Filed Under:  कथा, सौगात विशेष

नयाँ लुगा | बसन्त विवश आचार्य

17th October 2015   ·   0 Comments

basant_bibas newपारी बस्तीबाट फुत्त झर्दै गरेको लाहुरेको “अच्छा लेकिन”ले वारि गाउँसम्म ध्वनि प्रदूषण गरेको छ । कालापहाडबाट सपना र रहरमा थोरै खुसीको जलप लगाएर जुँगामा ताउ लगाउँदै फर्किनेहरु विश्वविजेता नेपोलियनको अनुहार चोरेर हिडिरहेका छन् । यो मौसम देख्दा लाग्छ– यो संसारमा परदेशीका लागि खुसीभन्दा अर्को कुनै शब्द पनि जाती हुँदैन ।

कुनै षोडशीको शरीरजस्तो टम्म मिलेको बेंशी फाँटलाई गिज्याउँदै पहाडमा अडेस लागेर उभिएको छ जालसरा गाउँ । भगवानले फूर्सदमा सुन्दर मान्छे बनाए । तिनै मान्छेले फूर्सदमा सुन्दर गाउँ बनाए । फाँटको रक्षार्थ पहाडको छातीमा अग्ला–अग्ला तोपभन्दा पनि शक्तिशाली हरिया खम्बाहरु उम्रिएका छन् । तिनका हरिया केशराशीहरुलाई चुम्बन गर्दै बतास यताउता दौडिरहन्छ । बतासको वेगले मोहित भएर कति त त्यहीं बतासको प्रेमजालमा फस्छन् । बिचरा बतासको क्षणिक प्रेमलाई विश्वास गरेका हरिया केशराशीले कतिबेला आफूलाई भूइँमा पाउँछन् थाहै हुँदैन । बेंशीफाँटको किनारै किनार त्यहीं अग्लो पहाडलाई चिरेर आएको साँखु नदी कछुवा तालमा बगिरहेको छ । थाहा छैन यो नदी किन गन्तव्यमा पुग्न चाहन्छ ? किन यसको गति धिमा छ ? रहस्य कहिल्यै खोल्दैन साँखुले र त रहस्यमय छ ।

यही नदी हो, जालसरा गाउँलाई जीवन दिने, अनि मृत्यु पनि दिने । “परार साल साँखु बौलाएर गाउँ सोत्तर पा¥यो । धन्न डाँडामा बस्ने भएकाले मान्छेलाई केही पनि भएन । अग्ला सिपाहीजस्ता रुख जो थे, सुरक्षाका खातिर ।” गाउँका मानिसहरु अहिले पनि त्यो दिन सम्झदा मनमा भयानक आँधी आएको महसुस गर्दछन् । जीवन दिने साँखु कहिलेकाहीं मृत्यु पनि बनेर आइपुग्छ । दूध दिने गाईको लात पनि त सहनुप¥यो । गाउँलेहरुको केही गुनासो छैन साँखुसँग । छ त केवल आफ्नै भाग्य र ढुंगामा चित्र कोरिएर बनेका देवतासँग ।

वेपर्वाह पश्चिमबाट एक हुल बतासले अविचलित खम्बाका हरिया केशराशीहरु फर्फराइरहेका छन् । यी रुखका कोमल पातमा मिल्दो हो त मौरी परागसेचन गथ्र्यो होला । असोजको महिना भर्खर–भर्खर जाडो गाउँ पस्तै छ । जालसरा गाउँमा अन्तभन्दा छिट्टै जाडो पस्छ । यहाँ जाडोको आक्रमण बढेको केटाकेटीका कानेटोपी र बूढाबूढीको “बर्को”१ ले महसुस गराउँछ । बूढाबूढी र केटाकेटीका अनुहारले पोतिएको जालसरालाई जाडोले छिट्टै छोप्ने गर्छ । सानोतिनो जाडोलाई “बाल मतलब” दिने बलिया पाखुराहरु पैसा उमार्न परदेश जो भासिएका छन् ।

बेंशी फाँटले धानेका जिन्दगीहरुमध्ये एउटा जिन्दगी चनमती पनि हो । दुइ छोरीसहित चार जनाको चनमतीको परिवारमा दैवको आँखा परेछ क्यार ! पोहोर बाढी पसेर घरसँगै सिन्दूर पनि लगेपछि चनमतीको सिउँदोसँगै मन पनि उजाड बनेको छ । कालापहाडबाट खेती लगाउन गाउँ पसेका भक्तबीरलाई बाढीले एकै गाँस पारेपछि चनमतीको अनुहारका खुसीका रेखाहरु मेटिएका हुन् । दुई नाबालक छोरीहरुलाई बाबुको समेत ममता मात्रै होइन गाँसको समेत व्यवस्था गर्ने पूरापूर जिम्मेवारी चनमतीको काँधमा परेको छ । जमिन्दारको बाँझो भूमि खोस्रिएर जिन्दगीको बाटो हिड्ने यात्रा भक्तबीरको मृत्युसँगै मेटिएर गयो । घरभरि अभाव पस्दा पनि चनमतीले रोक्ने कुनै बाटो देखिनँ ।

पाँच कक्षामा पढ्ने छोरी बुनु र दुई कक्षामा पढ्ने छोरी कान्ताको अनुहारमा दशैंको रौनक छाइसकेको छ । पोहोर बाबुको जूठो परेको थियो, मन अमिलो बनाएर काटे । अहिले घाउ पुरिसकेका छन् । अभाव लेख्न र पढ्न मात्र जानेका छन् उनीहरुले । फूलजस्ता कलकलाउँदा छोरीहरुलाई दुःखको छायासम्म नपरोस् भन्ने सोचमा चनमती सधैं लागिरहेकी हुन्छे । मान्छे बाबु या आमा बनेपछि आफ्नो बारेमा कम सन्तानको बारेमा ज्यादा सोच्छ क्यार ! चनमतीले पनि सन्तानकै बारेमा सोची र त कैयौं पटक प्रस्ताव आउँदा पनि घरजम गरिन ।

कुनै बिरानो परदेशीजस्तै दशैं अचानक आँगनमा टुप्लुक्क आइपुग्यो । सबैका अनुहारमा खुसीका रेखा कोरिएका छन् । अनुहारले खुसीको भाषा बोलिरहेको छ । दशैंको उल्लासले मुग्ध छ सारा गाउँ बस्ती । चनमतीको घरसम्म पनि दशैं दौडिएर आइपुगेको छ तर मनमा भने कसरी आउनु ? दुःखजिलो गरेर जेनतेन बिहान साँझको छाक टार्ने चनमतीको आँखामा पेट भर्नुभन्दा खासै ठूला सपना अटाएका पनि छैनन् । आँगनमा छोरीहरु दशैंको उल्लासले रमाएका छन्, “दशै आयो , खाउँला पिउँला…” चनमतीको मनमा भने पीडाको बादल अटेसमटेस गरिरहेको छ ।

“आमा बजार कहिले जाने लुगा किन्न ?” सानी छोरीले अनुहारमा इन्द्रेणीको रङ चोरेर प्रश्न गर्छे ।

“जाने हो छोरी मलाई आजभोलि फूर्सद छैन ।” जवाफ चनमतीसँग केही पनि थिएन । तर पनि छोरीको मन बिटुलो नहोस् भनेर बनावटी जवाफ फर्काउँछे ।

“आमा हामीलाई पनि साथीहरुले लगाएजस्तै राम्रो लुगा किनिदिनुहोला है ।”

जेठी छोरीले पनि ओठको एक कुनामा गुरासको रंग भर्दै मौखिक मागपत्र पेस गर्छे ।

ऊ “हुन्छ” को भावमा टाउको मात्रै हल्लाउँछे ।

……..

चनमतीसँग एउटा आशाको त्यान्द्रो छ “खैरे” ।

माइती देशमा उसलाई एक वर्षअघि आमाले दिएकी हुन् खैरेलाई ।

यसपाला दशैं मनाउने आधार नै खैरे हो, उसका लागि ।

चालीस किलो जतिको भएको छ, त्यही काटेर छोरीहरुलाई लुगा, घर लिप्ने रङ अनि छुटपुट सबै काम पूरा गर्ने उसको सपना छ ।

सपनाको उचाइ पनि पैसाले बनाउने न हो ।

उसका आँखामा खासै ठूला सपनाहरु अटेसमटेस गरेर अटाउदैनन् ।

चनमती दुई दिन भयो साह्रै तनावमा छे । छोरीहरुको खुसी किन्नका लागि उसले पालेको बाख्रो दुई दिन भयो झोक्राइरहेको छ । कैयौं सन्ताप र ताप खेपेर हुर्काएकी हो उसले खैरेलाई । एकातिर नाकबाट निरन्तर चिप्लो पानी बगिरहेको छ भने अर्कातिर केही दिनदेखि केही पनि खाएको छैन ।

चनमतीको एक वर्षको सपना कतै हुरीले उडाउँछ कि ? मनमा आशंकाको आँधी वेगले हुत्तिएर आएको छ ।

“आमा खैरेलाई के भयो ?” अलि बुझक्की जस्ती जेठी छोरीले प्रश्न गर्छे ।

“खोइ बा दुई दिनदेखि सन्चो नभएको जस्तो गरेको छ, के भयो के भयो ?” चनमतीको अनुहारमा बैराग्य टाँसिन आइपुग्छ ।

“खैरे बिरामी भइरह्यो भने हामीले कसरी लुगा किन्ने आमा ?” कान्छी छोरी आफ्नै सुर्तामा छे ।

चनमतीसँग यसको जवाफ छैन । मनैबाट निस्किएका ताता आँसुले गाला भिजाउँछे, आँसु आफैले बनाएको डोबमा दौडिन्छ । आँसुको जवाफ के बुझ्थी बिचरा नाबालकले ।

“साथीहरु सबैले नयाँ लुगा देखाइरहन्छन्, मलाई त जसरी पनि किनिदिनुपर्छ है ।”

कान्छी छोरीका वचन उसको मुटुका शूल बनेर घोच्छ । जेठी छोरीले थप्छे, “अनि मासु नखाको पनि कत्ति धेरै दिन भयो । यसपालि त मज्जाले खाने हो ।”

दशैं घर्किसकेको छ । सबैका घरहरु रहर र खुसीले रङ्गिएका छन् । टोलका केटाकेटी को भन्दा को राम्रो भन्दै ठाँटिएका छन् । उनीहरुको खुसी नाप्न दशैंलाई समेत हम्मे–हम्मे परेको छ ।

व्यथाले च्याप्दै लगेपछि भेटेनरीबाट ल्याएको औषधि उसले बाख्रालाई खुवाइरहेकी छे । आशाको एउटा मात्र त्यान्द्रो त्यहीं खैरे त हो । उसका लागि जीवनमा सबैभन्दा ठूलो भन्नु नै त्यहीं बाख्रो भएको छ अहिले ।

छोरीहरु आमाले दशैंमा आवश्यकता पूरा गरिदिन्छे भन्ने आशा फुलाएर औंला भाँचिरहेका छन् । पञ्चमीको दिन भइसक्यो बाख्रो बीसको उन्नाइस भएको होइन । बरु एक्काइस भएर पो गएको छ त । छोरीहरुको ढिपी उस्तै छ । अलि बुझक्की भनिएको जेठी छोरीले पनि पञ्चमी कटेपछि जिद्दी गर्न सुरु गरिसकेकी थिइ ।

गाउँमा कतै पैसा सापटी माग्न जाउँ भने खासै आयश्रोत नभएकी चनमतीलाई कसले पो पत्याउँथ्यो र ? तैपनि साहस गरेर जुनेली कहाँ गइ । जुनेलीका बूढा भर्खरै साउदीबाट फर्किएका थिए । चनमतीका श्रीमान र उनी बालसखा थिए । उसले छोरीहरुका दुःख देखाएर सहयोगको याचना गरी । तर जुनेली र उसका बूढाले कुरा सुने मात्र । सहयोगको लागि मन पग्लिएन । चनमतीले एक्लो र बेसहारा हुनुको पीडा महसुस गरी ।

बेसहारा चनमतीका लागि अब एउटै सहारा थियो खैरे । सास रहुञ्जेल आश रहन्छ भनेझैं खैरे निको हुने आशामा चनमतीले आफूलाई सम्हालिरहेकी थिइ । सप्तमी भइसक्दा पनि खैरेको निको हुने कुनै छाँट रहेन । छोरीहरुले लुगा नकिनिदिएको विरोधमा खाना खान मनाही गरिसकेका थिए ।

चनमतीसँग सम्झाउने कुनै शब्द पनि थिएन । बिचरा छोरीहरु बाबुले संसार छाडेदेखि नयाँ लुगा कस्तो हुन्छ अनुभव गर्न पाएका छैनन् । बाल्यकालमा लगाउने, खाने रहर लाग्ने त भयो । सँगैका साथीहरु रङ्गीचङ्गी भएर रमाइरहेका छन् । सबैका घरमा मासुको मिठो सुवास आइरहेको छ । उसका घरमा भने साँझ बिहान खानका लागि समेत चामल छैन । बालबच्चा न भए, कसरी घर व्यवहारको कुरा थाहा पाउलान् ? फेरि बालापनका रहरहरु कहाँ हैसियत बुझेर आउँछन् त ? श्रीकृष्णले बालापनमै त होइन यशोदालाई चन्द्रमा भूइँमा ल्याइदेऊ भनेर जिद्दी गरेको ।

घरमा छाक बन्द हुँदासमेत गाउँका कसैले पनि चनमतीको दुःखतिर आँखा लगाउने प्रयत्न गरेनन् । मान्छे एक्लो भए साँच्चै सबैले एक्लै बनाउँदा रहेछन्् । मान्छेको जात न हो आफूलाई पो प्लेटले काटेको पनि दुख्छ अरुलाई खुकुरी हानेको पनि कहाँ महसुस गर्छन् र ?

चनमतीसँग अब हाँस्नका लागि अतीत मात्र छ । वर्तमान त उसका आँखा र मनभरि आँसुले भिजेको छ । आँखाको पानीले मनलाई सिचाइ हुने भए उसको छातीमा संसारको सबैभन्दा बहुमूल्य चीज उम्रने थियो । आँसुको पोखरी रित्तिदो हो त चनमतीको जीवनमा के नै सहारा हुन्थ्यो होला ।

भक्तबीरसँग मीठा सपना बोकेर चुक घोप्टिएको रात सधैंका लागि भागेर जाँदा चनमतीले कहिल्यै पनि आँसुको पीडाबोध गरिन । प्रेममा लिप्त मान्छेको दिमाग शून्य र मन सक्रिय हुन्छ । उसले पनि दिमाग शून्य पारी । कुजातसँग जात फालेको निहुँमा उसका लागि माइतको ढोका सधैंका लागि बन्द भयो । चनमतीले कहिल्यै अभाव महसुस गरिन । आमाले लुकी–लुकी माया गर्थिन् । बाबु कठोर थिए, कहिल्यै पनि मन पग्लाएनन् ।

खैरेलाई बचाउने सबै आशा करिब–करिब सकिएपछि चनमतीको ढुंगामा चित्र कोरिएका भगवानसँग प्रार्थना गर्ने एकमात्र बाटो बाँकी थियो । आशाका सबै डोरीहरु चुँडिएपछि त हो नि मानिसले भगवानलाई हात जोड्ने ।

आज नवमी, गाउँभरि परदेशबाट फर्कनेहरु सबै फर्किसकेका छन् भने दशैंको तयारी पनि सबैले गरिसकेका छन् । लुगाफाटो, मासुमात्र होइन कतिपयका घरमा ठूला–ठूला भित्ताभरि हुने टेलिभिजन सेट, कसैकोमा फ्रिज त कसैका घरमा मोटरसाइकल, गाडी, नानाथरिका सामानहरु जोडिएका छन् । चनमतीको घरमा त बत्ती पनि छैन । अरु कुरा त परै जाऊन् । फेरि उसका छोरीहरुले पनि खासै ठूला सपना देखेका पनि त छैनन् सिवाय एकसरो लुगा । तर पनि चनमतीको गरिबीले छोरीका सपनाहरु पूरा गर्ने सामथ्र्य राख्न सकेन ।

दशमीको दिन भइसक्दा खैरेले प्राण छाड्ने तरखर गर्दै थियो । भगवानले पनि खैरेलाई जीवन दिन नसक्ने भए । दश दिनदेखिको चनमतीको सपना अन्ततः अधूरो रहने भयो । छोरीहरु उस्तै आँखाबाट आँसु बगाएर रोइरहेका छन् । चनमतीका आँखा त झन् कहिले ओभाएका छन् र ? मान्छेले आफ्ना आँखाका आँसु जेनतेन थेग्ला तर सन्तानको आँखामा आँसु कहिल्यै पनि थेग्न सक्दैन ।

चनमती सरासर कोठाभित्र जान्छे । बर्रे२ घरको दलीनमा बाँध्छे अनि अन्तिमपटक संसार हेरेर पति गएको शहरमा जान्छे ।

सारा गाउँ दशैंको उन्मादमा रमाइरहेका बेलामा चनमतीको आँगनमा दुइटा लास छन्– खैरी र चनमतीको । रुने पनि दुइ जोर आँखा मात्रै छन् ।

‘आमा नयाँ लुगा चाहिदैन तर तपाइँ ब्यूँझिनुस् ।’

***

१ ऊनले बुनेको ओढ्ने लुगा
२ गाउँघरमा भारी बोक्नका लागि प्रयोग गरिने बाबियो÷भीमल वा भाङ्गोको डोरीबाट बनाइएको डोरी ।

By

Readers Comments (0)