Filed Under:  समीक्षा

नेपाल र बर्मालाई गिज्याउने नियात्रा

30th December 2015   ·   0 Comments

Govind- गोविन्द खड्का

पुसको घाममा सेकिन साझा पुस्तक घोराही रोजें । त्यो दिन मेरो आँखा ‘कुनमिनको सेरोफेरो’मा अडियो ।’ हातमा समातेपछि पहिलो अक्षर पढेबाटै ‘यात्राको बिजारोपण’ पाठै सक्ने अवस्था आयो । पुस्तक सकिदा मलाई ढोकाबाट भित्र हरेक ¥याकमा नहेरेको भए घाटा हुँदोरहेछ भन्ने लाग्यो ।

सरल भाषामा युद्ध र शान्ति उपन्यास छुटाउनलायक छैन । मदन पुरुस्कारप्राप्त पल्पसा क्याफेलाई कम आँक्नु भएन । यी सबैलाई पन्छाएर हात चाँडो हरिप्रसाद भण्डारीद्वारा लिखित यही नियात्रामा जान लाग्यो । अचम्मको सरलता छ । साहित्यिक पनि उत्तिकै छ ।

पाठकले पुस्तकका अंश–अंश पढेर आनन्द लिने ठाउँ सुरक्षित छ । मेरो काम पुस्तक कपी गर्ने होइन । पढिसकेपछिको अनुभूति पोख्ने हो । मलाई घोचिरहेको छ लेखिएअनुसारको चीनकोे व्यवस्थापनले । उस्तै स्तरका कपडा लाएका कर्मचारी भेटाएका छन् । लामो समयसम्म सडकमा धुलो भेटेका छैनन् । असी नब्बेमाथिको स्पीडमा गाडि गुड्दासमेत हल्लिएको महसुस हुन्न । अनि तल रेल त्यसपछि चार तलासम्म सडकहरु छन् । कति विकसित मुलुक हो ? ती गाडीले हर्न बजाएको सुन्न पर्दैन ।

Kunmin ko Seroferoचुरोट खाने ठाउँ फरक छ । ठुटाहरु फाल्ने सुविधा छ । अरु फोहर पनि खसाल्ने टोकरीहरु छन् । त्यससँगै टोकरी बोकेका चिम्टासहितका मजदुर हुन्छन् । उनीहरुले केही खस्यो कि टिपेर टोकरीमा हाल्छन् । अनि कसरी फोहर हुनु ? त्यत्रा लावालस्कर गाडी मोटर भएका ठाउँमा लेखकले धुलो र धुँवाको महसुस गरेका छैनन् । दिनभरि विभिन्न पर्यटकीय स्थल घुमेर पनि जुत्तामा धुलो लागेको थिएन । यसले पुष्टि गर्छ कति सफा सुन्दर र स्वच्छ वातावरणमा बाँचेका छन् चिनियाँहरु । हाम्रोजस्तो बाटैभरि चुरोटका ठुटा, शुद्ध प्लस भोलाका खोल, प्लाष्टिकको सोत्तर कति देशमा भेटिएला ? पढ्दै गर्दा मनमा प्रश्न जगाउँछ । चीनको स्तरमा विकास कहिले गरिएला सोच्न बाध्य पार्छ । चीनमा भने पात खस्ने रुखमुनि मजदुर छन् । जसले खस्नेबित्तिकै टिप्ने जिम्मेवारी पूरा गर्छन् । त्यसरी पो सफा र सुन्दर छ ।

समयको महत्व छ । बाहिर निस्कने तोकिएकै समयमा गाडी आएको छ । यता भए कि त तेल सकियो भन्थे कि स्टार्ट गर्ने बेला कुनै खराबी आउन सक्थ्यो । फुर्सद हुञ्जेल चालक मजाले गाडीमा निदाएका हुन्छन् । गाडी चेक गर्नेतिर अरुले काम गर्दासम्म ख्याल राख्दैनन् । हिड्न लाग्ने बेला गाडी स्टार्ट हुन्न । कतिपय ठाउँमा मिस्त्री बोलाउनुपर्छ । तेल सकिएको हुन्छ । यस्तो रोग चाइनामा रहेनछ । जसले नेपालीको समय बर्बाद पार्न भूमिका खेल्छ । नेपालमा औपचारिक कार्यक्रममा स्वागत, धन्यवाद, शुभकामना दिने नाममा दिनभरिको समय खर्च हुन्छ । लेखक प्रमुख जिल्ला अधिकारी हुँदा अछामको एउटा कार्यक्रमको प्रसंग चीनमा भएका औपचारिक कार्यक्रमसँग तुलना गरेका छन् । छोटो बनाउने भनेको कार्यक्रम राती दश बजेसम्म चलेको थियो । त्यहाँ भने नेपालको एउटा लिखित भाषण, चीनका एक जना अधिकारीको भाषण अनि कार्यक्रम टुंगियो । एक साता लामो चीन भ्रमण अवधिमा आधा घण्टाभन्दा लामो समय कुनै पनि औपचारिक कार्यक्रममा खर्च भएको छैन । न भारी भर्कम ऐरे गैरै नत्थु खैरे अतिथि नै बनेका छन् । यहाँ एउटैले सबै कार्यक्रमका सबै विषयमा बोल्नैपर्छ । उसका धेरै विषय फोकट हुन्छन् । बोल्नेमा विज्ञ हुन्न । सुन्नेलाई रुचि लाग्दैन । समय बर्बाद हुन्छ ।

लामो समय चिनियाहरुले बाहिर भ्रमण गरेनन् । बाहिरका मान्छेलाई पनि प्रवेश दिएनन् । जतिबेला निर्माणको चरण थियो । आफ्नो भाषा संस्कृति मान्दै कडा मेहनत गरेर विश्वको शक्तिशाली मुलुक बनाए । त्यसको परिणाम अहिले केही उच्च अधिकारीले पनि अंग्रेजी भाषा जान्दैनन् । बरु बच्चाहरु एबीसीडी शुरुवात गरेको पाइन्छ । उनीहरुले तयार गरेका संरचना मानवनिर्मित भनेर नपत्याउँदा छन् । लेखकले तुइन चुँडिएर नानीबाबु बगेको, खोलाको पुल बगाएर मान्छेहरु वारीका वारी पारीका पारी भएको नेपालको प्रसंग जोडेका छन् । चीनमा कति हो कति पुलै पुल, अझ पानी नभएका खोल्सामा अप्ठ्यारा गाउँ जोड्न पनि पुल भेटाएका छन् । विकासको लय समाउने हो भने यही पुस्तकले पनि प्रशस्त आधार दिन्छ । नेताहरु सिंगापुर, स्वीजरल्याण्ड पुगेर के सिक्छन् कुन्नी ? भण्डारीबाहेक अरु प्रशासक र अन्य व्यक्तित्वले के लिएर आउँछन् ? त्यसले नेपालको हितका लागि कति भूमिका खेल्यो प्रश्न जगाउँछ ।

कमाउने उपाय सबै अप्ठ्यारा छैनन् । कमाउँदा कमाउँदै संस्कार संस्कृतिको जगेर्ना गर्न सकिन्छ । डोकामा प्लाष्टिकका फूल, एक दुई जोडा कपडा बोकेका महिलाहरु आदिबासीहरुका बस्तीमा भेटिए । उनीहरुको पेशा पर्यटकलाई आफ्ना मौलिक कपडा पहिरिन दिने र त्यसबापत भाडा लिने रहेछन् । कति सजिलो रोजगारी ? कुनैबेला कठोर मेहनत गरेर अकल्पनीय क्षमताबाट निर्र्मित कृत्रिम संरचना छन् । त्यसलाई देखाएर पर्यटकबाट पैसा असुल्छन् । नेपालमा तिनका भन्दा सुन्दर प्राकृतिक संरचना प्रशस्त छन् । सजिलो काम व्यवस्थापन हुँदैन । काठमाडौंको नाकमा रहेको नगरकोट कति फोहर छ ? सबैभन्दा उचाइमा रहेको ताल रारा, विभिन्न आरक्ष र पर्यटकीय स्थलमा व्यवस्थापनको आशै गर्ने ठाउँ छैन । कमाई छैन, काम गर्ने ठाउँ पनि भैन भनेर भिसा लाउदै विदेश भाग्दै हुन्छ । यस्ता प्रशस्त प्रसंगले नेपाललाई गिज्याएका छन् ।

आफूलाई खुल्दुली लागेका र नजानेका कुरा अरुलाई सोधेका छन् । पाठकले त्यही जवाफ सवाल पुस्तकबाट भेटाएको छ । त्यहाँका गाउँमा चल्ने बिहेबारीका प्रकृया पनि पुस्तकले समेटेको छ । खुबै रमाइला प्रसंग पनि छन् । त्यहाँ पुग्न नसक्ने धेरै हुन्छन् । तर सानो पुस्तक पढेर कल्पना गर्न पाउनेहरु धेरै हुनेछन् । त्यसैले पनि लेखक, साहित्यकार भण्डारीलाई पाईपाई कुरा कोट्याएर, नेपालसँग तुलना गरेर, नबिराइकन पाठकलाई दिन सकेकोमा सम्मान गर्नुपर्छ । घर परिवारलाई समेत आवश्यक पात्रको रुपमा समेटेका छन् । गुणगान गाउनका लागि वा परिवारको परिचय दिनका लागि नसमेट्ने चतु¥याई गरेका छन् । रोचक बनाउँछ आलस्य दिन्न । झर्को लाग्दैन ।

थोरै बर्माको झल्को पनि पुस्तकले दिने गरेको छ । चीनको एचआइभी देखिएको पहिलो शहर रुईली जहाँ बर्मेलीहरुको सघन उपस्थिति मानिन्छ । नेपाल र भारतको सीमा क्षेत्रमा ठूला रुखजति भारत सानो पोथ्रा बुट्यान नेपालजस्तै बर्माको सिमानामा देखिएको छ । साना टहरा, अप्ठ्यारा बाटा, फोहर देखिनेले बर्मा चिनाउँछ । त्यो शहरमा माग्नेहरु पनि धेरै छन् । त्यहाँका होटलहरुमा कण्डमका पोकाहरु हरेक खाटमा भेटिन्छन् । सहजै अनुमान लाउन सकिन्छ बर्मा चीनभन्दा धेरै पछि छ । त्यहाँका बासिन्दा यौन धन्दा चलाउन विवश छन् भन्ने कुरा छिपेको छैन ।

चीनमा प्रवेश गर्न सजिलो तर बाहिरिनेलाई निकै कष्ट छ । त्यहाँका नागरिकले औचित्य पुष्टि गर्न नसकि सितिमित्ति बाहिर जाने भिसा पाउँदैनन् । नेपालमा म्यानपावर खोलेर प्रतिस्पर्धामा अबैध कामदार युवा बाहिरिन्छन् । बिदेशीसँगको सम्बन्ध र उनीहरुसामु देखिनुभन्दा आन्तरिक बिकासमा लागे । अहिले सबैलाई भित्र्याउने थलो बनाए । कुनै पनि समाजसेवीले यो सानो पुस्तकबाट धेरै पाठ सिक्न सक्छ । उसको मिसन भिजनमा ठण्डा दिमागले सोच्ने गराउँछ । पटक–पटक लेखकलाई घोचेको यो पुस्तकले पाठकलाई धेरै सोच्ने बनाउँछ ।

शुरुवातदेखि ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।’ मा टुंगिने २७ पाठले कतै पनि गफजस्तो लाग्दैन । एक सय ३४ पृष्ठसम्म पुग्दा कतै झञ्झट, पट्यार र अनुपयोगी लागेन । यही सफलताका लागि पनि पुस्तकको मुल्य दुई सय १० महंगो होइन । त्यससँगै पुस्तकले चीनका महत्वपूर्ण स्थलहरुमा डुलाउँछ । त्यहाँको विकास निर्माण, खानपिनको चलन, संस्कार, आदिको बारेमा पनि जानकारी गराउँछ । यहाँका नेता तथा स्थलहरुको चरित्र एवं प्रवृत्तिसँग तुलना गरेको छ । यहाँको कर्मचारीतन्त्रको आलस्यता एवं राज्यलाई ठग्ने शैली एउटा लेखकको हैसियतले इमान्दारिताका साथ पाठकमा आएको छ । सरकारी कर्मचारी विदेश भ्रमण जाने राज्यका लागि हो । त्यो दायित्व फरक पाटोबाट लेखक हरिप्रसाद भण्डारीले पूरा गरेका छन् । उनको क्षेत्रमा हेर्न बाँकी छ । आफूले सिकेका कुरा पुस्तक पढ्ने रुचि भएका, खोज अनुसन्धान गर्ने र बाहिरको राम्रो लागू गर्नेलाई उपयोगी छ । उनका योजनामा देख्न पाइयोस् ।
०००

By

Readers Comments (0)