Filed Under:  संस्मरण | निबन्ध, सौगात विशेष

माओको शव हेरेर फर्किदा | हस्तबहादुर केसी

30th December 2015   ·   0 Comments

Hasta_kc_Cचिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ स्मृति हल र उहाँको शव हेर्ने सुन्दर कल्पना त धेरै वर्ष पहिलेदेखि गर्दै आएको थिएँ । तर वास्तवमै चीनको राजधानी बेइजिङस्थित विश्वप्रख्यात तियनमेन चोकको ठीक उत्तरपट्टिको एक ऐतिहासिक भवनभित्र वैज्ञानिक ढंगले निर्माण गरिएको अध्यक्ष माओ स्मृति हलको प्रत्यक्ष रुपमा आपैm उपस्थित भएर हेर्ने मौका मलाई १६ जुलाई २१५ (३१ साउन २०७२) मा मिल्यो । त्यस क्षणलाई मैले जीवनकै एउटा ऐतिहासिक अवसरका रुपमा ग्रहण गरेको छु ।

माओ स्मृति हलमा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङको शवलाई कफिनभित्र सुरक्षित राखिएको छ । सन् १९७६ सेप्टेम्बर ९ अर्थात् २०३३ भाद्र २८ गतेका दिन कमरेड माओको निधन भएको थियो । त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीको योजना र निर्णयबमोजिम कमरेड माओको मृत शरीरलाई जस्ताको तस्तै कफिनमा राखिएको थियो र अहिलेसम्म पनि जस्ताको तस्तै माओको निधन हुँदाको अवस्थामा उहाँको शरीर जुन रुपमा थियो त्यही रुपमा अहिलेसम्म कफिनमा सुरक्षित ढंगले राखिएको छ । त्यहाँ दिनमा करिब ५० लाख चिनियाँ जनताले त्यस ऐतिहासिक अध्यक्ष माओ स्मृति हलमा राखिएको कमरेड माओको पार्थिव शरीर (शव)लाई फूलमाला चढाएर बडो श्रद्धाका साथ अवलोकन गर्ने गर्दा रहेछन्, त्यो ऐतिहासिक अवसर मलाई पनि प्राप्त भयो ।

mao_sleepingपहिलो कुरा, व्यक्तिगत रुपमा चीन जान नै ज्यादै गाह्रो कुरा छ । दोस्रो कुरा, चीनमा पुगेर पनि व्यक्तिगत रुपमा अध्यक्ष माओ स्मृति हलभित्र पसेर कमरेड माओको पार्थिव शरीर (शव) हेर्न अभैm कठिन छ । विदेशी नागरिकलाई यो विषय झन् ज्यादै कठिन छ । अध्यक्ष माओ स्मृति हलको अवलोकन गर्नका लागि चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको अनुमति अनिवार्य रहेछ । त्यसै पनि व्यक्तिगत रुपमा त्यो ऐतिहासिक हलको अवलोकन गर्न ज्यादै कठिन रहेछ ।

मैले त्यो ऐतिहासिक अवसर कसरी पाएँ भने चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा र हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को निर्णय बमोजिम ७ जुलाई २०१५ (२२ असार २०७२) देखि १७ जुलाई २०१५ (१ साउन २०७२) सम्म मेरो नेतृत्वमा हाम्रो पार्टीको पाँच सदस्यीय एक टोलीले चीनको विविध क्षेत्रको अध्ययन भ्रमण गर्ने मौका पाएको थियो । हाम्रो पार्टीका अतिरिक्त नेपाली कांग्रेस, नेकपा (माले) र नेमकिपाका पाँच/पाँच जनाको टोलीले पनि सोही अवसरमा चीनको अध्ययन भ्रमण गरेको थियो । चारवटा पार्टी मिलाएर कुल २० जनाले त्यस अवधिमा चीनको विविध क्षेत्रको अध्ययन भ्रमण गरेका थियौं । यो टोलीका सबै जनालाई त्यस ऐतिहासिक हलको अवलोकन भ्रमण गर्ने अवसर मिलेको थियो ।

सबैलाई अवगत भएकै कुरा हो– कमरेड माओ विश्व सर्वहारावर्गका महान् नेता र चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्षसमेत हुनुहुन्छ । कमरेड माओका आदर्श, योगदान र बलिदान विश्व सर्वहारावर्गका लागि प्रेरणा र शिक्षाका स्रोत हुन् । कमरेड माओलाई विश्वसर्वहारा वर्ग, संसारभरका क्रान्तिकारी तथा मुक्तिकामी जनसमुदायलाई जानकारी हुने भई हाल्यो नै । त्योभन्दा बाहिर र भिन्न दुनियाँलाई पनि कमरेड माओको बारेमा धेरै नै जानकारी छ । यति भएर पनि वर्गीय सम्बन्ध, वर्गीय माया र वर्गीय आदर्श छुट्टै विषय हो । हामी कम्युनिस्ट क्रान्तिकारीहरुको कमरेड माओसँगको सम्बन्ध भने सर्वहारावर्गीय सम्बन्ध हो । वर्गीय आदर्श र वर्गीय माया र प्रेमको सवाल हो ।

हामी विश्वका सर्वहारा क्रान्तिकारीहरुले कमरेड माओलाई एउटा असल र सुयोग्य शिक्षक तथा गुरुको रुपमा ग्रहण गर्ने गर्दछौँ । कमरेड माओ माओवादका प्रवर्तकसमेत हुनुहुन्छ । आज माक्र्सवादले दोस्रो चरणमा लेनिनवाद र तेस्रो तथा नयाँ चरणमा माओवादमा विकास गरिसकेको छ र माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वसर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र र पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई ग्रहण नगरीकन, यसलाई व्यवहारमा क्रियान्वयन नगरीकन र यस सिद्धान्तलाई सर्वहारावर्गीय जीवनपद्धतिमा नढालीकन कोही पनि क्रान्तिकारी बन्न सत्तैmन । यसै कारणले गर्दा पनि कमरेड माओसँग हाम्रो सम्बन्ध र हाम्रो आदर्श अरु गाढा बन्न पुगेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा २०७२ असार २२ गतेदेखि साउन १ गतेसम्म ११ दिवसीय एउटा चिनियाँ अध्ययन भ्रमण टोली मेरै नेतृत्वमा चीन प्रस्थान गर्ने भइसकेपछि २०७२ असार ५ गते पार्टी अध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ ले हाम्रो टोलीलाई बिफ्रिङ गर्नका लागि पार्टी कार्यालय बुद्धनगरमा बोलाउनुभयो । हाम्रो टोली त्यहाँ पुगेपछि हामीले चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको ‘चाइना भिजिटिङ एजेण्डा’ प्राप्त ग¥यौं । आउने जाने गरी जम्मा ११ दिनको चिनियाँ यात्राको कार्यक्रम रहेको थियो । कार्यक्रम अनुसार २०७२ असार २२ गते चीन प्रस्थान गर्ने र बीचमा चिनियाँ कम्युनिस्ट पार्टीले तय गरेका विविध कार्यक्रम र तोकिएको समयावधिभित्र सकेर २०७२ साउन १ गते नेपाल फर्कने कार्यक्रम थियो र २०७२ असार ३१ (१६ जुलाई २०१५) का दिन बिहान १०ः३० बजे नेपाल फर्कनका लागि बेइजिङ छोडिसक्नुपर्ने थियो । बिहान १०ः३० बजे बेइजिङ एयरपोर्ट प्रस्थान गर्ने, ११ः३० बजे बेइजिङ एयरपोर्ट पुग्ने, खाना खाने र दिउँसो १ः३० बजे छेन्दुका लागि उडान रहेको थियो । त्यस रात छेन्दुमै बसेर भोलिपल्ट साउन १ गते बिहानै ६ बजे छेन्दुबाट ल्हासा हुँदै नेपाल फर्कने कार्यक्रम रहेको थियो र त्यस अनुसार बिहान ११ बजे काठमाडौँ ओर्लिने कार्यक्रम थियो ।

अध्यक्ष माओ स्मृति हलको अवलोकन गर्ने समय २०७२ असार ३१ गते स्थानीय समय अनुसार बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म जम्मा १ घण्टाको समय निश्चित गरिएको थियो । असार ३० गते बिहान “चिनियाँ विशेषतासहितको समाजवाद” विषयक सेमिनार सम्पन्न गरी खाना खाएपछि दिउँसो ‘ग्रेटवाल अफ चाइना’को अवलोकन भ्रमण गराइयो र ग्रेटवालबाट फर्केपछि साँझतिर बेइजिङमा सपिङ सकेर पहिलेदेखि बस्ने गरेको बेइजिङस्थित WANSHOU होटल फर्कियौं । खाना खाएपछि हामी सबै आफ्नो कोठामा गयौँ । मलाई छिटो–छिटो अध्यक्ष माओ स्मृति हलमा पुग्ने र कमरेड माओको शव कफिनमा राखिएको हेर्ने उत्सुकता ज्यादै बढेको थियो । कतिखेर उज्यालो होला र त्यहाँ पुगिएला भन्ने कल्पना गर्दै कतिखेर निदाएछु ।

बिहानै उठेर नित्यकर्म सबै सकेर म होटलको लबीमा ओर्लिएँ । अन्य साथीहरु पनि त्यहाँ पुगिसक्नुभएको थियो । हामी बिहानको ८ बजे नास्ता खाएर तयार भयौं । ९ बजे अध्यक्ष माओ स्मृति हलतिर प्रस्थान गर्ने कार्यक्रम थियो । त्यो भन्दा पहिले होटल छोड्ने भएकाले लगेज चेक गरिसक्नुपर्ने थियो । त्यो सबै काम सकेर तयार भएर बस्यौं । ठीक ९ बजे चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग एसिया ब्युरोका उपनिर्देशक साओ लियाङको नेतृत्वमा गाडी अगाडि बढ्यो र आधा घण्टामा हामी तियनमेन चोकमा पुगेर गाडीबाट ओर्लियौं । सुरक्षाकर्मीहरुले हाम्रो सबै शरीर चेक गरिसकेपछि हामीलाई दुई लाइन लगाएर अध्यक्ष माओ स्मृति हलतिर अगाडि बढाइयो । अर्कोतिरबाट हजारौंको चिनियाँ जनता उक्त हल प्रवेशका लागि हातमा फूल लिएर दुई लाइनमा लाइनबद्ध भएर अगाडि बढिरहेका थिए । हामीलाई दुई लाइन गराएर अगाडि बढाइयो । सबैभन्दा अगाडि कमरेड साओ लियाङ हुनुहुन्थ्यो र हामीलाई गाइड गरिरहनुभएको थियो । म त्यसपछि थिएँ र भित्र पुग्न ज्यादै आतुर पनि थिएँ ।

भवनको पहिलो हलमा कमरेड माओको ठूलो शालिक रहेछ । त्यहीं फूल चढाएर सलाम ठोकेर दोस्रो हलतिर अगाडि बढ्नुपर्ने रहेछ । हामीले पनि त्यही ग¥यौं । जब हामी दोस्रो हलमा प्रवेश ग¥यौं, त्यो हलमा बिजुलीको उज्यालो कम थियो । हामी अगाडि बढिरहेको बाटोको बायाँपट्टि कमरेड माओको शवलाई कफिनमा उत्तरतिर सिरानी बनाएर जस्ताको तस्तै सुताइएको रहेछ र मुखमा बढी उज्यालो दिइएको रहेछ । नजिकै पुगेर हामी सबैले मुठ्ठी उठाएर सलामी दिंदै कमरेड माओप्रति आदर तथा श्रद्धाभाव प्रकट ग¥यौं । मैले नजिकैबाट नियालेर कमरेड माओको अनुहार हेरें । उहाँको अनुहार जस्ताको तस्तै रहेछ । माओको शरीर जस्ताको त्यस्तै बडो वैज्ञानिक ढंगले सुरक्षित राखिएको रहेछ । कमरेड माओले सधैं लगाउने गरेको राष्ट्रिय पोशाकमै उत्तानो गरी उहाँलाई सुताइएको रहेछ र छातीमाथि चिनियाँ कम्युनिस्ट पार्टीको ठूलो झण्डा ओढाइएको रहेछ । यसो नियालेर हेर्दा लाग्थ्यो– कतिबेला कमरेड माओ जुरुक्क उठ्नुहुन्छ र बोल्नुहुन्छ !

हलको उत्तरपट्टि माओलगायत महान् चिनियाँ सहिदहरुका शालिकहरु निर्माण गरिएका छन् । त्यही नजिकै पुगेर फोटो खिचेर हामीहरु बाहिरियौं ।

अध्यक्ष माओ स्मृति हल अवलोकन भ्रमण गरिसकेपछि बाल्यकालदेखि नै कमरेड माओलाई मैले आफ्नो सैद्धान्तिक गुरु ठानेको थिएँ र उहाँका सिद्धान्त, विचार, योगदान, बलिदान र आदर्शहरुले मलाई कम्युनिस्ट बन्न र यो ठाउँसम्म पुग्ने विकास भयो । चीनमै पुगेर कमरेड माओलाई जीवितै अवस्थामा भेट्ने मौका नपाएको भए तापनि उहाँको निधन भएको करिब ४० वर्षपछि उहाँले नै निर्माण गरेको चीनमै पुगेर उहाँका अनुयायीहरुलाई अर्थात् चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारले जुन सम्मानका साथ अध्यक्ष माओ स्मृति हलको वैज्ञानिक ढंगले निर्माण गरेर उहाँको पार्थिव शरीरलाई युगौंयुगसम्म कायम रहने गरी राखेको छ, त्यही ऐतिहासिक ठाउँमा पुगेर पार्थिव शरीर (शव) लाई भए पनि नजिकै पुगेर कमरेड माओप्रति सलाम र आदर तथा श्रद्धाभाव प्रकट गर्न पाउँदा आजसम्मको मेरो जीवनमा सबै भन्दा ऐतिहासिक क्षण र अवसरको रुपमा लिएको छु । यसको स्मरण जीवनभर रहिरहनेछ । यस्तो प्रकारको मौका जीवनमा थोरै मात्र पाउन सकिन्छ भन्ने मैले अनुभूत गरेको छु ।
०००

By

Readers Comments (0)