Filed Under:  विचार | टिप्पणी

दुर्गम भेगदेखि राजधानीसम्म रुकुम साहित्यमाला

5th December 2015   ·   0 Comments

Kamalmani Devkota- कमलमणि देवकोटा

राप्ती अञ्चल विविध साहित्यिक गतिविधिले भरिपूर्ण अञ्चल हो । जहाँ विभिन्न साहित्यिक एवं साँस्कृतिक संघ/संस्थाहरूद्वारा वार्षिक, द्वैमासिक, मासिक आदि औपचारिक एवं अनौपचारिक गतिविधिहरू भई नै रहेका छन् । जसले साहित्य, संगीत, कला र संस्कृतिमा कलम चलाउने स्रष्टाहरूका लागि हौसला थप्नुका साथै यस क्षेत्रको साहित्यिक उन्नयनका निम्ति निकै नै उपयोगी अर्थात प्रभावकारी सिद्घ भएका छन् । यसैको एक सशक्त उदाहरणमध्येको क्रियाशील साहित्यिक संस्था हो राप्ती साहित्य परिषद् । बि.सं. २०३४ सालमा दाङ जिल्लामा स्थापित राप्ती अञ्चलको सबैभन्दा जेठो र क्रियाशील यस क्षेत्रका धेरै स्रष्टाहरुमा सुपरिचित साहित्यिक संस्था हो । जो हाल राप्ती अञ्चलका पाँचवटा जिल्ला शाखाहरूको नामबाट आ–आफ्ना साहित्यिक गतिविधिहरूलाई अगाडि बढाइरहेका छन् ।

वर्तमान समयमा यिनै गतिविधिमा संलग्न रहेको छ राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम । जसका निम्नानुसारका केही उदाहरणीय गतिविधिहरूबाट धेरै कुराहरू नियाल्न सकिन्छ । यसै परिप्रेक्षमा आफ्ना सिर्जनशील रचनात्मक कार्यहरूलाई निरन्तरता दिने सन्दर्भमा जिल्ला शाखा रुकुमले पनि विविध किसिमका साहित्यिक गतिविधिहरुलाई निरन्तर रुपमा अगाडि बढाइरहेको छ । यसैका उदाहरणहरु मासिक रुपमा सञ्चालन गरिदै आएको रुकुम साहित्य माला, द्वैमासिक एकल रचना वाचन कार्यक्रम, साप्ताहिक रेडियो कार्यक्रम साहित्यमाला लगायतका औपचारिक एवं अनौपचारिक कार्यक्रमहरु ।

यिनै कार्यक्रमहरुमध्य निरन्तर रुपमा सञ्चालन हुँदै आएको एक प्रभावकारी कार्यक्रम हो रुकुम साहित्यमाला । २०७१ आषाढ महिनाको पहिलो शनिबारदेखि एउटा मासिक साहित्यिक कार्यक्रमको थालनी भयो ‘रुकुम साहित्यमाला’ नाम दिएर । जो हरेक महिनाको पहिलो शनिबारका दिन गर्ने गरी रुकुम मुसिकोट निबासी त्यसै जिल्लाका स्थानीय विकास अधिकारी भरतकुमार शर्माको व्यवस्थापनमा उहाँकैै घरबाट सुरु गरिएको थियो । यसरी मासिक रुपमा चलेका श्रृङ्खलाबद्घ कार्यक्रमहरूलाई नियाल्दा हालसम्मका कार्यक्रमहरु निकै उत्साहबद्र्धक तवरले सञ्चालन हुँदै आइरहेको अवस्था छ । अग्रज एवं नवस्रष्टाहरू एउटै थलोमा बसी आ–आफ्ना साहित्यिक भावनाहरू साटासाट गर्ने एवं यस क्षेत्रको साहित्यिक उन्नयनमा जोड दिने उद्देश्यले शाखाले आफ्नै आयोजनामा यस्तो गतिविधि सञ्चालनमा ल्याएको हो । यस श्रृङ्खलाबद्घ कार्यक्रमलाई सुव्यवस्थित गर्नका लागि हरेक कार्यक्रममा एक÷एकजना व्यवस्थापक चयन गरी एवं स्थानसमेत तोकी सञ्चालन गरिंदै आएका यी श्रृङ्खलाहरू हाल २०७२ मंसिरसम्म १८ वटा पुगिसकेका छन् ।

जस अनुसार पहिलो श्रृङ्खला गत वर्ष २०७१ आषाढ ७ गते रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माको व्यवस्थापनमा उहाँकै निवासस्थान मुसिकोट न.पा. ६ सेरिगाउँमा सम्पन्न भएको थियो । यसरी कार्यक्रमको सुरुवात गर्दा स्रष्टाहरुमा हौसला थपिदै गएपछि दोश्रो श्रृङ्खला २०७१ श्रावण ३ गते रुकुमका तत्कालीन कोष तथा लेखानियन्त्रक पूर्ण वलीको व्यवस्थापनमा उहाँकै गाउँ सोलावाङमा, तेश्रो श्रृङ्खला २०७१ भाद्र ७ गते तीज पर्व बिशेषका रुपमा परिषद्को आफ्नै व्यवस्थापनमा स्थानीय कालिका मन्दिरको परिसर खलंगामा, चौथो श्रृङ्खला २०७१ आश्विन ४ गते त्रिभुवन जनता उच्च मा.वि.खलंगाका प्राचार्य मिनबहादुर पुनको व्यवस्थापनमा उक्त विद्यालयमा, पाँचौं श्रृङ्खला २०७१ कार्तिक १ गते नागरिक समाज रुकुमका अगुवा डा.नवराज गौतमको व्यवस्थापनमा उहाँकै निवासस्थान मुसिकोट न.पा. १ मा र छैठौं श्रृङ्खला २०७१ मंसिर ६ गते शिक्षक प्रमोदकुमार शर्माको व्यवस्थापनमा उहाँकै निवासस्थान मुसिकोट न.पा. १ मा, सातौं श्रृङ्खला २०७१ पौष ५ गते नदीराम के.सी.को व्यवस्थापनमा रुकुमको मग्मामा, आठौं श्रृङ्खला २०७१ माघ ३ गते मुसिकोट बहुमुखी क्याम्पसको व्यवस्थापनमा मुसिकोटमा, नवौं श्रृङ्खला २०७१ फाल्गुण २ गते पूर्णबहादुर खड्काको व्यवस्थापनमा मुरु गा.वि.स.को स्थानीय पर्यटन केन्द्र राजकोटमा र दशौं श्रृङ्खला २०७१ चैत्र ७ गते सिम्रुतु क्याम्पसको व्यवस्थापनमा रुघा सिम्रुतुमा सम्पन्न भए ।

यसैगरी एघारौं श्रृङ्खला २०७२ बैशाख ५ गते आफ्नै व्यवस्थापनमा आदिवासी सांस्कृतिक महोत्सव तकसेरा रुकुममा, बाह्रौं श्रृङ्खला २०७२ जेष्ठ २ गते प्र.अ. ईश्वर शाह (हाल स्वर्गीय)को व्यवस्थापनमा मा.वि.साँखमा, तेह्रौं श्रृङ्खला २०७२ आषाढ ५ गते परिषद्को आफ्नै व्यवस्थापनमा स्थानीय बालमन्दिर मुसिकोटमा, चौधौं श्रृङ्खला २०७२ श्रावण २ गते मणिराम गौतमको व्यवस्थापनमा रुकुमकोटमा, पन्ध्रौं श्रृङ्खला २०७२ भाद्र ५ गते प्राचार्य खड्गबहादुर कुवँरको व्यवस्थापनमा मुनलाइट बोर्डिङ स्कूल मुसिकोटमा, सोह्रौं श्रृङ्खला २०७२ आश्विन २ गते प्र.अ.गोविन्दबहादुर ओलीको व्यवस्थापनमा उ.मा.वि. झुलखेतमा, सत्रौं श्रृङ्खला २०७२ कार्तिक ७ गते सिर्जनशील युवा क्लव मुसिकोट न.पा. रुकुममा र अठारौं श्रृङ्खला २०७२ मंसिर ५ गते आफ्नै व्यवस्थापनमा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न भैसकेका छन् । यसरी यी श्रङ्खलाहरु विभिन्न स्थानमा निकै उत्साहपूर्वक सञ्चालन हुँदै आएका छन् । यस किसिमका गतिविधिले गर्दा दुर्गम एवं ग्रामीण भेगका ओझेलमा परेका स्रष्टाहरूलाई समेत प्रस्तुतिको अवसर मिलेकोे छ भने अग्रज स्रष्टाहरुसँग समेत भेटघाट र चिनारीको शुभअवसर मिल्दै आएको छ । साथै विनाभेदभाव सबै स्रष्टाहरू एकैसाथ रम्नु र साहित्य सिर्जनामा सबैलाई हौसला बढ्न जानु पनि निकै महत्वपूर्ण पक्ष हो ।

यसरी कतिपय बिकट स्थलहरुमा भौगोलिक कठिनाइको समेत सामना गर्दै भए पनि राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष गिरिप्रसाद बुढा नेतृत्वका वर्तमान पदाधिकारीहरु पुगी कार्यक्रमलाई सम्पन्न गर्न सफल भएका छन् । रुकुमका यिनै जाँगरिला स्रष्टाहरु जो दुई/तीन घण्टाको मात्रै पैदल यात्रा नभएर दुइ÷तीन दिनसम्म पनि हिडेर कार्यक्रमहरु सफल पारेका उदाहरणहरु ताजै छन् । चाहे रुकुमको बिकट तकसेरा होस्, चाहे मुरुको राजकोट होस्, चाहे मग्मा या अन्य यस्ता धेरै स्थलहरुमा खिइएका छन् यी स्रष्टाका पैतलाहरु । यसमा उनीहरुको शारीरिक एवं मानसिक थकान त छँदैछ अझ त्यसमा पनि स्वयं आफैले नै आर्थिक व्ययभार गरेर पुग्नु अर्काे चर्चा गर्नलायक विशेषता मान्नुपर्छ । ग्रामीण भेगका पाका होऊन् वा नवस्रष्टा जो कहिल्यै पनि औपचारिक कार्यक्रमहरुमा सहभागी बन्न नसकेकाहरुले आ–आफ्ना रचनाहरु प्रस्तुत गर्न पाउनु र स्रष्टाहरुबीच समुन्वय एवं सद्भाव बढ्नु पनि चानचुने कुरा होइन । जसबाट उनीहरुमा समेत हौसला बढ्न जानुको साथै यसरी सार्वजनिक हुनु पनि निकै ठूलो पे्ररणाको कुरा हो ।

यसरी रुकुम साहित्य माला केवल रुकुम जिल्लामै मात्र सीमित रहेन कि राजधानी काठमाडौंमा समेत पुगेर आफ्नो मासिक नियमित कार्यक्रम सु–सम्पन्न गरेको छ । यही २०७२ मंसिर ५ गते आफ्नो मासिक नियमित कार्यक्रमको अठारौं श्रृङ्खला नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादी काठमाडौंमा भव्य समामरोहका बीच सम्पन्न गर्न सफल भएका छन् यी रुकुमेली स्रष्टाहरु । जसले गर्दा स्रष्टा–स्रष्टाहरुबीच सुमधुर सानिध्यता त गाँसिने नै भयो अझ त्यसमा पनि संस्थाको सर्वत्र चिनारी गराएका छन् उनीहरुले । यसरी अथक शारीरिक कठिनाई, दृढ मानसिक सोच र स्वस्फूर्त आर्थिक व्ययभार गरेर सकारात्मक सोच बोकेका यी रुकुमेली स्रष्टाहरुले जुन साहस देखाएका छन्, प्रशंसा नगरी करै छैन । कुनै पनि औपचारिक कार्यक्रमहरु सञ्चालन गर्दा होस् या यातायात या खाना÷खाजा खर्च किन नहोस् सधैँ सबै रकम आ–आफैले नै ब्यहोरेर ज्वलन्त उदाहरण बनेका छन् उनीहरु । यसले पक्कै पनि आफूलाई “साहित्य, संगीत, कला र संस्कृतिमा रमाउने अब्बल दर्जाको स्रष्टा हुँ” भन्ने अनि केही आर्थिक अवस्थासमेत सुदृढ भएका तर यस क्षेत्रमा लगानी गर्नुपर्दा मुठ्ठी कस्ने साहित्यिक मनलाई एक गम्भीर चुनौती हो भन्न अप्ठ्यारो नपर्ला ? बरु यसबाट हामी सबैले केही न केही पाठ त पक्कै पनि सिक्नु नै पर्ला कि ?

अन्त्यमा रुकुमका दुर्गम भेगदेखि राजधानी काठमाडौंसम्म पुगेर आफ्ना नियमित मासिक कार्यक्रम “रुकुम साहित्य माला”का डेढ दर्जन श्रृङ्खलाहरु निकै उत्साहजनक तवरले सम्पन्न गर्न सफल भएका यी मनहरुको साहित्यिक यात्रा अझ गतिशील हुँदै अघि बढोस् भन्दै अत्यन्तै उत्साही मनका यी रुकुमेली स्रष्टाहरुमा साधुवाद !
०००

By

Readers Comments (0)