Filed Under:  कुराकानी

जीवन एक नसा हो | गायत्री आर्य

6th July 2014   ·   0 Comments

गायत्री आर्य समकालीन भारतीय लेखनमा सक्रिय प्रतिभा हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘समकालीन हिन्दी महिला लेखकहरुको आत्मकथामा स्त्री जीवन’ विषयमा विद्यावारिधि समेत गरेकी उनी कथा, कविता, लेख निबन्ध तथा नाटक विधामा सक्रिय रुपमा कलम चलाइरहेकी छन् । उनका रचनाहरु विभिन्न भारतीय पत्रपत्रिकाहरुमा प्रकाशित छन् भने कविता, कथा तथा नाटक पुस्तकाकार कृतिको रुपमा प्रकाशित छन् । हाल ब्यांग्लोरमा बसोबास गर्दै आएकी आर्यसँग नयाँ युगबोध दैनिकको सौगातका लागि प्रमोद धितालले संक्षिप्त कुराकानी गरेका छन् ।

Gayatree_arya-[गायत्री आर्य, भारतीय साहित्यकार]

आजभोलि तपाईं के गर्दै हुनुहुन्छ ?
आजभोलि हिन्दी पत्रपत्रिकाहरुमा स्वतन्त्र लेखन गरिरहेकी छु ।

तपाईंको लेखन कहिलेदेखि सुरु भयो र मन पर्ने विधा कुन हो ?
मैले एघार कक्षामा पढ्ने बेलादेखि नै कविता लेख्दै आएकी छु । सन् २००२ देखि लेख–निबन्ध पनि लेख्दै आएकी छु । मलाई मन पर्ने विधाहरु कविता, लेख र आत्मकथा हुन् ।

लेखनको अलावा अरु कुनै आन्दोलनसँग पनि जोडिनुभएको छ कि ?
म राजस्थानमा चलिरहेको बालबिवाह बिरोधी आन्दोलनमा अप्रत्यक्ष रुपमा सक्रिय छु । सन् २०११ मा मेधा पाटेकरसँग भारत यात्रामा गएकी थिएँ । त्यतिखेर धेरै आन्दोलनहरुसँग परिचित भएँ । अप्रत्यक्ष रुपमा भए पनि अलग–अलग स्थानमा चलिरहेका आन्दोलनको सम्पर्कमा रहने गर्छु ।

यतिखेर भारतीय नारी लेखन तथा जनपक्षीय लेखनको अवस्था कस्तो छ ?
जति–जति शिक्षाको प्रचार प्रसार भैरहेको छ, त्यत्तिकै मात्रामा महिला, दलित, आदिवासी तथा समाजका अन्य सीमान्तकृत समुदायलाई अभिव्यक्तिको मौका पहिलेभन्दा धेरै मिलेको छ । नारी मुक्ति लेखन तथा जनपक्षीय लेखन दुबैको दायरा भारतमा व्यापक छ । तर धेरैपटक आपसी गुटबन्दी र कित्ताबन्दीको कारण राम्रो लेखनको सही मूल्याङ्कन हुन सक्दैन ।

फेरि पनि महिला लेखन पहिलाको तुलनामा विषय, भाषा र तरिका प्रखर, ओजश्वी र आत्मविश्वासपूर्ण हुँदै गइरहेको छ । प्रिन्ट मिडिया तथा विद्युतीय मिडियामा जनपक्षीय लेखनलाई धेरै स्थान मिल्दैन । तर धेरै स्थानीय पत्रिकाहरु यस जिम्मेवारीलाई पूरा गरिरहेका छन् । साथै वैकल्पिक मिडिया अर्थात् ब्लग, फेसबुक, वेवसाइट आदिको कारण जनपक्षीय लेखनको दायरा धेरै बढिरहेको छ ।

तपाईंको अनुभवमा महिला लेखनका चुनौतीहरु के–के हुन् ?
यथार्थमा हाम्रो पूरै सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक तथा शैक्षिक संरचना महिला लेखनको लागि ठूलै चुनौती बनेका छन् । महिलाहरुको शिक्षाको स्तर कम हुने भएकोले उनीहरुको वैचारिक मानसको स्तर पनि कम नै परिपक्व हुन्छ । घुम्ने स्वतन्त्रता नहुने भएकोले उनीहरुको अनुभवको दायरा धेरै सीमित हुन्छ । हाम्रो आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, पारिवारिक संरचनाहरुले अनुभवको दायरालाई बढाउने कुरामा रोकावट मात्र हाल्दैनन् बरु स्वतन्त्र दृष्टि निर्माण गर्न पनि बाधा हाल्ने काम गर्छ ।

महिलाहरुको रचनात्मकतालाई तुलनात्मक रुपमा कम नै मान्यता मिल्ने गर्छ । साथै व्यक्ति, परिवार र संस्थाहरुको पितृसत्तात्मक सामन्ती चरित्र महिलाहरुको लेखनमा अवरोध बन्ने गर्छ । केही सम्पादकहरुको सामन्ती चरित्र, गुटबाजी र कित्ताबन्दी पनि महिलाहरुको लेखनमा बाधक बनेको छ । समग्रमा यिनै कुरा महिला लेखनको लागि चुनौतीपूर्ण छन् ।

नयाँ प्रकाशनको योजना के छ ?
लेखहरुको एउटा संग्रह र एउटा नाटकमाथि काम गर्दैछु ।

छिमेकी देश नेपालको साहित्यिक लेखन तथा प्रवृत्तिको बारेमा केही जानकारी छ कि ?
पर्याप्त संवादको अभावमा नेपाली साहित्यको बारेमा जानकारी छैन । तर पनि भारतको जस्तै नेपालको नयाँ पुस्ता साहित्यको क्षेत्रमा सक्रिय तथा प्रतिवद्ध भएर लागिरहेको छ । नयाँ पिढी पर्याप्त रचनात्मकताले भरिएको छ, नेपाल पनि यसबाट अपवाद छैनजस्तो लाग्छ ।

अहिले समाजका सबै पक्षहरुमा बजार हावी हुँदै गैरहेको छ । साहित्यिक मूल्यहरुको निर्धारण पनि बजारले नै गरिहेको छ । यसको बारेमा तपाईंको धारणा के छ ?
बजारले पूरै दुनियाँको समाज, सोंच, मूल्य, व्यवहार, खानपान, भाषा, लेखन यहाँसम्म कि नीतिहरुलाई धेरै हदसम्म प्रभावित गरेको छ । जब पूरै देश र समाजलाई बजारले आफ्नो जालमा जकडेको छ भने साहित्य बजारबाट अछुतो रहने कुनै संभावना रहेन । आफ्नो मूल्यलाई सुरक्षित बचाएर राख्ने कुरा हाम्रो सामु धेरै जटिल चुनौती भएको छ । प्रायः बजार आफ्नो फाइदाको लागि कम जरुरी कुरालाई धेरै जरुरी र सबैभन्दा धेरै जरुरी कुराहरुलाई फाल्तु कुराको रुपमा पेश गर्ने गर्दछ ।

आगामी समयमा अन्य तप्काहरुलाई जसरी लेखकहरुलाई पनि यसको विकल्पको रुपमा कुनै प्रभावी तरिका निकाल्नुपर्नेछ । यथार्थमा बजारको मुद्दा केवल बजारमा मात्र सीमित छैन, बरु यो पूरै राजनीतिक व्यवस्थासँग जोडिएको छ । लेखकलाई आफ्नो लेखनमा मूल्यहरु, रचनात्मकता र संवेदनालाई बजारबाट जोगाएर राख्नुपर्ने आवश्यकता छ । साथै बजारलाई विचार तथा किताबहरुलाई टाढासम्म पु¥याउनको लागि गर्नुपर्छ ।

नयाँ लेखकहरुलाई के सुझाव दिनुहुन्छ ?
अहिले त म स्वयं नयाँ लेखक हुँ । नयाँ लेखकहरुसँग यही भन्नु छ कि संवेदनशीलतापूर्वक लेखौं । यदि पुराना मूल्यमान्यता, जातिभेद, लिंगभेद, असमानता आदिलाई बढावा दिन्छन् भने ती कुराको सधैं विरोध गर्न जरुरी छ । नयाँ मूल्य जो मानवीय र लोकतान्त्रिक छन्, तिनको पक्षमा उभिएर लेखौं ।

तपाईंको परिभाषामा जीवन के हो ?
जीवनलाई पभिाषित गर्न धेरै मुश्किल छ । जीवन संघर्ष, हाँसो, आँसु, प्रेमदेखि लिएर घृणा पनि यसको हिस्सा हो । जीवन नदीसमान हो जुन कहिल्यै रोकिन्न । समयअनुसार बाटो बदलिरहन्छ जसरी नदी आफ्नो बाटो बदल्छ । म जीवनलाई यस दुनियाँको सबैभन्दा ठूलो नसा मान्दछु । हरेक मान्छे यस नसालाई सेवन गर्छ र लिएर हिडिरहन चाहन्छ ।

अन्त्यमा थप केही भन्नु छ कि ?
म यही भन्न चाहन्छु, यस दुनियाँको सबैभन्दा सम्पन्न मान्छे आफ्नो धनको बलमा एक दिन पनि धेरै बाँच्न सक्दैन । हामी सबै एक–अर्काको कारणले जीवित छौं । हामी असंख्य मानिसहरुको कारणले जीवित छौं । असंख्य मानिस हाम्रो लागि आफ्नो देशमा मात्र हैन पुरै संसारमा काम गरिरहेका छन् । जसको कारणले हामी जीवित छौं र राम्रो जीवन बाँचिरहेका छौं । हामीलाई सधैं ती अपरिचत मानिसहरुप्रति कृतज्ञ हुन जरुरी छ । र आफ्ना बच्चाहरुलाई यो निश्चित रुपमा बताउनुपर्छ कि उनीहरु केवल आफ्नो आमा बाबुको पैसाको कारण जीवन बाँचिरहेका छैनन् । पुरै दुनियाँका असंख्य मानिसहरु छन् जो दिन रात हाम्रो लागि पनि खटिरहेका छन् । हामीले सधैं उनीहरुलाई धन्यवाद भन्नुपर्छ । र हमेशा उनीहरुलाई आफ्नो सामथ्र्यको हिसाबले सहयोग गर्नुपर्छ ।

अन्त्यमा मलाई नेपालबाट निस्कने नयाँ युगबोध राष्ट्रिय दैनिकको लागि योग्य सम्झिएर आफ्ना धारणाहरु राख्ने मौका दिनुभयो, यसको लागि हृदयदेखि नै आभार व्यक्त गर्दछु ।

By

Readers Comments (0)