Filed Under:  कविता

‘भन्सरिया’हरु | छविलाल कोपिला

5th December 2015   ·   0 Comments

Kopila-17त्यो मध्यरातमा
जब, उत्तर–पूर्वको कुनामा सप्तऋषि तारा उदाउँछ
उसँगै उठ्छन्, ‘भन्सरिया’हरु
छोट्की, खझ्ली, सँझ्ली र मझ्लीहरु पनि
कोइ ‘कुठ्ली’ छाम्दै
कोइ ‘भर्कन’ सुमसुम्याउँदै
कोइ ‘चँचरा’ समाउँदै
कोइ बच्चा कुल्चिदै
कोइ यता ठोक्किदै, कोइ उता लड्दै
यी सबैका कहानी उस्तै छ
जति गरे पनि
‘आँन’ फुटेर सकिएको ‘डेह्री’को पिंढ जस्तो ।

यता जब ‘टाकुन–झ्याङ्ग, टाकुन–झ्याङ्ग’
गर्दै थकित ढिंकी आँग ढलमलाउँछ
शुरु हुन्छ उनीहरुको कर्मयुद्ध ।
र, त्यहाँ प्रष्ट दृष्टिगोचर हुन्छ
‘छोट्की’लाई ‘ओंख्री’मा आफ्नो भाग्य कुटेको
‘खझ्ली’लाई ‘मुस्रा’सँग संघर्ष गर्दै
छिट्रिएका आफ्ना कर्म सम्हालिरहेको
‘सझ्ली’लाई धर्मराउँदै गरेको
जीउ सम्हाल्न ‘टेकवा’ लगाइरहेको
र, ‘मझ्ली’लाई ‘चुक्का’ समातेर
जबर्जस्ती आफ्नो जिन्दगी धकेलिरहेको ।
तर, यता खुन्झुन, खुन्झुन ‘खुन्झुनियाँ’को सुमधुर संगीतमा
निद्री नाच नाचिरहेकी छे ‘बर्का कोन्टी’मा ‘गढुनियाँ’ ।

मैले देखेको छु– भन्सरियाहरुलाई
हरेक साँझ–बिहान
चुलोमा आफ्नो कर्म ठोसिरहेको
चुलेसीले आफ्नो जिन्दगी टुक्रा–टुक्रा पारिरहेको
निरस–फुस्रो आफ्नो जीउ बेसारले रंगाइरहेको
‘ढोनरियाँ पानी’मा आफ्नो भाग्य पखालिरहेको
सुपामा आफ्नो भविष्य केलाएको
अनि, जाँतोमा आफ्नो यौवन पिसिरहेको ।

धेरै पटक देशमा ठूलै तरंग आयो
मानवअधिकार, महिला अधिकार,
बन्द, हड्ताल, चक्काजाम,
आन्दोलन, जनआन्दोलन, जनयुद्ध,
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ….।
तर खै ! उनीहरुले यो सुने या सुनेनन् ?
चाल पाए या पाएनन् ?
उनीहरुले भान्सामा चुलो बन्द गरेको
ढिंकी–जाँतो बन्द गरेको
चुलेसी, डाडु–पन्यू बन्द गरेको
समाचारले कहिल्यै भनेन
न कसैले कसैको विरुद्ध मुद्दा दायर गरेको
न कसैले कसैको विरुद्ध
झुठो आरोप लगाएको हल्ला सुनियो
उनीहरु त, क्रमशः छोट्की, खझ्ली, सँझ्ली र मझ्ली
आलो–पालो गर्दै
भान्से–विधानको नीति–नियममा बाँधिए
सायद, त्यसैले होला
उनीहरुलाई संविधान के हो ? थाहा छैन
गैरमान्छेजस्तै
उनीहरु त सुनेर पनि नसुने झैं
थाहा पाएर पनि थाहा नपाए झैं
सधैं मेसिन झैं आफ्नो कर्ममा जोतिन्छन् ।

खै ! उनीहरुको यो बाध्यता, विवशता या कर्तव्य के हो ?
थाहा छैन,
तर, यत्ति कुरा थाहा छ– सुन्दर जीवन बाँच्न
र, सुन्दर सपना पूरा गर्न कर्म गर्नुपर्छ ।
०००

By

Readers Comments (0)