Filed Under:  कथा

निसास्सिएर फुलेको प्रेम | रमेश पाण्डेय

4th December 2015   ·   0 Comments

मैले एक दुई गरेर गनेको भए पनि १२÷१५ जना जति थिए होलान् म त्यो वेटिङ रुमभित्र पस्दा । म छेउको कुर्सीमा गएर थपक्क बसें । चारैतिर नजर पु¥याएँ । धेरैजसो त विवाहित महिलाजस्ता देखिन्थे तर म अविवाहित । सबैले मलाई नै हेरिरहेको जस्तो लागिरह्यो । म बोल्न सकिनँ । टक्क मेरो आँखा आमाले दुध खुवाइरहेको एउटा बच्चामा गएर अडियो । छेउमा उसको श्रीमान् थियो । त्यो देखेर मलाई पनि अचानक शरदको याद आयो । तर किन हो थाहा छैन । उसको मुस्कान याद आयो । अनि त्यो हट कफी पिउँदा मप्रति हेरेको उसको नजरमा म हराएँ । कता हराएँ थाहै भएन । त्यो पल ।

सन्दीपा …

सन्दीपा शर्मा … म झस्किएँ । नर्सले मेरो नाम बोलाइरहेकी थिइन् ।

‘एस सिस्टर !’

म उठेर मेरो उपस्थिति जनाएँ । मलाई लगेर नर्स क्लिनिक भित्र पसिन् । हिजो डाक्टरले चेकअप गर्न भनेका सबै ‘टेस्ट रिपोर्ट’ मेरो हातमा थियो । नर्सले रिपोर्ट हेर्दै भनिन्,

‘बधाई छ !’

मलाई उनको बधाई ग्रहण गर्नुपर्ने भयो तर सकिनँ । बाध्यताले मुस्कुराए जस्तो गरें । तर काँडाले घोचेजस्तो भयो । त्यसैगरी अर्को सेक्टरमा डक्टरले पनि बधाइ दिए । मलाई फेरि काँडाले घोचेजस्तो भयो । डाक्टरले थप्दै भने, ‘रेगुलर चेक अप गर्नुहोला । यो स्टेजमा ख्याल गर्नुपर्छ ।’

मेरो पेटमा शरदको बीउ हुर्किदै थियो तर म ओइलाउँदै थिएँ । म त्यहाँबाट निस्किएँ । गन्तव्यबिनाको यात्री बनेर त्यो रात सम्झदै । भीडलाई छिचोल्दै हिडिरहें ।

त्यो रात मेरो लागि कहिल्यै नबिर्सिने रात बन्यो । मैले त्यहीं रात सम्झें, जुन रात शरद र म सँगै थियौं । जून उदाएको पूर्णिमाको रात थियो । म शरदको अङ्गालोमा यसरी बाँधिएकी थिएँ मानौं हाम्रो तन र मन एउटै भइसकेको छ । म मैन बनेर उसको दीपमा पग्लिसकेकी थिएँ, तातोपनामा हराइसकेकी थिएँ । केही गर्न सकिनँ । ऊ खेलाउँदै गयो, म खेलिदै गएँ । ऊ लुट्दै थियो, म लुटिदै थिएँ । यसरी म रित्तो भएँ । केही बाँकी भएन । मेरो सर्वस्व नै लुटेर सिध्यायो ।

त्यो रात पछि ऊ हरायो । कता हरायो मलाई थाहा छैन ।

आज मलाई तरबारको धारमा यात्रा गरेजस्तो भइरहेछ । पश्चातापले हो या भनौं भुलले म तड्पिरहेछु । जलिरहेछु आफैभित्र । अलमलमा परेको छ मेरो सोच । शरदको बीउ मेरो पेटभित्र आकार लिदैछ । म के गरुँ ? अँध्यारो सहेर आँखाभरि भोलिको उज्यालो सपनाका लागि भन्दै बत्तीमा पुतली होमिएसरी म शरदको अंगालोमा होमिएकी थिएँ । नानाथरी सपना देखाएर उसले मलाई लुटेको त्यो रातको आवाजले अझैं पनि मेरो स्मरणलाई ताजा बनाइरहेको छ । तर त्यो रातमा मैले देखेको सिमलको भुवाँमाथि सुत्ने सबै सपनाहरु अर्थहीन भए ।

आज केही निर्णय गर्न सकिरहेकी छैन । उसको मेरो गर्भमा रहेका बीउलाई मासिदिउँ या हुर्काउँ । मासिदिउँ भने मेरो पहिलो प्रेमको पहिलो सम्बन्धको पहिलो निसानी ! हुर्काइदिउँ भने समाजबाटै बहिष्कार हुनुपर्ने बाध्यता । यो समाज मलाई कालो बादल जस्तो लाग्छ । त्यही कालो बादलभित्र लुकेका असिनाहरुले चुट्दैछन् मलाई । मेटाउँदै छन् मेरो नरम भुवाको मनलाई ।

मैले आज आएर बुझें सपना र बिपनाबीचको दूरीलाई । सपनालाई बिपना ठानेर अल्मलिएँ । त्यही सपनामा लुटाएँ आफूलाई । जुका जसरी टाँसिएर चुसेको थियो उसले मलाई । मेरो जिन्दगीको सर्वस्व उसैलाई ठानेर लुटाएकी थिएँ आफ्ना कलिला बैंस चढ्दै गरेका अङ्गहरु । अहिले म उजाड भइसकेकी छु । मेरा कलिला मुनाहरु सबै टुक्रिसके । म जिउनु न मर्नु भएकी छु । त्यो कहालिदो हुरीले उडाइसक्यो मलाई । बिछोडको भुमरीले डुबाइसक्यो ।

***

मन मिल्ने एउटै साथी थियो । रविलाई सबै कुरा सुनाएँ । एक्कासी ऊ शरदलाई गाली गर्न थाल्यो ।

मेरा आँखा रसाए ।

खै किन हो म भन्न सक्दिनँ । रवि मेरो छेउमा शरदमाथि खनिदै गयो । तर गाह्रो मलाई हुँदै थियो । खै किन हो शरदलाई भुल्न सकिरहेकी थिइनँ । हुन त ऊ धोकेबाज थियो नै तर पनि म उसलाई सम्झिरहन्थें । शरदलाई सम्झिनुको अर्थ मलाई नै थाहा थिएन ।

रविले मलाई प्रश्न ग¥यो– ‘कसरी सुरु भयो तिमीहरुको प्रेम सम्बन्ध ?’

मैले भने, ‘मलाई शरदसँग भेट भएको पहिलो दिन त्यतिबेला जति रोमान्टिक लाग्थ्यो अहिले त्यति नै तितो लाग्दैछ । काठमाडौंको दरबारमार्गस्थित एउटा रेस्टुरेन्टमा मैले कफी पिउँदै गर्दा उ त्यही रेस्टुरेन्टमा आएर मेरै टेबुल अगाडि बसेर ल्यापटप खोल्दै कफी अर्डर गरेको दिनमा नै म ऊप्रति आकर्षित भएकी थिएँ । मलाई उसँग बोल्न रहर थियो । उसको आवाज सुनिरहन मन थियो । उसलाई हेरिरहन मन थियो । म कफी पिउने बहानामा उसलाई पटक–पटक हेर्थें । जति हेर्दै जान्थें म उति नै आकर्षित हुँदै गएँ । मेरो मनले उसँग बोले हुन्थ्यो भन्ने चाहना गर्दै थियो । मेरो कफी सिद्धियो । तर उसको अर्डर आएकै थिएन । मलाई हतार हुँदाहुँदै पनि उसलाई छोडेर हिड्न सकिनँ । उसलाई हेरिरहन मन लागेकै कारण, उसको छेउमा बसिरहन मन लागेकै कारण मैले फेरि एक कप कफी मगाएँ ।’

‘हजुरलाई आजको कफीको टेस्ट साह्रै मन प¥यो जस्तो छ नि ?’ उसले मतिर हेर्दै भन्यो ।

म अकमकाएँ । केही बोलौंजस्तो भयो र हडबडिदै भने ‘हो, आजको कफी साह्रै मीठो लाग्यो ।’ मलाई बोल्ने बहाना मिल्यो । मैले पनि सोधे ‘मेलचेक गर्दै हुनुहुन्छ जस्तो छ त । साह्रै हराउनुभएको छ त ल्यापटपमा ।’

‘मलाई ख्याल गरिरहनुभएको जस्तो छ नि । म बिजी भएको नियालिरहनु भएको रहेछ ।’ उसले मलाई भन्यो ।

मलाई लाज लाग्यो । के बोलौं नै थाहा भएन । गाला लाजले राता भए । नजर अन्तै मोडेर छातीको सल मिलाउन थालें । सायद म नर्भस भएको ठानेर होला उसले मलाई सजिलो बनाउन भन्यो, ‘होइन… होइन मैले त त्यत्तिकै जिस्काएको मात्र । तपाईलाई अप्ठ्यारो भए जस्तो छ ।’

‘हेर्न त हेरिरहेकै थिएँ नि आफूले एक नजर पनि नदिने ।’ मैले मनमनै सोचें ।

उसले फेरि थप्यो, ‘सरी ! अप्ठ्यारो नमान्नुहोस् मेरो जोक गर्ने बानी छ ।’

‘इट्स ओके’ मैले भनें ।

वेटरले कफी ल्याइदियो । उसले मतिर कफी सार्दै भन्यो, ‘यहीं कफीको बहानामा परिचय गरौं न त ।’

‘म शरद… शरद पोखरेल !’

‘आइ एम सन्दीपा… सन्दीपा शर्मा !’ मैले हात मिलाउँदै भनें ।

उसले फेरि जिस्कदै भन्यो, ‘दुबैको नाम ‘स’बाट आउँदो रहेछ । हाम्रो सम्बन्ध गहिरो होला जस्तो छ ?’

म केही बोलिनँ ।

तर मेरो चाहना पनि त्यस्तै थियो । कुरा गर्ने क्रममा थाहा पाएँ । ऊ ललितपुरस्थित एउटा राम्रो एनजिओमा काम गर्दोरहेछ । बुटवल घर भएको मान्छे यहाँ सानेपामा बस्दो रहेछ । गफ गर्दै जाँदा मैले पनि आफ्नो स्थायी घर पोखरा भएको र यहाँ कीर्तिपुर बस्दै आएको कुरा सुनाएँ । यसरी गफ गर्दै कफी सिध्याएर हामी छुट्टिएका थियौं ।

त्यो रात मलाई निद्रा नै लागेन । खै किन हो उसप्रति म बढी नै आकर्षित हुँदै गएकी थिएँ । उसको बोली, उसको आँखा, उसको मुस्कान, उसका मिलेका दाँत आदि इत्यादि सबैप्रति म सम्मोहित भएकी थिएँ । रातभरि ओल्टोकोल्टो पर्दै उसलाई नै सम्झिरहें । निदाउन सकिनँ ।

त्यतिखेर फोन नम्बर माग्ने आँटसम्म पनि गर्न सकेकी थिइनँ । उसले पनि मागेन । न त उसले नमाग्दै मैले पनि दिन सकें । सम्झिदै गर्दा एउटा निस्कर्ष निकालें, ‘भोलि पनि त्यही रेस्टुरेन्टमा जान्छु । त्यहाँ फेरि भेट हुन सक्छ ।’

अर्को दिन त्यही समयमा त्यही रेस्टुरेन्टमा पुगें । तीन कप कफी सिद्धिसक्यो । ऊ आएन ।

दिन बित्दै जाँदा तेह्रौं दिनमा ऊ त्यहीं समयमा त्यहीं रेस्टुरेन्टमा आइपुग्यो । उसले अचम्म मान्दै भन्यो, ‘ओ तपाइँ आज पनि ! ह्वाट अ को इन्सिडेन्स ।’

‘एस आइ एम हेयर’ भनेर मैले रेस्पोन्स गरें ।

हामी गफ गर्दै कफी पिउँदै गयौं । यसरी पछि पनि हाम्रा दिन बित्दै गए । हामी नजिकिदै गयौं । म त उसप्रति आकर्षित थिएँ नै । ऊ पनि मप्रति आकर्षित हुँदै गए जस्तो लाग्न थाल्यो । हामी अझै नजिकिदै गयौं । उसलाई उसको अफिसले गाडीको सुविधा दिएको रहेछ । हामी कहिले नगरकोट घुम्न जान्थ्यौं त कहिले गोदावरी, कहिले फुलचोकी पुग्थ्यौं भने त कहिले नागार्जुन दरबार । दिन निकै रमाइलो लाग्दै थियो । यसरी समय सँगसँगै बिताउँदा हामी झन्–झन् नजिकिदै गयौं ।

त्यो बैशाख एक गतेको दिन थियो । उसले मलाई ड्राइभ जाने प्रस्ताव ग¥यो । मैले सहजै स्वीकार गरें । हामी त्यो दिन त्रिशुलीतिर गयौं । त्रिशुली किनारमा अवस्थित ‘ब्ल्यू हेवन’ रेस्टुरेन्टमा खाजा खाँदा उसले मलाई प्रेम प्रस्ताव ग¥यो ।

म खुसी भएँ ।

उ प्रति मेरो माया झन् आकाशियो । मैले उसको प्रेम प्रस्ताव एकपलमै स्वीकार गरें । उ पनि साह्रै खुसी भयो । त्यति खेरै मेरो निधारमा हल्का चुम्बन गरेर मेरो हात समाउँदै उसले भन्यो, ‘आइ लब यू… आइ लब यू सन्दीपा ।’

‘यसरी हाम्रो प्रेम सम्बन्ध गाँसिएको थियो ।’ मैले भन्दै गएँ, ‘रवि त्यसपछिका दिनहरु निकै सुन्दर हुँदै गए ।’ उसले हरेक दिन राती फोन गथ्र्यो । कहिलेकाहीं अफिसबाटै फोन गरेर मैले खाजा खाए नखाएको सोध्थ्यो । पानी धेरै पिउनु भनेर सम्झाउँथ्यो । उसले आफ्नो व्यस्त समयमा पनि मेरो ख्याल गरेको देख्दा साह्रै खुसी हुन्थें । आफ्नो अफिसको कुनै निर्णय लिदासमेत मलाई नसोधी कुनै निर्णय लिदैनथ्यो ।

एक दिन प्रोजेक्टको सिलसिलामा उसलाई नर्वे जानुपर्ने भयो । म एकातिर शरदको प्रगति देखेर खुसी थिएँ भने केही दिन शरदलाई भेट्न नपाउने भएकाले मलाई अर्कोतिर अलिकति नरमाइलो लागिरहेको थियो ।

उ नर्वे जाने दिन म उसलाई छोड्न एयरपोर्ट गएँ । मेरा आँखा रसाए । उसले मेरो आँखा चुम्दै भन्यो, ‘ए लाटी रुने होइन तिम्रो शरद केही दिनमै आइहाल्छ ।’

म आफूलाई कन्ट्रोल गर्न नसकेर उसको छातीमा परें । उसले पनि मलाई छातीमा राख्दै भन्यो, ‘तिमी मेरी हौ । तिमी कमजोर हुने होइन ।’ उसले मेरो आँसु पुछ्यो र ‘मिस यू’ भन्दै मबाट छुट्टियो ।

… … …

दुई हप्तापछि उ फर्किदै थियो । म उसलाई लिन एयरपोर्ट गएँ । उसलाई देख्दा साह्रै आनन्द लाग्यो । म उसको अँगालोमा बाँधिएर भने, ‘आइ मिस्ड यू सो मच… आइ लव यू ।’

‘मी टू’ भन्दै उसले ट्याक्सी रोक्यो । हामी सानेपा गयौं । त्यो दिन म निकै खुसी थिएँ । शरदले मलाई त्यो रात त्यहीं बस्न अनुरोध ग¥यो । मैले नकार्न सकिनँ । त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो भुल भयो । त्यहीं रात हो जुन रात म नाङ्गिएँ । त्यहीं रात हो जुन रात म चुसिएँ, । त्यही रात हो जुन रात म लुटिएँ र अहिले यो अवस्थामा छु ।

मलाई थाहा छैन शरद कहाँ छ, कुन अवस्थामा छ । रवि तिमी नै भन अब म के गरुँ ? मरु या बाँचु ?’

‘तिमी बाँच्छ्यौ… ।’ रविले भन्यो ।

‘यो हुर्किदै गएको भु्रण पेटमा पालेर कसरी बाँच्नु ?’ मैले भने, ‘त्यो पापीको पाप पेटमा पालेर म बाँच्न सक्दिनँ । तुहाइदिन्छु यो पापलाई ।’

‘होइन सन्दीपा, यसमा बच्चाको केही दोष छैन ।’ उसले थप्यो, ‘केही दोष तिम्रो हो, केही दोष शरदको ।’

‘म अविवाहित केटी पेट ठूलो देखिदै गयो भने समाजले मलाई के भन्छ ? घर परिवारमा म कसरी देखिने ?’ मैले रविलाई भनें, ‘होइन रवि कि म मर्छु कि यो पापलाई मारिदिन्छु ।’

रविसँग मेरो हट डिस्कस हुँदै गयो । रविले गर्भपतन गर्न मानेन तर म गर्भपतनकै पक्षमा भएँ । उसले मलाई निकै सम्झाउने प्रयास ग¥यो । छिमेकका धेरै उदाहरणहरु दियो । जुन उदाहरणहरुले म बलियो बनुँ भन्ने उसको चाहना थियो ।

रविलाई मैले प्रश्न गरे, ‘रवि तिमी नै भन यदि मैले यो पापलाई नतुहाएमा यसको बाउको नाम के दिउँ ? त्यतिखेर यसले मलाई हेर्ने दृष्टिकोण कस्तो बन्छ ?’

रवि चुपचाप स्तब्ध भयो । केही बोलेन । उसले बोल्ने केही आधार नै पाएन ।

मलाई एक्कासी अप्ठ्यारो लाग्यो ।

रविले मलाई अचानक भन्यो, ‘सन्दीपा यसमा बच्चाको केही दोष छैन । एकपटक फेरि विचार गर ।’

मैले रविको बच्चाप्रतिको मायालाई बुझ्थें । तर म के गरुँ ? म उक्त भ्रुण पाल्न नसक्ने सामाजिक जञ्जिरमा अल्झिसकेकी थिएँ । यो समाजको कालो जालभित्र म पनि एउटा बन्दी भएर बसेकी केटी हुँ ।

मैले रविलाई भने, ‘यो मेरो अन्तिम निर्णय हो । म गर्भपतन गर्छु । मलाई साथ देउ ।’

रवि केही बोलेन । उसका आँखामा एक किसिमको बच्चाप्रतिको माया देखिएको थियो एकातिर भने अर्कोतिर मेरो बाध्यता ।

हामी त्यहीं दिन एउटा प्राइभेट क्लिनिकमा गयौं । रविले नचाहेरै पनि मेरो साथ दियो । मलाई रविप्रति निकै माया लागेर आयो । एउटा सच्चा साथीको भूमिका निभाउन कसैले सिकाउनु पर्दैनथ्यो ।

रवि आफै मेरो बारेमा सबै कुरा डाक्टरलाई भन्दै थियो । मेरो नजर रविप्रति नै थियो । उसले मेरो लागि निकै सहयोग गरिरहेको थियो । रविको साथीत्वप्रति मलाई गर्व लागेर आयो । अन्त्यमा डाक्टरले सबै कुरा सुनेपछि मलाई भित्रको बाटो देखाएर आफू ल्याबतिर लागे ।

म भित्र जान तयार भएँ । रविले अचानक मेरो हात समात्यो र भन्यो, ‘सन्दीपा म दिन्छु यो बच्चालाई बाउको नाम । प्लिज एबोर्सन नगर । म तिमीलाई बिहे गर्छु ।’

म अक्क न बक्क परें । मेरा आँखा रसाएर आए । रविले मेरो हात समाएको थियो । म रविको अंगालोमा कसरी परें भन्न सक्दिनँ । मेरो खुसीको सीमा नै रहेन तर पश्चातापको ग्लानीले झन समायो । ‘आइ एम सरी रवि’, मैले भने ‘रवि मेरो बारेमा सबै थाहा पाउँदा पाउँदै पनि तिमी मलाई बिहे गर्छौ ?’

‘हो, सन्दीपा म तिमीलाई बिहे गर्छु । विगतलाई एउटा नमीठो सपना सम्झिएर भुलिदिउँला । वर्तमानमा रमाउँला । भविष्यलाई सुन्दर बनाउन प्रयास गरौंला । एक अर्कामा विश्वास र समर्पणको आडमा जिउँला । यो दुनियामा जिउँला एउटा नमुना जोडी बनेर ।’ रवि बोल्दै थियो, मेरा आँखा रसाउँदै थिए ।

‘म तिमीलाई हरपल हरक्षण साथ दिन्छु ।’ मैले भने ‘मेरो जीवनको सहारा तिमी बनेकोमा म तिमीप्रति सधैं ऋणी हुने छु ।’

हामी क्लिनिकबाट निस्कियौं । मलाई संसार नै सार्थक लाग्न थाल्यो । आकाशमा खुल्ला रुपमा उडेका पंक्षीमा मैले आफ्नो छायाँ भेटें । एउटा फूलबाट अर्को फूलमा खेल्दै रमाउने पुतलीमा पनि मैले जीवनको अर्थ पाएँ । चारैतिर खुसी छाइरहेजस्तो भयो । एउटा सुन्दर सपना बोकेर हामी हाम्रो भविष्य भएतिर लाग्यौं ।

By

Readers Comments (0)