Filed Under:  कथा

डायरी | राजेन्द्र खरेल

12th December 2015   ·   1 Comment

Rajendra_kharelकथावाचक : डिएसपी धनबहादुर कार्की

मन्त्रीजीको छोराको अपहरण केस अनुसन्धान गर्न मलाई दश दिनको म्याद दिएर मन्त्रीजीको गृहजिल्ला पठाइएको छ । ६ दिनभित्रै म केसको जरासम्म पुगेको छु तर केसको जरा यसरी बाङ्गिएको होला भनेर मैले कल्पना गरेको थिइनँ । अपहरणकाण्डको प्रकृति र जटिलताले मलाई थोरै अप्ठ्यारो, थोरै भावुक, थोरै डर र धेरै दुःखमिश्रित संवेगको मोडमा ल्याएर उभ्याएको छ ।

उसको रुन्चे अनुहार आँखा अगाडि फनफनी घुमिरहेछ । उसको रोदनमिश्रित आवाज मेरो कानमा बजिरहेछ, “म निर्देष छु सर, मलाई केही थाहा छैन ।”

मेरो अगाडि एउटा डायरी छ । पुरानो त्यो डायरीले हाम्रो कमजोर कानून, भ्रष्ट राजनीति र लाचार प्रहरी प्रशासनमाथि अट्टाहास गरिरहेको छ ।

डायरीको पहिलो पानामा निकै आकर्षक अक्षरमा लेखिएको छ ‘जीतबहादुर चौधरी ।’ त्यसपछिका पानाहरुमा केही गजल र मुक्तकहरु लेखिएका छन् । पाना पल्टाउँदै जाँदा एउटा पानामा लेखिएको छ–

policeआज बस्तीमाथि डोजर चल्यो । वनको जग्गा अतिक्रमण गरेर बनाएको भन्दै छाप्राहरु भत्काइए । जनावरका बासस्थान सुरक्षित गर्न हाम्रा बासस्थानहरु उजाडिए । हामी मान्छे भएर पनि जन्तु जति सुविधा पाउन सकेनौं । त्यसो त हाम्रा छाप्राहरुमाथि डोजर चलेको यो पहिलो घटना होइन । चार पटकसम्म छाप्राहरु बनाउने र भत्काउने चक्र चलिसकेको छ । कुनै ठाउँमा बस्ती बसाल्यो– जग्गा मन्दिर, गुठी, वन वा जमिनदारको हुँदो रहेछ । केही समयमै प्रहरीहरु डोजर लिएर आइपुग्छन् । थाहा छैन यो चक्र कहिलेसम्म चलिरहने हो ।

म यो डायरी हाम्रो भत्काइएको बस्ती नजिकैको स्कूलको चौरमा बनाइएको अस्थायी टहराभित्रबाट लेख्दैछु । बाहिर बच्चाहरु रोएको सुनिदैछ । मान्छेहरु जाँडको नशामा कराइरहेका छन् । बिहान बस्ती भत्काउँदाको भागदौडमा बाको खुट्टामा चोट लागेको छ । बा नजिकै पल्टिरहेका छन् । आमा खानाको जोहो गर्दैछिन् । बहिनीहरु टहराभित्र छैनन् । कतै जँड्याहाले स्वास्नी कुट्दा रमिते बनिरहेका होलान् ।

मेरा बा–आमा । सानै उमेरदेखि जमिनदारको घरमा कमैया कम्लरी बसे । उनीहरु कमैया थिए– शोषणको जाँतोमा पिसिए । दासत्वभित्र जीवन जीउनलाई जमिनदारको कृपा पनि थियो । कमैया मुक्तिबाट हामीलाई केही प्राप्त भएको छ भने त्यो जीवनको अनिश्चितता हो ।

समय बदलियो, व्यवस्था बदलियो र बदलिएका छन् शोषणका चेहराहरु । हिजो बाआमा जमिनदारका दास थिए, आज व्यापारीका दास बनेका छन् । बा इट्टाभट्टामा काम गर्छन् । आमा बजारका साहुहरुका जुठा भाँडा माझ्छिन् । बदलामा महिनाको पाँच सय पाउँछिन् । कहाँ छ महंगीको उचाइ ! कहाँ छ मेरा बा–आमाको कमाई ?! सोच्दा ताज्जुब लाग्छ । लुटेर महल खडा गरेकाहरुले कसरी थाहा पाऊन् श्रमको महत्व । के लुटको स्वर्गमा डोजर लगाउने सरकार बन्दैन ?

बाआमा दुःख गरेरै भएपनि मलाई पढाइरहेका छन् । मेरो उमेरसँगै सपनाका आयतनहरु बढ्दै छन् । सपनाहरु पनि अजिबका हुन्छन् । म बसिरहेको रछानबाट उड्दै उड्दै परको क्षितिजमा पुगेर सुन्दर महलहरु ठडाउँछन् । मेरा सपनाहरु आजीवन दासत्व र दोस्रो दर्जाका मान्छे बनेर जिएका मेरा बा आमालाई चयन र सुखको त्यो महलमा लगेर बसाउँछन् । सपनाहरु पल्सरका पछाडि सुन्दर ‘स्कुटी’ बसालेर दौडाउँछन् । कुनै मोडमा बाइक पल्टिन्छ, स्कुटी बेपत्ता हुन्छ र सपनाहरु फक्रिन्छन् मेरा कचेरा लागेका आँखामा । कमैयाँका छोराका सपनाहरुमा पनि डोजर लाग्छन् ।

०००

त्यसपछिको पानाको सिरानमा अर्को मिति राखेर लेखिएको छ–

कलेज नगएको पनि एक हप्ता हुन थालेछ । ‘घर’को बन्दोबस्त गर्दागर्दै फुर्सद मिलेको छैन । नयाँ ठाउँको ऐलानी जग्गामा घर बनाइएको छ । बाआमाको कमाइले मात्र अब खर्च टार्न मुस्किल छ । मैले पनि कमाउने मेलो गर्नुपर्नेछ । कलेजको साथी दलजितलाई उसले काम गर्ने ठाउँमा मलाई पनि काम मिलाइदिन भनेको थिएँ । के ग¥यो कुन्नी ! ऊ पनि रोल्पाबाट खाली गोजी कलेज पढ्नलाई आएको थियो । प्रकाश दाइसँग काम गर्न थालेपछि उसको जीवनशैलीमा धेरै परिवर्तन आएको छ । अचेल ऊसँग पैसाको कमी हुँदैन । एक वर्षभित्र बाइक किन्छु भन्दै थियो । मैले पनि त्यहाँ काम पाए त ठूलै राहत हुने थियो ।
अर्को पानामा लेखिएको छ :

आज दलजितले मलाई प्रकाश दाइसँग भेट गरायो । बाहिर प्रकाश दाइको ‘डन’को डरलाग्दो इमेज छ तर मैले उनलाई मिलनसार पाएँ । भोलिदेखि मैले पनि त्यहाँ काम पाउने भएको छु । कामचाहिँ व्यापारको हिसाब किताब राखिदिने र व्यापारिक चिठीपत्र लेख्ने, पठाउने रहेछ । भोलि पहिलो काम एक ठाउँ चिठी पु¥याउनु पर्नेछ रे । काम पाएकोमा ज्यादै उत्साहित छु । अब छिट्टै बजारमा कोठा खोजेर यो छाप्रोबाट बसाइँ सर्ने योजना छ ।

त्यसपछिका पानाहरु खाली छन् ।

डायरी पढ्दै गर्दा मैले विगत सम्झिएँ । ६ वर्ष अगाडि इन्स्पेक्टर हुँदा पनि मेरो कार्यक्षेत्र दाङ परेको थियो । त्यतिबेला म नेपाल प्रहरी लागूऔषध नियन्त्रण महाशाखामा थिएँ । केही समयदेखि दाङ लागुऔषध तस्करको ट्रान्जिट प्वाइन्ट बनिरहेको थियो । रोल्पा रुकुमका महिलाहरुलाई भरिया बनाएर चरेश गाँजा र भाङ दाङ हुँदै नेपालगञ्जबाट भारत पठाइन्थ्यो । पक्राउ परे पनि भरियाहरु पक्राउ पर्थे । माफियाहरुसम्म प्रहरीको हात पुग्दैनथ्यो । यो नेपाल र भारत दुबै देशका प्रहरीहरुको टाउको दुखाइको विषय थियो । त्यसैले नेपाल प्रहरीले लागु औषधविरुद्ध दाङलाई फोकस गरेर कार्वाही सञ्चालन गरेको थियो  ।

एकदिन हामीलाई सूचना प्राप्त भयो, “एकजना भारतीय मूलको मान्छे र एकजना चौधरी केटाको बीचमा चौघेरामा ड्रग्स डिल हुँदैछ ।”

नेपाल प्रहरीको एउटा टोली तुरुन्तै चौघेरातर्फ हानियो । भारतीय मूलको मान्छे भागेछ । पक्राउ प¥यो जीतबहादुर चौधरी ।

जति केरकार गर्दा पनि ऊ एउटै वाक्य दोहो¥याउँथ्यो, “सर म निर्दोष छु, मलाई केही पनि थाहा छैन ।”

“खाममा चरेश बोकेर बेच्न हिँड्छस् अनि थाहा छैन भन्छस् !” मैले उसलाई झपारें ।

“सर प्रकाश दाइले यो चिठी चौघेरा पु¥याइदिनु भनेर दिनुभएको हो यसमा चरेश छ भन्ने थाहा नै थिएन ।” उसले निन्याउरो अनुहार पार्दै भन्यो ।

हामीले अनुसन्धान अगाडि बढाउँदै जाँदा जीतबहादुरको बयान सत्य देखियो । हामीले प्रकाशलाई गिरफ्तार ग¥यौं । प्रकाश राउत– मानबहादुर राउतको छोरा । मानबहादुर राउत त्यतिबेला दाङका घघडान व्यापारी थिए । घरजग्गा कारोबार सहेनशाह । जिल्लामा हुने ठूला टेन्डरहरु साम, दाम, दण्ड, भेद प्रयोग गरेर आफ्नो पक्षमा पार्थे । उनले हालेको टेन्डरमा अरु कसैले प्रतिष्पर्धा गर्ने आँट गर्दैनथ्यो । छोरा प्रकाश टोले गुण्डा थियो र बिस्तारै बाऊको व्यापार सम्हाल्दै थियो । उनीहरुले लागु औषध तस्करीको कारोबार पनि सुरु गरेका थिए । जीतबहादुर र दलजितजस्ता महत्वाकांक्षी र गरिब युवाहरुलाई प्रयोग गरेर उनीहरुले आफ्ना अवैधानिक कारोबार चलाइरहेका थिए ।

चुनाव नजिकिँदै थियो । सत्तामा रहेको ‘क’ पार्टीका तर्पmबाट मानबहादुरले राजनीतिमा डेव्यू गर्दै थिए । प्रकाशलाई गिरफ्तार गरेको दुई दिनमै उनले चुनावका लागि आफ्नो मनोनयन दर्ता गरे । पत्रकारले छोराको गिरफ्तारीबारे सोधेको प्रश्नमा उनले भने, “यो सब विपक्षीको चाल हो । म र मेरो पार्टीलाई बदनाम गर्न खोजिँदैछ । मेरो छोरालाई रिहा नगरे कडा कदम चालिने छ ।” उनले भनेजस्तै कडा कदम चाले । आफ्नै पार्टीको गृहमन्त्रीमार्पmत् छोरा रिहाई गर्न आदेश दिए । गृहमन्त्रीको आदेश नमान्नु म जस्तो साधारण प्रहरी अधिकृतका लागि पहाडसँग टाउको ठोक्नुसरह थियो । म सेलिबे्रटी स्टाटसको अधिकृत थिइनँ, जसका पछाडि मिडिया र जनसमर्थन होस् । आवश्यक प्रमाण नपुगेको भन्दै प्रकाश राउतलाई रिहा गरियो र जीतबहादुर चौधरीलाई मुख्य अभियुक्त मानेर मुद्दा चलाइयो । मानबहादुर राउतले अत्यधिक पैसा खर्च गरेर धेरै मतले चुनाव जिते । उनको पार्टी देशकै ठूलो पार्टी बन्यो । उनी मन्त्री बने । यता जीतबहादुर चौधरी भने ४ वर्ष ५ महिना १९ दिनको जेल सजाय भोगेर रिहा भयो ।

मेरा आँखा डायरीमा छन् । मनमा जीतबहादुर चौधरी खेलिरहेको छ र सुल्झाउनु छ मन्त्रीपुत्र अपहरणको केस ।

अनुसन्धानको निष्कर्ष सरकारी फाइलमा लेख्नुपर्ने हो तर मैले त्यसो नगरी आफ्नो व्यक्तिगत डायरीमा टिप्न थाल्छु–

चुनाव नजिकिदो थियो । यो पटक मान बहादुरले चुनाव जित्न सजिलो हुने देखेका थिएनन् । उनीमाथि भ्रष्टाचार, क्षेत्रको विकासमा ध्यान नदिएको जस्ता आरोपहरु थिए तर विपक्षी उमेदवारको कमजोर व्यक्तित्व र आर्थिक पृष्ठभूमिका कारण पैसा पेलेरै चुनाव जित्ने विकल्प उनीसँग थियो ।

अघिल्लो चुनाव जित्न उनले १ करोड खर्च गरेका थिए तर यो पटक चुनाव जित्नलाई कम्तीमा ३ करोड रुपैयाँ खर्च गर्नुपर्ने उनका नजिकका कार्यकर्ताहरुले रिपोर्टिङ गरेका थिए । उनले खास खास कार्यकर्तासँग मौन अवधिमा त्यो तीन करोड कसरी खर्च गर्ने भनेर योजना बनाए । क–कसलाई नगद पैसा दिने, कहाँ–कहाँ खसी, राँगा र सुँगुर काट्ने, कति रक्सी बाँड्ने सबै योजनाहरु बने ।

मौन अवधिको एक दिन अगाडि उनको छोरा प्रकाश राउत अपहरणमा प¥यो । अपहरणकर्ताले उनीसँग ५ करोड फिरौती माग ग¥यो । यस्तो अवस्थामा छोरालाई मुक्त गराउन प्रहरी परिचालन गर्दा उनको मौन अवधिको ‘चुनावी परिचालन’ तुहिन सक्थ्यो । विलम्ब गर्दा छोरा मारिन सक्थ्यो । उनी कुनै पनि मूल्यमा चुनाव हार्न चाहन्नथे । त्यसैले पाँच करोड दिएर छोरालाई अपहरण मुक्त बनाएपछि मात्र प्रहरीलाई खबर गरे पाँच करोड फिर्ता पाउने आशामा । यसपटक उनले तीन करोड खर्च गरे पनि चुनावमा पराजित भए ।

प्रकाश राउत अपहरण काण्ड र मानबहादुरको चुनावी पराजयको कडि के छ त ?

प्रकाश राउतको अपहरणको मुख्य नाइके जीतबहादुर चौधरी रहेछ । जेलबाट छुटेको केही समयमै ऊ त्यस क्षेत्रको चर्चित गुण्डा नाइके भइसकेछ ।

उसले पुरानो रिसिइबीका कारण प्रकाश राउतलाई अपहरण ग¥योे । फिरौती बापत पाएको पाँच करोडमध्ये साढे चार करोड ‘ख’ पार्टीको उमेदवारलाई चन्दास्वरुप सहयोग ग¥यो । मौन अवधिमा ‘ख’ पार्टीको उमेदवारले मानबहादुरले भन्दा डेढ करोड बढी खर्च ग¥यो अनि चुनाव जित्यो । ‘ख’ पार्टीले बहुमतका साथ सरकार बनाउने निश्चितजस्तै छ । यस्तो अवस्थामा जीतबहादुरलाई अपहरणको अभियोगमा पक्रनु भनेको प्रकाश राउत गिरफ्तारीको पुनरावृत्ति हुन जान्छ । म के गरुँ ? द्विविधामा छु ।

०००

डिएसपी धनबहादुर कार्कीले जीतबहादुरलाई पक्राउ त ग¥यो तर माथिको ‘प्रेसर’ले १० दिनमै रिहा गर्न बाध्य भयो । यो केस पनि नेपाल प्रहरीको ‘अनसल्भ्ड केस’मा सूचिकृत भयो । केही वर्षमै जीतबहादुर चौधरी ‘ख’ पार्टीको प्रभावशाली युवा नेता बन्न पुग्यो ।
०००

By

Readers Comments (1)

  1. निरन्जन says:

    समाजले जन्माएको डन अनि नेता।
    राम्रो लाग्यो।