Filed Under:  कुराकानी

दर्शकहरुको माया मेरो सम्पत्ति

21st June 2014   ·   0 Comments

IMG_3242कमल गाउँले हास्यव्यङ्ग्य कलाकारका रुपमा परिचित नाम हो । दाङकै युवा कलाकारहरुले जन्माएको नवयुग नाट्य समूहबाट आफ्नो कला शुरु गरेका गाउँलेले विभिन्न गाईजात्रे हाँस्यव्यङ्ग्य अडियो, भिडियो बजारमा ल्याइसकेका छन् । घोराही–६ मसिना निबासी गाउँलेसँग उनको कलाकारिता लगायतका विषयमा नयाँ युगबोध दैनिकको सौगातका लागि नारायण विवशले संक्षिप्त कुराकानी गरेका छन् ।


[कमल गाउँले], हाँस्यव्यङ्ग्य कलाकार

कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

मेरो सानैबाट उटपट्याङ गर्ने, ठट्ठा गर्ने बानी थियो । गाउँघरमा हुने पूजाआजामा मादल बजाउन थालेपछि बाद्यवादनप्रति रुचि बढ्यो र १२/१५ वर्षको उमेरदेखि मादल, बाँसुरी र सारंगी बजाउन थालें ।

यही समयमा कर्ण प्रकृति धिताल, विज्ञान शर्मा, विष्णु आर्टलगायतका साथीहरुले नवयुग नाट्य समूह खोल्नुभयो । त्यसमा हराएकी बहिनी, खाते, लगनपछिको पोतेजस्ता चेतनामूलक नाटकहरुमा भूमिका निर्वाह गरें । त्यसपछि आफंै नाटक लेखी निर्देशन र अभिनय गर्न थालें ।

त्यसको केही वर्षपछि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सव आयोजना ग¥यो । प्रज्ञा प्रतिष्ठानमा नवयुग नाट्य समूहबाट दङाली थारु राजाको नाटक लगियो । म पनि कलाकारको रुपमा अभिनय गर्न पुगें ।

राष्ट्रियस्तरको नाटक महोत्सव र प्रज्ञा प्रतिष्ठानमा छिर्नु मेरो लागि गर्वको विषय थियो । मैले दङाली थारु राजा र जनताबीच समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएको थिएँ । हाम्रो नाटक पनि पुरस्कृत भयो । त्यसपछि ममा निकै ऊर्जा जाग्यो र यही क्षेत्रमा जीवन अर्पण गर्छु भन्ने सोच बनाएँ ।

त्यसपछिका दिनमा के कस्ता अवसर पाउनुभयो ?

प्रज्ञा प्रतिष्ठानको नाटकपछि मेरो मनस्थिति काठमाडौंमा नै बस्ने बन्यो । काठमाडौंमा बसेपछि आफ्नो कलालाई अगाडि बढाउन सकिन्छ भन्ने लाग्यो । यसै बीचमा निर शाहको संयोजकत्वमा क्षेत्रीयस्तरका नाटक प्रदर्शन भएका थिए । मैले आफैले लेखेको नाटक सडक बालबालिकासँग सम्बन्धित ‘लगनपछिको पोते’मा भूमिका निर्वाह गरें । नाटक उत्कृष्ट भइ पुरस्कृत भइयो । फेरि अर्को वर्ष बालकृष्ण समको नाटक ‘ऊ मरेकी छैन’मा निर्देशक हुने अवसर पाएँ ।

नाटक खेलेर जीवन धान्न सकिने वातावरण थियो त्यतिबेला ?

नाटकबाट मात्रै जीवनयापन गर्न गाह्रो हुने, खर्च धान्न नसकिने लागेको थियो । अब संगठित भएर केही गर्नुपर्छ भन्ने लाग्यो र २०५९ सालमा कृष्ण शाह यात्री अध्यक्ष र म सचिव रहेको प्रशिक्षित कलाकार संघ (सान) खोल्यौं । सानमार्फत् दर्जनांै नाटक प्रदर्शन गरियो ।

त्यसपछि पनि जीवन धान्न गाह्रो भएपछि दोहोरी साँझतिर लागें । दिउँसो नाटकमा अभिनय गर्ने र बेलुका दोहोरी साँझमा मादल घन्काउन थालें । मादल बजाउँदाको हाउभाउले धेरै दर्शक एवं कलाकारहरुलाई आकर्षित गरेछ क्यारे, कलाकारहरुले पनि लौ पर्दामा खेल्नुप¥यो भन्न थाले ।

सन्तोष पन्तले एनटिभीमा हिजोआजका कुरा (हाँस्य) चलाइरहेका थिए । मलाई पनि रोल दिए । तर, एक दुई सिनले मेरो चित्त बुझेन । त्यसपछि रामप्रसाद खनालले चलाउने गरेको दोहोरी साँझमा मादल बजाउन थालें ।

पर्दामा खेल्ने अवसर कसरी जु¥यो ?

शीला आले र शकुन्तला आलेले भिजुअल गीति एल्वम निकाले । त्यो गीतमा मेरो भूमिका जँड्याहा पोइको थियो । जँड्याहा पोइको गीत र मेरो भूमिका देखेपछि अरु गीतकारहरुले पनि जाँड खाने पोइ र घर झगडाजस्ता विसंगतिसम्बन्धी गीत रचना गर्न थालें ।

भिजुअल गीतमा जँड्याहाको भूमिका निर्वाह गर्ने प्रस्ताव आउन थाले । मैले यसपछिका दिनमा एक सयजति भिडियो गीतमा आफ्नो भूमिका निर्वाह गरें । त्यसपछि मलाई बलराम, जँड्याहाजस्ता चारित्रिक उपनामले धेरैले चिन्न थाले ।

त्यसपछि तुलसी घिमिरेको निर्देशनमा ठूलो पर्दाको बलिदान चलचित्र बन्यो । त्यसमा अग्रज कलाकार हरिवंश पनि हुनुहुन्थ्यो । त्यसमा मैले विद्यार्थी नेताको अञ्चलस्तरीय जिम्मेवारी पाएको थिएँ । विद्यार्थी नेताको हैसियतले अभिनय गरें । त्यसैगरी ऐतिहासिक चलचित्र ‘गणेशमान’मा खेलें । त्यसमा मेरो वीरशमशेरको नातिको भूमिका थियो ।

त्यसपछि ‘दासढुंगा’ चलचित्रमा अवसर पाएँ । त्यसमा मेरो भूमिका अनुसन्धान अधिकारीको थियो । चलचित्र ‘देवयानी’मा दिलीप रायमाझीको काकाको भूमिका पाएँ । सूर्यचन्द्र फिल्मस्को ‘हिरो’ मा विराज भट्टको बाबुको भूमिका खेलें । चलचित्र ढुकुटीमा हाँस्यकलाकार भएँ  ।

जँड्याहा पोइको गीतपछि मैले एक सय गीतमा अभिनय गर्ने र साना ठूला गरी एक दर्जन फिल्ममा खेल्ने अवसर पाइसकेको छु । तितो सत्यमा पनि ६० भागसम्म खेलिसकेको छु ।

तपाईंले यति धेरै भिजुअल गीतमा अभिनय गर्नु भएको छ, साच्चै तपाईं आफैंलार्ई मन पर्ने गीत कुन हो ?

मैले निर्वाह गरेको भूमिका कस्तो छ भनेर अभिनय गर्दा थाहा हुँदैन । आफ्मा राम्रा नराम्रा पक्ष भिजुअलमा हेरेपछि मात्रै थाहा हुन्छ । मैले अभिनय गरेका गीतमा देउरालीको भट्टी पसल, भैंसी पालेर गीतमा आफूले गरेको भूमिका बढी मन प¥यो । आफ्नो कला हेर्दा कहिलेकाहीं आफैलाई मन नपर्न सक्छ । यो कुरा पनि कलाकारले बुझ्न जरुरी छ ।

तपाईंका आफ्ना एल्बम पनि त होलान नि ?

केही वर्षयता मैले हरेक वर्ष गाईजात्रे एल्बम निकाल्दै आएको छु । यस वर्ष १४ औं गाईजात्रे प्रस्तुति आउँदैछ ।

कमल गाउँलेलाई त राम्रो कपडा लगाएको सुहाउँदैन भन्छन् नि दर्शकहरु ?

हो, दर्शकहरुले यसो भन्नु जुन भूमिकामा मेरो अभिनय थियो वा हुन्छ, त्यसमा लगाएको कपडा भूमिकाले निर्देशन गरेको ठाउँमा मिल्नु गौरवको कुरा हो । यो त दर्शकहरुले मलाई गरेको माया हो भन्ने बुझेको छु ।

मैले अभिनय गर्दा लगाउने फाटेका कपडालाई दर्शकहरुले मात्रै होइन मेरी श्रीमतीले पनि असाध्यै माया गर्छिन्, धोइधाई गरेर राखिदिन्छिन् । मेरा फाटेका कपडाप्रति जसरी दर्शकहरुको मेरो कलासँग जोडिएको माया छ, घरपरिवारको पनि उत्तिकै छ । छिः यस्तो कपडा भनेर घरका परिवारले कहिल्यै भनेनन् ।

कला क्षेत्रमा लागेपछि देशविदेश घुम्न पाइन्छ, मोज हुन्छ भन्छन् नि । अब पनि कलालाई पेशा बनाइरहनु हुन्छ त ?

कला क्षेत्रमा लागेपछि विदेशमा जाने मौका पाएकै हो । सिंगापुर, हङकङ, कोरिया, मलेसिया र भारतमा गएर पनि कला प्रदर्शन गर्ने मौका पाइयो । त्यहा गरिएका सांगीतिक कार्यक्रममा नेपालीहरुलाई चित्त बुझाएजस्तो लाग्छ । नेपालका विभिन्न जिल्ला घुम्ने अवसर पाए ।

भर्खरै नायक राजेश हमालको नेतृत्वमा भएको सांगीतिक कार्यक्रममा राप्तीका सबै जिल्लामा पुगें । हाम्रो सांगीतिक यात्रा गाउँ–गाउँमा थियो । विद्यालयहरुलाई आर्थिक सहयोग जुटाउनु हाम्रो लक्ष्य थियो । यो क्षेत्रमा लागेर धनभन्दा माया धेरै कमाइन्छ तथापि धन कमाउनै भनेर अरु पेशामा पटक्कै मन जान्न । जीवन धान्ने गुजारा चलेको छ ।

कला क्षेत्रका समस्या के हुन् ?

कपिराइट मुख्य समस्या हो । कसैको पनि सिर्जनाको नक्कल गर्नु पाप हो । आफ्नो सिर्जनामा बाँच्न चाहनेहरुलाई अरुका सिर्जना नक्कल गरेर बेच्नेहरुले कलाकारको बाँच्ने आधार बिगारिदिएका छन् । यो बन्द गर्ने कानून बन्नुपर्छ । सरकारले कलाकारहरुको हित र संस्कृति संरक्षण गर्न विभिन्न विधाका कला बोर्ड गठन गर्नुपर्छ अनि मात्रै कलाकारहरुको सशक्तिकरण गर्न सकिन्छ ।

By

Readers Comments (0)