ सुकेका थिए । शरीरमा थियो त केवल अलि–अलि धड्कन । त्यो पनि अतालिएर तीव्र गतिमा । पूरै जहाजमा मौनता छाएको थियो । निस्तब्ध !

अहिले यस्तो लाग्छ, त्यो कुनै सपना थियो । जो बिहान ब्यूँझिदा समाप्त हुन्छ । आधा मरिसकेका धेरै शरीर अचानक ब्यूँझिए, जब जहाजबाट एउटा धमिलो शहरको दृश्य आँखाले ठम्यायो । चारैतिर हरियाली । बीचमा खेतका फाँटहरु । फाँटकै बीच–बीचमा घरै घर । करिब पच्चीस मिनेटपछि एक्कासी सहर देखियो– सुर्खेत ।

एक खालको हल्का महसुस भयो । प्लास्टर फुकाएपछिको खुट्टाझैं । ‘अब बाँचियो ।’ बीचमा बसेका एक यात्रुले लामो सास तान्दै भने । खुशीका मुना पलाए । मलिन अनुहारमा सबैको चमक देखियो । सबैले पुनर्जन्म पाएको महसुस ग¥यौं । जहाज बिस्तारै आकाशबाट तलतिर ओर्लिदै थियो । सबैजना पाइलट त बहादुर हो भन्दै धन्यवाद दिदै थिए । मैले पनि धन्यवाद दिएँ पाइलटलाई । क्षणमै जहाज ल्याण्ड भयो । होसहवास उडेका हामी पनि काँप्दै ओर्लियौं नयाँ जीवन पाएकोमा आफैलाई धन्य ठान्दै ।

By

Readers Comments (1)

  1. pradeep says:

    Ekdam ramro mama