Filed Under:  कुराकानी

सिर्जनाको मूल्यनिर्धारण पाठकहरुले गर्ने हो

17th October 2015   ·   0 Comments

Udasi- टीकाराम उदासी, साहित्यकार

टीकाराम उदासी समकालीन नेपाली साहित्यमा स्थापित नाम हो । मूलतः गजल, कविता र समालोचना क्षेत्रमा कलम चलाउने उदासीका परिवेशका धुनहरु, बोल्दैछ आफै मौसम, गजल सिद्धान्त र नेपाली गजलको इतिहास, मौसमका हरफहरु जस्ता कृतिहरु प्रकाशित छन् । साढे दुई दशकअघिदेखि साहित्य लेखनमा सक्रिय उदासी राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष रहनुका साथै अन्तध्र्वनि साहित्यिक त्रैमासिकका कार्यकारी सम्पादक पनि हुनुहुन्छ । प्रस्तुत छ हाल नेपाली गजलको अनुसन्धानमा सक्रिय उदासीसँग वर्तमान गजललगायत साहित्यको अवस्थामा केन्द्रित रहेर गरिएको कुराकानी– सम्पादक ।)

अहिलेको नेपाली साहित्यको अवस्था कहाँनेर छ जस्तो लाग्छ तपाइँलाई ?

विश्वका अन्य विकसित भाषासाहित्यको इतिहास यात्राका सापेक्षतामा नेपाली भाषासाहित्यको इतिहास त्यति लामो त अवश्य छैन तर आफ्नो स्वतन्त्र अस्तित्व, पहिचान र गतिका साथ आज पनि यो अगाडि बढिरहेकै छ । नेपाली साहित्यको प्राथमिककाल र माध्यमिककाललाई थाँती राखेर आधुनिककालमा लेखिएका साहित्यिक सिर्जना र तिनका बारेमा लेखिएका समालोचनाहरुलाई हेर्दा हाम्रो साहित्यले धेरै प्रगति गरेको मान्न सकिन्छ । पछिल्लो समयको नेपाली साहित्यलाई हेर्ने हो भने त झन् धेरै आशावादी हुने ठाउँहरु छन् जस्तो लाग्छ ।

आधुनिककालको प्रारम्भअघि नेपाली साहित्य करिब–करिब संस्कृत साहित्य (पूर्वीय साहित्य)कै वरिपरि घुमेकोजस्तो देखिन्छ । तर आधुनिक कालको प्रारम्भ भएपछि भने यसले अति तीब्र गतिमा पश्चिमी साहित्यका विभिन्न सिद्धान्त, प्रयोग र शैलीहरुलाई आत्मसात गरी अगाडि बढ्न थालेको पाइन्छ । आधुनिककालपछि नै नेपाली साहित्यमा गम्भीर प्रकृतिका यथार्थवादी र कलात्मक साहित्यको सिर्जनाले स्थान प्राप्त गरेको देखिन्छ । यस बीचमा प्रयोगशील सिर्जनाहरु पनि धेरै लेखिएका छन् । यसरी हेर्दा आज नेपाली साहित्य विश्व साहित्यकै एक भागका रुपमा अगाडि बढिरहेको छ ।

आज नेपाली साहित्यमा अन्य विभिन्न वाद, प्रवृत्ति र धाराहरु विद्यमान रहेका भए पनि यथार्थवादी धारा र प्रयोगवादी धाराले नै समानान्तर धाराका रुपमा प्रतिष्पर्धा गरिरहेका छन् । कविता, आख्यान, नाटक र निबन्ध सबै विधामा आज प्रतिष्पर्धाको यो स्थिति देखिन्छ । साथसाथै युद्धसाहित्य र डायस्पोरा साहित्यजस्ता नवीन सिर्जनात्मक धाराहरु पनि नेपाली साहित्यमा देखिएका छन् । पुरानो पुस्ताको सक्रियता सँगसँगै आज नयाँ पुस्ताका प्रतिभाहरु पनि अति उत्साहका साथ सिर्जनाका क्षेत्रमा देखिएका छन् ।

नेपाली साहित्यमा आज विभिन्न प्रकृतिका विधागत बहस र चर्चाहरु सँगसँगै साहित्यको सामाजिक सरोकारका विषयमा पनि चासोहरु देखिएका छन् । आज बिस्तारै अनुवादको क्रम पनि बढिरहेको छ । लिंग, समुदाय, क्षेत्र र संस्कृतिसँग सम्बन्धित सिर्जना र तिनीहरुमाथि विमर्शहरु पनि हुन थालेका छन् । साहित्यमा पाठकीय आकर्षण र बजारको बिस्तारका कारण आज कतिपय कृतिहरु हजारौंको अनुपातमा पनि छापिन थालेका छन् । कतिपय लेखकहरुले सिर्जनाबापतको पारिश्रमिकले पनि आफ्नो केही आर्थिक जोहो गरिरहेका देखिन्छन् । यी सबै गतिविधिहरुले नेपाली साहित्यलाई बिस्तारै समृद्ध र व्यापक बनाउँदै लगिरहेको छ ।

नेपाली गजललाई बाढी, खहरे अर्थात् वनमारा झारको रुपमा व्याख्या गरेर कतिपय समालोचकले गजलप्रति वितृष्णा जगाइरहेको आजको परिवेशमा खासमा गजल के हो ? कस्तो हुनुपर्छ ? र नेपाली गजलले लिएको वर्तमान उचाइप्रति यहाँको के धारणा रहेको छ ?

पहिलो कुरा, साहित्यको दुनियाँमा कुनै पनि विधा आफैमा शाश्वत हुने होइन, सबैको निर्धारण समयको गतिले गर्ने हो । साथै कुनै पनि सिर्जनाको मूल्य निर्धारण आम पाठकहरुले गर्ने हो, एक दुईजना बजारु समालोचकले गर्ने कुरा होइन । यदि यस्तो हुने थियो भने इतिहासको कुनै कालखण्डमा पूर्व र पश्चिम दुबैतिर अति नै लोकप्रिय विधाका रुपमा रहेका महाकाव्य र नाटकजस्ता विधाहरुको स्थान आज पूँजीवादका धरातलमा अस्तित्व प्राप्त गरेका मानिने उपन्यास र कथाजस्ता विधाले लिने अवश्य थिएनन् । दोस्रो कुरा, कुनै पनि साहित्यिक विधा आफैमा राम्रो र नराम्रो हुने होइन । त्यसको सिर्जनात्मक प्रभाव, त्यसको युगसापेक्ष चेतना र त्यसको सौन्दर्यात्मक सम्प्रेषणको स्तरले सबै कुराको निर्धारण गर्ने हो । आजको अति लोकप्रिय विधा गजलको गति र स्तरलाई पनि यिनै आधारमा राखेर हेर्नु बढी सान्दर्भिक हुन्छ भन्ने मलाई लाग्दछ ।

जहाँसम्म आजको परिवेशमा गजल के हो भन्ने कुरा छ, हिजो र आज मात्रै होइन, भोलि पनि यो सामाजिक जीवनकै कलात्मक अभिव्यक्तिको एउटा महत्वपूर्ण माध्यम हो । गजल एउटा साहित्यिक विधा भएका कारणले यसको आफ्नै मौलिक संरचनागत ढाँचा छ । यसको सिर्जनामा यसको आफ्नो ढाँचा अनिवार्य शर्त हुने नै भयो । स्वाभाविक रुपले त्यही मौलिक ढाँचामा आजको युगजीवनका अनुभूति र अनुभवहरुले यसमा स्थान पाउनुपर्छ, पाइरहेकै छन् । नेपाली गजलको वर्तमान गतिका सन्दर्भमा कुरा गर्दा चाहिँ नेपालीमा गजलको इतिहास धेरै लामो छैन । तर पचासको दशकपछि नै समग्र नेपाली साहित्यजगत्मा यसले जुन गति र प्रभाव अगाडि बढाइरहेको छ, यो आफैमा अत्यन्त ऐतिहासिक र उत्साहप्रद छ । यसबीचमा हजारौं प्रतिभाहरु यस विधामा लागेका छन् । निकै धेरै गजलका कृतिहरु प्रकाशित छन् । धेरै गजलप्रधान पत्रिकाहरु प्रकाशित भएका छन् । साथै यसको खोज, समीक्षा, समालोचना र विमर्शका गतिविधिहरु पनि दिनानुदिन बढेर गएका छन् । अन्य विधामा सक्रिय भएर स्थापित धेरै स्रष्टाहरु आज गजलका क्षेत्रमा आकर्षित बनिरहेका छन् भने यसै विधामा समर्पित प्रतिभाहरुको अनुपात पनि बढ्ने क्रममै छ । यसले नेपाली साहित्यको समकालीन यात्रामा गजलविकासको सुन्दर परिदृश्यलाई आफै उजागर गरेको छ भन्ने मेरो धारणा छ ।

जहाँसम्म यसका कमीकमजोरी र सीमाहरुको चियोचर्चो चलिरहेको सन्दर्भ छ– त्यसबाट त आज कुन साहित्यिक विधा पृथक रहन सकेको छ र ? मुख्य कुरा, यस विधामा लागेका प्रतिभाहरुले नै सबै सीमा र कमजोरी सच्याएर यसको विकास, विस्तार र उत्थानमा निरन्तर लाग्ने नै हो । कसैले फैलाएको अफवाहका पछि लाग्ने काम स्रष्टाहरुको होइन  ।

खासगरी युवा वर्ग गजलप्रति आकर्षित हुँदै गरेको अवस्थामा यसका विरुद्धमा आक्रमण भइरहेको र कतिपय गजलकारहरु अन्य विधासँग बाँझिएको अवस्थामा गजल विधालाई लिएर यहाँले आम पाठकलाई के भन्नुहुन्छ ?

मलाई लाग्छ, कलासाहित्यको क्षेत्र विविधता र आयामका हिसाबले एउटा व्यापक फूलबारीजस्तै हो । यसभित्र हजारौं प्रकृतिका फूलहरु फुल्न सक्छन् । कुनै एकदुई थरिका फूलले मात्रै फूलबारीको समग्र सुन्दरताको प्रतिनिधित्व गर्न सक्तैनन् । आजका युवाहरु नै भोलिका आधार भएकाले उनीहरु सबै विधामा उत्तिकै सक्रिय भएर अगाडि बढ्नु आवश्यक छ । सन्दर्भगत कुरा गर्दा आज युवाहरुको ठूलो जमात गजल विधाप्रति आकर्षित भइरहेको छ, यो निश्चय नै अति सकारात्मक कुरा हो । यो गजल विधाका लागि मात्रै होइन, समग्र नेपाली साहित्यकै लागि हर्षको विषय हो ।

जहाँसम्म यस विधामाथिको आक्रमण र त्यसको प्रतिकारका नाममा जुन अवाञ्छित गतिविधि भइरहेका छन् भन्ने कुरा छ, यो कसैको पनि हितमा छैन । स्रष्टाको दायित्व सिर्जनामा समर्पित हुने हो, बजारु अफवाहको पछि लाग्ने होइन । बजारु अफवाहको आयु धेरै लामो हुँदैन । त्यसमा पनि गजलको आफ्नै विशिष्ट इतिहास, परम्परा र पहिचान छ । नेपालीमा पनि यसले आफ्नो गतिलो धरातल निर्माण गर्दैछ । यसलाई हामीले अझै अगाडि बढाउनु जरुरी छ । साथसाथै हामीले आफू कुनै विधामा लागेका छौं भने पनि अन्य सबै विधाप्रति उत्तिकै आदरभाव राख्नुपर्छ किनकि साहित्यका सबै विधा उत्तिकै आदरयुक्त र प्रभावकारी हुन्छन् ।

गजलको संरचनाका विषयलाई लिएर विभिन्न तर्क वितर्कहरु हुने गरेका छन् । गजल परम्परागत शास्त्रीय शैलीमै लेखिनुपर्दछ या अब नयाँ मार्ग, लय र गतिका साथ पनि अगाडि बढ्न सक्छ ?

कुनै पनि विधाको आफ्नै मौलिक विधागत स्वरुप र संरचना हुन्छ । यसकै कारणले नै अन्य विधासँग यसको भिन्नता भेटिन्छ र मौलिकता रहन्छ । तर यसको अर्थ कुनै पनि विधाको संरचना र ढाँचा शाश्वत प्रकृतिको अपरिवर्तनीय भने हुँदैन । गजल विधाका सन्दर्भमा पनि यही नियम लागू हुने हो । गजलको संरचनालाई लिएर विभिन्न तर्क–वितर्क र विमर्शहरु हुुनुलाई अन्यथा भन्न मिल्दैन । समयक्रम अनुसार केही परिवर्तनहरु हरेक विधामा देखिने गरेका छन् । तर यसको अर्थ मौलिकतालाई नै मार्ने गरेर गरिने परिवर्तन प्रत्युत्पादक नै हुन्छ । प्रयोग प्रयोगका लागि मात्र होइन, सिर्जनात्मक उत्कर्षका लागि हो । विधामिश्रण र विधाभञ्जनका चर्चा पनि चलिरहेका छन् तर कुनै पनि विधाको आधारभूत स्वरुप त कहिले पनि बदलिदैन । आज गजलमा देखिएका बहुबिध विषय, लयसिर्जनाका विभिन्न विकल्प र शैलीगत नवीनताहरुलाई सबैले स्वीकार गर्नुपर्छ तर विधागत संरचनाका कतिपय पक्षहरुमा भइरहेका अतिक्रमणले भने कसैलाई फाइदा गर्दैन । यसतर्फ सबै समयमै सचेत बन्न जरुरी छ ।

जसले जे लेखे पनि साहित्य भइहाल्ने हुँदैन होला नि ? के सिर्जनाको कुनै मापदण्ड हुँदैन र ?

लेख्दैमा साहित्य हुँदैन । धेरै लेखेर लेखक, साहित्यकार भइने थियो भने त सायद यो देशमा सबैभन्दा धेरै लेखक, साहित्यकार त लेखनदासहरु नै हुने थिए होलन् । सिर्जनाका लागि निश्चय नै केही मापदण्डहरु अवश्य हुन्छन् । पूर्वीय साहित्यमा भनिएको छ नि त सिर्जनाका लागि प्रतिभा, व्युत्पक्ति (ज्ञान) र अभ्यास चाहिन्छ भनेर । यी सबैको उचित संयोजनले नै गतिलो साहित्य सिर्जना हुने हो । पश्चिममा पनि यसबारे व्यापक बहसहरु भएका छन्, नभएका होइनन् । मूल प्रश्न त यसलाई हाम्रो सन्दर्भमा कसरी लिने भन्ने हो ।

मलाई लाग्छ, सिर्जनाको मापदण्ड सिर्जना नै हो– स्तरीय सिर्जना, युगसापेक्ष र जीवनसापेक्ष सिर्जना । यसको फैसला गर्ने न्यायाधीश सचेत पाठकहरु नै हुन् । सधैं गतिला सिर्जनाहरु नै अलि बढी समय बाँचेका छन् । दुईचार दिनको विज्ञापनले त प्रचार मात्रै गर्ने हो, कुनै सिर्जनालाई अमर बनाउँदैन । हाम्रो साहित्यको इतिहासले पनि सायद यही नै सिकाउँछ । गतिलो सिर्जनाका लागि स्रष्टाहरु नै जिम्मेवार बन्ने हो, समालोचकको भूमिका त सहयोगी मात्रै हो ।

साहित्य, समाज र राजनीतिको अन्तरसम्बन्ध र अन्तरसंघर्षलाई कसरी बुझ्नु उपयुक्त होला ? स्रष्टाहरु समाज र राजनीति निरपेक्ष रहन सुहाउँछ ?

पहिलो कुरा त साहित्य, समाज र राजनीतिको बीचमा अन्तरसड्घर्ष होइन, अन्तरसम्बन्ध नै हुन्छ । किनभने यी सबै हाम्रै समाज र जीवनका अभिन्न पक्षहरु हुन् । कसैले यसलाई अस्वीकार गर्छ भने कि त ऊ बेइमान हो, कि त ऊ एउटा महाभ्रममा रहेको छ । दोस्रो कुरा, स्रष्टाहरु पनि यही समाजका सदस्यहरु हुन्, कुनै दोस्रो ग्रहका प्राणी होइनन् । त्यसैले समाज र राजनीतिसँग निरपेक्ष रहनुपर्छ भन्ने कुरा नै असान्दर्भिक कुरा हो । तर यसको अर्थ समाजका हरेक क्षेत्र र विधाको आफ्नै मौलिकता पनि छ भन्ने कुरा भने सबैले बुझ्नु जरुरी छ । यसको अर्थ राजनीतिको भाषण वा नारा भने साहित्य होइन । राजनीतिक चेतना र विचार साहित्यमा पनि आउनसक्छ तर त्यो साहित्यजस्तै हुनुपर्छ । यसप्रति भने सबै स्रष्टाहरु सचेत हुनु आवश्यक छ । साहित्यमा राजनीति मात्रै आउने होइन, यसभित्र त समाजका सबै आयामहरु आउँछन् । यस हिसाबले हेर्दा राजनीतिभन्दा साहित्य धेरै व्यापक र उच्च छ ।

अहिले नेपालमा भएको राजनीतिक परिवर्तनलाई कसरी लिनुभएको छ ? तपाइँको विचारमा बदलिदो परिवेशअनुरुप स्रष्टाले खेल्नुपर्ने भूमिका र राज्य संयन्त्रको दायित्व कस्तो रहनुपर्ला ?

यतिबेला नेपालको राजनीतिक इतिहासमा अवश्य पनि केही ऐतिहासिक र अभूतपूर्व परिवर्तनहरु भएका छन् । देश आज सङ्घीयतामा गएको छ । देशमा नयाँ संविधान आएको छ । नेपालको इतिहासबाटै निरंकुश राजतन्त्र समाप्त भएको छ भने देश गणतन्त्रमा प्रवेश गरेको छ । समाजका कतिपय क्षेत्र र समुदायबाट केही असन्तुष्टिहरु प्रकट भइरहेको भए पनि लामो संक्रमणकालबाट देश मुक्त हुन सफल भएको छ । यसलाई हामीले सकारात्मक रुपले नै हेर्नुपर्छ । सँससँगै समाजमा आज पनि कतिपय द्वन्द्वका आधार र बीजहरु यथावत् रहेका छन् । विभेद र असमानताहरु आज पनि यथावत् नै रहेका छन् । यसलाई सबैले गम्भीरतापूर्वक लिएर समयमै व्यवस्थापन गर्नुपर्दछ । सायद हामीलाई पछिल्लो इतिहासले सिकाएको एउटा महत्वपूर्ण पाठ यही हो ।

जहाँसम्म बदलिदो परिवेशमा स्रष्टाले खेल्ने भूमिका र राज्य संयन्त्रको दायित्वको सन्दर्भ छ, यसबारेमा चर्चायोग्य विभिन्न धारणाहरु राख्न सकिन्छ । मलाई लाग्छ, संरचनागत दृष्टिले हामी नयाँ ठाउँमा त गएका छौं तर राज्यको प्रवृत्ति र भूमिकामा अझै परिवर्तन देखिएको छैन । सबैभन्दा पहिले राज्य साँच्चिकै सङ्घीयताको मर्मअनुसार अगाडि बढ्नु आवश्यक छ । सङ्घीयता भनेको राजनीतिक र प्रशासनिक क्षेत्रविभाजन मात्रै अवश्य होइन । यो भनेको विकेन्द्रीकरणको उच्च रुप हो । अझ तल्लो तहका जनताको उच्च प्राथमिकीकरण हो । यदि यसो हो भने राज्य सबैभन्दा पहिले कलासाहित्यमैत्री हुनु जरुरी छ । त्यसको प्रतिबिम्ब राज्यको बार्षिक बजेटदेखि समग्र व्यवहारमा समेत स्पष्ट देखिनुपर्छ । साथै राज्यको साँस्कृतिक नीति गतिलो हुनुपर्छ र त्यसप्रति राज्य इमान्दार बन्न सक्नुपर्छ ।

त्यस्तै स्रष्टाहरु पनि विभिन्न रुप र प्रकृतिका साँघुरा परिधिभन्दा बाहिर आएर समाजको व्यापक फलकमा उभिन सक्नुपर्छ । आफ्नो क्षेत्रमा अझै जिम्मेवार र गम्भीर भएर लाग्नुपर्छ । आजको स्थितिमा समाजलाई विग्रह र विभाजन गर्ने होइन, संयोजन गर्ने खालको भूमिका हरेक स्रष्टाहरुले खेल्नु आवश्यक छ । यसबाट मात्रै राजनीतिक क्षेत्रमा आएको परिवर्तनले साँस्कृतिक क्षेत्रमा पनि मूर्त रुप लिन सक्छ ।

By

Readers Comments (0)