Filed Under:  कविता

नाटक | हिरामणि दुःखी

17th October 2015   ·   0 Comments

Hiramani Dukhiनाटक चलिरहेछ रङ्गमन्चमा
कथा लेखनको
कुर्लन्छ एउटा सिंहासनबाट–
‘म हुँ नायक यस मञ्चको
मसँग छ नयाँ कलम
मेरो कागज छ पवित्र
लेख्छु त्यसैमा नयाँ कथा
त्यसका निम्ति
मसँग छ घरभित्र
अङ्कगणितको बलियो सूत्र ।’
८८८
अर्को उफ्रन्छ पटाङ्ग्रीबाट–
‘म हुँ नायक यस प्रहरको
यो प्रहरको आगमनका खातिर
दशकौँ रात गुजारेको छु
म लेख्छु नयाँ कथा
मसँग छन् अग्राखमा कुँदिएका
नयाँ कलमहरूको
एउटा सिङ्गै बिटो
र, मसँग छ बलियो पहाडी कागज
रङ्ग, भाषा र संस्कृतिको झोलमा
मुछेर तयार पारिएको
एउटा सिङ्गै भूगोल
जहाँ छन् धेरै सडकहरू
यदि दिँदैनौ तिमी रङ्गमन्चमा
एउटा स्थान भने
म सडकमै लेख्नेछु नयाँ कथा ।’
८८८
नाटक चलिरहेछ रङ्गमन्चमा
एउटा छ सिंहासनमा
अर्को छ पटाङ्ग्रीमा
नाभीबाट झिकेर अन्तिम ताकत
पाखुरा सुर्किरहेछन्
तहगत बस्त्र उतार्दै शरीरबाट
केवल नायकत्वको दावीका लागि
भइरहेछन् निर्वश्त्र ।
८८८
नाटक चलिरहेछ रङ्गमन्चमा
सिंहासनबाट
पटाङ्ग्रीबाट
नेपथ्यबाट
दावी गरिरहेछन् नायकत्वको
एउटा फाल्तु हड्डीका लागि
लडिरहेछन् श्वानयुद्ध ।

By

Readers Comments (0)