Filed Under:  समीक्षा

एउटा गतिलो निबन्ध कृति

17th October 2015   ·   0 Comments

Tikaram Udasi– टीकाराम उदासी

यतिबेला राप्तीको साहित्यिक क्षेत्रमा विभिन्न तरेलीका प्रतिभाहरु सक्रिय रहेका छन् । खासगरी नवोदित प्रतिभाहरुको साहित्यिक अनुराग र उत्साहले यस क्षेत्रको सिर्जनात्मक ­­भूगोल पुलकित बनेको छ । आज राप्तीको कुनै एउटा भागमा मात्रै नभएर सबै जिल्लाहरुमा उत्तिकै सक्रियता देखिएको छ । पुराना प्रतिभाहरुको सक्रियता, कतिपय पलायन भएकाझैँ लाग्ने प्रतिभाहरुको पुनरागमन र नितान्त नयाँ प्रतिभाहरुको मेहनतले आज राप्तीको साहित्यिक जगत् हराभरा बन्ने क्रममा रहेको छ । निश्चय नै यो सबैका लागि प्रेरणादायी र हर्षको विषय हो । यसै क्रममा सल्यानका एउटा प्रतिभासम्पन्न युवा स्रष्टा गणेशमान सिंह आफ्नो नवीनतम निबन्धकृति यो देश र म लिएर नेपाली निबन्धका पाठकहरुसमक्ष उपस्थित हुन आएका छन् ।

Cover  desh ra maविश्वसाहित्यमा निबन्ध कान्छो विधा हो । कविता, नाटक र आख्यान विधाभन्दा कान्छो विधाका रुपमा यसले आफ्नो पहिचान बनाएको छ । फ्रान्सेली निबन्धकार मोन्तेनले फ्रान्सेली भाषामा सर्वप्रथम यसको प्रारम्भ गरेका हुन् । आत्मपरक निबन्धका पनि पिता मानिने मोन्तेनका निबन्धहरुलाई फ्रान्सेली भाषामा एस्साई भनियो । मोन्तेनपछि अङ्ग्रेजी भाषामा बेकनले निबन्ध लेखेर यस विधालाई अझै फराकिलो पहिचान दिएका हुन् । उनी वस्तुपरक निबन्धका प्रवर्तक मानिन्छन् । यसरी छोटो समयमै आत्मपरक र वस्तुपरक दुई शैलीका निबन्धहरुले विश्वसाहित्यमा आफ्नो अस्तित्व प्राप्त गरे साथै आफूलाई संसारका धेरै भाषासाहित्यमा बिस्तार पनि गर्न सफल भए । नेपालीमा निबन्धको प्रारम्भबिन्दू पृथ्वीनारायण शाहको दिव्योपदेश (१८३१ लेखन समय) लाई मान्ने गरिएको छ । त्यसपछि लेखिएका विभिन्न गद्यकृतिहरुमा निबन्धका छटाहरु भेटिने भए पनि आधुनिककालपछि मात्र यस विधाले एउटा स्पष्ट अनुहार बनाउन सफल भएको देखिन्छ । १९९२ सालको शारदा मासिक पत्रिकामा प्रकाशित बालकृष्ण समको बर्दहामा शिकार नामक निबन्धलाई पहिलो आधुनिक निबन्ध मानिए पनि एउटा पूर्ण आकृति भने लक्ष्मीप्रसाद देवकोटाको असारको पन्ध्र (शारदा मासिक १९९३) मा आएर मात्र प्राप्त गरेको हो । यसरी नेपाली निबन्धको आधुनिक घरको शिलान्यास भएको देखिए पनि आज यसको निर्माण कार्यमा अनेकौं प्रतिभाहरुले निकै महत्वपूर्ण योगदान गरेका छन् । यस क्रममा राप्तीको निबन्ध विधालाई हेर्दा त्यति सबल अझै हुन नसकेको हो कि जस्तो लागिरहेको स्थितिमा पचासको दशकपछि भने केही गतिला प्रयासहरु अगाडि देखिएका छन् । फुटकर सिर्जनामा आइरहेका प्रतिभाहरुबाहेक नारायणप्रसाद शर्मा, उत्तमकृष्ण मजगैयाँ, सुशील गौतम, नवीन विभास, क्षितिज मगर, महेश आरोही आदि थोरैका मात्र स्तरीय निबन्धकृतिहरु प्रकाशित भएका छन् । यसैको पछिल्लो साक्षीका रुपमा सल्यानी युवा प्रतिभा गणेशमान सिंहको प्रस्तुत पहिलो कृति यो देश र म पाठकमाझ आइपुगेको छ ।

फरकपत्र राष्ट्रिय द्वैमासिक, काठमाण्डौंले २०७१ मंसिर महिनामा पहिलोपल्ट प्रकाशित गरेको गणेशमान सिंहको प्रस्तुत निबन्धकृति यो देश र म भित्र २७ वटा फुटकर निबन्धरचनाहरु समेटिएका छन् । सुन्दर आवरण र साजसज्जासहित आएको यस कृतिभित्रका सबै निबन्धहरु प्रयोगशील शैलीका कारण नवीन पनि छन् । कृतिको प्रारम्भमा आफ्ना कुरालाई उनले अभूमिका भनेका छन् भने कृतिका प्रारम्भिक तीन शीर्षकका निबन्धहरुको नाम क, ख र ग दिइएको छ । यस्तै अन्य निबन्धका शीर्षकहरु यस्ता छन्– मेरो जन्म, मेरो समाज, गोरेटोको खोजीमा, मान्छेको सत्ता, बेग्लो मान्छे, गाँउका कथा, दलाल, जयगाउँ, आफ्नै छाया, म र मेरो ः हामी र हाम्रो, ओ मेरा यादहरु, सम्बन्ध, हामी, यो देश र म, गुरु चेला, नेताले बिगारेको देश, जिन्दगी, युगका कुरा, हेमलक, किशोर मन, मायाका कुरा, विद्या र ज्ञानका कुरा, नारी र समाज, सस्तो मान्छे । यसरी उनले जीवन, समय र समाजका विविध आयामहरुलाई प्रस्तुत गर्ने क्रममा राखेका निबन्धका शीर्षकहरुले पनि उनको प्रयोगचेतलाई आत्मसात गरेको भेटिन्छ ।

निबन्धकार गणेशमान सिंहका निबन्धहरु विभिन्न विषय र भावहरुमा केन्द्रित देखिन्छन् । उनले जीवन र समाजका धेरै विषयहरुलाई निबन्धमा उनेका छन् । तर ती सबैको साझा धरातल छ दार्शनिकता । उनले आफ्ना प्रायः सबै निबन्धहरुमा जीवन र सिद्धान्तका विभिन्न सन्दर्भहरुलाई उल्लेख गरेका छन् । उनले धेरै निबन्धहरुमा विभिन्न लेखक, दार्शनिक, वैज्ञानिक, कवि आदिका अनेक अभिव्यक्तिहरुलाई स्थान दिएका छन् । कवि भूपि शेरचनदेखि विष्णुविभु घिमिरे, निभा, कृष्ण सेन, कुन्दन शर्मा हँुदै युमा, पाससम्मका कविता हरफलाई उनले आफ्ना निबन्धमा राखेका छन् । त्यस्तै शंकर लामिछाने, सरुभक्त, माओ, टिई लरेन्स, लेनिन, माक्र्स, अल्बर्ट आइन्स्टाइन, एरिस्टोटल, कन्फ्युसियस, ग्यालिलियो, न्युटन, पाइथागोरस, रुसो आदि धेरै चर्चित नामहरुलाई उनले साभार गरेका छन् आफ्ना निबन्ध हरफहरुमा । यसरी हेर्दा निबन्धकार सिंहका निबन्धहरु दार्शनिक मात्रै छैनन्, बौद्धिकताका विविध सन्दर्भहरुले सारगर्भित पनि बनेका छन् । उनका निबन्धमा आफ्नो जन्मभूमिप्रतिको गहिरो प्रेम पनि प्रकट भएको देखिन्छ । साथै समकालीन नेपाली समाजमा विद्यमान राजनीतिक अराजकता, साँस्कृतिक स्खलन, नैतिक ह्रास, सामाजिक विद्रुपता र मूल्यहीन सम्बन्धहरुलाई उनले स्पष्ट चित्रण गरेका छन् । कतिपय आफ्नै व्यक्तिगत जीवनका सन्दर्भमा लेखिएका जस्ता लाग्ने निबन्धहरुमा पनि उनले आजको युगजीवनका उल्लेखनीय सन्दर्भहरुलाई उत्तिकै स्थान दिएका छन् । आजको युग, ज्ञानविज्ञानका सन्दर्भ, प्रेमप्रणय, गुरुचेलाका सम्बन्ध, पारिवारिक चर्चा, गाउँघरका कुरा र यात्राका सन्दर्भमा पनि उनले सामाजिक, साँस्कृतिक स्थितिलाई अभिव्यक्त गर्न छाडेका छैनन् । यसरी भाव र विषयका हिसाबले उनका निबन्धहरु समृद्ध देखिन्छन् ।

शैली र प्रस्तुतिका हिसाबले निबन्धकार सिंहका निबन्धहरु नवीन छन् । केही निबन्धकार लक्ष्मीप्रसाद देवकोटाको दार्शनिक उडान र केही शंकर लामिछानेको अमूर्त शैलीको प्रभावजस्ता पनि लाग्ने सिंहका निबन्धहरुमा आजको जीवन, समय र समाजको स्पष्ट प्रतिबिम्ब पाउन सकिन्छ । यसै कारणले उनका निबन्ध आफ्ना धेरै अग्रज र समकालीन निबन्धकारहरुभन्दा पृथक अनुहार बोकेर आएका छन् । सम्बन्ध, जिन्दगी, विद्या र ज्ञानका कुरा, सस्तो मान्छे शीर्षकादिका केही निबन्धहरुमा भने निबन्ध तत्वभन्दा पनि आख्यानकै अनुपात बढी भएको हो कि जस्तो पनि अनुभव गर्न सकिन्छ । यस्तै हेमलक, युगका कुरा, मेरो जन्मजस्ता केही निबन्धमा दार्शनिकता बढी मुखर बनेकाले सामान्य पाठकका लागि निबन्ध जटिल लाग्छन् । यस्तै नेताले बिगारेको देश शीर्षकको निबन्धमा आजको परिवर्तनप्रति उनले अलि बढी निराशा प्रकट गरेको पाउन सकिन्छ । तर नेताले मात्रै देश बिगारे भन्नु एकाङ्की दृष्टिकोण हो । केही नेताले देश पनि बनाउँछन् । साथै देश बिगार्ने सवालमा हामी सबैको उत्तिकै अंशियार छ भन्नु नै सायद बढी वस्तुगत होला । यिनै केही सीमाहरुबाहेक निबन्धकार सिंहका निबन्धहरुले उनको आगामी निबन्ध लेखनको उज्यालो यात्रालाई नै सङ्केत गरेको छ । यस कृतिले उनको सिर्जनात्मक क्षमता, जीवनवादी दृष्टिकोण र बौद्धिक धरातल सबैलाई उजागर गर्न सफल भएको छ । समष्टिमा उनको प्रस्तुत यो देश र म नामक निबन्धकृति पहिलो प्रकाशन भएर पनि राप्तीको निबन्धभण्डारमा एउटा गतिलो सामग्रीका रुपमा रहन सफल बनेको देखिन्छ ।

By

Readers Comments (0)