Filed Under:  व्यक्ति, सौगात विशेष

अथक योद्धा शक्ति लम्साल | सुशील गौतम

4th December 2015   ·   0 Comments

Sushilवामपन्थी राजनीति, प्रगतिशील साहित्य र जनपक्षीय पत्रकारिताका दृढ संवाहक शक्ति लम्सालको जन्म बुवा कृष्णप्रसाद लम्साल र आमा राधादेवी लम्सालको कोखबाट विक्रम संवत १९९३ चैत्र १९ गते काठमाडौको चावेलमा भएको थियो । पिता कृष्णप्रसाद लम्साल राणाकालको मालपोतको सुब्बा भएकाले जागिरको क्रममा पिता नेपालगञ्ज र तौलिहवामा रहँदा शक्ति लम्सालको प्रारम्भिक शिक्षा नेपालगञ्ज र तौलिहवामा भयो भने काठमाडौंमा माध्यमिक तहसम्मको शिक्षा लिनुभयो । त्यसपछि उहाँले आफ्नो शिक्षालाई अध्ययनका रुपमा अगाडि बढाउनुभयो ।

शक्ति लम्सालको लामो पारिवारिक पृष्ठभूमि राणा शासकहरुको जागिरको रुपमा रहेको छ । जसको शुरुवात उहाँका बुढाबाजे हेमनारायण लम्सालबाट शुरु भएको हो । हेमनारायण मिर सुब्बा (राणाकालको निकै उच्च तहको पद) र सेनाको कप्तान हुनुहुन्थ्यो । बुवा राणाकालको मालपोतको सुब्बा । उच्च पारिवारिक घरानामा जन्मेर पनि शक्ति लम्साल सानैदेखि अन्याय, अत्याचार, शोषण र विभेद नसहने स्वभावको हुनुहुन्थ्यो । संभवतः आफ्नो प्रारम्भिक जीवनदेखि रहेको त्यो विद्रोही भावनाले उहाँलाई वाम बिद्रोही राजनीतितिर उन्मुख गरायो । फलस्वरुप नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको तीन वर्ष नपुग्दै लम्सालले २००९ सालमा आफ्नो बुढीऔंला आफै काटेर त्यसबाट निस्केको रगतले सही गरी नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभयो । सानैदेखि अन्याय अत्याचार शोषणको बिरोधी र स्वतन्त्रता र स्वाभिमानका दृढ पक्षधर लम्साल कम्युनिष्ट पार्टीमा संलग्न भएपछि संगठनात्मक र वैचारिकरुपमा झन क्रियाशील हुनुभयो, जसलाई उहाँले आजीवन निरन्तरता दिनुभयो ।

Shakti Lamsalलम्साल कहिल्यै झुक्न जान्नु भएन । जीवनका थुप्रै आरोह अवरोह, बाधाअबरोध, लोभ लालचाले उहाँलाई झुकाउन वा गाल्न सकेन । दङाली क्रान्तिकारी शहीद एवं कवि नेत्रलाल अभागीका कविताका हरफ ‘हावा हुरी नचलेको बेला र वातावरण शान्त भएको बेला एउटा नर्कट पनि ठिङ्ग उभिन सक्छ । हावाहुरी चलेको बेला र वातावरण अशान्त रहेको बेला एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ भनेझंै लम्साल हावाहुरी चलेको बेला र वातावरण अशान्त रहेको बेला पनि सतिसालझै ठिङ्ग उभिनुभयो ।

लम्साललाई २००९ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यताको फाराम भरिदिने साहित्यकार रमेश विकलको उपन्यास ‘अविरल बग्दछ इन्द्रावतीको बिम्बझैं सधैं इमान र जमानका साथै सधंै बिद्रोह र परिवर्तनको आन्दोलनमा समाहित हुँदै आजीवन इन्द्रावतीझैं अविरल बगिरहनुभयो ।

शक्ति लम्सालका व्यक्तित्वका थुप्रै पाटाहरु रहेका छन् । तथापि बामपन्थी राजनीति, प्रगतिशील साहित्य र जनपक्षीय पत्रकारिता उहाँका व्यक्तित्वका प्रमुख पाटाहरु हुन् ।

राजनीतिक व्यक्तित्व

शक्ति लम्सालको व्यक्तित्वको केन्द्रबिन्दु राजनीतिक व्यक्तित्व नै हो । किनकि उहाँको साहित्यिक पत्रकारिता लगायतका व्यक्तित्व र कर्र्मलाई प्रेरित गर्ने स्रोत भनेकै उहाँले आजीवन अँगाल्नु भएको राजनीतिक आस्था हो । सानैदेखि विद्रोही स्वभावका शक्ति लम्साल सम्भवत उहाँको त्यो बिद्रोही स्वभावका कारण बामपन्थी राजनीतितर्फ तानिनु भयो । २००७ सालकै सेरोफेरोमा राजनीतिक चेतना प्रखररुपमा बोक्न थालेका शक्ति लम्सालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको तीन वर्ष नपुग्दै २००९ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभयो । जसका लागि फाराम भरिदिने काम सुप्रसिद्ध साहित्यकार रमेश विकलले गर्नुभएको थियो । क्रान्तिकारी जोशका साथ आफ्नो बुढीऔंला काटेर त्यसको रगत बाट हस्ताक्षर गरी कम्युनिष्ट पार्टीको सदस्यताका लागि आवेदन दिएका लम्साल आजीवन कम्युनिष्ट रहनुभयो । युवक संगठनबाट पार्टी जिम्मेवारी लिनुभएका लम्साल २०१२ सालमै नेपाल कम्युनिष्ट पार्टी रुपन्देही जिल्ला समितिको सचिव हुनुभयो । उहाँ २०१३ सालमै पार्टीको पश्चिम नेपाल युवक संघको प्रचार मन्त्री हुनुभयो । उहाँ २०३५ देखि २०४६ सम्म नागरिक अधिकार मञ्चको संयोजक भएर नागरिकका राजनीतिकलगायतका अधिकारका लागिको संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । उहाँ २०४१ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको पाँचांै महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुनुभएको थियो । उहाँले जनयुद्ध सञ्चालन गरिरहेको पार्टी तत्कालीन नेकपा माओवादीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक संघको अध्यक्षको जिम्मेवारी पनि निभाउनुभएको थियो । उहाँले सर्वजातीय अधिकार मञ्च, जनअधिकार सुरक्षा समिति, संयुक्त जनमोर्चा नेपाल, संयुक्त जनआन्दोलन संयोजक समितिको केन्द्रीय सदस्यको रुपमा वाम र क्रान्तिकारी राजनीतिक आन्दोलनमा भूमिका खेल्नुभयो । उहाँ लामो समयदेखि तत्कालीन नेकपा माओवादी (हाल एनेकपा माओवादी) पार्टीको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

साहित्यिक व्यक्तित्व

नेपालको वामपन्थी राजनीतिक नेतृत्व र कार्यकर्ताको ठूलो संख्या वामपन्थी राजनीति र प्रगतिशील साहित्यिक आन्दोलनसँग साथसाथै जोडिएको छ । शक्ति लम्साल पनि ती मध्ये एक हुनुहुन्थ्यो । लम्साललाई साहित्यिक लेखन र पत्रकारिता लेखनमा प्रेरणा दिनेमा तौलिहवाका अग्रज वामपन्थी र शिक्षाप्रेमी चिन्तामणि ज्ञवाली (जसले २००७ सालको क्रान्तिको तत्कालै दाङ र कपिलवस्तुमा कम्युनिष्ट र शैक्षिक चेतना बढाउन उल्लेखनीय योगदान गर्नुभएको थियो ।) हुनुहुन्थ्यो । शक्ति लम्सालको पहिलो रचना ‘स्पुतनिक नानी जुन’ (निबन्ध) २०१४ सालमा बनारसबाट प्रकाशित हुने पत्रिका ‘दीपक’मा प्रकाशित भएको थियो । लम्सालका ‘भियतनाम युद्धको ऐतिहासिक पृष्ठभूमि (२०२९) र माक्र्सवाद, समाज र साहित्य (२०६१) मा प्रकाशित छन् भने सयौं साहित्यिक रचनाहरु फुटकररुपमा विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् ।

उहाँको व्यक्तित्व र कृतित्वबारे ‘क्रान्तिकारी साहित्य, संस्कृति र पत्रकारिताका स्तम्भ’ नामक पुस्तक कमला सिग्देल (सुवेदी) ले प्रकाशित गर्नुभएको छ । लम्सालको योगदान लेखनमा मात्र छैन नेपालको प्रगतिशील आन्दोलन, सांस्कृतिक रुपान्तरणको आन्दोलनमा संस्थागतरुपमा लामो समयसम्म रहेको छ । उहाँले प्रगतिशील लेखक संघ केन्द्रीय समितिको अध्यक्षको भूमिका पनि सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

पत्रकारिता व्यक्तित्व

लम्सालको व्यक्तित्वको मूल पाटोमध्ये एक र आमरुपमा बढी परिचित पाटो पत्रकारिता व्यक्तित्व हो । उहाँले पत्रकारिताको प्रारम्भ भैरहवाबाट प्रकाशित हुने दैनिक निर्णयको सम्पादक (२०२१) बाट प्रारम्भ गर्नुभयो । उहाँकै सम्पादकत्व र प्रकाशनमा २०३० सालदेखि योजना साप्ताहिक प्रकाशित भयो । उहाँले आफ्नो जीवनको विभिन्न कालखण्डमा डेली डायरी जनादेशको सम्पादन गर्नुभयो । उहाँ पार्टीको मुखपत्र ‘मसाल’को सम्पादक पनि हुनुहुन्थ्यो । उहाँ कुनै बेला सर्वाधिक चर्चित पत्रिका मातृभूमि (साप्ताहिक) लगायत दर्जनांै समाचारपत्रहरुमा संलग्न भइसक्नुभएको थियो । यस बाहेक कैयांै साहित्यिक पत्रिकाहरुको सम्पादक र सल्लाहकारको भूमिका पनि लम्सालले निभाउनुभएको थियो । लम्सालले पत्रकारितामा क्रान्तिकारी एवं जनपक्षीय पत्रकारिताको नेतृत्व गर्नुभयो । उहाँ जनपक्षीय पत्रकार संघको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । नेपालको पत्रकारिताको इतिहासमा लम्साल एक अग्रज र वरिष्ठ साहित्यकारका रुपमा स्थापित हुनुभएको थियो ।

यातना र जेल जीवन

शक्ति लम्सालको सम्पूर्ण जीवन संघर्षको प्रतिरुप थियो । जहाँ संघर्ष, आन्दोलन, बिरोध त्यहाँ शक्ति लम्सालको संलग्नता अनिवार्यता जस्तै थियो । जसले गर्दा सत्ताले उहाँलाई ठूलो मानसिक एवं भौतिक यातना दियो र जेल जीवन बिताउन बाध्य पा¥यो । उहाँले २०१८ सालमा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज मोहनविक्रम सिंहसँगै १८ महिना परासी जेलमा बिताउनु भयो । त्यसपछि २०२२, ०४२, ०४५, ०४६, ०५२, २०५५ लगायत थुप्रै पटक उहाँले जेल जीवन बिताउनुप¥यो । न्याय, समानता, स्वतन्त्रता र मुक्तिका कुनै पनि आन्दोलनमा तत्काल आफ्नो संलग्नता देखाइहाल्ने लम्सालले असंख्य पटक प्रहरी हिरासतमा बस्नुप¥यो ।

पुरस्कार र सम्मान

सत्ता र शक्तिको पछि नलाग्ने स्वाभिमानी स्वभावका लम्साल राज्यबाट खास कुनै सम्मान र पुरस्कार नपाउनु स्वभाविकै थियो । गणतन्त्र आएपछि उहाँलाई राज्यले ‘वरिष्ठ पत्रकार’ सम्मान दिएको थियो । लम्साललाई जनस्तरबाट भने झण्डै एक दर्जन बढी सम्मान र पुरस्कार प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघले उहाँलाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान प्रदान गरेको थियो । उहाँलाई नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा २०५७ सालमा, रिपोर्टस् क्लव द्वारा २०५९, साहित्य सन्ध्याद्वारा २०६८, प्रगतिशील लेखक संघद्वारा २०६३, माक्र्सवादी साहित्य प्रतिष्ठान र एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा २०६६ मा सम्मान गरिएको थियो । २०६५ मा इच्छुक साहसिक पुरस्कार बाट पुरस्कृत लम्साललाई २०६५ मै प्रेस काउन्सिल नेपालद्वारा गोपालदास श्रेष्ठ पत्रकारिता पुरस्कारद्वारा सम्मानित गरिएको थियो । उहाँलाई नेपाली साहित्य प्रतिष्ठान बेलायत च्याप्टर, देवकोटा शताब्दी महोत्सवलगायत थुप्रै संस्थाहरुबाट पुरस्कृत र सम्मानित गरिएको थियो ।

जीवन संघर्षका प्रतिमूर्ति शक्ति लम्सालको भौतिक शरीर २०७२ कार्तिक २४ गते बेलुका ९ः४० बजेदेखि रहेन । तर नेपालको बामपन्थी राजनीति, प्रगतिशील साहित्य र जनपक्षीय पत्रकारिताको आन्दोलनमा लम्सालले दिनुभएको योगदान लामो समयसम्म जीवित रहनेछ । ठूलो मान्छे होइन असल मान्छे बन्ने जीवनदर्शन र व्यवहार बोक्नुभएका लम्सालको संघर्षको गाथाले निश्चितरुपमा नयाँ पिढीलाई प्रेरणा प्रदान गर्नेछ । उहाँको निधन नेपालको बाम प्रगतिशील आन्दोलनका लागि अपूरणीय क्षति भएको कुरा उहाँको निधनमा एमाओवादी अध्यक्ष प्रचण्ड, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मसालका महामन्त्री मोहनविक्रम सिंह, एमाले महासचिव ईश्वर पोखेल, कांग्रेस नेता नरहरि आचार्य, पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत समाजका विभिन्न अंगका व्यक्तित्वहरुका उहाँप्रति व्यक्त अभिव्यक्तिले दिन्छ । नेपाल आमाका असल सुपुत्र एवं मेरा आदरणीय भिनाजु स्वर्गीय शक्ति लम्सालप्रति मेरो पनि भावपूर्ण शब्द श्रद्धाञ्जली ।
०००

By

Readers Comments (0)