Filed Under:  संस्मरण | निबन्ध, सौगात विशेष

कुसुण्डा खोज्न गाउँ | काशीराम डाँगी

12th December 2015   ·   0 Comments

OLYMPUS DIGITAL CAMERAअलि समय अघिको कुरा हो । चिसोको समय । एक बिहान सबेरै मोबाइलको घण्टी बज्यो ।

‘कुसुण्डा भेट्न जाऔं । तयार भएर आउनुप¥यो ।’ एक सरकारी अधिकारीको आग्रहसहितको आवाजपछि हामी दक्षिण रोल्पामा पर्ने कुसुण्डा गाउँ पुग्न तयार भयौं ।

‘सखी गाउँमा छन् कुसुण्डा । उतैबाट नुवागाउँ र त्रिवेणीसम्म पुगेर बादी समुदायलाई पनि भेटांैला ।’ हाम्रो भेटमा ती अधिकारीले बिस्तारमा योजना सुनाए ।

त्यसपछि मुलुककै अति ‘दुर्लभ’ मानिएको सीमान्तकृत कुसुण्डा जातिका जिल्लाकै एक्ला सदस्य भेट्न जान पाउनु एउटा सुखद् क्षण र अवसर थियो । त्यहीं ठानेर हामी यात्रा थाल्ने पक्षमा भयौं ।

OLYMPUS DIGITAL CAMERAचिसोलाई बिर्सदै हाम्रो टोली सदरमुकाम लिबाङबाट करिब २० कोष दक्षिणको सखी गाउँतर्फ निस्कियो । जिल्लाका एक्ला कुसुण्डालाई भेट्नु, उनीसँग कुराकानी गर्नु र उनको बारेमा गहिरो अध्ययन बढाउनु यी तिनै प्रसंगले मनमा विविध प्रकारको उत्सुकता जगायो । पत्रकार भएकाले हरेक कुराको उत्तिकै चासो त हुन्छ नै, त्यसमा पनि कुसुण्डा जातिको अध्ययन र भेटघाट हुने चासोले झन मन आत्तिएझैं भएको थियो । त्यसैले कति बेला सखी गाउँ भेटिएला र कुसुण्डालाई भेट्न पाइएला भनेर मन हतारियो ।

०००

रोल्पाका एक्ला कुसुण्डा चार दशकअघि सखीमै जन्मिएका हुन् । ती कुसुण्डाको नाम लालबहादुर चन्द हो । कुसुण्डालाई गाउँमा सबैले ‘राजा’ भनी बोलाउँदा रहेछन् । हुन त सखी गाविसको रुन्टी गाउँको चर्चा अरु बेग्लै तरिकाले पनि भएको छ । वर्षौंअघि स्वर्गद्वारी महाप्रभुको जन्म यही गाउँमा भएको थियो । सखीमा जन्मेर महाप्रभुले तपस्या गर्न प्युठानको स्वर्गद्वारी डाँडालाई रोजेर बसाई सरेपछि वास्तवमा रुन्टी गाउँको चर्चा ओझेलमा परेको थियो । यसपालिको यात्राका क्रममा सखीकै टुनिबोट गाउँको चर्चा बढी भएको पाइनेछ । कारण हो ती कुसुण्डा टुनिबोटमा बस्दै आएका छन् । उनी यही जन्मेका हुन् । वर्षौंअघि उनको पुर्खा सल्यानबाट यही गाउँमा आएको थियो । यो कुरा पछ्याउँदै अरु पत्रकारसहितको हाम्रो टोली सखीको टुनिबोटतर्फ यात्रारत भयो ।

कुसुण्डा भेट्ने त्यो टोलीमा यो स्तम्भकार, पूर्व पत्रकार जीवराज बुढा, पत्रकार खेम बुढा र सरकारी अधिकारी संलग्न थियौं ।

०००

Rolpa Kusunda.एक्ला कुसुण्डा लालबहादुरको विवाह करिब ४ वर्षअघि लिबाङमा भएको थियो । भवन तथा सहरी विकास डिभिजन कार्यालयले उनको विवाह कार्यक्रमलाई सघाएको थियो । त्यसपछि उनले सरकारले बनाइदिएको नयाँ घर पाएका थिए । कुसुण्डा सखीमा एक्ला भएको फेला परेपछि सरकारले नयाँ घर निर्माण गरिदिएको थियो । सीमान्तकृत समुदायका लागि सरकारले छुट्याएको बजेटअन्तर्गत लालबहादुरले घर पाएका थिए । त्यही नयाँ घरमा लालबहादुरले प्यारी पत्नी बेलमती (जसलाई स्थानीयले ‘रानी’ भनेर सम्बोधन गर्छन्) लाई दुलहीका रुपमा भित्र्याएका थिए । नयाँ घर र पत्नी पाएका लालबहादुर पहिले–पहिले वन चहार्दै र अरुको काम गर्दै हिड्थे । तर अहिले भने उनलाई आफ्नो घर प्यारो लागेको छ । नयाँ घर पाएपछि उनी निकै खुशी पनि छन् । ‘राजा’ले रोल्पा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पनि पाए । नागरिकतामा सही गरेका तत्कालीन प्रजिअ हरिप्रसाद बास्तोलाको सम्झना छ– राज्य र नागरिक समाजले सहयोग गरेपछि कुसुण्डाको उद्धार भएको छ । हामीले मानवीय सहयोग पनि गरेका हौं ।

०००

कुसुण्डा दम्पत्तिका लागि अर्को खुशीको कुरा पनि छ । त्यो हो– नयाँ सन्तान । परिवारमा नयाँ सदस्यका रुपमा छोरी थपिएपछि गाउँभर खुशीयाली थपिएको छ । गाउँलेहरु छोरा (सानो राजा) पाएमा अझ खुशी हुने इच्छा राख्छन् । अहिले दम्पत्तिले छोरी सबिता हुर्काउँदै छन् । बल्ल तीन वर्ष पुग्न लागेकी छोरीको जन्म भएपछि कुसुण्डाको सन्तान बढेको खुशीयालीमा गाउँ र जिल्लासम्मै खुशीयाली फैलिएको महसुस गर्छन् सबै । ‘नयाँ घरमा नयाँ सदस्य’ पाएपछि अहिले कुसुण्डाको घरमा मात्र हैन, टुनिबोट गाउँ, सखी गाविस र जिल्लाबासी खुशी हुदै ‘राजा’लाई भेट्न पुग्दछन् । छोरी गर्भमा भएका बेला लिबाङमा विवाह भएको र उति नै बेला नागरिकता पाएका दम्पत्तिले विवाहपछि गाउँ र जिल्लामै सम्मानित हुने अवसर पाएका थिए । पत्रकार उनको घर टुनिबोट पुगेको बेला उनले भनिन्, ‘नानी जन्मिएपछि मलाई पनि खुशीको अनुभव भएको छ ।’ वनका चराचुरुङ्गी मार्न र वनकै फलफूल खान बिर्सिसकेका ‘राजा’ लालबहादुर पनि पत्नी र छोरी पाएकोमा गर्वित छन् । सामान्यतया सोझा र हँसिला लालबहादुरले पत्नीसँग जिस्कदा र छोरीलाई काखमा राख्दा बेग्लै मुद्रामा देखिन्छन् । उनको अनुहारमा चमकपन देखिन्थ्यो ।

कुसुण्डाले पाए नयाँ घर र पत्नी
कुसुण्डाले छोरी पाउँदा गाउँ नै खुशी
घरमा सानी छोरी भित्रिदा खुशी भए कुसुण्डा दम्पत्ति

०००

तर, सरकारले बनाइदिएको घरमा उनीहरुको मन खासै भुल्न सकेको रहेनछ । घरमा नबसे रित्तै हुने पीरले मात्र उनीहरु घरमा बस्दा रहेछन् । गाउँलेहरुको गुनासो छ– कहिले गाउँलेको घरमा र कहिले माइतीकोमा बस्न जान्छन्, घरका ढोका खुल्लै पारेर । हामी पुग्दा दिउँसोतिर उनको घरमा ‘राजा’ भेटिएनन् । उनी माथिल्लो गाउँतिर घुम्न निस्केमा थिए भने ‘रानी’ मात्र छोरीसँग खेल्दै थिइन् । उनले लजाउँदै भनिन्, ‘छोरीलाई माया गर्छु । अहिले म एक्लै छु ।’

दहवनमा रहेको पूर्व माओवादी लडाकुले छाडेको शिविर र शिविर सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकलाई छाड्दै हामी अरु ओरालोतिर सखी गाउँ ओर्लेका थियौं । हाम्रो हिडाई करिब एक घण्टा गाडीको बाटोसम्म थियो । केही समय हामी पैदल हिड्यौं । माथिबाट ओरालो झर्दा कुसुण्डाको माइती गाउँ पहिले नै भेटिने रहेछ । उनको माइती घरमा हामी एकछिन बिसाएका थियौं । हामी पुगेको खबरपछि हाम्रो अघि–अघि उनी आफ्नो घर पुगेकी रहेछिन् ।

०००

‘छोरीको नाम बेला कुसुन्डा हो । यही नाम हामीले राखिदिएका हौं ।’ लजाउँदै रानीले घरमा भनेकी थिइन् । भवन डिभिजनले बनाइदिएको दुई कोठे आधुनिक घर टुनिबोट गाउँको सिरानमा पर्छ । उनका सहयोगी स्थानीय उदीराम वलीले दिएको करिब १ रोपनी जग्गामा कुसुण्डाको घर बनाइएको हो । नजिकै रहेको पुरानो घर भने निकै जीर्ण अवस्थाको थियो । अहिले पनि त्यो घर ढल्नै लागेको अवस्थामा छ । त्यहाँ पुग्ने सबैलाई स्थानीयले कुसुण्डा ‘राजा’का बारेमा बिस्तृत जानकारी दिन्छन् । हरेक सहयोगको अगुवाई गर्दै स्थानीय शिक्षक डम्बर थापाले कुसुण्डाका दम्पत्तिलाई लिबाङसम्म ल्याउन सहयोगी भूमिका खेलेका रहेछन् । ‘लोप हुनै लागेका कुसुण्डाको सन्तान बृद्धि भएकोमा हामी निकै खुशी भएका छौं । अब सुरक्षित बसोबासको व्यवस्था गरिदिनु र आवश्यक सहयोग गर्नु खाँचो हो ।’ डम्बरको भनाई छ । लालबहादुरले टुनिबोटको माथिल्लो गाउँकी पुन मगरकी छोरीसँग अन्तरजातीय विवाह गरेका हुन् । बेला अहिले तीन वर्षकी भइन् ।

०००

स्थानीयका अनुसार करिब एक सय वर्षअघि लालबहादुरका बाजे सल्यानबाट रोल्पाको सखीमा आएका थिए । छिमेकी गाविस डुब्रिङका पूर्व अध्यक्ष कृष्णबहादुर चन्दले छिमेकी जिल्लाबाट रोल्पा आएका ठकुरीहरुमध्ये घर व्यवहार नगरी बसेका लालबहादुरका पुर्खा मात्र हुन् । लालबहादुर एक्ला हुनुको कारण उनी एक्ला छोरा भएर हो । उनकी एक मात्र बहिनीको क्षेत्रीसँग बिहे भएको छ । उनी गाउँमै छिन् । छिमेकी भीमबहादुर खत्री लालबहादुरकी बहिनी कमलाको बिहे भएको हो । कमलाका दुई छोरा र दुई छोरी छन् । दाजु निकै सोझा भए पनि बहिनी चलाख छिन् । बहिनीको विवाह भएपछि पनि लालबहादुर एकै ठाउँमा नबसी वनमा घुमघाम गर्दै हिडे ।

‘यो उनको पुरानो घर हो ।’ गोलाकारको जीर्ण घरलाई संकेत गर्दै अर्का छिमेकी चन्द्रबहादुर पुन भन्छन्, ‘उनलाई यहाँ बसाल्न हामीले निकै प्रयास ग¥यौं, तर उनले घरै छोडेर भाग्थे ।’ लालबहादुरको पुरानो घर हेर्दा लाग्थ्यो– घर छाड्दा लालबहादुरले कुनै सामान निकालेका रहेनछन् । सबै सामान अस्त–व्यस्त अवस्थामा देखिन्थ्यो ।

०००

स्थानीय चाहन्छन्– लालबहादुरको त्यो पुरानो घरको संरक्षण हुन सकोस् । त्यस घरलाई जस्ताको तस्तै संरक्षण गर्न सकियोस्, जसबाट कम्तीमा आन्तरिक पर्यटनको विकास गर्न सकियोस् । छिमेकीको माग छ– सरकार र सम्बन्धित निकायले यसतर्फ चासो देखाओस् । हामीले के गर्नुपर्छ तयार छौं ।

सरकारले कुसुण्डालाई नयाँ घर बनाइदिएपछि स्थानीयले बाख्रा र कुखुरा पालनमा सघाएका छन् । सखी गाविसका सचिव विष्णु बहकरीका अनुसार घर बनाउँदा बचाएको रकम र अरु सहयोग जम्मा गरेर बाख्रा किनिदिएका छौं । त्यस लगायत अरु सहयोग पनि जुटाउने योजना छ । सबैको सहयोगी भाव छ– ‘कुसुण्डा परिवार रित्तो घरमा बस्दैन । त्यसैले उनीहरुलाई घरैमा बसाल्न अरु सुविधा पनि बढाउनुपर्छ ।’ निकै नजिकबाट सहयोग गर्दै आएका छिमेकीले राज्यले यसतर्फ सोच्नुपर्ने सुझाव दिएका छन् ।

०००

गाउका बृद्ध–बृद्धाहरु कुसुण्डाका पुर्खा रोल्पा आएर सखीकै रुपलाल बुढाको घरमा बसेको बताउँछन् । सुरुमा उनीहरुको घरबास नभएकाले अर्कैको काम गरिदिने र त्यसबापत खाना जुटाउनेमै समय बित्यो । त्यसो त कुसुण्डाहरु अहिले पनि आफूलाई ‘वनराजाका सन्तान’ भएको दावी गर्छन् । यस्तो दावी डुब्रिङ गाविसका पूर्व अध्यक्ष कृष्णबहादुर चन्दको पनि छ । उनी भन्छन्, ‘जातिको आधारले हामी पनि ‘वनराजा’ नै हौं । तर सखी र डुब्रिङका अन्य चन्दहरुले बिहेबारी र खेतीपाती गरेर बस्यौं । लालबहादुरका पुर्खाले भने घरजोहो नगरेकाले उनीहरु ‘वनराजा’ कहलिए ।’ उनका अनुसार लालबहादुरका बुबा र बाजेले दक्षिणी रोल्पाका सखी, झेनाम, डुब्रिङ, नुवागाउँ, दुबिडाँडा लगायतका गाउँमा घुमेर कन्दमुल खोज्ने, चराचुरुङ्गी मार्ने र त्यसैका आधारमा जीवन चलाउने चलन बसाएका थिए ।

उनीहरुले सुरुमा पनि वनमा पाइने आहार खोज्दै जिविका चलाउनु, अरुको घरमा काम गरिदिनु र जंगलमै बस्नु पुर्खाको ‘चलन’ भएको बताउँथे । उनीहरुलाई ‘वनराजा’ भनिनु र डुलघुम गर्नुमै रमाइलो लाग्दै आयो ।

By

Readers Comments (0)