Filed Under:  कथा

मेवाडकी रानी | गणेश ओली

17th October 2015   ·   0 Comments

ganesh new photoमेवाडकी रानी !

म उनको राजा बन्छु कि बन्दिनँ मलाई नै थाहा छैन तर उनी मेरी मनकी रानी बनिसकिन् ।

पाठक मित्र, तपाइँलाई लाग्ला उसो भए किन रानी ?

यसमा मेरो तर्क के छ भने, बिबाह र प्रेम फरक कुरा हो । बिबाह भएमा रानी बन्ने र नहुँदैमा रानी नहुने भन्ने तर्कसँग मेरो असहमति छ ।

प्रेमको नाममा रासलीलाको मात्र सपना म देख्दिनँ बरु मलाई काखमा लुटपुटिएर मीठा प्रेम–बात गर्न मन लाग्छ । लैला–मैजुनका कथा सुन्न र सुनाउन मन लाग्छ र कल्पनाको घोडामा लैला–मैजुन भएर मन डुलाउन रुचि लाग्छ । मायाको भ¥याङ चढेर देहमा लुटपुटिने दानवजस्तो लाग्छ मलाई । प्रेममा रतिरागको भुत्ल्याइँभन्दा स्पर्शको नरम काउकुती प्यारो लाग्छ मलाई ।

अब म उनको र मेरो सम्बन्धको बारेमा चर्चा गर्न गइरहेको छु ।

बिहानको कलिलो घाम पोखिएको थियो मेवाड चिया पसलको आँगनभरि । घामभन्दा अझ पोखिएको थियो सडकभरि मस्त जवानी । बगैंचामा एक्लै फुलेको पहेंलो फूलजस्तै । म त्यहीं फूलको हरहराउँदो बासना र बैंसको न्यानो घाम तापेर आँगनको छेऊमा बसिरहेको छु । लाग्यो मेरै कमल ताल छेऊको चौपारी हो । जहाँ प्राकृतिक । यौवन । सूर्य । सबैको ताप सँगै पोखिएको हुन्छ ।

घोराही बजारको बीचैमा छ मेवाड चिया पसल । साहु साहुनी लुम्बिनीतिरका रे । असाध्यै भद्र ।

बजारभरि छरिएका छन् साथीहरु । बिहान सबै त्यहीं थिग्रिन्छन् ।

घरमा काम थियो । मेवाडको तल–तल लाग्यो (मेवाडमा म चियाको तल–तलले जान्छु वा अरु ? म आफैलाई थाहा छैन तर हरेक बिहान निरन्तर पुग्छु) ।

भित्र खुबै हल्लाखल्ला थियो । यहाँ तरकारीदेखि सरकारी । गाउँदेखि विश्वसम्मका कुरा गर्छन् साथीहरु ।

म बाहिरै बसें । एक गिलास चिया मागेँ । बिहानी घाम र सडकको न्यानो तापेरै बसेँ । एक त मेवाडको चिया नै मिठो झन् आज उनको मुस्कान झन् मिठो । म त्यहीं जवानीको न्यानोसँगै घामको न्यानो तापेर चिया पिउँदा ज्यादै आनन्द लाग्यो । चियाको सुर्कोसँगै उनको जवानीको सुर्को नै निले जस्तो लाग्यो ।

सडकमा थिइन् उनै रुकुमकी नानीकलाजस्तै एक बैंशालु नारी । हिमालबाट हिउँ पग्लेको पानीजस्तै उनी मेरो अगाडिबाट हिडिरहेकी थिइन् ।

उनलाई देख्नु र मनमा बसन्तको पोथ्राजस्तो प्रेमको पालुवा सल्बलाउनु संयोग हो या प्राकृतिक नियम ! म आफै कन्फ्यूज छु । खुसीका गुराँसहरु फुल्न थाले । शरीरमा स्फूर्ति बढ्यो । यो किन भयो म आफैलाई थाहा छैन । मन चङ्गा जस्तै भयो ।

छिनमै तातो हरायो ढुरीले घाम छेक्यो । शरीरमा चिसोले छोयो । मेरो मन भने यो चिसोले डगमगाउन सकेन । मतलब मनमा भने गर्मी नै थियो । किनकि यो मनमा उनी थिइन् ।

कोमल शरीर । लहराउँदो कपाल । लाग्यो यति सुन्दर मान्छेको मन कति सुन्दर होला ? हातले छुँदा पनि उनको शरीरमा छाप बस्ला जस्तो । बोल्दा पनि बोलीले उनको मन घोच्ला जस्तो ।

उनलाई जुन दिन देखेँ, आजकल म झन नियमित नै मेवाड पुग्छु । बरु सबैभन्दा पहिले नै पुग्छु । हिजोसम्म साथीहरुसँग गफिन मन गर्ने मलाई आजभोलि सडकभरि आँखा बिच्छ्याएर एक्लै बस्न मन लाग्छ ।

म बसिरहेको हुन्छु । थाहा छैन म कसैको प्रतीक्षामा हुन्छु । हर बिहान मेरा आँखाहरु कसैको स्वागतका लागि बिच्छ्याइएका हुन्छन् ।

त्यो सडक । पवित्र सडक । मेरो मनको ढोका ढकढक्याउने सडक । सबैभन्दा प्यारो सडक भएको छ । मेरा आँखा सधैं त्यहीं सडकमा कसैको स्वागतको लागि बिच्छ्याइएका हुन्छन् । जब उनी घरबाट निस्केर कलेज लाग्छिन् मेरो मन शान्त हुन्छ । केही पाए जस्तो हुन्छ । अनि शुरु हुन्छ सधैंझै गफको रमाइलो माहोल ।

सबैभन्दा पहिले मेवाड पुग्नु । कसैको प्रतीक्षा गर्नु । आँखाले धितमरुन्जेल उनलाई हेर्नु । पुलकित हुँदै होटेल भित्र पस्नु । चुरोट । चिया । उनको सौन्दर्यको आनन्द एकै सर्कोमा तान्नु । आजभोलिको मेरो दिनचर्याजस्तै हो । यसको अन्तिम टुंगो कहिले हुन्छ थाहा नै छैन तर आजकाल मेरो दैनिकी भन्दा हुन्छ । उनी झुल्केदेखि पाँच सय मिटर सडक पार नगरुन्जेल उनको सौन्दर्यतामा लिन हुनु मेरो दैनिकी हो ।

कहिलेकाँही मात्र उनले चिया पसलतिर आँखा दौडाउँछिन् । चिया पसलमा साथीहरु आफ्नै गफमा खित्का छाडेर पनि हाँस्छन् । विशेष दिन बाहेक उनले म बसेतिर हेर्दा पनि हेर्दिनन् । जुन दिन हेर्छिन्, त्यस दिन मेरा लागि विशेष दिन हुन्छ ।

लाग्छ– उनले सधैं मेवाड बाहिरको टेबुल हेरुन् । जुन टेबुलमा म मात्र बसेको हुन्छु । त्यतातिर उनलाई सधैं आँखा डुलाइरहन मन लागोस् । मलाई देख्न मन लागोस् । मलाई जस्तै उनलाई पनि सधैं हेर्न र भेट्न छटपटी होस् । कहिलेकाहीं मनमनै यस्तै सोच्छु । तर खोई भन्न सक्दिनँ जीवनमा त्यो दिन आउँछ वा आउँदिन । आशा छ– पक्कै त्यो दिन एकदिन आउनेछ ।

एकदिन म काम विशेषले तुलसीपुर गएको थिएँ । तुलसीपुरबाट घोराही आउने बसमा चढेँ ।

प्रायः म झ्यालतिरको सडक रोज्छु । बाहिरी सौन्दर्य । सडकको चहलपहल मलाई असाध्यै मन पर्छ ।

बस खाली थियो । आज पनि म झ्यालमै थिएँ । खैं थाहा छैन के सोचिरहेको थिएँ । मेरो छेऊमा कोही आएर बस्यो । (यात्रा गर्दा कहिले पनि मेरो छेऊमा को आएर बस्छ मतलब नै गर्दिनँ । धेरै बकबक गर्ने मान्छे प¥यो भने मन पनि पर्दैन) । आज किन मलाई हेर्न मन लाग्यो । सायद अचेतन मनले परिचित ठान्यो कि ? चेतनमन हुँदै दिमागसम्म क्लिक ग¥यो ।) फर्केर हेरँे । सायद स्पर्श । सुगन्ध केही न केहीले मेरो अवचेतन मन हल्लायो ।

फर्केर हेरेँ । उनी थिइन् । केही अप्ठ्यारोमा परेँ । कतै खुसीजस्तो पनि लाग्यो । कतै अपराधीजस्तो पनि । उता आँखा र मन थाम्न सकिनँ । फेरि बाहिरै फर्कें । तर आज मलाई बाहिरभन्दा भित्रै आँखा डुलाउन मन लागेको थियो तर आँट आएन ।

बस गुडिरहेको थियो । मेरो चाहना भित्र हेर्ने भए पनि बाहिरै हेरिरहेको थिएँ ।

फेरि अवचेतन मनले मेरो छेऊमा बसेको मान्छेलाई केही असजिलो भएको महशुस गरेँ । फर्केर हेरँे । उनले पनि हेरिन् । यसरी हेर्दा आफैलाई असभ्य जस्तो पनि लाग्यो । मनमा भने केही तरङ्ग आएजस्तो लाग्यो । केही अप्ठ्यारो, धेरै खुसी लाग्यो । तर बोल्न आज पनि सकिनँ ।

आज मात्र हैन बजारमा अरु दिन पनि उनीसँग भेट हुन्थ्यो । मलाई धित मरुन्जेल हेर्न मन लाग्थ्यो । बोल्न मन लाग्थ्यो । सँगसँगै सपिङ गर्न मन लाग्थ्यो ।

उनलाई भने बाल मतलब । चिन्नु न जान्नु ढुंगाले हान्नु भनेजस्तो । उनले सायद चिन्दिनन् । उनी आफ्नो काममा लाग्थिन् म भने कुनै घरको कुनामा वा कुनै अर्को पसलमा सामान किन्ने बहाना बनाएर लुकी–लुकी उनलाई नै हेर्थेँ । प्रेमको घोडा चढेर आकाशमा कावा खाँदै संसार घुम्ने कल्पिन्थेँ ।

एक्सक्युज मी ।

मलाई कसैले बोलायो । क्या मिठो स्वर अरु बोलिदिए हुन्थ्यो जस्तो लाग्यो । मैले उनी भएतिर हेरेँ । केही बोल्न म पनि सकिनँ (सायद यही मेरो कमजोरी हो ।)

मलाई अलि अप्ठ्यारो भयो । झ्यालतिर बस्छु । तपाइँ यता बस्नुस् । हुन्न ? उनले भनिन् ।

मैले हुन्छ भनें ।

उनलाई सिट छोडिदिएँ ।

यस्ता जाबा डिमान्ड त के मलाई उनले जे भने पनि गर्न तयार छु ।

उनी झ्यालतिर बसेर बाहिर हेर्न थालिन् । मलाई पनि सजिलो भयो । बाहिर पनि हेर्न पाइने उनलाई पनि हेर्न पाइने । नजिकैबाट धित मरुन्जेल हेरेँ ।

यात्रामा यो भन्दा अरु केही भएन ।

बाँकी रङहरु मेवाडमै फेरिरहन्छन् ।

आजकाल पनि म मेवाडमा एक्लै कल्पनामा हराइरहेको हुन्छु । सानोमा त यसरी टोलाउँदा आमाले सातो डाक्ने भन्दै धामीकोमा लैजानुहुन्थ्यो । आज मेरो लागि सातो बोलाउने मान्छे छैन मसँग । आज त उनै बोक्सी, उनै धामी हुन् ।

आजभोलि उनको प्रेमको सहरमा बास बस्न मूल गेट पुग्ने बाटो नभेटाएको यात्री जस्तो छु म ।

रहरहरु भविष्यका लागि थाँती राखेर कहर काटिरहेको छु म आजभोलि । हेराँै जीवनमा सधैं अन्तिम गन्तव्यमा पुगिन्छ भन्ने नै छैन । मेरो यो यात्रा कहाँ पुग्छ थाहा छैन तर यो चाहिँ कन्फर्म हो उनी मेरी मनकी रानी हुन् ।

By

Readers Comments (0)