Filed Under:  विचार | टिप्पणी

प्रगतिशील लेखन मात्र हैन, आचरण पनि चाहियो

30th December 2015   ·   0 Comments

Narayanprasad Sharma- नारायणप्रसाद शर्मा

साहित्य, संस्कृति र अनेक कलाका क्षेत्रमा काम गर्ने कलाकर्मीहरुमध्ये धेरै आफूलाई प्रगतिशील भन्न रुचाउँछन् । अझ कतिले ठ्याक्कै माक्र्सेली पारामा नै आफूलाई प्रगतिवादी पंक्तिमा उभ्याउन पाउँदा गौरवको सुखद अनुभूति गर्छन् । आफ्नो अनुभवको आधारमा पछिल्लो वर्षको मेरो अनुभव के छ भने प्रगतिशील लेखन मात्र हैन, प्रगतिशील आचरण पनि अनिवार्य चाहिन्छ ।

हिजो बिहान र बेलुकी प्रगतिशील लेखक संघको इतिहास पढें । राष्ट्रवादी लोकतान्त्रिक (जनवादी) प्रगतिशील यो शक्ति साहित्य, संस्कृति र कलाको माध्यमबाट क्रान्तिकारी जागरण ल्याउनमा सफल देखियो । माक्र्सवादी दर्शनमा आधारित यो शक्ति मात्रै क्रान्तिकारी अवधारणालाई जीवित राख्न सक्षम सिद्ध जाग्यो । यो सबै कम्युनिष्टहरुको नेपालमा साझा मञ्च बन्नु नै यसको ठूलो सफलता हो ।

बुद्ध चिन्तन र माक्र्सेली चिन्तन

बुद्ध अनात्मवादी, अनिश्वरवादी, अनित्यनावादी, अनुभववादी, शान्ति र अहिंसाका उपासक, तत्व द्रष्टा हुन् । जबकि माक्र्स भौतिकवादी, क्रान्ति द्रष्टा हुन् । शोषित जनताका संघर्ष र आन्दोलनका महान् नेता हुन् । शोषकहरुका कहर सैद्धान्तिक आलोचक एक योद्धा हुन् । बुद्ध आत्मिक (आन्तरिक) सुधारका मनोवैज्ञानिक हृदय परिवर्तनका पक्षधर शान्त क्रान्तिका पक्षधरजस्ता लाग्छन् ।

माक्र्सको भौतिक क्रान्ति बुद्धको आत्मिक क्रान्तिसँग जोडिएको भए भित्रैबाट संस्कारमा परिवर्तन आउँदो हो र कम्युनिष्टहरुको क्रान्तिले पूर्णता पाउँथ्यो ।

मेरो जीवनलाई दुबै चिन्तन उत्प्रेरक छन् । दुबैबाट सिकेर आफ्नो व्यवहारमा परिवर्तन चाहन्छु । यसैमा म सन्तुष्ट छु ।

बुद्धले आफ्ना गृहस्थ चेलाहरुलाई उपासक र उपासिकाको दर्जा दिएका छन् । म आफूलाई त्यसै पंक्तिभित्र देख्छु । मलाई मेरो २०१८ सालको एउटा कविता याद आयो–
‘शान्ति क्रान्तिको गीत सुनाई
यस पृथ्वीमा घुम्छु ।’

बुद्धसम्बन्धी खास चेतै नखुलेको बेला यो मेरो आत्मिक जागरणको प्रतिफलबाट निःसृत कविता थियो ।

आज त न बुद्धमार्गीहरु संसारमा जसरी छाइनुपथ्र्यो त्यसरी नै छाइन सके न त माक्र्सवादीहरु । तर पनि दुबै दर्शन सशक्त छन् । तिनी बिराममा पुग्नै सक्दैनन् ।

संयुक्त राष्ट्रसंघको घोषणापत्रमा दुबै जीवन्त छन्– मानवअधिकार र शान्ति । यो नै जीवनको सुखद बाटो हो । यति हुँदाहुँदै पनि संयुक्त राष्ट्रसंघको घोषणापत्रझैं माक्र्स र बुद्ध पिल्ठेका छन् । अहिलेको स्वार्थी मानव जातिमा खासगरी विश्वका शासकहरुको राष्ट्रिय अहंकारले लक्ष्य पूरा हुन सकेको छैन ।

त्यस्तै २००९ सालमा श्यामप्रसादजीको नेतृत्वमा गठित प्रगतिशील लेखक संघले साठी वर्षको दौरानमा अनेक आरोह र अवरोह पार गरी प्रगतिवादीहरुको साझा संस्थाको रुपमा जीवित छ । यसले आफ्नो जीवनकालदेखि नै सामन्तवादी, पूँजीवादी, साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको बिरोध गर्दै आएको छ । यसका केही बान्कीहरु नमूनाका लागि प्रस्तुत छन्–

फिरङ्गी हटाई लुटीपिटी चाँडो
पुगी आज गंगा पखाल्नु छ खाँडो

कवि युगनाथको कविताभन्दा खाँडो जगाउने त्यो बेलाको अर्को बान्की–
जाग रे खाँडो जाग रे
कुइरेको थाप्लामा ठ¥याक ठ¥याक

त्यो बेलादेखि एक्काइसौं शताब्दीमा आइपुग्दासम्म पनि स्वाधीन नेपालको स्वतन्त्रताको अमर गायक कृष्णसेन इच्छुकले सपना देखे–
एक न एक दिन जरुर
हाम्रो विश्वासको सभ्य संसार
हाम्रो गुलामी विपनामा फेरिनेछ
र यो एक्काइसौं शदी
हाम्रो मुक्तिको महान् शदी हुनेछ ।

यो साठी वर्ष लामो मुक्ति संघर्षमा प्रगतिवादी एवं प्रगतिशील साहित्यकारहरुले आफ्नो कलमद्वारा नेपालको राष्ट्रिय स्वाधीनता, संघर्षमा सामन्तवादी, साम्राज्यवादी र विस्तारवादीहरुका बिरुद्ध आफ्नो कलम घोटेका छन् भने कृष्णलाल सुब्बालगायतले आफ्नो जीवन उत्सर्ग गरेका छन् । नेपाली प्रगतिशील साहित्यको त्यो परम्परा अविच्छिन्नरुपमा चल्दै आएको छ । यसले राष्ट्रिय स्वाधीनताको झण्डा माथि उचाल्न २००७ सालको दिल्ली सम्झौतादेखि तमाम असमान सन्धि–सम्झौताहरुको विरोधमा अग्रगामी भूमिका निर्वाह गर्दै आएको छ ।

नेपाली साहित्यमार्फत् राष्ट्रिय चेतना जगाउने यो परम्पराले अझ उचाइ लिनुपर्ने बेला आएको छ । भूकम्पले प्रताडित घाउमा संविधानलाई निहुँ बनाएर भारतीय नाकाबन्दीको चोट थपिएको मात्र हैन, देशैलाई बिखण्डनमा पारेर नेपालको सार्वभौमिकतामा आँच पु¥याउनेसम्म धम्की आइरहेको छ ।

यतिबेला साहित्यकारहरुले लेखेर मात्र हैन, आचरण र व्यवहारमा पनि खरो उत्रनु परेको छ । अन्तमा कवि दिल साहनीको कविताका केही हरफ प्रस्तुत गर्दै यो सानो लेख टुङ्ग्याउँछु–
तिमी जति–जति मोटाउँदै गइरहेका छौ
देश उति–उति दुब्लाउँदै गइरहेको छ
तिमी जति–जति स्थापित हुँदै गइरहेका छौ
देश उति–उति विस्थापित हुँदै गइरहेको छ ।

By

Readers Comments (0)