Filed Under:  कुराकानी

पुस्तकालय र साहित्यिक संग्रहालय निर्माणतर्फ केन्द्रित छौं

3rd June 2014   ·   0 Comments

purustom- पुरुषोत्तम खनाल अध्यक्ष, राप्ती साहित्य परिषद्

पुरुषोत्तम खनाल साहित्य र समाजसेवाका क्षेत्रमा परिचित नाम हो । विशेष गरी कविता विधामा कलम चलाउने साहित्यकार खनालले ‘स्मृतिका तरङ्गहरु’ कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन् । राप्ती अञ्चलकै सबैभन्दा पुरानो साहित्यिक संस्था राप्ती साहित्य परिषद्का अध्यक्ष खनालसँग नयाँ युगबोध दैनिकको सौगातका लागि डिल्ली मल्लले संक्षित कुराकानी गरेका छन् ।
के गर्दै हुनुहुन्छ आजभोलि ?

राप्ती साहित्य परिषद्को निर्माणाधीन भवन पूरा गर्न जुटिरहेका छौं । अहिले जिल्ला विकास समितिको विनियोजित रकमबाट निर्माण कार्य जारी छ । साथै भवन निर्माणका लागि अरु आर्थिक संकलनमा जुटिरहेका छौं । साथै परिषद्का नियमित साहित्यिक कार्यक्रमहरुलाई पनि निरन्तरता दिइरहेका छौं ।

राप्ती साहित्य परिषद्को संस्थागत विकासका लागि के कस्ता योजनाहरु बनाउनुभएको छ ?

राप्ती साहित्य परिषद् सबैको साझा साहित्यिक चौतारी हो । यसको कार्यक्षेत्र राप्ती अञ्चलभरि फैलिएको छ । र, सबै शाखाहरु आफ्ना वार्षिक कार्यक्रमका साथ क्रियाशीलरुपमा लागिरहेका छन् । जिल्ला शाखाहरुलाई अझैं क्रियाशील बनाउनका लागि प्रत्येक जिल्लामा केन्द्रका तर्फबाट एक अवधिमा न्यूनतम एउटासम्म कार्यक्रम लग्ने योजना बनाएका छौं ।

त्यस्तै, परिषद्को केन्द्रमा एउटा पुस्तकालय निर्माण गर्ने र राप्तीको साहित्यिक इतिहास भेटिने गरी साहित्यिक संग्रहालय निर्माण गर्नेतर्फ पनि हामी केन्द्रित भएका छौं ।

साथै यस क्षेत्रमा क्रियाशील सबै साहित्यिक संघसंस्थाहरुसँग योजनाबद्ध ढङ्गले कार्यक्रमलाई अगाडि बढाउनेतर्फ हामी लागिपरेका छौं । परिषद्का आजीवन सदस्य विस्तार गर्ने, सबै विधाका विषयमा छलफल चलाउँदै स्रष्टाहरुलाई जागरुक बनाउने र स्रष्टाहरुको क्षमता अभिवृद्धि गर्नेतर्फ पनि हामीले सोंच बनाएका छौं ।

यहाँले भन्नुभएको साहित्यिक संग्रहालयमा के–के समेट्ने योजना छ ?

साहित्यिक संग्रहालयमा राप्तीबाट प्रकाशित सबै विधाका साहित्यिक पुस्तक तथा पत्रिकाहरु संग्रह गर्ने, अग्रज स्रष्टाहरुका पाण्डुलिपिहरुलाई पनि संग्रह गरी संरक्षित गर्ने र उनीहरुको अभिलेख तयार गरी संग्रहालयमा संग्रहित गर्ने योजना रहेको छ । साथै राप्तीका सबै स्रष्टाहरुको विधागत रुपमा नामावली संकलन गरी अभिलेख राख्ने सोचेका छौं ।

जिल्लामा रहेका विभिन्न साहित्यिक संघ संस्थाले अग्रज साहित्यकारका स्मृति तथा जन्मोत्सवहरु अलग–अलग गरिरहेको अवस्था छ, त्यसलाई साझा रुपमा मनाउने परिपाटी बसाल्न सकिदैन ?

अग्रज साहित्यकारहरुको स्मृति दिवस र जन्मोत्सवहरु हामीले विभिन्न संघसंस्थाहरुसँग संयुक्त रुपमा मनाउँदै आएका पनि छौं । त्यसलाई अझ व्यापक बनाउनको निम्ति क्रियाशील सबै साहित्यिक संस्थाहरुसँग बसेर छलफल गरेर अलि व्यवस्थितरुपमा मनाउने काम भएको छैन ।

यसलाई व्यवस्थित रुपमा मनाउनको निम्ति सबै साहित्यिक संस्थाहरुसँग समन्वय गरेर आगामी दिनमा व्यापक बनाउने सोंच बनाइरहेका छौं । सामान्यतः यस्ता कार्यक्रमहरु कर्मकाण्डजस्तो चलिरहेकाले त्यसलाई अझैं सिर्जनशील र परिणाममुखी बनाउनेतर्फ सबै संस्थाले सोच्नुपर्ने बेला भएको छ ।

परिषद्ले भौतिक विकास र नियमित कार्यक्रम गर्नेतर्फ बढी जोड दिएको तर स्रष्टाहरु क्षमता विकासतर्फ अलि ध्यान नदिएकोजस्तो पनि देखिन्छ नि ?

तपाइँले भन्नुभएको प्रश्न ठीक हो । साहित्यिक संस्थाहरुको पहलमा स्रष्टाहरुको प्रतिभाको पहिचान गरेर उनीहरुलाई उत्साहित गर्नु, उनीहरुको सिर्जनामा रहेका कमीकमजोरीहरुलाई सुधार गर्नतर्फ प्रेरित गर्नु र उनीहरुमा पठन संस्कृतिको विकास गर्दै अगाडि बढाउनु हाम्रो दायित्व बन्नुपर्दछ । यसका निम्ति आगामी दिनमा विधागत साहित्यिक प्रशिक्षण र कार्यशालाहरु समेत अगाडि बढाउनेतर्फ जुट्नेछौं ।

संस्था लामो समयसम्म झोलामा रहेको सर्वविदितै छ । यसलाई व्यवस्थित गर्नुपर्ने जिम्मा हाम्रो काँधमा आयो र हामी सोही अनुसार योजना बनाएर यसको भौतिक विकासमा जुटेका छौं ।

साहित्यिक संस्थाको उद्देश्य भौतिक विकास मात्रै होइन, आफ्ना उद्देश्य परिपूर्ति गर्नका निम्ति सिर्जनालाई माझ्नको निम्ति र प्रतिभाको खोजी गर्नु अहिलेको आवश्यकता होध्र त्यसैअनुरुप हामी चलेका छौं । संस्थालाई जीवन्त बनाइराख्नका लागि हाम्रा नियमित र रचनात्मक कार्यक्रमहरु पनि चलिरहेका छन् ।

साहित्यिक संस्था भएकै नाताले प्रकाशनको पक्ष महत्वपूर्ण हुन्छ, परिषद्ले प्रकाशनतर्फ ध्यान नदिएको जस्तो देखिन्छ नि ?

ध्यानै नदिएको भन्ने कुरा होइन । राप्ती साहित्य परिषद्ले नियमितरुपमा अन्तध्र्वनि साहित्यिक त्रैमासिकलाई प्रकाशन गर्दै आएको छ । त्यसका साथै स्रष्टाहरुका पुस्तकहरुमा पनि प्रकाशकको भूमिका निर्वाह गर्दै आएको छ । वार्षिक मुखपत्रको रुपमा राप्तीदूतलाई प्रकाशन गर्दै आएको छ । अब सोच्नुपर्ने विषय स्तरीयता र अझैं नियमितता कायम गर्नु हो । यसको निम्ति रचना छनोट गर्ने अवसर भने हामीले पाएका छैनौं ।

तपाइँको विचारमा साहित्य किन लेखिन्छ ?

साहित्य स्रष्टाभित्र अन्तरनिहित प्रतिभा देखाउने एउटा शक्तिशाली माध्यम हो । यसले समाज रुपान्तरणका पक्षमा वकालत गर्नुपर्छ । आत्मसष्तुष्टिका लागि मात्रै होइन, व्यक्ति र व्यक्तित्व विकासका लागि पनि यसले प्रेरणा दिनुपर्छ । सामाजिक न्यायको खोजी तथा विकृति, विसंगतिहरुको उन्मुलनको लागि पनि प्रयत्नशील हुनुपर्छ साहित्य ।

कतिपयले साहित्यको विचारसँग कुनै सम्बन्ध हुँदैन भन्ने गरेका छन् त कतिपयले विचारबिनाको साहित्य हुँदैन भन्छन्, तपाइँलाई के लाग्छ ?

मान्छे सामाजिक तथा राजनीतिक प्राणी हो । मान्छेको विचारसँग घनिष्ट सम्बन्ध रहन्छ, रहनुपर्छ । विचारले मान्छेको प्रतिभालाई परिपक्व बनाउँछ । दर्शनबिनाको साहित्य सुवास बिनाको फूलजस्तै हो । यति हुँदाहुँदै पनि स्रष्टाले आफ्नो रचना गर्दा सिर्जनामा राजनीतिको प्रत्यक्ष प्रभाव पर्न दिनुहुँदैन । विचारको कलात्मक अभिव्यक्तितर्फ स्रष्टाले सधैं ध्यान दिनुपर्छ ।

परिषद्ले संविधान निर्माणका निम्ति दबाब दिने उद्देश्यले शान्ति र संविधान भन्ने अभियान घोषणा गरेको छ, यो कस्तो खाले अभियान हो ?

देशले अहिले बाटो बिराउँदै गरेको छ । राजनीति पनि आफ्नो बाटोबाट विचलित हुँदै गइरहेको नागरिकले महसुस गरिरहेका छन् । यो अवस्थाबाट देशलाई बचाउनु हामी स्रष्टाहरुको पनि दायित्व हो ।

देशमा चाँडो भन्दा चाँडो हाम्रो संविधान, राम्रो संविधान निर्माण होस् भन्ने आकांक्षा सबैले बोकेका छन् । त्यसै कारणले संविधान समयमै बन्नुपर्छ र अन्योल हट्नुपर्छ । यसका निम्ति साहित्यकारहरु सजग रहँदै संविधान निर्माणका लागि खबरदारी गर्न र नागरिकलाई सचेत बनाउन हामीले शान्ति र संविधान, हाम्रो अभियान शुरु गरेका छौं । यो अभियानलाई संविधान निर्माण नहुँदासम्मका निम्ति क्रियाशील सबै साहित्यिक संघसंस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रयास पनि जारी राखेका छौं । र, यसमा सबैको सहयोग हुनु जरुरी छ ।

यो अभियानमा तपाइँहरु के–कस्ता गतिविधिहरु गर्नुहुन्छ ?

अभियानको पहिलो चरणमा तुलसीपुर क्षेत्रमा दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानसँग, बिजौरीदेखि नारायणपुर क्षेत्रमा प्रगतिशील लेखक संघ दाङ शाखासँग, घोराही क्षेत्रमा लेखक संघ दाङसँग र देउखुरी क्षेत्रमा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चसँग सहकार्य गरेर विभिन्न कार्यक्रममार्फत् अभियान सञ्चालन गर्ने योजनामा छौं । अभियानका क्रममा सडक कविता वाचन, व्यङ्ग्य, गीत, गजल, मुक्तक वाचन, अन्तरक्रिया लगायतका कार्यक्रमहरु गर्ने योजना बनाएका छौं ।

दोस्रो चरणमा दबाबमूलक कार्यक्रमहरु गर्ने सोंच बनाएका छौं । समयमै संविधान घोषणा नहुने अवस्था देखापरेमा दोस्रो चरणमा सत्याग्रह, धर्ना, विरोधलगायतका अझैं सशक्त कार्यक्रम गर्ने अभियानको उद्देश्य रहेको छ ।

राप्ती साहित्य परिषद् यस क्षेत्रकै पुरानो साहित्यिक संस्था हो, समयअनुकूल यसको विकास गर्न र अन्य क्षेत्रका साहित्यिक संघसंस्थाहरुसँग सम्बन्ध विस्तार गर्न के पहल गरिरहनुभएको छ ?

राप्ती साहित्य परिषद्ले आफूलाई अगाडि बढाउनका लागि आधुनिक सूचना प्रविधि अंगाल्न जरुरी छ । यसका साथै हामीले शुरुका दिनहरुमा जसरी बाहिरका स्रष्टाहरुलाई बोलाएर बृहत् साहित्यिक समारोह गर्ने गर्दथ्यौं, यसलाई फेरि नियमित बनाउने सोचेका छौं । राप्ती क्षेत्रदेखि बाहिरका साहित्यिक संघसंस्था, अग्रज स्रष्टाहरु र नवप्रतिभाहरुसँग सामिप्यता गाँस्न जरुरी छ । त्यसैअनुरुप आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने सोच बनाएका छौं ।

राप्तीमा साहित्यका विभिन्न विधाहरुको अवस्था कस्तो छ र विधागतरुपमा यहाँको साहित्यिक गतिविधिलाई अगाडि बढाउन के गर्न सकिन्छ ?

राप्तीमा कविता र गजल विधाले राम्रो गति लिएको छ । आख्यानतर्फ नाटक विधा सबैभन्दा कमजोर देखिन्छ । अब हामीले यी कमजोर रहेका विधाहरुलाई अगाडि बढाउनका निम्ति स्रष्टाको खोजी गरेर उनीहरुलाई प्रोत्साहन दिने परिपाटी बसाल्नुपर्छ । कथा, उपन्यासहरु पनि केही आइरहेका छन् । यिनलाई पनि स्तरवृद्धिको निम्ति केही अवसर र केही प्रोत्साहनको खाँचो छ । राप्ती साहित्य परिषद् यी विधाहरुको विकासका लागि प्रयत्नशील रहनेछ ।

अन्त्यमा, थप केही भन्नु छ कि ?

राप्ती साहित्य परिषद्ले अहिले भवन निर्माण कार्य अगाडि बढाइरहेको छ । यसमा सबैको आर्थिक, भौतिक, नैतिक सहयोगको अपेक्षा परिषद्ले गर्दछ ।
साथै हामीले पुस्तकालय र साहित्यिक संग्रहालय स्थापना गर्न लागिरहेका छौं । त्यसैले आफूले प्रकाशन गरेका पुस्तक एवम् अग्रज स्रष्टाका पाण्डुलिपि र बायोडाटा हामीलाई उपलब्ध गराइदिनुहुन सबैमा अनुरोध गर्दछौं । यहाँहरुले दिनुभएको सामग्री जतनका साथ राख्ने विश्वास दिलाउन चाहन्छौं ।

अन्त्यमा, राप्ती साहित्य परिषद्लाई साहित्यिक कुराकानी गर्ने अवसर दिनुभएकोमा तपाईंलाई धन्यवाद ।

By

Readers Comments (0)