Filed Under:  विचार | टिप्पणी

मानव जीवन र विपश्यना | नारायणप्रसाद शर्मा

5th December 2015   ·   0 Comments

Narayanprasad Sharmaहामी सबैले भोग्दै आएको जीवन नै मानव जीवन हो । तपाइँको जीवनलाई पहिले तपाइँकी आमाले १० महिनासम्म आफ्नै पेटमा धारण गर्नुभयो । त्यसपछि तपाइँले पृथ्वी माताको काख पनि पाउनुभयो । दुबैको काखमा तपाइँ हुर्कनु भयो । तपाइँ वयस्क नहुँदासम्म बाबुआमा र गुरुजनहरुबाट शिक्षा हासिल गर्नुभयो । पछि कुनै पेशामा लागेर आफ्नै भरमा बाँच्न सिक्नुभयो ।

तर ख्याल गर्नुहोला, नेपालमा सबैलाई यति राम्रो अवसर जुटेको हुन्न । अवसर पाउनेहरुमध्ये पनि धेरैले त्यसको सदुपयोग गर्न जान्दैनन्, गर्दैनन् । कतिले त उचित वातावरण पनि पाइराखेका हुँदैनन् । यसै बिन्दुबाट विपश्यनाको थालनी हुन्छ । हरेक बाबुआमा, गुरुजन र ज्ञानीगुनीहरुले हामीलाई उपदेश दिन्छन्– ध्यान दिएर सुन, ध्यान दिएर पढ, ध्यान दिएर लेख, ध्यान दिएर काम गर आदि आदि । बस यहींबाट शुरु भइहाल्छ विपश्यना ।

विपश्यना भनेको हेर्नु । विपश्यना भनेको गहिरिएर हेर्नु अर्थात जे गर्छौ, ध्यान दिएर गर, मन लगाएर गर । यही त हो विपश्यना । विपश्यना शब्दको प्रयोग नगरेरै अन्य शब्द वा निर्देशनमार्फत् पनि ध्यान दिएर लगनशील भएर बारम्बार अभ्यास गर्न सिकाउने काम हुँदै आएका छन् । हाम्रा गाउँमा म केटाटी छँदा एकजना गाउँले बुढाले बराबर एउटा सिलोक सुनाउनु हुन्थ्यो–

काक चेष्ट बको ध्यानम्
श्वान–निद्रा तथैव च
अल्पाहारी गृहत्यागी
विद्यार्थी पञ्च लक्षणम्

चराहरुमा कौवा सबभन्दा बाटो भनिन्छ । तपाइँको घरआँगनको टुप्पामा कौवा देख्नुहोला त्यो बडो चतुर भएर यताउति खूब हेर्छ । यसो गर्दा त्यसले वस्तुस्थितिको राम्रोसँग अटकल काट्न सक्छ । त्यसैले विद्यार्थीले र तपाइँ हामी सबै जान्न चाहनेले कागजस्तो सावधान हुनुपर्छ । दोस्रो छ ‘बको ध्यानम्’ अर्थात बकुलाको जस्तो ध्यान । नदी वा कतै पानीको किनारामा बकुलाले एकचित्त ध्यान दिएको देख्न सकिन्छ । हामी पनि त्यस्तै एक चित्त भएर आफ्नो कर्तव्यमा लाग्न जान्नुपर्छ । तेस्रो छ श्वान निद्रा– कुकुरजस्तो ऐनमौकामा व्यूँझन सक्ने नकि धम्मरधुस सुतुवा ।

चौथो छ– अल्पाहारी । भोक लाग्यो भन्दैमा या पाइयो भन्दैमा कोचाकोच गरी खायो भने बिगार गरिहाल्छ । पाँचांै छ गृहत्यागी अर्थात् घरबार छोडेर ज्ञान हासिल गर्नु । सधैं घरमा खुम्चनेहरुबाट उन्नति प्रगति सम्भव छैन । यी पाँचै कुरा विपश्यनाका अंग हुन् । त्यसैले विपश्यना कुनै अचम्मको कतै नभएको साधना हैन । कुनै न कुनै अर्थमा सबैले विपश्यना गर्दै पनि आएका हुन्छन् । आजभोलि धेरैले योग पनि गर्दै आएका छन् । यसबाट मन र शरीर स्वस्थ हुन्छ भन्ने गरिन्छ । हो, पनि योगका आदिम गुरु पतञ्जलिले भन्नुभएको छ– योगश्चित्त बृत्ति निरोधः अर्थात चञ्चल मनको बृत्ति (व्यवहार) लाई रोकथाम गर्नु नै योग हो । मनको दास हुनेले उन्नति गर्न सक्दैनन् । जो मनको मालिक बन्यो त्यसले विजय हासिल ग¥यो । यो पनि एक विपश्यना हो । यो त भयो विपश्यनाको सामान्य आशय । तर विपश्यना यति मात्र हैन । यति भन्दा धेरै गहिरो अर्थ राख्छ विपश्यनाले । यो अत्यन्त मौलिक ध्यानविधि हो ।

विपश्वी साधक बन्नु चानचुने कुरा छैन । यसको इतिहास बुझ्न पच्चिस छब्बिस सय वर्ष पछि फर्केर हेर्नुपर्छ । उसबेला आजको नेपालको कपिलवस्तु जिल्लामा राजा शुद्धोधनका छोरा सिद्धार्थ गौतमको जन्म भएको थियो । भनाइ अनुसार रानी मायादेवी माइत जाँदाजाँदै बाटैमा लुम्बिनीमा छोरा जन्माइहालिन् र त्यहींबाट कपिलवस्तु त्यस बेलाको राजधानी तिलौराकोटमा फर्किहालिन् । दरबारमा ठूलो हर्ष बढाइँ गरियो ।

हुने बिरुवाको चिल्लो पात भनेझैं सानैदेखि सिद्धार्थ गौतम प्रत्युत्पन्न मतिका प्रतिभाशाली थिए । एक दिन देवदत्तले एउटा चरोमाथि तीर चलाए । त्यो चरो घायल भएर सिद्धार्थनजिक खस्यो । त्यसलाई जीवितै देखेर उनले बचाए । उता देवदत्तले मेरो चरो भनेर झगडा गरे । मैले गरेको शिकार मैले खान पाउनु पर्छ भनेर बबालै मचाए । मुद्दा दरबारको कचहरीसम्म पुग्यो । कसैले त्यसमा देवदत्तको अधिकार छ भने कतिले खुट्टा कमाए । सिद्धार्थले प्रतिवाद गरे– जीवनको रक्षा जसले गर्छ, उसैको अधिकार हुन्छ भनेर पैरवी गरे । अन्तमा चरो सिद्धार्थको अधिकार क्षेत्रभित्र पर्ने ठहर भयो ।

सिद्धार्थले केही दिनपछि घाउ निको पारिदिएर चरोलाई आकाशमा उडाइदिए । त्यस्तै उनले रोगीलाई देखे, बृद्धलाई देखे, मरेको लाश देखे, गरीब भिखारीलाई देखे । यसरी जीवनमा दुखै दुःख देखेर जीवन मुक्तिको बाटो खोज्न हिंडे । उनलाई परम्परागत सोच, जात, भात, वर्ग, वर्ण, लिंग र सम्प्रदायमाथिको भेदभाव पटक्कै मन परेन । राजपाट छोडे र सत्सङ्ग र तपस्यामा हिडे । ६ वर्षको ध्यान र चिन्तनपछि उनले नयाँ सिद्धान्त प्रतिपादन गरे । उनले देखे–

प्राणी मात्रको जीवन पञ्चतत्व (अप, तेज, पृथ्वी, वायु र आकाशको) समुच्चय हो । प्रत्यक्ष अनुभवसिद्ध ज्ञानबाहेक अरु कुनै भरपर्दो उपाय छैन । (यदि ईश्वर, आत्माजस्तै केही तत्व छ भने पनि यही शरीरभित्र छ, अन्त जानुपर्दैन– जोड लेखकको) । अर्को कुरा जीवन पाउनु पनि दुःख पाउनु नै हो । किनकि जीवनले तृष्णा जगाउँछ । तृष्णामाथि विजय प्राप्त गरेपछि निर्वाण (मुक्ति) प्राप्त हुन्छ । संसार अनित्य छ । चिर स्थायी केही छैन । हाम्रो शरीरका सबै अवयवहरु एक अर्कामा आश्रित भएझैं मानव जीवन परस्परावलम्वी छ । सहजीवनमै सबैको अस्तित्व भर गर्दछ । तत्वहरुको संघटन र विघटनको अनन्त प्रवाह नै जीवन हो ।

सिद्धार्थको यही प्रत्यक्ष अनुभवसिद्ध ज्ञान विपश्यना ध्यानमार्फत् प्राप्त गरे । यो ज्ञान प्राप्त गर्ने अधिकार हिन्दू, बौद्ध, जैन, सिख, इस्लाम इशाई सबैलाई छ । कुनै भेदभाव छैन । यो विशुद्ध मानवतावादी चिन्तन हो, धर्म हो । सबै प्रकारका अतिवाददेखि यो टाढा छ । यस्तो ज्ञान हासिल गरेकाले उनलाई बुद्ध भनिएको हो । जसलाई स्वबोध हुन्छ त्यही बुद्ध हो । यहाँ जीवात्मा र परमात्मा द्वैत अद्वैतजस्ता जटिलता छैनन् । यस्तो सही जीवन बिताउन सिद्धार्थले आठवटा सूत्र दिएका छन् । ती यस्ता छन्

१– सम्यक दृष्टि २– सम्यक बचन ३– सम्यक विचार ४– सम्यक कर्म ५– सम्यक जीविका (चोखो कमाइ) ६– सम्यक प्रयत्न (सही उपाय) ७– सम्यक स्मृति (जागरुकता) र ८– सम्यक ध्यान (समाधि) यसैलाई अष्टाङ्ग मार्ग भनिन्छ ।

माथिका सबै विषयको अध्ययनले मात्र पुग्दैन । विशेष दृष्टि (विपश्यना) चाहिन्छ । विपश्यना अत्यन्त सूक्ष्म प्रविधि हो । बुद्धले आफ्नो जीवनभरि यही प्रचार गरे । ठूलो जमात तयार गरे । पछि–पछि यो विश्वव्यापी बन्यो ‘बुद्धं शरणं गच्छामि, संघ शरणं गच्छामी धर्मं शरणं गच्छामि ।’

बौद्ध सिद्धान्तअनुसार धर्म भनेको वस्तु र मानवसमेतको स्वभाव हो । प्रकृतिको नियम हो, ऋत (सत्य)को अनुसरण हो । यसमा कर्मकाण्डीय पद्धति चाहिन्न । धर्म धारण गर्ने विषय हो । यसको मूल तत्व मन निर्मलीकरण गर्नु हो । मुखले एउटा कुरा बोल्ने मनमा अर्कै कुरा राख्ने र कर्म अझ त्यो भन्दा भिन्न गर्नु पाखण्ड हो ।

संसारका चिन्तकहरुले र वैज्ञानिकहरुले बुद्ध धर्मलाई विज्ञानसम्मत, मानवतावादले ओतप्रोत, शान्ति, अहिंसा, करुणा र सदाचारको धर्म भनेका छन् । त्यसमा पनि विपश्यना कुनै सम्प्रदाय (धर्म) सँग सम्बद्ध छैन । यसका लागि कसैले बौद्ध बन्नुपर्दैन । विपश्यना स्वचिन्तन हो । यो अत्यन्त वैज्ञानिक र अनुभवसिद्ध छ । अहिले सबै महाद्वीपमा यो विपश्यना पुगिसकेको छ ।

दाङमा पनि विपश्वी साधकहरु फेला पर्दैछन् ? यसै घोराहीमै पनि ३/४ वटा कार्यक्रम भइसकेका छन् । संसारमा धेरै मान्छे अशान्त, बेचैन, किंकर्तव्यविमूढ दुःखी, तनावग्रस्त र दिग्भ्रमित छन् । सबैलाई विपश्यना चाहिएको छ, सत्यबोध गर्नुपरेको छ । यो एउटा व्यावहारिक विश्वविद्यालय (एचबअतष्अब िगलष्खभचकष्तथ० हो । जीवनको अनित्यता, नश्वरता र परम्परावलम्बी सहवर्धनको बोध गर्न विश्वको लय र उत्पत्ति बुझ्न पहिले आफैलाई बुझ्नुपर्छ । स्वदर्शन, स्वचिन्तन, स्वपरीक्षण, स्वसम्मीक्षण गर्न सके अन्तर्बोध खुल्छ ।

यस्तो अन्तर्बोध भइसकेपछि मानिसको चित्त निर्मलीकरण हुँदै जान्छ । यसबाट गीताले भनेझैं आत्मनः प्रतिकूलानि परेषं न समाचरेत अर्थात् आफू र अर्कोमा फरक देख्नुहुन्न र अरुको चित्त दुखाउनुहुन्न । यसरी तपाइँ असल ज्ञानी बन्न सक्नुहुन्छ र अरुलाई पनि त्यस्तै बनाउन सक्नुहुन्छ । विपश्यना ध्यानबाट हुने लाभ यही हो । यसलाई अझ गहिरोसँग बुझ्न कम्तिमा एकपटक दश दिने ध्यान शिविरमा बस्नैपर्ने हुन्छ । सामान्य कखरा सिक्न हरेक महिनाको अन्तिम शनिबार दिउँसो एघार बजे दाङ घोराही नगरपालिकाअन्तर्गत तेरांैटेको बृद्धाश्रममा विपश्यना ध्यानसम्बन्धी कार्यक्रम राखिएकोले इच्छुकहरुले लाभ उठाउन सक्नुहुनेछ ।
०००

By

Readers Comments (0)