Filed Under:  संस्मरण | निबन्ध, सौगात विशेष

स्कर्टिङ यात्रा | विनोद केसी

5th December 2015   ·   0 Comments

binod_kcकाम विशेषले मलाई दाङबाट पूर्वी नेपालको मोरङ र सुदूरपश्चिमको कैलालीसम्म पुग्नुपर्ने स्थिति आइलाग्यो ।

हाम्रो अनुभवका आधारमा यतिबेला नेपाल इतिहासकै कठिन मोडमा उभिएको छ । प्रायः सबै क्षेत्र अस्तव्यस्त बनेको छ । यस्तो बेला यात्रा गर्नु सजिलो हुने कुरै भएन । भयो त्यस्तै ।

केही दिन पहिले दाङको घोराहीबाट विराटनगरको रात्री बसमा दिउँसो ३ बजे यात्रा सुरु भयो । त्यस दिन पूर्वका लागि छुटेको बस राप्ती समितिको परेको रहेछ । त्यही त हो सार्वजनिक बसको यात्रा, कोही झोला बोकेको मान्छे बाटोमा देखियो कि कहाँ जाने हो ? भनेर रोकिहाल्छन् । टाढाको यात्रामा ननस्टप भने पनि ताल त उही हो । सजिलो पर्दा मस्तराम, अप्ठ्यारो पर्दा आत्तिने नेपालीहरुको बानी हो । झन् बस स्टाफहरु । राती करिब ११ बजेतिर नवलपरासीको डण्डामा खाना खुवाउन पु¥यायो बसले ।

सार्वजनिक बसहरुले खाना खुवाउन रोक्ने राजमार्गका होटेल/ठाउँको के कुरा गर्नु ? जेनतेन खानापछि हाम्रो बस अगाडि बढ्यो । चितवनको नारायणघाटमा पुगेपछि बल्ल बसका स्टाफहरुले हतार गर्न थाले । स्टाफहरुले भने, ‘अब बस कतै रोक्दैन है समयमा स्कर्टिङ गर्ने ठाउँमा पुग्नुपर्छ । नत्र भोलि दिनभरि त्यहीं बस्नुपर्छ । राति मात्रै स्कर्टिङ हुन्छ ।’ त्यति भनेपछि कोही बोल्ने कुरा पनि भएन । सबैलाई समयमै ठाउँमा पुग्नुपर्ने । सबै चुपचाप बसे । बसको स्पीड केही बढ्यो । मनमनै लाग्थ्यो– अहिले आएर यति हतार गर्नुभन्दा बाटोमा आउँदा किन ‘लोकल सेवा’ दिदै आउनुप¥यो होला यी गाडीका स्टाफहरुलाई ? तर, हामीले भनेर भएन । ठाउँ–ठाउँमा यात्रु ओराल्नलाई घचक्क रोक्ने र छिटो झर्नुस् है भन्दै गाडी कुदाउने काम नगरेको भए यतिबेला धेरै अगाडि पुगिसकेका हुन्थ्यौं कि सायद ।

escort.jpegचितवनबाट अगाडि हेटौंडा, बाराको पथलैया, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको बर्दिबास हुँदै बिहान ३ बज्नै लाग्दा स्कर्टिङ गर्ने ठाउँमा पुगियो । हामी पुगेको पाँच मिनेट अगाडि स्कर्टिङ शुरु भइसकेछ । हाम्रो बस अगाडि तीन–चारवटा मात्र गाडी थिए । प्रहरीले रोकिराखेको रहेछ । बसका स्टाफहरुले ‘लौ खतम भयो, अब भोलि दिनभरि नि यहीं बस्नुपर्ने भयो’ भन्न थाले । निदाएका यात्रुहरुको पनि निन्द्रा भङ्ग भयो । म त रात्रीकालीन यात्रामा कहिल्यै राम्रोसँग ननिदाउने मान्छे । देखेजति सबै गतिविधिहरु नियालिरहेको थिएँ ।

स्कर्टिङ सुरु भएको पाँच मिनेट मात्र भएकोले भेटाउन सकिन्छ कि भनेर अनुरोध गरेपछि हामीलगायत त्यहाँ रोकिएका गाडीहरुलाई प्रहरीले छोडिदियो र हाम्रो बस अगाडि बढ्यो । बस यसरी गुड्यो कि हावाको वेगमा उडेको हो कि बाटोमा गुडेको ? छुट्याउनै गाह्रो । अघिसम्म निदाएका यात्रुहरु सिटका डण्डी समातेर कतै ‘केही’ भए हामफाल्न ‘स्टेनवाइ’ भएजस्तै थिए । केही अगाडि गएपछि स्कर्टिङ गरिरहेका गाडीहरु भेटिए । ओहोरदोहोर गरिरहेका गाडीहरु, वरपरको वातावरण र सडक गाडीका पूरै बत्तीले झिलिमिली थियो । गाडीहरु आफ्नै रफ्तारमा थिए । कसैलाई कसैको मतलब थिएन । लाग्थ्यो– बत्तीको झिलिमिलिले कुनै उत्सव हो यो । तर सबको मनभित्र नजानिदो त्रासले बास गरिरहेको थियो । एक मनले सोच्थ्यो– जिन्दगी अब यति मात्र हो सायद । आजको रात हाम्रो जिन्दगी खुकुरीको धारमा हिडिरहेको छ । ड्राइभरको हातमा थियो हाम्रो जिन्दगी ।

गाडीको स्पीडसँगै बिहानीको उज्यालो किरण फैलिदै थियो धरतीमा । सडकका किनाराहरुमा अँध्यारो हट्दै उज्यालो छाउँदै थियो । यसरी स्कर्टिङमा महोत्तरीबाट धनुषा, सिराहा, सप्तरी हुँदै अगाडि बढ्दै थियौं हामी ।

सुनसरीको भूभागमा पर्ने कोशी ब्यारेज काटिसक्दा बस्तीमा पुरै उज्यालोले छाइसकेको थियो । सडक किनाराहरुमा मान्छेहरु हाम्रो गाडीलाई नियालिरहेका थिए । तर हाम्रो गाडीको स्पिडमा कुनै कमी आएको थिएन । पूर्वबाट आउने कुनै पनि गाडीका अगाडिका सिसा थिएनन् । ड्राइभरका टाउकोमा हेल्मेट थिए । केही बसका अगाडि सिसा हुनुपर्नेमा जाली लगाइएको पनि देखियो । यस्तै दृश्य हेर्दै र तीव्र मानसिक तनावका बीच बिहान ६ बजे सुनसरीको इटहरी पुगियो ।

म त्यहीं झरें । एउटा होटलमा गएर आराम गरें । पश्चिम नेपालभन्दा पूर्वी नेपाल अलि विकसित भन्थे । तर होटेलहरुको अवस्था उही रहेछ । बिहान ९ बज्यो । इटहरी बसपार्क नजिकैको एउटा होटेलमा खाना खाने सुरसार कसेको त भात बासी पो रहेछ । केही प्रतिक्रिया नजनाई खाएँ । प्रतिक्रिया जनाउँ आफैलाई ढिला हुने । अनि त्यहाँबाट मोरङको जाँते गाविसतिर लागें ।

मोरङको जाँते गाविसमा करिब एक हप्ता बसियो । त्यहाँ बस्दा औपचारिक र अनौपचारिक रुपमा देशको अवस्था र पूर्वी नेपालको बारेमा स्थानीयबासीसँग कुराकानी र छलफल गर्ने मौका मिल्यो । सबैको ध्यान काठमाडौंतिर र मधेशी मोर्चाले आन्दोलन गरिरहेका केही ठाउँतिर थियो । सबैको जिज्ञासा थियो– अब के हुन्छ ? कोही भन्दै थिए– हाम्रो मोरङलाई २ नम्बर प्रदेशमा राखुन् त घर अगाडिबाटै आगो बालेर आन्दोलन सुरु गर्छौं । यो आन्दोलन त सिराहा, सप्तरी र पर्साको वीरगञ्जमा मात्र छ । हामीलाई के को अभाव छ र ? पेट्रोल हाल्नलाई पहिले बजार जानुपर्ने अहिले घर–घरमा आ’छ, अलिकति महंगो मात्र त हो । तर नेताहरु झुकून् मात्र हामीले पनि जानेका छौं भन्थे । तर मधेशी समुदायप्रति कुनै वैरभाव थिएन । थियो त मात्र १ नम्बरलाई २ नम्बर प्रदेशले माग्न मिल्छ ? यसैबेला केही मधेशी समुदायका मान्छेहरुसँग नि कुराकानी गर्ने मौका मिल्यो । उनीहरु नि भन्दै थिए– आफै विचार गर्नुस् त सर । प्रायः पहाडी समुदायहरुको यो मधेशमा बिघौं जग्गा जमिन छ हामी मधेशी समुदायको पहाडमा कतै जग्गा जमिन छ ? यसले गर्दा नि हामी मधेशी समुदाय कति पीडित छौं आफै भन्नुस् । यसमा हाम्रो गुनासो केही छैन । जता नि काम गरिखाने हो ।’

यस्तै कुराले आफूहरु उत्पीडनमा परेको महसुस गरे पनि नेताहरुको सत्ता स्वार्थका कारण मधेशका मुद्दाहरु छायामा परेका छन् । उनीहरु भन्दै थिए– ‘जो जहाँ भए पनि नेताहरु सबै सत्ता स्वार्थका लागि हो । हामी जनताको दुःख हेर्ने कोही छैन । चाहे त्यो मधेशी नेता होस् चाहे पहाडी । यही कुरामा दुबै समुदाय मिलेर बसेका छौं । यही नै हाम्रो एकता हो ।’

०००

पूर्वी नेपालको यात्रालगत्तै सुदूरपश्चिमको यात्रा गर्ने अवसर मिल्यो । पश्चिम पनि थारु समुदायले बन्द घोषणा गरेको थियो । बिहान ६ बजे घोराहीबाट धनगढीको लागि यात्रा सुरु भयो । ११ बजे खानापछि कोहलपुर बसपार्कबाट धनगढीको लागि गाडीको प्रतीक्षामा उभिएँ । गाडीवालाहरुको ताल त्यही न हो, ‘कता जाने हो’ भनेर ज्वाइँलाई सत्कार गरेजस्तै ‘यता हजुर’ भनेर झोला खोसिहाल्छन् । यही लुकामारीका बीच धनगढी जाने बसमा चढियो । त्यो गाडी पनि के कम ! रोक्दै–रोक्दै दिउँसोको २ बजे कैलालीको कर्णाली पुल छेऊको बजारमा पु¥यायो । हामीले त खाना खाइसकेका थियौं । तर गाडीवालाहरुले खाना खान अलि ढिला गरे । दुई मिनेट गाडी अगाडि बढाएको थियो– स्कर्टिङको लागि भनेर प्रहरीले रोकिहाल्यो । कति बजे हुन्छ त स्कर्टिङ भन्दा ४ बजे रे । केहीबेरपछि खबर आयो– ४ बजे नहुने भयो, ६ बजे मात्रै । सबै कराउन थाले त्यही त विश्वास छैन पुलिसवाला र गाडीवालाहरुको ।

खाली समयको कसरी सदुपयोग गर्ने ? कर्णाली आएपछि यहाँका माछा किन नखाने त ? कर्णाली छेउमा कर्णालीकै माछा हुन्छन् भन्ने भ्रम भए पनि खानै प¥यो । कर्णालीको चिसो सिरेटोसँगै कर्णालीका माछा र केही चुस्कीसँग पर्खाइको समय कटाइयो । गाडीवालाहरुले फेरि आफ्नो औकात देखाइहाले– ‘सर हाम्रो गाडी नजाने भयो, अत्तरियासम्म अर्को गाडीको व्यवस्था गरिदिएका छौं ।’

मान्नैप¥यो र चढियो अर्को गाडी । त्यसबेलासम्म ६ बज्यो र सुरु भयो स्कर्टिङ । स्कर्टिङवालाकै रप्तारमा हाम्रो गाडी अगाडि बढ्यो । पूर्वी नेपालको स्कर्टिङमा बाँचेको जिन्दगी पश्चिम नेपाल जाँदा चैं फुत्किन्छ कि भन्ने डर पो लाग्न थाल्यो । उपाय केही थिएन । जति नै डर भए नि जानैप¥यो । बढियो अगाडि त्यही गतिमा । वरपर झिलिमिली गाडीका ओहोरदोहोर । साँझ ७ बजे कैलालीको अत्तरिया पु¥यायो गाडीले । अब फेरि धनगढीको लागि गाडी खोज्नुपर्ने भयो ।

एउटा गाडी आयो धनगढी–धनगढी… भन्दै । गाडीभरि मान्छेहरु खचाखच भरिएका छन् । गाडी नरोकी बिस्तारै गरेको बेला त्यसैमा कोचिएर चढियो । ८ बजे धनगढी पुगियो र लामो सास फेरियो– बाँचियो भन्ने भावको । सन्तोषको ।

दुई दिनको धनगढी बसाइमा पनि सबै समुदायका मान्छेहरुसँग कुराकानी गर्ने मौका मिल्यो । थारु समुदायका मान्छेहरु पनि भन्दै थिए– सर, हाम्रो आन्दोलन टिकापुर घटनाले प्रभावित पा¥यो । हामी त चाहन्छौं हामी यो ७ नम्बर प्रदेशमा हैन ५ नं. प्रदेशमा जान चाहन्छौं । तर राज्यले हाम्रो मागको सुनुवाई गर्दैन । बसाइको प्रसंग छुट्टै भए पनि वर्तमान परिस्थितिको बारेमा कुरा चल्यो । मध्यपश्चिम र सुदूरपश्चिमको बारेमा तुलनात्मक रुपमा कुराकानी भयो । मध्यपश्चिमका तराइका जिल्लाहरुमा पहाडबाट बसाई सरेकाहरु काम गरिखाने झरे त्यसैले थारु समुदायसँग काम बराबर गर्दै बसेका छन् । त्यसैले मिलेका छन् । तर यहाँ पहाडबाट झर्नेहरु काम गराइखाने धनीमानी झरे, थारु समुदायलाई काम गराउँछन्, आफु खान्छन् । त्यही भएर पनि अलि बढी विभेद देखिन्छ यहाँ । त्यसैले हामी यो जमिनदारी पाराको राज्यभन्दा आफै गरि खानेसँग मिसिन खोजेका छौं ।’

यो कुराले पनि मलाई केही रुपमा कन्भिन्स ग¥यो । अर्को कुरा हामी जो जहाँ भए पनि पहाडमा आन्दोलन सुरु हुँदा उनीहरुका मागको सुनुवाई हुने हामी थारु आन्दोलनको मागको सुनुवाइ किन नहुने ? त्यही भएर हाम्रो मन दुखेको मन भाँचिएको छ ।

यी दुवै ठाउँको यात्रा कठिन भए पनि सबै नेपालीहरुको मन दुखेको छ यो बेलामा । खाली पूर्वमा मधेशी समुदाय, पश्चिममा थारु समुदाय खाली थारु समुदायले आफ्नो भूमिको प्रदेश चाहन्छन् । मधेशी समुदायले थोरै अरु समुदायको माग्छन् । तर जे भए पनि प्रमुख राजनीतिक दलहरुले प्रदेश विभाजन गर्दा कहिले ७ प्रदेश कहिले ५ प्रदेश त कहिले ७ प्रदेश बनाउँछन् । आफूलाई पर्दा जति पनि प्रदेश बनाउन मिल्ने, अरुले माग्दा किन नमिल्ने यही कुरामा मन दुखेको छ ती समुदायको । यसले गर्दा उनीहरुको आत्म–स्वाभिमानमा थौरै चोट पुगेको छ । त्यसैले जनतामा जो प्रदेश जता भए पनि उनीहरुको आत्मामा लागेको चोट निको पार्न सक्नुपर्छ सरकारले । मेरो निष्कर्ष– मन त सबै नेपाली हो ।

०००

By

Readers Comments (0)