Filed Under:  मनोरञ्जन

ओझेलमा परेका गायक ज्ञानेन्द्र

5th December 2015   ·   0 Comments

गीत संगीतको क्षेत्रमा प्रतिभा भएर पनि ओझेलमा परेको नाम हो ज्ञानेन्द्र स्वर्णकार । २०४० सालमा दाङको मानपुरमा जन्मिई देउखुरी क्षेत्रलाई कर्मथलो बनाएका ज्ञानेन्द्रलाई दङ्गाली सांगीतिक क्षेत्रमा ओझेलमा परेका प्रतिभा भन्दा फरक नपर्ला ।

२०५४ सालमा रेडियो नेपालको बाल गीत प्रतियोगितामा तेस्रो स्थान ओगटेर गीतसंगीतको क्षेत्रमा पाइला चालेका ज्ञानेन्द्रका हालसम्म छ वटा गीत बजारमा आएका छन् । चर्चाको शिखरमा रहेका ती गीतहरुले त्यो बेला नेपाली बजार राम्रैसँग तताएका थिए । स्कुल पढ्दादेखि नै गीतसंगीतप्रतिको रुचिलाई २०५५ सालमा गायिका लोचन भट्टराईसँग गाएको ‘आँखा मेरा आँसुका सागर…’ बोलको गीतले उनलाई पनि सांगीतिक क्षेत्रमा गायकको रुपमा परिचित गराइदियो ।

स्कूलमा हुने साँस्कृतिक कार्यक्रमहरुमा नछुटाई गीत गाउने उहाँलाई त्यो बेला गायक रामकृष्ण ढकालकै रुपमा स्कुले साथीहरुले बुझ्दथे । त्यो बेलाको स्कुले जीवन सम्झदै सुनाए, ‘रामकृष्ण ढकालको जमाना थियो, मैले पनि रामकृष्णका गीतहरु उस्तै गाउन सक्दथे । सामान्य कार्यक्रमदेखि लिएर लमही बजारमा हुने सांगीतिक कार्यक्रमहरुमा साथीहरु मलाई रामकृष्णकै गीत गाउन सल्लाह दिन्थे ।’

२०५७ सालमा राजेश क्षेत्रीको संगीतमा ‘फूलहरुको बीचमा छु भन्थे…’ बोलको आधुनिक गीत बजारमा ल्याएर नेपाली सांगीतिक स्रोतामाझ अब्बल गायकको दर्जामा आफूलाई उभ्याउन सफल ज्ञानेन्द्र देउखुरी क्षेत्रका राम्रो गायकका रुपमा पर्छन् । आधुनिक गायनसँगै दोहोरी गायनमा पनि त्यतिकै खुबी भएका ज्ञानेन्द्रले गायिका कोमल वली र सिन्धु मल्लसँग लोकदोहोरी भाकाका गीति क्यासेटहरु पनि बजारमा ल्याएका छन् ।

२०६० सालमा कोमल वलीसँग मिलेर गाएको ‘दुःख पाइया छ, मलाई घर धान्ने केटी चाइया छ’ बोलको लोकदोहोरी भाकाले त्यो बेला देशैभरि खुबै चर्चा पाएको थियो । त्यो क्षण सम्झदै गायक ज्ञानेन्द्र भन्छन्, ‘कोमल दिदीसँग गाएको त्यो गीत अलि बेग्लै स्वादमा भएको हुनाले होला मलाई मात्र होइन्, लोकदोहोरी बिधामा कोमल दिदीलाई पनि चर्चित बनाएको थियो । चट्किलो अनि ठट्यौली पाराको त्यो गीत त्यो बेला खुबै मागमा परेको थियो ।’

प्रतिभा भएर पनि निम्न आर्थिक अवस्थाका कारण गीतसंगीतमा टिकिरहन नसकेर बिदेश पलायन भएका ज्ञानेन्द्र उता बस्दा पनि गीत संगीतबाट टाढा हुन सकेनन् । छुट्टीमा आएको मौकामा गीत रेकर्ड गरेर फर्कने गर्थे उनी । उनी भन्छन्, ‘उताको बसाइमा पनि गीत संगीतबाट टाढा हुन सकिनँ, बैदेशिक रोजगारीकै सिलसिलामा पनि मैले तीन पटकको छुट्टीमा आउँदा तीनवटा गीत रेकर्ड गराएको थिएँ ।’

बैदेशिक रोजगारीबाट फर्किएपछि व्यापार व्यवसाय गर्दै आएका ज्ञानेन्द्रले अबको केही महिनाभित्र आफ्नो एकल आधुनिक गीति एल्बम निकाल्ने तयारी गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘आफ्नै शब्द र स्वरमा चारवटा गीत रेकर्ड गरिसकेको छु । छिट्टै यी गीतहरुको बेग्लै एल्बम बनाएर बजारमा ल्याउने तयारी गरिरहेको छु ।’

प्रस्तुति : दीपक घिमिरे

By

Readers Comments (0)