Filed Under:  संस्मरण | निबन्ध

प्रेम एक : प्रेम–पत्र अनेक | गणेश ओली

30th December 2015   ·   0 Comments

ganesh new photoप्रारम्भ :

रंगहीन प्रेमका रंगीन प्रेम–पत्र । समुद्रका छालजस्तै छल्कने सप्तरंगी प्रेमिल भावना । यस्तै भावनासँग डुबुल्की मार्दै लेखिन्छ प्रेम–पत्र । तर त्यो भन्दा पहिले कसैको मनमा छपक्कै बस्नुपर्छ प्रेम–पत्र लेखिनलाई । प्रेममा कसैले जीवनभर साथ दिन्छन् त कसैले मनको म्यानबाट अर्कैको प्रेमको तरबार झिकेर मुटुमा प्रहार गर्छन् । कतिबेला प्रेममा आफ्नो तीव्रतम प्रेमावेगलाई रोक्नुपर्ने हुन्छ त कतिबेला बीचैमा छाडेर जानुपर्ने हुन्छ । तर, म आज पाठकलाई मेरा प्रेम–पत्रसम्बन्धी अनेक प्रसङ्ग पस्कन गइरहेको छु ।

प्रेम–पत्र १

मैले पहिलो प्रेम–पत्र केतुकेको पातमा लेखेको थिएँ । त्यसमा लेखिएको थियो ‘क’ । त्यो अक्षर मैले बाँसका बोट, रुख र ढुंगामा कति लेखें कति ? तर त्यो शब्द जसको लागि लेखेको थिएँ उनले कहिल्यै पढिनन् । तर त्यो शब्दसँग जोडिएर बरु अरुसँगै हल्ला चल्यो ।

प्रेम–पत्र २

दोश्रो प्रेम पत्र मैले लेखेको थिएन तर कुनै कारणबस मेरो भन्ने परेछ । यसको विस्तृत कारण मैले गोपनियताका कारण पाठकसमक्ष राख्न सकिनँ । तर गणेशले फलानीलाई पत्र पठायो रे भन्ने हल्ला चलेछ । उताबाट पनि एकजना साथीसँग सकारात्मक छु भन्ने खबर आयो । म जिल्ल परें । मलाई खबर ल्याउने साथीलाई मैले भन्दिएँ– मैले त पत्र नै लेखेको छैन भनेर भन्दिनू ।’ त्यसपछि पनि हामी असल साथी भयौं र छौं ।

प्रेम–पत्र मेरो, नाम अर्काको

यो मेरो जानीबुझी लेखेको पहिलो प्रेम–पत्र थियो । प्रेम–पत्र लेखेर गाउँको भाइलाई ‘ल फलानी केटीलाई दिनू’ भनें । उसले त त्यो पत्रमा मेरो नाम काटेर आफ्नो नाम लेखी आफ्नीलाई दिएछ । मैले मन पराकीले कि गाली गर्ले कि सकारात्मक जवाफ आउला, जे पनि ब्यहोर्छु भन्ने मनस्थितिमा थिएँ म । तर केही आएन । केही दिनपछि सोध्छु त मैले तिम्रो नाम मेटेर मेरीलाई दिएँ पो भन्छ ।

एकै पटक दुइटा प्रेम–पत्र

तिनै केटीलाई फेरि पत्र लेख्ने सोच बन्यो तर दिने मान्छेको समस्या प¥यो । अरुलाई भन्दा कुरो बाहिर जाने डर । आफै दिन नसकिने । उसलाई दिउँ फेरि आफ्नीलाई दिने । यसो सोचें– दुइटा लेख्छु, एउटा उसकीलाई दिन्छ एउटा मेरीलाई । त्यसैले दुइटा प्रेम–पत्र लेखें । एउटा उसले आफ्नीलाई दियो एउटा मेरीलाई । उसको लभ प¥यो, मैले गाली मात्र पाएँ । त्यसपछि दोहो¥याएर पत्र लेखिनँ ।

चेताउन प्रेम–पत्र

एक समय मेरो संगत केटाभन्दा केटीहरुसँग बढी हुन थाल्यो । त्यो समूहमा एक जना थिइन् सधैं मलाई नै उडाउने । उनलाई जति गर्दा पनि भएन । मलाई जहाँ भेट्यो उडाको उडाइ । एक दिन सोचें– एउटा प्रेम–पत्र लेख्नु प¥यो त्यसपछि यो केटो पछि लाग्छ भन्ने डरले जिस्क्याउन छोड्छे वा मैले पनि प्रेमिका भनेर सबैको अगाडि जिस्क्याउन पाउँछु । मेरो औषधी यति काम लाग्यो कि त्यो प्रेम–पत्र पाएदेखि उनले कहिल्यै जिस्क्याइनन् । त्यो समूहमा सबैलाई त्यो कुरा पनि भनें मैले । अहिले पनि त्यो समूहका साथीहरु भेट हुँदा यही प्रसङ्ग झिकेर खुब हाँस्छौं ।

दुई भाइले दुई बैनीलाई प्रेम–पत्र

पहिलो प्रेम–पत्र स्वीकार नभएपछि उनको लफडा मात्र हैन प्रेमको चक्कर नै छाडियो । भाइको (खासमा साथी) पनि प्रेम लामो समयसम्म टिकेन । एक दिन केटीका कुरा गर्ने प्रसङ्गमा हामी दुई जनाले दुई बैनीलाई मन पराएको खुल्यो । दिदीचाहिँलाई भित्र–भित्रै मन पराउँदै गएको रहेछु मैले पनि । उसले पनि बैनीलाई मन पराउँदो रहेछ ।

त्यसपछि फेरि दुइटा प्रेम–पत्र लेखें– भाई र मेरो लागि । उसले लगेर दिदीलाई दिएछ आफ्नो भने दिन सकेनछ । मलाई खुब कर ग¥यो तर मैले मानिनँ । अन्ततः सोल्टीले त्यो पत्र दिए । दुई बैनीले पत्रमार्फत् जवाफ दिएनन् । लामो समयसम्म उनीहरु र हाम्रो सम्बन्ध हेराहेरमै सकियो । उनीहरु र हाम्रो नाम जोडेर स्कूलमा हल्ला पनि भयो । धेरै हल्ला हुन थालेपछि जातकै कारण हामीले विवाह गर्न नमिल्ने भएकाले अस्वीकार र स्वीकार दुबै नगरेको जवाफ एक दिन आयो । सँगै प्रेम नभएको सबैलाई बताउन पनि आग्रह ।

हामी दुबैले सबैलाई हाम्रो प्रेम हल्ला मात्र हो भन्दै हिड्यौं । भित्र–भित्र प्रेम भने लामो समय चलिरह्यो । त्यो प्रेम विवाहमा परिणत हुने प्रेम नभएर मन पराएको भनौं वा असल साथीको प्रेमका रुपमा रह्यो ।

दिदीको आग्रहमा अर्को प्रेम–पत्र

एक जना दिदीले (खासमा साथी) जात नमिल्ने भन्दै माथि उल्लेखित प्रेम प्रसङ्गकी केटीसँग सम्बन्ध नहुने थाहा पाएपछि एक जना केटीसँग प्रेम र विवाह गर्न आग्रह गरिन् । मैले लामो समय मानिनँ । अरु साथीहरुले पनि त्यो केटी ठीकै छे विवाह गर् भनेपछि बिस्तारै म पनि सकारात्मक हुँदै गएँ ।

दिदीसँग केटीलाई पहिलो पटक प्रेम–पत्र लेख्न लगाउन आग्रह गरें । उसले कुरा भइसकेकोले ढुक्क भएर लेख्न आग्रह गरी । मैले प्रेम–पत्र लेखें । प्रेम पनि लामो समय चल्यो तर सफल भने भएन । उनीसँगको रमाइलो पक्ष के छ भने मैले प्रेम–पत्र दिन एकान्त खोज्थें । दिनदिनै भेट हुन्थ्यो तर कहिलेकाँही हप्ता दिन लगाउँथें । उनी भने यति चलाख थिइन् कि चाहेपछि जति मान्छेको अगाडि पनि लुकाएर दिन सक्थिन् ।

पत्र पाउनेले नै नबुझ्ने पत्र

प्रेमका लहराहरु चुडिंदै जान थालेपछि फेरि लामो समय यसको चक्कर छाडियो । एक दिन फेरि लाग्यो– प्रेम र विवाह त गर्नैपर्ला । त्यसैले सोच आयो– म त्यस्तो केटीसँग प्रेम गर्छु, जो मैले जागिर नखाँदासम्म बसिरहन सकोस् । त्यसका लागि म बीए पढ्ने बेला ८ कक्षा पढ्ने केटीसँग प्रेम चलाएँ । मैले प्रेम–पत्र लामो र साहित्यिक लेख्थें तर उनले कहिल्यै नबुझ्ने रहिछिन् । उनको जवाफ आउँथ्यो– तपार्इंको पत्र घरमा लुकी–लुकी पढ्न एक हप्ता लाग्यो । कहिले तीन दिन लाग्यो । एउटा शब्द सधैं आउँथ्यो– पत्र त मैले धेरै बुझिनँ । उनको भने आधा पेजको त्यसमा आराम रहेको र आरामको कामना लगायतका केही शब्द मात्र हुन्थे ।

प्रेम एउटासँग हल्ला अर्कैसँग

उनको र मेरो प्रेम चलिरहँदा म दाङमा थिएँ । उनले आफ्नो पत्र दिदीलाई दिन्थिन् । दिदीले अर्को पत्र लेखेर खाममा आफ्नो नाम हालेर पठाउँथी । दिदी नाताले भए पनि धेरै नजिककी नभएकाले पत्रबाहकले मेरो र दिदीको प्रेम रहेको हल्ला चलाउँदा रहेछन् । हल्ला व्यापक भएछ गाउँमा । दिदीले केही पत्रमा सोको जानकारी पनि गराएकी थिई तर मैले हल्ला गर्नेलाई बाल नदे भनेर सम्झाउँथें । अहिले जस्तो फोन पनि थिएन । एउटा पत्रबाहकले बाटोमा पत्र खोलेर हेरेछन् र असली प्रेमको पोल खुल्यो । उनले गाउँ फर्केर फेरि मेरो बास्तविक प्रेमिकाको हल्ला चलाएर दिदीसँगको प्रेमको हल्ला त नामेट पारेछन् तर मेरी प्रेमिका भने हल्का अप्ठ्यारोमा परिन् ।

रेडियोमा सुनेर जवाफ

दाङमा भर्खर रेडियो स्वर्गद्वारी खुलेको थियो । रेडियोमा प्रेम–पत्र भन्ने कार्यक्रम बज्थ्यो । मैले पनि एउटा प्रेम–पत्र पठाएँ । त्यो सुनेर एक जनाको पत्रको जवाफ आयो । उनीसँग ख्यालठट्टा त हुन्थ्यो तर उनले प्रेम चलिरहेको बुझिछन् । रेडियोमा लेखेको पत्र आफैलाई लेखेको सम्झिछन् । मैले पत्रबाहकसँग मेरो अर्कैसँग प्रेम रहेको बताएपछि उनको प्रेमको आँकुरा त्यही दिन हत्या भयो ।

जसको गाली उसकै ताली

कुनै दिन प्रेम–पत्र लेख्दा जसबाट गाली खाएको थिएँ, अन्ततः उनैबाट जिन्दगीमा ताली खाइयो । संयोग कस्तो प¥यो भने प्रेम–पत्र दिदा जसले बढी गाली गरेको थियो अन्तमा प्रेम उसैसँग सफल भयो । कहिलेकाँही जति जुत्ता फटाए पनि प्रेममा असफल भइदो रहेछ । तर कहिलेकाँही केही नगरे पनि प्रेम सफल हुँदोरहेछ । ‘देखेको हुँदैन लेखेको हुन्छ’ भन्छन् हो कि क्या हो ?
०००

By

Readers Comments (0)