Filed Under:  कुराकानी, सौगात विशेष

‘फुटकर’ लेखकसँग लेखन संवाद

28th August 2016   ·   0 Comments

yuba lekhak

महेन्द्र महक, बसन्त विवश आचार्य, भुपेन र गजेन्द्र बोहरा । चारै जना विक्रमाब्द २०४० पछिका छेउछाऊका बर्षहरूमा जन्मिएका समकालीन लेखकहरू हुन् । खासमा दाङमा बसेर फुटकर रुपमा आख्यान लेख्दै आएका यी चारै लेखक पछिलो समय पाठकहरुसामु धेरै रुचाइएका युवा लेखकहरू हुन् । यी चारै लेखकहरुसँग नयाँ युगबोध दैनिकको साहित्यिक पृष्ठ शनिबारको सौगातका लागि अर्का लेखक दिल महराले गरेको साहित्य लेखनसम्बन्धी संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

Mahendra Mahakमहेन्द्र महक

लेखकले राम्रो लेख्नलाई के–के कुराको आवश्यकता पर्छ ?

– मेरो विचारमा सहज अनुभूति, अध्ययन र यात्राले मात्रै कुनै लेखकको लेखकीय क्षमता अभिवृद्धि गर्छ । सतही रुपमा हेर्दा यी तीन वटै विषय फरक–फरक लागे पनि लेखनका सन्दर्भमा एक अर्कासँग जोडिएका छन् । अर्को कुरा, लेखक इमान्दार हुनुपर्छ । लेखकले लेखकीय बेइमानी गर्नुहुँदैन  । लेखनमा समाज रुपान्तरणका कुरा गर्ने तर व्यक्तिगत जीवन यथास्थितिको पक्षपोषण गर्ने खालको भइदिएमा त्यस्तो लेखन जगबिनाको घरजस्तो भइदिन्छ । राम्रो लेख्नका लागि यिनै कुराले प्रभाव पार्छन् ।

नेपाली साहित्यको वर्तमान अवस्थाबारे केही भन्नुहोस् न ?

– नेपाली साहित्यको वर्तमान अवस्था उज्यालो देख्छु म । पाठकको संख्या बढेको छ र यसले लेखकहरुलाई पनि उत्साहित बनाएको छ । प्रकाशकहरु पनि प्रशस्तै छन् । तर पनि, लेखकहरुले आफ्नो लेखकीय धार अनुरुपको पाठक बनाउनुको साटो बजार केन्द्रित भएर लेख्ने जुन ‘रोग’ बढेको छ यसले राम्रो लेखन र लेखकलाई छायामा पारेको छ भन्ने मलाई लाग्छ । यसमा ठूला भनिएका मिडिया र दैनिक पत्रिकाको केही भूमिका छ । खुशीको कुरा के छ भने, नेपाली लेखन पनि विश्व बजारमा आफ्नो स्थान खोज्न प्रयासरत्त छ जसलाई उपलब्धिमूलक मान्नुपर्छ ।

तपाइँका धेरै साथीभाइले तपाईंको लेखनको प्रशंसा गरिरहेका हुन्छन् । तपाईंको भाषामा सक्कली समीक्षक कस्ता मानिस हुन् ?

– मैले आजसम्म जे जति लेखें र लेख्दै छु यसमा साथीहरुको प्रेरणा र प्रोत्साहनको ठूलो भूमिका रहेको छ । जहाँसम्म समीक्षकको कुरा छ, सक्कली समीक्षक त पाठक नै हुन्, जसले लेखकलाई नदेखेर, नचिनेर नै पढिरहेका हुन्छन् । लेखकले साहित्यमा सिर्जना गरेको संसारमा आपूmलाई भेटेर आनन्द अनभूत गर्ने पाठकहरु नै वास्तविक समीक्षक हुन् । मेरो कथा साहित्यको सन्दर्भमा थुप्रै अग्रज साहित्यकारहरु तथा पाठकहरुले प्रत्यक्ष–अप्रत्क्षरुपमा भेटमा वा सामाजिक सञ्जालमार्पmत् मलाई मेरो रचनामा रहेका सबल र दुर्बल पक्षबारे बताइरहनुभएको हुन्छ, जसलाई मैले अत्यन्त हार्दिकताका साथ ग्रहण गर्दै आएको छु ।

लेखकका लागि समय वा लेखनमा कुन महत्वपूर्ण हो जस्तो लाग्छ यहाँलाई ?

– मेरो विचारमा लेखकका लागि लेखन बढी महत्वपूर्ण हुन्छ । गैर लेखक वा नलेख्ने समुदायका लागि पनि त समय छ तर उनीहरु लेख्दैनन् । त्यसैले समय हुनु वा नहुनुको कुनै अर्थ राख्दैन । तर लेखकका लागि त लेख्नु नै महत्वपूर्ण कुरा हो । कुन बेला लेख्ने भन्ने पनि कुनै नियम विधान छैन ।

बाल्जाकले बिहानको समयमा सेतो कपडा पहिरेर निश्चित समयसम्म लेख्थे जुन उनी आफ्नो सेड्युल अनुसार गर्थे भने कतिपय लेखकले युद्धका ट्रेन्चहरुमा बारुदको गन्ध सुँघ्दै विश्वका उत्कृष्ट कविताहरु सिर्जना गरेका उदाहरण छन् । त्यसकारण ठ्याक्कै यस्तै समय लेखनका लागि उपयुक्त हुन्छ भन्ने मलाई लाग्दैन ।

तपाईंले अनुवादमा पनि धेरै कलम चलाउनुभएको छ । तपाईं आफ्नो सिर्जनामा त्यस्तो के भेट्नुहुन्छ, जो विदेशी लेखकहरुमा भेटिरहनुभएको छैन ?

– लेखकले आफ्नो समयको प्रतिछाया बोकेर सिर्जना गर्छ । जसमा उसले कुनै न कुनै रुपमा आफ्नो भोगाइ वा अनुभूतिलाई समाहित गरेकै हुन्छ । अनुवाद विधा पहिला रोटीका लागि र पछि रुचिका लागि अंगालेको विधा हो मेरो । मैले आफ्नो समाज, मेरो समय र अनुभूतिका रंगले रंगिएका भोगाइ र दृष्टिकोण आफ्नो सिर्जनामा पस्कने हो, जुन कुरा विदेशी लेखकहरुमा भेटेजस्तो मलाई लाग्दैन । उनीहरुले आफ्नो समाज, समय र दृष्टिकोण लेख्ने हो । मैले आफ्नो समाजप्रति राख्ने धारणा र सो अनुसारको लेखन अरुले लेख्न सक्दैन ।

तपाईंले अनुभूति गरेका केही अभाव छन्, जसको कारणले तपाईंलाई लेखक बन्न रोकिरहेजस्तो लाग्छ ?

– अभाव त कसलाई छैन र ! यही अभावको फलस्वरुप त हामी लेख्छौं, त्यो अभाव पूर्ति गर्न । खज्मजिएको व्यक्तिगत जीवन र भद्रगोल समाजका खाल्डाखुल्डीलाई साहित्यमै भए पनि सुन्दर र समृद्ध बनाउने चेष्टा गर्छ एउटा लेखक । लेखक नै बन्नका लागि यदि पुस्तक प्रकाशित गरेको हुनुपर्छ र राजधानीका ठूला मिडियामा प्रकाशन भएको हुनुपर्छ भन्ने मान्यता छ भने त पक्कै पनि म असफल भएको छु र लेखक बन्न सकेको छैन । अन्यथा केही व्यस्तता र व्यक्तिगत समस्याले मेरो लेखनलाई केही मत्थर बनाएको भए पनि लेखिरहेकै छु जस्तो लाग्छ मलाई ।

basantबसन्त विवश आचार्य

तपाईंलाई सबैभन्दा बढी लेख्न मन पर्ने समय सोधियो भने ?

– कामको धपेडी परेका बेलामा लेख्न मनपर्छ मलाई । म जति कामको चापमा हुन्छु, उति लेख्न मन लाग्छ । मैले खाली समयमा निकै कम लेख्ने गर्छु । खास गरेर रातको १० बजेपछि मलाई लेख्दा आनन्द आउँछ । जूनकीरीको संगीतमा लेख्नुको मजा म शब्दमा भन्नै सक्दिनँ ।

लेखकको रूपमा तपाईंलाई केही बोल्नु छ कि ?

– म लेखक हुँ र ? फुटकर पसलेले सबै कुरा बेचेजस्तै मैले पनि सबै कुरा लेख्ने भएकाले फुटकर लेखक हुँ । अब तपाईं यसलाई ‘बहुमुखी प्रतिभा’ भन्ने विवादास्पद पदवी नदिनुहोला । सबै कुरा लेखेर बहुमुखी भइन्छ भन्ने भ्रम छ नेपाली साहित्यमा । सबैमा गहन र आक्रामक लेख्न सक्नुपर्छ । त्यो सीमित व्यक्तिमा मात्र हुन्छ । मलाई सीमित व्यक्ति बन्न मन छैन ।

कहिलेकाहीँ यसो मन बढी उथलपुथल भयो भने केही लेख्ने हो । लेखनलाई नै मूलधार बनाएको छैन । अब तपाईं कहिलेकाहीँ फूटबल खेल्नुहुन्छ, कहिले गीत गाउनुहुन्छ, के तपाईं खेलाडी या गायक हो ? फूटकर लेख्ने भएकाले मेरो लेखनको आयु सीमित छ । तथापि यसरी लेख्नु निकै गाह्रो हुँदोरहेछ । लेखिरहनुपर्ने नत्र पाठकले भुल्दा रहेछन् । तर तपाईंले एउटा राम्रो किताब निकाल्नुभयो भने त्यसले तपाईंलाई सधैं जीवित राख्छ ।

तपाईंसगँ कुनै यस्तो अनुभव छ ? जुन दिन कुनै नामको किताब पढ्दै हुनुहुन्थ्यो । त्यो समय रात वा दिन आफैलाई थाहा भएन ?

– हो । यो चाहिँ गज्जब कुरा । समय ठ्याक्कै याद भएन । मौसम धमिलो थियो । मैले बुद्धिसागरको कर्णाली ब्लुज पढ्दै थिएँ । बिहान खाना खाएर बसेको साँझ ७ बजेपछि मात्रै ओहो ! साँझ परेछ भनेर दङ्ग परें । किताबको रसले यसरी झुलायो कि मलाई संसारको कुनै कुराको पनि प्रवाह भएन । एक वर्ष अगाडि हर्मन हेस्सेको सिद्धार्थ पढ्दा पनि मलाई त्यस्तै भयो । रस पर्दै जाँदा निद भाग्दै गएछ । अर्को दिन कलेज छाडेको थिएँ ।

तपाईंको लेखनमा कस्तो समाजको चर्चा हुन्छ ?

– मेरो लेखनमा मान्छेको चर्चा हुन्छ । अब मान्छे सामाजिक प्राणी भएकाले त्यो पनि एक प्रकारको समाजको चर्चा होला । खास गरेर मैले भोगेको समाज मेरो लेखनीमा हुन्छ । जहाँ केही गरिबी, केही विभेद, केही यौन अनि केही प्रेमका भोगाइहरुको चर्चा हुन्छ । देखिनेभन्दा पनि नदेखिने समाजको कुरा मेरो लेखनीमा हुन्छ । साधु र सन्तभित्रको बलात्कारीपनको चर्चा गर्दा मलाई खुब आनन्द आउँछ । समाजका राम्राभन्दा पनि नराम्रा कुराहरु बढी पढिन्छन् र लेख्दा पनि त्यस्तै कुराहरु लेखिन्छ । मेरो लेखनी पनि त्योबाट अछुत छैन ।

नेपालका केही दुई/चार छापाबाहेक सबै छापामा लेखकहरू सित्तैमा आफ्ना रचनाहरू छापिरहन्छन् । यसले साहित्यको मूल्यमा असर पार्दैन ?

– होइन, लेख्नु भनेको साधना हो । साधनाले मानिसलाई परिपक्व बनाउँछ । अब तपाईं भर्खरै लेख्दै हुनुहुन्छ भने पत्रिकाले निःशुल्क छापे पनि त्यो तपाईंका लागि अवसर हो । हो, हरेक कुराको मूल्य हुन्छ तर प्रारम्भिक दिनमा सिक्नका लागि पनि पत्रिकामा छाप्नुपर्ने हुन्छ । अब एउटा उचाइमा पुगेर पनि पत्रिकालाई सित्तैमा बाँड्छ भने त्यो सोचनीय कुरा हो ।

साहित्य लेख्नको लागि दिल, दिमाग, साधना र समय लाग्छ– त्यसको पक्कै पनि मूल्य हुनुपर्छ । निःशुल्क सृजना सधैं बाँड्नु भनेको आफ्नो सृजनाप्रति आफैलाई विश्वास नहुनु पनि हो । अझ दाङको कुरा गर्नुहुन्छ भने यहाँ पत्रिकालाई निःशुल्क रचना मात्र होइन, आफूले ठूलो लगानी गरेर प्रकाशन गरेको पुस्तकसमेत निःशुल्क बाँड्दै हिडेको देखिन्छ । यहाँ लेखेर पैसा लिने होइन । रचना छाप्नका लागि पैसा खर्च गर्नेहरु पनि छन् । लेखकहरु पत्रिकामा छापिएको तस्विरमा मख्ख परेपछि– निःशुल्क खान पल्किएको मान्छेले पैसा तिर्न मान्छ त ? अहिले बजारमा धेरै पत्रिकाहरु छन् । राम्रा सृजना लेख्न सकियो भने तपाई बार्गेनिङ गरेर छाप्न सक्नुहुन्छ । मुख्य कुरा पहिला आफ्ना शुभचिन्तक कमाउनु प¥यो । तपाईंको सृजनाका कारण पत्रिकाको बिक्रीमा चढाव आउनुप¥यो ।

खासमा तपाईंको छुट्टै केही लेख्ने तरिकाहरू छन् भने बताउनुस् न ?

– मेरो सबैभन्दा झुर आदत भनेको म प्रकाशनका लागि कुनै कुरा आवश्यक भयो भने मात्र लेख्छु । जब साथीहरु लेख्न आग्रह गर्छन्, जब कुनै पनि कुरा प्रकाशन नगरेको लामो समय हुन्छ, अनि म लेख्छु । अर्को कुरा, मेरो प्रारम्भिक लेखन यात्राका क्रममा हुन्छ । म लामो यात्रामा निस्केको बेलामा कुनै कुरा मनमा खेल्यो भने त्यसलाई मोबाइलमा उतार्छु र पछि समय निकालेर मात्रै त्यसलाई पूरा गर्छु ।

अर्को कुरा, म नलेखेरै पनि कुनै कुरा लेखेको छु भनेर साथीभाइ, मेरा विद्यार्थीहरुलाई भन्न मन पराउँछु । यसले मेरो लेखनीमा निकै फाइदा पु¥याएको छ । अब लेखिसकें भनेपछि साथीभाइले सोधिरहन्छन् अनि लेख्नै प¥यो नि । यो पनि मेरो लेखनीको नयाँ तरिका हो ।

Bhupenभुपेन

कोही व्यक्ति लेखक बन्न चाहन्छ भने यो कति गाह्रो काम हो ?

– लेखन सत्यतर्फको यात्रा हो । लेखकले सत्यको कलात्मक उद्घाटन गर्छ । समाजमा चलिआएका परम्परागत भ्रमहरुलाई चिर्दै सत्यतर्फ लम्किनु गाह्रो काम हो । लेखन कति गाह्रो पेशा हो भन्ने कुरा गर्दा मलाई मार्खेजको एउटा भनाई याद आउँछ । उनले ‘लेखन संसारकै एकाङ्की पेशा हो’ भनेका छन् । कलमको साथ लिएर सामाजिक मूल्यमान्यतामा प्रहार गर्दै जानु गाह्रै काम हो । सबै मान्छे लेखक बन्न सक्दैनन् । तर लेखक आफ्ना पात्रहरुमार्फत् सबै मान्छेको जीवन बाँच्नुपर्ने हुन्छ । यसैले पनि जिम्मेवार लेखक बन्नु निक्कै गाह्रो काम भएको म ठान्छु ।

के तपाईंसँग त्यस्ता केही घटनाहरू छन्, जसले तपाईंलाई लेख्न विवश बनाएको होस् ?

– लेखक समाजबाटै जन्मिने हो । यसर्थ केही घटना परिघटनाभन्दा पनि समग्र सामाजिक संरचनाहरुबाट नै मानिस प्रभावित हुने हो । हो, कतिपय कुरालाई तत्काल कलममार्फत् अभिव्यक्त गर्न सकिदैन तर केही कुरा यस्ता हुन्छन्, जसलाई शब्दमा अभिव्यक्त गरिएन भने त्यसको ह्याङले समग्र दैनिकी नै प्रभावित पारिदिन्छ । मेरो जीवनमा केही घटनाभन्दा पनि प्रेम, परिवारका कुराले बढी मात्रामा प्रभाव पारेका छन् । मेरो मात्र हैन प्रायः मानिस आफ्नो जीवनकालमा यी सन्दर्भहरुसँग प्रभावित हुन्छन् ।

कहिलेकाही तपाईं साथीहरूसँग कुरा गर्नुहुन्छ नि, लेखनलाई आर्थिक स्वतन्त्रता हुनुपर्छ भनेर । के यसले लेखनलाई असर गर्दोरहेछ ?

– नेपालजस्तो अल्पविकसित मुलुकमा लेखन पेशालाई अंगाल्नु कष्टलाई हार्दिकतापूर्वक स्वागत गर्नुजस्तै हो । अब आर्थिक स्वतन्त्रताको कुरा गर्दा यसका पनि दुई पाटा छन् जस्तो लाग्छ । एकातर्फ लेखकले दुःख पीडालाई नै बढी मात्रामा शब्दमा उतार्छ, त्यसैले आर्थिक अभावले सृजना गरेका पीडाहरुलाई शब्दमा उल्लेख गरेर धेरै राम्रा लेखक जन्मेका छन् ।

अर्कोतर्फ सधैं त्यस्तै अभाव कायमै रहे लेखक नै नरहने अवस्था नि सृजना हुन जान्छ । कम्तिमा लेखकसँग कलम कापी किन्ने पैसा त चाहियो । अबको डिजिटल जमानामा त झनै समग्र प्रविधिसम्म पहुँच पुग्ने आर्थिक स्वतन्त्रताचाहिँ लेखकसँग हुनुपर्छ ।

तपाईलाई सामान्य मेहनत, कल्पना, अनुभव र दृष्टिले लेखक भइदैन भन्ने पूरै थाहा छ । तर तपाईं समकालीन साथीहरूका लेख पढ्नैपर्छ भन्ने मान्यताको एक लेखक हो । यसो गर्दा कहिलेकाँही चिन्ता लाग्दैन तपाईंलाई– कालान्तरमा राम्रो लेखक हुँदैन कि भनेर ?

– हो । म लेखनलाई एक साधनाकै रुपमा लिन्छु । मैले लेखक नै बन्छु भनेर कहिल्यै उद्देश्य पनि लिइँन । र अहिले पनि म गतिलो लेखक हुन्छु भनेर मनमस्तिष्कलाई ढुक्क गराउन पनि सक्दिनँ ।

लेख्नु मेरो रहरभन्दा पनि बाध्यता हो । म गन्तव्य नतोकेरै कलम चलाइरहेको छु । यस सन्दर्भमा लेख्ने कार्य जारी रहनेछ । भोलिका दिनमा यही निरन्तरताले राम्रै लेखक बनाए ठिकै छ । नभए पनि मलाई त्यति ठूलो पछुतो हुने छैन । लेखन साधना भएकाले सर्वप्रथम अन्तर्मनमा आनन्द दिलाउने हो । जो म अहिले पनि महसुस गर्छु ।

भुपेनजी, यसको पनि जवाफ दिनुहुन्छ कि– तपाईं प्रेमको खुबै कुरा गर्ने मानिस पनि हो । अझ रातमा यसबारे तपाईं मिठो बोल्नुहुन्छ अरे ! यसो हुनुको केही कारण छ ?

– प्रेम मानिसले आफ्नो जीवनकालमा भोग्ने सर्वव्यापी परिघटना हो । यसबाट म मात्रै अछुतो रहने कुरा पनि थिएन । प्रेमलाई पीडाभन्दा नि प्रेरणाका रुपमा नै लिएको छु । अझ फर्केर हेर्दा म के मूल्यांकन गर्छु भने बाल्यकालदेखिको एक्लोपनाले म भित्रभित्रै कडा र ठोस खालको बनेछु । प्रेमले म भित्र कोमलता जगाइदियो । र, त्यसले लेखनमा पनि सहयोग ग¥यो– प्रेरणा दिएर होस् अथवा पीडा दिएर । प्रेमकै कारणले होला नारी उत्पीडनप्रति मेरो विशेष खालको सेन्टिमेन्ट पनि छ । कतै नारीमाथिको अत्याचार भएको देखें भने म आफुले प्रेम गरेको मानिसलाई त्यो घटनासँग जोडेर हेर्ने गर्छु । र बलबुताले भ्याएसम्म त्यसको विरोध गर्छु ।

उसो भए यो दुनियाँमा मानिसहरू किन जन्मिएका होलान् ?

– बिनाकारण यो मनुष्यलोकमा केही पनि हुँदैन । तर मान्छे बिना लगानीको उत्पादन हो । त्यसैले मान्छे बिनाकारण जन्मिन्छ । जन्मिदा मानिस निरउद्देश्य हुन्छ । पछि उ जन्मेको समाज, परिवार, संस्कारले उसलाई कता डो¥याउने भन्ने निर्धारण गर्छ । जन्मिनु एउटा स्वाभाविक र निरउद्देश्यीय प्रक्रिया हो । कारण र परिणाम ऊ हुर्कदै जाँदा निर्धारण हुने हो । म किन जन्मिएको थिएँ भन्ने कुराको जवाफ त मानिसले अन्तिम सास लिंदा मात्र थाहा पाउँछ होला ।
gajendraगजेन्द्र बोहरा

तपाईको दृष्टिमा लेखकहरूले विपरित लिंगप्रति गरिने प्रेमबारे केही सुनौं न ।

– भेटमा सुनाम्ला । लेखेर नि सुनिन्छ र ?

तपाईंका निजी केही व्यवहारबारे पनि कुरा गरौं । जसले पाठकहरूलाई पनि रूवाओस् ?

– हुन्छ । कुरा गरौं आउनुुस् ।

तपाईंको लेखनमा पात्रहरू ‘जे पायो त्यही’ बोलिरहेका हुन्छन् रे त ? त्यो ‘जे पायो त्यही’ भनेको के हो ?

– केही हैन ।

धेरै लेखकहरू आजभोलि आफ्नै चर्चाको बारेमा सामाजिक सञ्जालभरि उत्सव मनाइरहेका हुन्छन् ? तपाईका लागि यो कति महत्वपूर्ण छ ?

– कत्ति पनि छैन ।

तपाईले आफ्नो कुनै पाठकसँग सम्वाद गरेको अनुभव छ ? जहाँ तपाईको पाठकले गरेको कुरा तपाईं चुपचाप सुनिरहनुभएको थियो ।

– छ ।

न ढाँटेर भन्नुस न– मानिसलाई मर्न गाह्रो कि बाँच्न ?

– मर्न ।

By

Readers Comments (0)