Filed Under:  कुराकानी

साहित्यमा जति शक्ति अरुमा छैन

7th June 2014   ·   0 Comments

गिरिराज शर्मा दङाली साहित्यिक आन्दोलनमा परिचित नाम हो । पञ्चायतकालदेखि अहिलेसम्म साहित्यमा निरन्तर कलम चलाइरहेका शर्माका दाउरेनी खण्डकाव्य, बूढा जोर सिमलका रुखहरु, बूढा भएछन् कलमहरु कविता सङ्ग्रह लगायत अन्य पुस्तकहरु पनि प्रकाशित छन् ।

राप्ती साहित्य परिषद, प्रलेसलगायतका साहित्यिक संस्थामा लामो समय काम गरेका शर्मासँग नयाँ युगबोध दैनिकको सौगातका लागि डिल्ली मल्लले संक्षित कुराकानी गरेका छन् ।

giriraj_sharma1-[गिरिराज शर्मा, साहित्यकार]

के गर्दै हुनुहुन्छ आजभोलि ?

साहित्यिक कार्यक्रमहरुमा सहभागी हुने र फुटकर रुपमा साहित्यिक लेखनमै दैनिकी बितिरहेको छ । साथै एउटा छन्द कविता संग्रह प्रकाशनको तयारीमा जुटिरहेको छु ।

नयाँ कृति कहिलेसम्म पढ्न पाइएला नि ?

प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्भवतः यही भानु जयन्तीसम्ममा उक्त कृति पाठकहरुको हातमा पु¥याउने प्रयासमा छु ।

छन्दोबद्ध कविता नै किन ?

पछिल्लो समयमा छन्द कविता हराउँदै गएको जस्तो महसुस भयो । साथीहरुले पनि छन्दमा कविता कृति प्रकाशन गर्नुस् भनेर धेरैपटक सल्लाह सुझाव दिनुभयो ।
उसो त मैले छन्द कविताका लागि पनि केही गर्नुपर्छ भन्ने सोचेर द्वन्द्वकालमा आफैले भोगेका कुराहरु र आफू जन्मिएको प्यारो गाउँको बारेमा लेखिएका छन्दोबद्ध कविताहरु संग्रहित गरेर उक्त कृति प्रकाशन गर्न लागेको हुँ ।

पूरै जीवन साहित्यिक कर्ममै बिताउनुभयोध्र आफ्नो साहित्यिक जीवनप्रति कुनै गुनासो छैन ?

साहित्य कसैले लेख् भने लेखिने र नलेख् भनेर नलेखिने चीज होइन । अझैं पनि जहिलेसम्म मेरो शरीर सक्षम रहन्छ, त्यतिबेलासम्म मैले साहित्य लेखनलाई जारी राख्नेछु ।

मेरा गुरु नारायणप्रसाद शर्मा लगायत केही दौंतरीहरु अहिले पनि साहित्य लेखनमै क्रियाशील हुनुहुन्छ । साथै मैले युवा साहित्यकारहरुको साथसंगत पनि पाएको छु, त्यसबाट पनि मलाई थप प्रेरणा मिलेको छ । जीवनभर साहित्य लेखनमा लागेर मलाई हिनताबोध होइन, गर्व महसुस हुन्छ । मलाई मेरो साहित्यिक जीवनप्रति कुनै गुनासो छैन ।

साहित्यको शक्ति कत्तिको हुन्छ ?

साहित्यमा जति शक्ति छ, सायदै त्यो अरुमा छैन । यदि साहित्यमा शक्ति हुँदैनथ्यो भने राणा शासनले सुब्बा कृष्णलाल अधिकारीदेखि प्रजातन्त्रको वकालत गर्ने व्यवस्थाले कृष्ण सेन ‘इच्छुक’सम्मलाई जेलमा सडाएर मार्ने थिएनन् ।

साहित्यमा शक्ति हुन्छ भन्ने कुरा मैले आफ्नै जीवनमा पनि धेरै पटक भोगेको छु । साहित्य लेखेकै आधारमा मैले पटक–पटक तत्कालीन प्रशासनको तारो बन्नुप¥यो । गिरफ्तारीमा परियो । त्यसैले साहित्य लेखन एउटा शक्ति हो, ऊर्जा हो । जसले जस्तोसुकै कडा मनलाई पनि गलाउन सक्छ, जस्तासुकै प्रशासक र शासन व्यवस्थालाई पनि हल्लाउन सक्छ ।

साहित्य लेखेकै आधारमा के कस्ता दुःखहरु झेल्नुप¥यो नि ?

हामीले साहित्यिक लेखनको शुरुवातगर्दा देशमा पञ्चायती राज चलेको थियो । हामी थियौं, पञ्चायत विरोधी । हाम्रा साहित्यिक सिर्जनाहरु कहीं न कहीं तत्कालीन पञ्चायती व्यवस्थालाई पल्टाउने उद्देश्य हुन्थ्यो ।

मैले लेखेको ‘समानता’ शीर्षकको कविता सन्देशमा छापिएपछि मलाई नारायणपुरस्थित स्कूलको कक्षाकोठाबाटै थुतेर अञ्चलाधीश कार्यालयमा पु¥याइयो ।

त्यस्तै, दाउरेनी खण्डकाव्य निकाल्ने बेलामा पनि मैले धेरै परेशानी बेहोर्नु प¥यो । जिल्ला प्रशासनबाट अनुमति नलिएर पुस्तक प्रकाशन गर्न नपाइने । प्रशासनमा अनुमति लिन जाँदा कृतिको पाण्डुलिपि नै कब्जा गरेर राखिदियो प्रशासनले । पछि देशमा बहुदल आएपछि ०४९ सालमा उक्त कृति प्रकाशन गरियो ।

साहित्य लेखनसँगै म शिक्षण पेसामा पनि आबद्ध थिएँ । मलाई त्यहाँ कहिल्यै पनि पदोन्नति गरिएन । प्रहरीमा नराम्रो रेकर्ड छ भनेर मानसिक यातना दिइयो । साहित्यमा कलम चलाएकै कारण तत्कालीन प्रशासनले गरेको अपमान, दुव्र्यवहारको कहानी भनिसाध्य छैन ।

साहित्य लेखनमा कसरी लाग्नुभयो ?

मेरो बाल्यकाल अत्यन्त पीडादायी र दुःखद रुपमा बित्यो । म तीन वर्षको हुँदा आमाको देहावसान भयो । आठ वर्षको हुँदा पिताजीको देहावसान भयो । सानैमा बाआमालाई गुमाएपछि म अलपत्रमा परेँ । पीडाकै बीचबाट मैले साहित्य लेखनमा कलम चलाउन थालें । शुरुमा झ्याउरे छन्दमा आफ्ना दुःख, पीडालाई लेख्न थालें ।

त्यतिबेला धर्मराज थापाका झ्याउरे लयमा लेखिएका रचनाहरु निकै प्रचलित थिएध्र उनले ‘भो अब नरोऊ जुरेली चरी, तिम्रो पालो आउनेछ अब त’ जस्ता गीतहरु लेख्थे । मैले पनि शुरुमा यसबाटै प्रभावित भएर झ्याउरे छन्दबाट लेख्न थालेको हुँ ।

कविता नै किन रोज्नुभयो ?

मैले कविताका साथै कथा र निबन्धमा पनि कलम चलाएको छु । केही कृति समीक्षा र विविध नामक निबन्ध संग्रहकै रुपमा प्रकाशित पनि छ । तर, मैले अन्य विधामा भन्दा कवितामा बढी कलम चलाएको छु । कविता थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सकिने सशक्त माध्यम हो । त्यसैले पनि मैले कविता नै रोजें ।

तपाईंको विचारमा साहित्य किन लेख्ने ?

साहित्यमा युग बोलेको हुन्छ । विगतलाई बुझ्नको निम्ति तत्कालीन समयका साहित्यलाई पढ्यौं भने त्यतिबेलाको समाज बुझ्न सकिन्छ । जसले जे भने पनि विचार र दर्शन नभएको साहित्य नै हुँदैन । आफ्नो समयको दर्शन साहित्यमा प्रतिबिम्बित भएको हुन्छ ।

शुद्ध मन मस्तिष्कबाट निस्किने सुन्दर शब्दहरुको संयोजन नै साहित्य हो । त्यसैले साहित्य समाजमा भएको विकृति, विसंगति र व्यथितिविरुद्ध उभिएर समाजको सकारात्मक रुपान्तरणका लागि लेखिनुपर्छ ।

पहिलो पटक प्रकाशित रचना ?

मोदनाथ प्रश्रितले प्रकाशन गरेको गुराँस साहित्यिक पत्रिकामा २०२३ सालतिर पहिलो पटक मेरो कविता प्रकाशित भएको हो ।

जीवन के हो ?

प्रकृतिको सुन्दर सृष्टि हो जीवन । प्रकृतिको सुन्दर सृष्टिलाई कस्तो बनाउने त्यो व्यक्ति आफैमा निर्भर रहन्छ ।

अन्त्यमा, थप केही भन्नु छ कि ?

मेरा केही कुराहरु पाठकमाझ पु¥याउने अवसर दिएकोमा तपाईं र नयाँ युगबोध दैनिकलाई विशेष धन्यवाद दिन चाहन्छु ।

मेरा आदरणीय गुरु नारायणप्रसाद शर्मा, जसले अहिले पनि निकै क्रियाशील रहेर हामीलाई ऊर्जा दिइरहनुभएको छ । साथै साहित्यिक जीवनको यो यात्रामा निरन्तर ऊर्जा र प्रेरणा दिनु हुने सबैलाई धन्यवाद ।

By

Readers Comments (0)