Filed Under:  व्यक्ति

नित्यानन्दको काव्यिक धरातल | टीकाराम उदासी

5th December 2015   ·   0 Comments

Tikaram Udasiनेपाली साहित्यको उन्नयनमा राप्तीका स्रष्टाहरुले गरेको योगदान निश्चय नै महत्वपूर्ण छ । साहित्यका विभिन्न विधा र उपविधाहरुमा राप्तीका स्रष्टाहरुले लामो समयदेखि कलम चलाउँदै आइरहेका छन् । यस क्रममा विभिन्न पुस्ताहरुको सक्रियता उल्लेख्य रहेको देखिन्छ । मूलतः चार पुस्ताका प्रतिभाहरु आज राप्तीको सिर्जना कर्ममा लागिपरेका छन् । तीमध्ये नित्यानन्द शर्मा दोस्रो पुस्ताका प्रतिभा हुन् । दाङको सदरमुकाम घोराहीसँगै जोडिएको अम्बापुर गाउँमा बि.सं. २००९ सालमा जन्मिएर दाङलाई नै निरन्तर कर्मथलो बनाउँदै आएका शर्माले साहित्यजगत्का साथै यस क्षेत्रको सामाजिक र शैक्षिक क्षेत्रमा पनि योगदान गरेको तथ्यलाई बिर्सन सकिदैन ।

नित्यानन्द शर्माका परिचयका हरफहरु धेरै छन् । मूलतः उनी एउटा स्रष्टा हुन् । त्यसमा पनि उनी यस क्षेत्रका बलिया कथाकार हुन् । उनको बाँच्ने रहर कथासङ्ग्रह (२०४५) राप्तीक्षेत्रकै पहिलो प्रकाशित कथाकृति हो । यसबाहेक उनका अन्य विभिन्न कथाहरु पत्रपत्रिकामा छरिएका छन् । उनी बाल साहित्यकार पनि हुन् । उनका केही बालगीतहरु रेडियो नेपालबाट प्रसारण हुन थालेको समय पनि धैरै भइसक्यो । उनको ‘जूनमामा’ नामक बालगीतसङ्ग्रह पनि प्रकाशित भएको छ । यस्तै उनका केही गीतहरु रेकर्ड भएर नेपाली सङ्गीतका श्रोतासमक्ष आइसकेका छन् ।

कविताका पुस्तकाकार कृतिहरु प्रकाशित नभएका भए पनि उनले धेरै कविताहरु लेखेका छन् र ती लामो समयदेखि पत्रपत्रिकाहरुमा प्रकाशित पनि हँुदै आएका छन् । उनले बुह्रान नामक चलचित्रको कथा पनि लेखेका छन् भने केही चलचित्रमा अभिनय पनि गरेका छन् । यसर्थ उनी एउटा कलाकार पनि हुन् । उनी सामाजिक अभियन्ता हुन् । त्रिभुवननगर जेसिज, परिवार नियोजन सङ्घ, दाङका पूर्व अध्यक्ष र राप्ती साहित्य परिषद्, लेखक सङ्घ दाङ आदिमा लामो समयदेखि सक्रिय शर्माले अन्य दर्जनौं सङ्घ संस्थाहरुमा खेलेको भूमिकाले यसको पुष्टि गर्दछ । लामो समयदेखि राप्तीको एउटा महत्वपूर्ण र ऐतिहासिक शैक्षिक केन्द्रका रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर दाङको उपलाइब्रेरियन पदमा कार्यरत शर्मा पछिल्लो समयमा यस क्षेत्रमा विभिन्न पुस्तकालय स्थापना र सुधारका क्षेत्रमा पनि लागिपरेका देखिन्छन् ।

साहित्यकार नित्यानन्द शर्मा

साहित्यकार नित्यानन्द शर्मा

राप्तीको साहित्य जगत्मा नित्यानन्द शर्मा मूलतः कथाकारका रुपमा परिचित भए पनि कविता र गीत विधाहरुमा उनले पु¥याएको योगदान पनि महत्वपूर्ण नै रहेको छ । त्यसमा पनि उनको औपचारिक सिर्जनायात्रा कविता विधाबाटै प्रारम्भ भएको हो । उनको पहिलो प्रकाशित रचना २०२५ साल जेष्ठमा तत्कालीन प.प.हाइस्कुल तथा हालको पद्योदय पव्लिक उच्च मा.वि. भरतपुर दाङको मुखपत्र ज्योत्सनामा बिदेश नजाऊ शीर्षकको कविता हो । झण्डै पाँच दशक लामो सिर्जनायात्रापछि उनले गएको कार्तिकमा राप्ती साहित्य परिषद्को नियमित एकल रचनावाचन कार्यक्रमको एउटा श्रृङ्खलामा एउटा कविका रुपमा उपस्थित भएर आफ्ना डेढ दर्जन कविताहरु प्रस्तुत गरे । यस क्षेत्रका स्रष्टा र पाठकहरुमाझ सुपरिचित हँसिलो अनुहार र जोशिलो आवाज लिएर देखिएका कवि नित्यानन्दको कार्यक्रमलाई साथ दिन आफ्ना केही पारिवारिक सदस्यहरुको पनि लोभलाग्दो उपस्थिति थियो । यस दृष्टिले उनको कार्यक्रम अनुकरणीय र प्रेरक पनि बन्न सफल भएको प्रतिक्रिया धेरैले दिएका थिए ।

सधैँजसो राप्ती साहित्य परिषद्को हलमा उपस्थित हुने विभिन्न उमेरपुस्ताका स्रष्टा, श्रोता र पाठकहरुका माझ कवि नित्यानन्द शर्माले आफ्ना सिर्जनाहरु प्रस्तुत गरेका थिए । आफ्नो एकलवाचन कार्यक्रममा शर्माले करिब डेढ दर्जन कविताहरु सुनाएका थिए । उनले सुनाएका कविताका शीर्षकहरु थिए —बिदेश नजाऊ, बन्द छ, नारी, पर्वहरु, बालवर्ष, भेद हटाऔं, बगरे टहरोका बस्तीहरु, फेरिदैछन् बस्तीहरु, बहिनीलाई, परिवेश, आँसु खस्यो, माटो भन्छ, सलाम छ हाम्रो, मेरो लाहुरे, स्रष्टा, सिर्जना र कर्म, तिमी र म, मेरो कवि । यस्तै उनको चर्चित जूनमामा नामको बालगीत केटाकेटीहरुले गाएर प्रस्तुत गरेका थिए भने त्यस अवसरमा गायक डा.गोविन्द आचार्यले धेरै पहिले आफ्नै स्वर र सङ्गीतमा गाएको शर्माको एक धर्को सिन्दुरैले बोलको गीत पनि प्रस्तुत गरेका थिए ।

एकल वाचनमा प्रस्तुत भएका कवि नित्यानन्द शर्माका कविताहरुमा उनको झण्डै पाँच दशक लामो काव्यिक यात्राको प्रतिबिम्ब र प्रवृत्तिगत प्रतिनिधित्व मुखरित भएको थियो । गणितीय अनुपातका दृष्टिले उनले जम्मा डेढ दर्जन रचना मात्र सुनाएका थिए तर ती रचनाको कथ्य, शैली र प्रस्तुतिहरुले भने करिब–करिब कवि शर्माको समग्र कवितायात्राका प्रमुख प्रवृत्तिहरुलाई उजागर गर्न सफल देखिएका थिए । यस दृष्टिले पनि उनको एकल रचनावाचन आफैमा एउटा ऐतिहासिक आधारशीला हो भन्न सकिन्छ ।

कार्यक्रममा उनले वाचन गरेका माटो भन्छ जस्ता केही कविताले राष्ट्रप्रेम र देशभक्तिको भावनालाई प्रस्तुत गरेका थिए । त्यस्तै सलाम छ हाम्रो, मेरो लाहुरे, स्रष्टा, सिर्जना र कर्म प्रभृत्तिका कविताहरुले सामाजिक जागरणका स्वर बोकेका थिए । उनका बन्द छ जस्ता कविताले समकालीन नेपाली समाजका सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक क्षेत्रका बहुरुपी विसङ्गतिहरुमाथि चोटिलो प्रहार गरेका थिए ।

यस्तै मेरो कवि आदि कवितामा मूल्यहीनता र स्खलनप्रति तीखो व्यङ्ग्य हानिएको थियो । उनको कवितामा भेटिएको एउटा अति महत्वपूर्ण प्रवृत्तिका रुपमा रहेको थियो जातीय विभेदको मुखर विरोध । भेद मेटाऔं, नगर हेला, पर्खाल तोडौँ आदि कविता यसका बलिया साक्षीहरु थिए । यस्तै समकालीन चेतना बोकेका फेरिदैछन् बस्तीहरु, तिमी र म जस्ता कविताहरु पनि उल्लेखनीय बनेका थिए । उनले प्रेमप्रणयजन्य पीडा र सुस्केराहरुलाई एकै धर्को सिन्दूरैले नामक गीतमार्फत् सुसेलेका थिए भने नारी शीर्षकको कवितामा नारीप्रतिको सम्मान र आदर प्रकट गरेका थिए ।

उनका बगरे टहरोका आश्रितहरु, पर्वहरु, सर्कसका मान्छेजस्ता कविताहरुमा सधैँ उपेक्षित र शोषित समाजका भुइँमान्छेहरुप्रति सहानुभूति दर्शाइएको थियो । यस्तै गर्दैनन् माफ जनता शीर्षकको कवितामा सामाजिक न्याय र परिवर्तनको पक्षमा वकालत गरिएको थियो भने बिदेश नजाऊ शीर्षकको कवितामा उनले लाहुरे संस्कृतिले जन्माएका पीडा र माटोप्रतिको समर्पणलाई निकै मार्मिकतासाथ प्रस्तुत गरिएको थियो ।

यसरी उनका कविताहरु भावगत विविधता, मानवतावादी दृष्टिकोण, सामाजिक जागरण, देशप्रेमका नमूना र समकालीन समाजका अँँध्यारा प्रदेशहरुलाई उद्घाटन गर्न सक्षम रहेका देखिन्थे । आयामका दृष्टिले उनका कविताहरु लघु र मझौला प्रकृतिका थिए भने भाषा प्रयोगका हिसाबले कविताहरु निकै सरल र अनुप्रासमय थिए । सामान्य पाठकश्रोतादेखि बौद्धिक क्षेत्रका पाठकश्रोता सबैका लागि उत्तिकै प्रभावकारी उनका कविताले एउटा पुस्ताकै सिर्जनात्मक प्रवृत्तिलाई प्रतिनिधित्व गरेको देखिन्थ्यो ।

बोझिल प्रयोगशैली तथा क्लिष्ट बिम्ब र प्रतीकको भरमार प्रयोगले समृद्ध नभए पनि उनका कविताहरु सम्प्रेषणीय अभिव्यक्ति कला र बहुविध भावसन्धानका दृष्टिले भने उल्लेखनीय थिए । कार्यक्रममा बसिरहँदा समग्रमा उनी एउटा जागरण र मानवतावादी कविका स्थापित बनेको स्पष्ट हुन्थ्यो । साथै उनका कविताहरुमा निराशा र पलायनको भाव होइन, जीवनवादी स्वर तीव्र रुपले मुखरित भएको देखिन्थ्यो । सायद यही नै कवि नित्यानन्द शर्माको समग्र काव्यिक सिर्जनाको धरातल, प्रवृत्ति र शक्ति हो भन्ने मलाई लाग्दछ ।

०००

By

Readers Comments (0)