Filed Under:  कुराकानी

समालोचनाको नयाँ टे«न्ड आउँदैछ | नेत्र एटम

4th July 2014   ·   0 Comments

Netra atomनेत्र एटम नेपाली समालोचना क्षेत्रमा स्थापित नाम हो । समालोचनालाई प्रमुख कर्म बनाउँदै आएका एटमले कविता, निबन्ध, कथा, निवार्ता, गीत गजलमा पनि कलम चलाउँदै आएका छन् ।
मानपुर–६ दाङमा जन्मिएका समालोचक एटमका उपन्यास सिद्धान्त र नेपाली उपन्यास, नेपाली डायस्पोरा र अन्य समालोचना लगायत आधा दर्जन बढी कृतिहरु प्रकाशित छन् । उनै एटमसँग नयाँ युगबोध दैनिकको शनिबारको सौगातका लागि डिल्ली मल्लले साहित्य र समालोचनाका बारेमा संक्षिप्त कुराकानी गरेका छन् ।

नेपाली साहित्यको पछिल्लो अवस्थालाई कसरी लिनुभएको छ ?

नेपाली साहित्यको पछिल्लो अवस्था रोमाञ्चक र उत्साहपूर्ण छ । कार्यक्रमहरुको आयोजनाको आधिक्य र तिनमा श्रोताहरुको सहभागिता अत्यन्त जिज्ञासु देखिन्छ । हरेक पाठक अहिले साहित्यिक कृति, लेखक, विषयवस्तु र शिल्पप्रति सचेत छ र ऊ गम्भीर विमर्शमा भाग लिन रुचाउँछ ।

यति बेला कुनचाहिं विधा अगाडि आएजस्तो लाग्छ ?

नेपाली साहित्यमा मूलतः आख्यान नै अगाडि छ किनभने यसले नयाँ सन्दर्भलाई तुरुन्तै टिप्छ र एउटा टुङ्गोमा पुगाउने गरी त्यसलाई वर्णन र विवेचना गर्छ । आख्यानमा पनि कथाभन्दा उपन्यासमै पाठकहरु आकर्षित देखिन्छन् । कविता विधाले आख्यानलाई पछ्याइरहेछ । निबन्धमा चाहिं नियात्राको भूमिका बढी देखिएको छ ।

नेपाली समालोचनाको वर्तमान स्थिति के कस्तो छ ?

नेपाली समालोचनाको वर्तमान स्थिति हेर्दा यसमा साहित्यलाई साहित्यिक तत्वका अतिरिक्त राजनीति, अर्थतन्त्र, लैङ्गिकता, अपाङ्गता, अभिघात, पर्यावरण, विज्ञान आदिसँग जोडेर समालोचना गर्ने नयाँ–नयाँ पद्धतिहरु लोकप्रिय हुन थालेका देखिन्छन् । समग्रमा अन्तर्विषयक समालोचनाको नयाँ ‘टे«न्ड’ आउँदैछ । मेरो ‘अन्तर्विषयक नेपाली समालोचना’ कृतिमा त्यस्ता केही नवीन समालोचनात्मक स्वरुपहरुको नमूना पाउन सकिन्छ ।

समालोचनाको वर्तमान सन्दर्भमा पनि अघिल्ला समयकै समालोचकहरुको बोलवालाजस्तो देखिन्छ, यसमा युवाहरुको आकर्षण किन नभएको होला ?

सिर्जनाजस्तो समालोचना त्यति प्रचारमा आउन नसक्ने र जो पायो त्यसैले उपयोग गर्न नसक्ने हुनाले यसको स्थिति केही शिथिलजस्तो पनि हुन्छ । यसका निम्ति गहन अध्ययन, साहित्यिक सौन्दर्यको आस्वादन र विश्लेषणको कला आवश्यक पर्छ । नेपाली समालोचना अलि बढी रुढिवादी छ । युवा पुस्ताले छिटो प्रचार र लोकप्रियता खोज्ने हुनाले समालोचनामा टिक्न प्रवेश गर्नै गाह्रो छ, प्रवेश गरिहाले पनि १० प्रतिशतलाई पनि टिक्न मुस्किल पर्छ ।

आजको समालोचनामा सैद्धान्तिक समालोचना अघि छ कि व्यावहारिक समालोचना ?

नेपालीमा सैद्धान्तिक समालोचनाको परम्परा नै छैन, सब व्यावहारिक समालोचना हुन् । समालोचना सिद्धान्तमा मात्र बाँच्न सक्तैन, यसले कृतिको सहारा लिनैपर्छ । कृतिको मूल्याङ्कनमा प्रवेश गर्नासाथ त्यो व्यावहारिक समालोचना हुन्छ । उपलब्ध कृतिहरुबाट नियम विकास गर्ने प्रकारको उत्पादक प्रकारको सैद्धान्तिक समालोचना नेपालीमा सुरुदेखि नै अभाव छ ।

तपाईंले त केही वर्षयता डायस्पोरा साहित्यबारे पनि खुब कलम चलाइरहनु भएको छ । के हो डायस्पोरा साहित्य भनेको ? अनि नेपाली डायस्पोरा साहित्यको अवस्था के कस्तो छ ?

हो, म विगत दस वर्षदेखि डायस्पोरिक नेपाली साहित्यका बारेमा अनुसन्धान गरी कृति प्रकाशित गरिरहेको छु । यससम्बन्धी मेरा दुई अनुसन्धानात्मक ग्रन्थ बाहिर आएका छन् भने दर्जनौं लेखहरु प्रकाशित छन् ।

‘डायस्पोरा’ भनेको विभिन्न कारणले आफ्नो जातीय उद्गम भूमिभन्दा बाहिरी देशमा गएर पनि मौलिक सांस्कृतिक चिनारीसहित बाँचेका मान्छेहरुको समूह हो । उदाहरणका निम्ति अमेरिकामा गएर नेपाली जीवनपद्धति, रहनसहन, भाषा, सांस्कृतिक आधारलाई जोगाई स्थानीयबाट केही प्रभाव लिँदै र त्यहाँको समाजमा केही प्रभाव पार्दै बसेका नेपालीहरुको समूह ‘अमेरिकी–नेपाली डायस्पोरा’ हो । भौतिक रुपमा परदेशमा रहने र मानसिक रुपमा उद्गम भूमिको सोच राख्ने हुनाले यस्तो समूहको दोहोरो परिचय हुन्छ । अहिले विश्वभरि नै नेपालीहरुका विभिन्न डायस्पोराहरु रहेका छन् र तिनका बारेमा तिनले रचना गरेको साहित्यलाई डायस्पोरिक नेपाली साहित्य भनिन्छ ।

अहिले लेखिने डायस्पोरिक नेपाली साहित्यको मूल चिनारी आफ्नो देशप्रतिको गहिरो आत्मीय अनुभूति र देशबाट बिछोडिएर नयाँ ठाउँमा भोग्नुपरेका आर्थिक, सांस्कृतिक, मानसिक पीडाहरुको चित्रण गर्नु हो । डायस्पोरामा नेपालीहरुले त्यहाँको परिवेशमा स्थापित र अनुकूलित हुनका लागि गरेका प्रयास तथा आत्मसंघर्षका कथालाई यसमा विषय बनाइएको हुन्छ ।

उपन्यास, कथा र कवितामा डायस्पोरिक नेपाली साहित्य मूलधारको नेपाली साहित्यसँग प्रतिस्पर्धा गरिरहेको छ भने निबन्ध, नाटक, समालोचना आदिमा यो अलि कमजोर देखिन्छ । अहिले त विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान तथा नेपाली समालोचक र साहित्यिक इतिहासका लेखकहरुले समेत डायस्पोरिक नेपाली साहित्यको पृथक परिचयलाई स्वीकार एवम् आत्मसात गरिसकेका छन् ।

आजको नेपाली समालोचनामा नारी समालोचकहरुको अवस्था के कस्तो छ ?

समालोचनाले त्यसै पनि अध्ययन लेखनको गहन साधना, निरन्तरता र प्राज्ञिक उच्चता खोज्ने हुँदा समय दिने र अध्ययन गर्न सक्ने नारीहरु यसतर्फ लागेका छन् । वि.सं. १९९० को दशकबाट प्रारम्भ भएको नारी समालोचनाको परम्परामा सयभन्दा बढी समालोचकहरु रहनु र तिनलाई प्रस्ट पार्ने केही कृतिहरु आउनुले यसको प्रगतिलाई संकेत गर्छन् ।

स्नेहलता पन्त, सरिता ढकाल, गोमा शर्मा, देवी शर्मा, रमा शर्मा, बिन्दु कोइराला आदिले सक्रियतासाथ हुर्काएको नारी समालोचनालाई अहिले डा.सुषमा आचार्य, डा.सुधा त्रिपाठी, डा.रमा शिवाकोटी, डा.ज्ञानू पाण्डे, डा.बिन्दु शर्मा, ज्ञानु अधिकारी आदिले आत्मपरिष्कारका साथ अघि बढाइरहेका छन् । नेपालीमा नारी लेखकको खोजी र पुनः मूल्यांकन भएका तथा नारीवादी लेखनबारेका दर्जनौं कृतिहरु प्रकाशित छन् ।

यसको आँकलन ‘महिला समालोचक र नेपाली समालोचना’ वा ‘नेपाली नारीवादी समालोचना’जस्ता कृतिहरुबाट पनि गर्न सकिन्छ ।

कहिलेकाही त पाठकहरु अखबारी हल्लाको पछि लागेर कुनै कृतिबारे आफ्नो धारणा बनाइरहेका देखिन्छन्, यसले स्तरीय सिर्जनाहरुमाथि अन्याय हुँदैन र ?

नेपाली साहित्यमा अहिले आमसञ्चार माध्यमको बोलबाला देखिएको छ र मिडियाले नै कृतिको कृत्रिम मूल्य सिर्जना गरिरहेका छन् । यसरी अखबार, रेडियो वा टेलिभिजनको हल्लामा केही सत्यता रहे पनि तिनले केही समूह वा व्यक्तिका रचनालाई अनावश्यक रुपले ‘हाइलाइट’ गरिदिन्छन् र पाठक रनभुल्लमा पर्छन् । हुन त पाठकलाई रचना छनोटमा मिडियाले सहयोगी भूमिका खेलेको हुन्छ तर मिडिया गलत दिशामा गएको छ भने स्तरीय रचना छायाँमा पर्ने र सस्ता रचनाहरुप्रति पाठक आकर्षित हुन सक्छन् । यसबाट जोगिन मिडियाले प्रपोगान्डा सिर्जना गर्न छोड्नुपर्छ र सञ्चारकर्मी वा स्वतन्त्र लेखकहरुले पनि सही मूल्य सिर्जनामा जोड दिनुपर्छ ।

अन्त्यमा थप केही भन्नु छ कि ?

मलाई पत्रिकामा आमन्त्रण गरी स्थान दिएकोमा तपाईं र ‘नयाँ युगबोध’ पत्रिकालाई धन्यवाद । ‘नयाँ युगबोध’ दाङको पत्रकारितालाई राष्ट्रिय स्तरमा चिनारी दिने र निरन्तर संघर्षशील पत्रिका हो । यसको रंगीन संस्करण र साहित्यिक पृष्ठको यो बढोत्तरीले समाचारका साथ वैचारिक प्रगतिशीलता र साहित्यिक सक्रियता थप्न सकोस् र अभिरुचि परिष्कारको नवीन माहोल ल्याउन सकोस् भन्ने शुमकामना दिन्छु । साहित्य, कला, संस्कृति आदि मानवीय अध्ययनका विषय भएकाले यिनको सिर्जना र विमर्शबाट सभ्य, समुन्नत र समानतामूलक समाजको सिर्जनातिर हामीलाई आकर्षित गरोस् भन्ने कामना गर्छु ।

By

Readers Comments (0)