Filed Under:  विचार | टिप्पणी

‘देश खोज्न’ सहर झर्दैन गाउँ | गोविन्द खड्का

12th December 2015   ·   0 Comments

Govindदेश जाने भन्दै हरेक साल दुईचार घरले गाउँ छोड्थे । दश बर्ष अघिसम्म गाउँ छोड्नेको चल अचल सम्पत्ति हानथापमा बिक्थ्यो । पायक पर्नेले सधियारको हैसियत र आफन्तले पुर्खाको सम्पत्तिको हकदावी गरि किन्थे । बाँकी रहेको झिटीगुण्टासहित देश जाने भन्दै दाङतिर झर्थे ।

अहिले कोही कतै जाने सोच्दैनन् । जग्गा कतिमा बिक्छ भन्ने पनि भुलिसकेका छन् । किनबेच हुँदैन । बरु हल्ला छ– गाडी कुन ठाउँमा आउँछ । आफ्नो नजिक रोड कतातिरको हो । त्यसबाट फाइदा के लिन सकिन्छ । पसल गर्ने, उत्पादन गरेको वस्तु बजारसम्म लैजाने, सुखी जीवन बिताउने सल्लाह हुन्छ । दुःखी गाउँ त्यागेर सुख भोग्न दाङ जाने चलनको अन्त भैसकेको छ । बरु सदरमुकाममा घर बनाउने भन्छन् । घडेरी खरिद्ने, मोटरसाइकल किन्ने यस्तै–यस्तै सपना पो छन् ।

उत्पादन नभएरै खान नपुगेकाहरु धेरैले उतिबेला गाउँ छोडे । काम गर्ने ठाउँ भएन भनेर पनि बस्ती छोडेर निस्किए । बरु लेकमा गएर ठुला पाटामा मकै खेती गरी गुजारा चलाउन सजिलो ठाने । तराई झरेर धान फलाउने धेरै भए । आफ्नो टुक्रे बारीको उत्पादनमा वैज्ञानिक र व्यवसायीकरण देखेनन् । बीउ उन्नत नआउनु मुख्य कारण थियो । स्याउ, सुन्तला रोपेर विकास गर्न खोजे पनि उचित स्याहार र प्राविधिक सहयोग पुगेन । साना किसानलगायतको ऋण बोक्नुप¥यो । व्याज उठाउने कता हो कता ? कतिले त फल चाख्न नपाउँदै फलफूलका बोटै मरे ।

आजको सञ्चार सुविधाले हरेक वस्तुको भाउ सुनाउँछ । बजारले खोजेको चीज उत्पादन गर्न गाउँ तयार छ । त्यहीअनुसारको मल, बीउ र सिचाइ सुविधा पाउन सक्छ । त्यसले उत्पादनमा अघि बढाएको छ । सुविधा नजिक लैजान्छ । अनि ठाउँको विकल्प खोज्नु पर्दैन । साँच्चै अब पेट भर्नकै लागि पुख्र्यौली बस्ती छोडी नयाँ देश जानु परेन । सुविधा खोज्न अरुका ठाउँ उपयुक्त छैनन् । आफ्नै क्षेत्रको विकास गर्न जरुरी छ भन्ने चेतनाको विकास भरपुर देखिन्छ ।

सरकारी गैह्रसरकारी संस्थाबाट सुविधा लिने र त्यसलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने तरिका जानेका छन् । पढलेख गरेर ठूलो जागिर खान नसके पनि विकसित देशमा काम गर्न गएका छन् । मलेसियामा लामो समय बसेर होटलमा काम गरि फर्केका पदम खड्का भन्छन्, ‘त्यहाँको ठूलो होटलमा राती सबै खानेकुरा बासी नराखी फालिन्छ भन्थ्यो । ठूलो डेक्चीको भात ह्वात्तै फाल्नुपर्ने, मासु अचार सबै मिल्काउने । बिहान जाँचमा आउनेले बासी सडेगलेको भेटाए कार्वाही गर्दोरहेछ । कतिसम्म भने भाँडामा भण्डार गरिराखेको कुरा ग्लोब लाएर हात घुसारी जाँच्दोरहेछ । त्यसरी कडा गरेपछि फोहर हुने कुरा भएन । मासु काटेको ठाउँ एसिड हालेर पनि फाल्नुपर्ने रहेछ । गन्हाउन दिनै हुन्न रै’छ । नङ पालेका, फोहर कपडा भएका र कपाल पालेकाले भान्छामा प्रवेश नपाउने रहेछन् ।’

हिउँदमा गहुँ र बर्षामा मकै रुकुम चौखाबाङका किसानको मुख्य बाली थियो । यसपटक अधिकांशको बारीमा अदुवा खेती देखियो । आधा पाटो अदुवा रोपेकाले बाँकी रहेकोमा आलु लगाएका छन् । लसुन प्याज पनि बढेको छ । चाँडै पैसा के रोपेपछि आउँछ भन्ने ध्याउन्नमा लागेको देखिन्छ । बेच्ने क्षेत्र पनि फराकिलो बन्दैछ । घ्यूको मूल्य बजारमा बढेको तेलसँग तुलना गर्न थालेका छन् । धेरै गाई भैंसी पालेर मल बनाउने, चरा, मुसा, बाँदरलाई नपुग्ने अन्न उब्जाउने पक्षमा देखिन्नन् । यसरी जोगाउने हो भने परिवार पाल्न कठिनाई छैन । त्यसैलाई जन्मभूमि त्यागेर कुनै देश खोजिरहनु पर्दैन । त्यसैले होला जमिन किनबेच ठप्पै रोकिएको छ । गहुँ मकै उत्पादन गरेर पैसा आउँदैन । अघिल्लो बर्षका मकै बिकाउन सकेका छैनन् । खसी, बाख्रालाई खाजा भुटेर खुवाउनबाहेक अरु काममा मकै प्रयोग हुन्न । त्यसले गर्दा मकै खपत दुई बाली अघिदेखि भएको छैन । रोटी र ढिडो खान मकै उपयोग गरिन्छ । सबैका घरमा खान पुग्न थालेपछि बेच्ने ठाउँ छैन । त्यसले पनि गाउँको बसाई सर्ने क्रम रोकेको छ ।

पुरानो चलनअनुसार स्थानीय मकै (ठूलो र सानो घोगा) लगाउने गरिन्थ्यो । अग्लो हुने र ढलेर पाटोभरिकै स्वाम्मै नोक्सान हुनाले खान पुग्दैनथ्यो । दुई÷चार घरले खाने पुगेर एक दुई मुरी बेच्थे । उनीहरु धनी मानिन्थे । बाँकीले बेसाउनु पर्दथ्यो । एक पाथीलाई एक सय रुपैयाँसम्म हाल्दा पनि नपाएर पसलको चामल खान्थे । खाद्य संस्थान सल्लेमा लाइन बसेर चामल ल्याउँथे । अहिले विभिन्न थरिका मकै रोप्छन् । ढल्दैन, धेरै फल्छ, खानेहरु कोही विदेश त केही बजारतिर बस्छन् । उन्नत जातका बिकासी गहुँ मकै छर्छन् । प्रशस्त उत्पादन हुन्छ । खान नपुग्ने घर भेटिदैन । पढाइ खर्च धेरै चाहिदैन । कक्षा पाूचसम्म पढाइ हुने विद्यालय माविसम्म पुगे । अझ प्लस टूको पढाइ पनि गाउँमै सञ्चालन गर्ने छलफल भएको पाइन्छ ।

सात/आठ दिन लाएर कुलो खन्ने र हिउँदका केही महिना मात्रै सिचाइ गर्ने चौखाबाङ–६ का किसानका घर–घरमा पानीको पाइप छ । चौबीसै घण्टा पानी बग्ने भएकाले जसबेला पनि सिचाइ गर्न सकिन्छ । त्यसैले होला, हजारौं रुपैयाँको बीउ किनेर प्याजको व्याड राखिएको छ । यसअघि सिंगो बस्तीभरिमा घमण्डबहादुर खड्काले मात्रै तरकारी खेतीमा ध्यान दिन्थे । मेथी, धनियाँ, लसुन प्याजलगायतबाट पैसा कमाउँथे । अहिले भने गाउँभरि अदुवा खेतीले ढाकेको छ । ठेकेदार गाउँमै आएर उठाउँछ । बेच्न जान दुःख छैन । अलैची खेती पनि सप्रिदै गएको छ । जनयुद्धकालमा नाकाबन्दी हुँदासमेत खड्काले तीन घण्टा लाग्ने खलंगा बजार तीन दिनमा पु¥याउँथे । लुकालो लसुन, प्याज लगेर राम्रो कमाइ गरी फर्किन्थे । अहिले एक घण्टा नजिक होलतारासम्म ट्याक्टर जाने भएकाले धेरै सजिलो भएको छ । थोरै समय पिठ्यूँमा बोकेर लग्न सकिन्छ ।

युवाहरु विदेशीएका छन् । हरेकका घरमा पुग्दा मुख्य मालिक महिलाहरु हुन्छन् । उनीहरुले पनि आधुनिक खेती प्रणाली अंगालेका छन् । विदेशबाट पठाएको र घरमा तरकारीबाट कमाएको सरोवर हुन थालेको मालिका मावि चुनका शिक्षक गोपाल खड्काले बताउनुभयो । उहाँका अनुसार रातभर घुम्ने बिहान अबेरसम्म सुत्ने पुर्खादेखिको युवा पुस्ताको क्रम रोकिएको छ । बरु सानैदेखि जाँड रक्सी खाने बढेका छन् । त्यो पनि खर्सुपानी गलम्पाटी लगायतका गाउँसम्म उक्लिदैनन् । केही महिला पुरुषहरुले पेट दुख्ने निको हुन्छ, चिसो फाल्छ भनेर रक्सी खानु ठीक भएको तर्क गर्छन् । किराले खाएर नोक्सान हुने अन्न लगा लागेको छ भन्नेहरु धेरै छन् । जाँडरक्सी कसले खाने र कसले नखाने भन्ने छैन । बरु पेवर अन्नको हो कि होइन भन्नेमा विचार पु¥याउँछन् । सकभर हिड्ने घुम्नेहरु रक्सी नखाएका कमै भेटिन्छन् । रेमिट्यान्स र नगदे बालीले ठुलठुला घर ठड्याएका छन् । जमघट हुने खसी काटेर खाने रमाइलो गर्ने चलन बढेको छ । एक किलो मासु खान हात कमाउनेहरु हजार–हजारका बिला उठाउन तँछाड मछाड गर्छन् । यसले पनी बसाई सरि जान खोज्ने सोच्न दिन्न ।

अर्थतन्त्रको विकाससँगै सामाजिक भावना भने बढ्न सकेको देखिन्न । मुख्य बाटोहरु पनि पाइलो अड्याउने ठाउँ नरहने गरि भत्किएका छन् । पहिरो गएको ठाउँमा अडिने सामान्य अखट्टा खनेकोबाहेक प्रगति छैन । दशैं तिहार र डिग्रे मेलासम्म पनि झारा गरेर बाटो बनाउने देखिन्न । पैसा नभए काम गर्दैनन् स्थानीय रुपलाल खड्काले भन्नुभयो, सहयोग कसले गर्ने । रक्सी र पैसा नहुनेले सामान्य काम गराउन सक्ने अवस्था पनि नरहेको स्थानीय इन्द्रबहादुर खड्काको भनाई थियो । गाउँमै पसल राखेर पक्की रक्सी बेचिन्छ । रातीसम्म किनेर खान्छन् । त्यसरी व्यक्तिवादी चरित्र हावी भएको छ । बजारमा एउटा कोठामा बस्नेलाई अर्काले नचिनेजस्तै गाउँमा पनि अर्को गाउँलाई बिर्सदै जाने हो कि भन्ने खतरा बढेको देखिन्छ ।

घर गोठ नजिक सुमुक्कै भएर रुख र घाँस बढेका छन् । दाउरा घाँस बारीमै हुने भएकाले बन जोगिएको छ । रुख बिरुवा बढेको देख्दा मानवीय जाँगर हराउँदै गएको जस्तो देखिन्छ । थोरै काम गरे पनि पुग्छ । उहिले जस्तो काममा दुःख गर्नु नपरेकाले अहिलेका पिढीको भनाई छ । त्यही सजिलोलाई जाँडरक्सी र चुरोट बिडीमा उपयोग गरिएको छ । युवा र बालबालिकालाई पढाइमा तान्न सकिएन भने भविष्य भने पछाडि पर्ने संकेत छ । उत्पादनमा बढाएजस्तै युवा र बालबालिकालाई अध्ययनमा अभिप्रेरित गर्न जरुरी भएको एमाओवादीका जिल्ला नेता एवं समाजसेवी शेरकुमार खड्काले बताउनुभयो । उहाँका अनुसार त्यसो नगरिए जिल्लास्तरमा प्रतिनिधित्व गर्ने जनशक्तिको अभाव चाँडै हुने देखिन्छ । त्यसका बारेमा घर छोडेकाले र गाउँमा रहेका अगुवाले सोच्न जरुरी छ । नगदे बालीले गाउँको जीवन भने परिवर्तन गरेको चामत्कारिक लाग्छ । त्यही स्तरमा सामाजिक भावनाको विकास गर्न र सामूहिकतामा लाग्नुपर्ने जरुरी देखिन्छ ।

By

Readers Comments (0)