Filed Under:  कथा

हाम्रो माया जिन्दावाद ! | गणेशमान सिंह

30th December 2015   ·   0 Comments

Ganeshman Shinghमलाई थाहा थियो । धेरै दिनदेखि यो नामले मलाई पिछा गरिरहेको छ । मेरा प्रत्येक स्टाटसहरुमा लाइक मात्र होइन अलि अस्वभाविक लाग्ने कमेन्ट पनि आउँथे– भारी प्रशंसाका । भारी उत्तेजनाका । मानौं, म कुनै नामी लेखक हुँ या भनौं न म कुनै चर्चित सेलिब्रिटी हुँ । बेला–बेला मेरो आदर्श भन्थी । यसअघि म यस्तै केटीका नामबाट हैरान गरी झुक्किएको थिएँ । नराम्ररी उल्लु बनाइमागेको थिएँ । स्थिति कतिसम्म भो भने वास्तविकै हो भनेर टाढै भेट्न पनि गएँ । पछि था भो यस्तो काम त चिनेकै सिल्ली साथीहरुको गतिलो व्यवसाय पो रहेछ । केटीका नामबाट आइडी बनायो दुनियाँलाई तनाव दियो । तर यसपालि किन–किन मलाई भित्री मनैदेखि यो नामप्रति बिस्तारै भरोसा जाग्दै थियो । निकै वर्षदेखि खाली थिएँ । उमेर पाकेको थियो तर जीवनले अझै घरजम ताकेको थिएन ।

एकदिन अनलाइनमै उसले लामो म्यासेज पठाई– अंग्रेजीमा । उसका यसअघिका कुराबाट नै ऊसँग विलक्षण प्रतिभा छ जस्तो लाग्थ्यो । ठिक यसपालि त मन छोयो उसको कुराले । भनेकी थिई, हजुरलाई था छ ? जब मैले पहिलो पटक हजुरलाई देखेँ नि नजिक जान र कुरै गर्न डराएँ । जब हजुरसँग बोलचाल भो कुराकानी गरेँ, हजुरलाई मन पराउन डराएँ । जब मन पराएँ, प्रेम गर्न डराएँ । जब आजभोलि मैले एकतर्फी हजुरलाई माया गरिरहेकी छु, हजुरको प्रेममा परेकी छु फेरि पनि डराइरहेकी छु । किन था’ छ ? पाउँदिन कि भनेर । गुमाउँछु कि भनेर ।

यो मेरो लागि हजारौं भोल्टको इमोस्नल ब्ल्याक मेल थियो । निकै तातिएको भाँडोमा पानीको थोपा खसाएझैं भएको थियो उसको कुराले मेरो मन । तर म जति हौसिएँ उति नै खिस्रिक्क भएँ । सोचें कसैले फेरि मलाई उल्लु त बनाउँदै छैन ?

उसकै भाषामा जवाफ फर्काएँ । भो धेरै नझुक्याऊ । यदि तिमी भनेकै तिमी हौ भने पाँच मिनेटभित्र यो नम्बरमा फोन गर । नत्र भने तिमीलाई कानुनी उपचार गर्नुपर्ने भो….। पठाइसकेपछि अलि रुखो भाषा भो कि भनी चिन्तित पनि भएँ । मनमा लाग्दै थियो यो कुनै पनि हालतमा फेक आइडी नभइदेओस् । पर्खाइमै चार मिनेट बित्यो । अहँ फोन आएन । सेकेन्ड पनि गन्न थालें । ३०/३१ हुँदै पचास पुग्न थाल्यो । ठीक पाँच मिनेट बित्दा नबित्दै नयाँ नम्बरबाट फोन आयो । मेरो शंकाले फेल खायो । ऊ केटी नै थिई । केटी मात्र होइन ऊ मलाई मन पराउने मान्छे थिई । लामो कुरा भयो ।

उसले सात कक्षा पढ्दादेखि नै मन पराएकी रे । शुरुमा मेरो भाषण मन प¥यो रे । जब भाषण मन पराई त्यसपछि मेरा सबथोक मन पर्न थाले रे । त्यै भएरै मैले बनाको संगठनमा बसेकी रे । विचारले होइन हजुरका कारणले माओवादी भएँ । भन्दै थिई– म त नक्कली माओवादी । हजुरकी माओवादी । म कस्तो बुद्दु ! मसँग त उसले हात मिलाउन पनि भ्याइहालिछ । यो राजनीति पनि कस्तो–कस्तो । सयौंसँग हात मिल्छन् । हजारौंसँग विचार मिल्छ । तर एक्लै हिड्नुपर्छ मनको जंगलमा । भन्दै थिई– म एसएलसीमा छात्रातर्फ जिल्ला प्रथम हुँदा सम्मान कार्यक्रममा जिशिअसँगै हजुर पनि आउनु भाथ्यो । मञ्चबाट नाम आयो । सबैले माला र टीका लगाइदिए । हजुरको हातबाट पनि लगाएँ । अरु त कसैले मिलाएनन् हात तर हजुरले त नामै बोलाएर कसक्कै हात मिलाउँदा लाजले भुतुक्कै भएकी थिएँ ।

उसका लाडिएका मायालु कुराले म गलिसकेको थिएँ । पाकिसकेको थिएँ । झरिसकेको थिएँ । अब भेटिने दिन पनि उसैले तोकी र भनी– हाम्रो पहिलो भेट स्पेशल बनाउनुपर्छ । हजुरका पुराना प्रेमकहानी सुन्नुपर्छ । जसरी पनि तयार हुनु नि फेरि…। जब उसले मेरा पूर्वप्रेम सुन्ने भई, मैले पनि दबिएरै रहेका घाउका प्रेमिल पाप्राहरु बिस्तारै उप्काएँ ।

०००

ऊ भाउजुकी बहिनी थिई । उसै पनि साइनोमा सोल्टीनी पो त ! भेट्दा त्यसै जिस्किन्थ्यौं । सानोमा सँगै पढ्यौं । सँगै हुर्कियौं । जब उ ठूली हुँदै गई सबैले मन पराउन थाले । उ सुन्दर देखिन्थी । ऊ म भन्दा ठूली थिई । मेरी दिदीसँग पढ्थी । उठ्दा, बस्दा, हाँस्दा, खेल्दा म पूरै उसको पिछा गरिरहन्थेँ । मनमनै लाज लाग्थ्यो, हेर्दा म उसको भाइजस्तो थिएँ । तर मायामा भने जोखिमै मोल्न पछि परेको थिइनँ । सानोमा खुब मिल्ने हामी बिस्तारै मेरो संगत उसलाई मन पर्न छोड्यो । पूरै हप्काउँथी । जे कुरामा पनि दबाउँथी । मिठा कुरा गर्दा पनि रिसाउँथी । खुशी बनाउन अनेक तिकडम गरेँ अहँ पट्टिने कुनै सुरसार देखाइन् । अच्चम्म लाग्यो । के म त्यति नराम्रो छु र ? सयौँपल्ट ऐना हेर्न थालेँ । अलि ठूलो भएको देखाउन कपाल मिलाउन थालेँ । गोजीमा काइयो राख्न थालेँ । बुवाबाट रोएरै पैसा मागेर पर्स किनेँ । कागज कोचेर ठूलो बनाएँ । घाँटीमा उसकै नामको शुरुको अक्षर राखेको माला भिरेँ । हातमा सुहाउने डोरी बाँधेँ । सधैँ चिटिक्क परेर स्कूल जान थालेँ । अहँ यी सबै प्रयासहरु बालुवामा पोखिए । मेरा जुक्तिले मायामा मुक्ति नभेटेपछि यसो साथीहरुसँग हात हेराइमागेँ । पचास रुपैयाँको कमाल हो या के ज्योतिषीले पनि आशा देखाए । जे गरे पनि अन्तिममा त्यो तिम्रै हो तर आजभोलि अर्कै केटाले फकाउँदै रै’छ । हतार नगर एकदिन आफै सम्बन्ध सुध्रिन्छ ।

यत्ति भनिसकेपछि त कुरा खलास हुनुपर्ने तर भएन । मनमा खुल्दुली मच्चियो को हो हँ त्यो ? उसको पछि लाग्ने हिम्मत गर्ने ? चियो गर्न थालेँ । हरेक दिन स्कूल जाँदा आउँदा उसलाई बोलाउने, जिस्काउने, हेर्ने त थुप्रै थिए । उ त त्यसै पनि राम्री थिई । अब कसलाई शंका गर्ने ?

एकजना भर्खरको सर थियो । एसएलसी दिने बित्तिकै पढाउन थालेको थियो । उ नौ मा पढ्थी भने म आठमा । हामीलाई जनसंख्या पढाउँथ्यो भने उनीहरुलाई पढाउँदैन्थ्यो । हेर्दा राम्रै थियो । अलि–अलि शंका थियो तर गतिलो प्रमाण फेला परेको थिएन । मान्छेको जीवनमा के आईपर्छ के था ? झन प्रेमको यात्रामा काँडेझार त कति हो कति । ज्योतिषीले शंका गर्ने ठाउँ देकैथ्यो । को होला त्यो ? थाहा पाउँ न मात्रै टाउकै फुटाइदिन्छु । मनमनै कल्पना गर्थेँ… । त्यो केटालाई त्यसकै अघि झापड दिन्छु अनि भन्छु बुझिस् ऊ मेरी हो मेरी । हेरिस् भने मात्र नि आँखा तानिदिन्छु । बोलिस् भने मुख थुतिदिन्छु । सँगै हिडे खुट्टा भाँचिदिन्छु । दिनदिनै घोक्थेँ यो डाइलग कहिले राजेश हमालको स्टाइलमा त कहिले दिलिप रायमाझीको । कहिले श्रीकृष्णको । यसरी डाइलग त घोकियो तर उसको पिछा गर्ने को हो पत्ता लागेन ।

मेला जात्राका दिनहरु आउन थाले । मन त्यसै–त्यसै चङ्गा हुन थाल्यो । किन हो उसले पनि पछि–पछि त राम्ररी बोलाउन थाली । कुरा गर्न थाली । कहिले मन पराएजस्तो पनि गर्थी । कहिले हाँसी दिन्थी त्यसै । म पनि हेर्दा ठूलै देखिन थालेँ । एकदिन जिस्केरै नापियौँ । ओहो उ र म त बराबरै रैछौँ । खुशी लाग्यो हिम्मत बढ्यो । घरदेखि टाढाको मेला थियो, उसले सँगै जाने प्रस्तव गरी । मेरो भुइँमा खुट्टै थिएन । हाम्रो घरबाट बदाम बेच्न लिन्थे । सँगै फर्किने सल्लाह भो । पैसाको जोहो गर्न बुवासँग बदाम बेची लागेँ । केही सय रुपैयाँ जिप्ट्याइसकेको थिएँ । उसलाई केही त खुवाउनै प¥यो । जानै आँटेको थिएँ उ हाँस्दै बदाम बेच्ने ठाउँ आई । लाज त त्यतिबेला लाग्यो– जब उसले एकमानाको कति हो भनेर सोधी । नजिकै बुवा थिए, साउजी बन्नुको विकल्प थिएन । तीन माना मागेकी थिई पाँच माना खन्याइदिएँ । दुई माना मेरो मायाको बोनस थियो ।

केही समयपछि म पनि मेला घुम्न निस्किएँ । एकछिन भलिबल म्याच हेरेँ । त्यसपछि अलिपर सेरिङ्गे नाच हेरेँ । हाम्रै गाउँका दाइहरुको झाप्रे नाच हेरियो । खुब रमाइलो भो । अब मेरा आँखाले उसलाई खोजिरहेका थिए । त्यहाँ कतै पनि देखिनँ । साँझ पर्न थाल्यो । घर सँगै फर्किने कुरा थियो । जताततै खोजेँ । अलि माथि एउटा ठूलो चौर थियो । बरपिपल, धारो र मन्दिर थियो । हत्तारिएरै गएँ । शंका मिल्यो । मन्दिर छेऊमै रै’छे । जब मैलेँ देखेँ– आँखा तिरमिराउन थाले । जताततै अँध्यारो मात्र देखेँ । ऊ त त्यै सरसँग मस्की–मस्की बदाम खाँदै पो रैछे । मेरै मायाका बोनस बदाम । उफ्… एकछिन त सोचेँ टाढैबाट ढुङ्गाले हानेर टाउकै फुटाइदिऊँ । अर्को मनले भन्यो जाउँ कि क्या हो नजिकै अनि भनुँ कि क्या हो नमस्कार सर । एकछिन हेर्न मन लाग्यो । जान्न मन लाग्यो के–के गर्छन् । हेर्दाहेर्दै घिन लाग्यो झरेँ मेलातिर । मनमा सारा कुरा नाच्न थाले । रित्तो मन र शून्य दिमागका साथ घर फर्किएँ । भोलिपल्ट स्कूल जानै मन लागेन । अरु स्कूल जाउँ बर्षमा मध्यमा त्यो सम्भव थिएन । एक हप्तापछि मन नलगाई–नलगाई स्कूल जान थालेँ ।

जिल्लास्तरिय परीक्षा दिएँ । पढाइमा राम्रै थिएँ । अर्को वर्ष यो स्कूल पढ्दिन भनेर सबलाई भनिसकेको थिएँ । साथीभाइ, सरहरुले नछोड्ने सल्लाह दिन्थे म के हो के भनेर टारिदिन्थेँ । जब रिजल्ट आयो त्यति खुशी त म कहिल्यै भइन् । म प्रथम भएको थिएँ । ऊ फेल भएकी थिई । त्यो सरले अब हामीलाई नपढाउने भो । खुशी त म उ सँगै पढ्न पाउने अवसरले भएको थिएँ । रिस थियो मनमा, त्यो भन्दा माया थियो । पाउने आशा टुटिसकेको थिएन । एउटै कक्षामा पढ्ने भएपछि पहिलाको भन्दा बढी हिमचिम हुने नै भयो । बिस्तारै नजिक हुँदै थियौं त्यै बेला त्यो सर पढ्न गयो । अब म उसको एक्लो हकदार भएको थिएँ ।

साँच्ची एसएलसी दिँदासम्म हामी साँचो मायामा डुबिसकेका थियौँ । वर्षौं वर्षको मेरो प्रयास, मेरो धैर्यता, मेरो आस्था सफल भएको थियो । हामी खुशीसाथ मायाको विचरण गरिरहेका थियौँ । जब सँगसँगै प्लस टू पास ग¥यौं उसले बिहेको लागि दबाब दिन थाली । तर म भने पढिसकेर आफ्नै खुट्टामा उभिएर मात्र बिहे गर्ने आदर्शमा थिएँ । मेरो कुरा उसलाई मन परेन । किन–किन उ मदेखि टाढिन खोजी । हामीले मायाको दुई–तीन वर्षे यात्रामा सबै भोगिसकेका थियौं । मैले उसलाई चिन्न, बुझ्न बाँकी केही थिएन । उसले पनि मलाई सबै तरहले जानी भोगिसकेकी थिई । हरदिन उस्तै, हरपल उस्तै । खाली गन्थन गरेजस्तो मात्र लाग्ने । मायामा नयाँपन हराएपछि मर्दै जाँदो रैछ क्यारे । बिस्तारै हामी टाढा हुँदै थियौं । एकदिन मलाई सोधेरै दश वर्ष जेठो शिक्षकसँग बिहे गरी । मैले जोडी मिलेनभन्दा झन दुःखी देखिन्थी । आजभोलि भेट हुँदा बिहे गर्न कर गर्छे । भन्छे– तिमी एक्लै भएको हेर्न सक्दिनँ ।

०००

यतिञ्जेल पार्क सुनसान भइसकेछ । अघिसम्म तीन/चार जोडी देखिन्थे, कतिबेला गइसकेछन् । जाडो बढिरहेको थियो । घाम डुब्दै थियो । शिशु, आज यत्ति है । किस्ता–किस्तामा सुनाउँछु ल.. । हस् भन्ने मनोभावमा टाउको हल्लाई । रुन्चे अनुहार लाएर हेरिरही एकछिनसम्म अनि बिस्तारै ओठ जोडी । खै यो माया पनि कस्तो–कस्तो । एक हप्ता भएको थिएन जोडिएको तर ज्यानै जाला अहिले छोड्ने मन छैन । जुगौं जुग सँगै बाँच्ने मन छ । उसले छोड्दा सोच्थेँ खै कहाँ भेटूँला र यस्ती माया गर्ने त । तर अहिले छाती–छातीसम्म पोखिएकी÷घोप्टिएकी मायालाई हेर्छु अनायसै मनमा यो नै मेरो जीवन हो जस्तो लाग्छ । एकोहोरो भएछु ए बुद्दु भन्दै हल्लाई । डुब्नै थालेको पहेँलो घामतिर हेर्दै भनें– शिशु अब यस्तै कहानी अरुलाई भन्न नपरोस् । थाकिसकेँ म त । बोल्दै थिएँ मुखै थुनिदिई ।

चाउचाउ खाँदै थिएँ मैले । उसले कुरमुरे टोक्दै थिई । बजारको चोकमा आइपुग्दा एक हुल मान्छे नाकाबन्दीविरुद्ध नारा लगाउँदै आइरहेका थिए । राजनीति कहिल्यै पनि नरुचाउने शिशुले भारतलाई मज्जाले गाली गरी । भनी जाउँ नारा लगाउँ । के भनेकी भन्दै थिएँ । ऊ बीच रोडमा गएर नारा लगाउँदै थिई– हाम्रो माया जिन्दावाद । उसले देशको माया भनी या हाम्रो माया भनी कुन्नि ? सोधिनँ ।

By

Readers Comments (0)