Filed Under:  संस्मरण | निबन्ध

दोभानकी ठूली | गणेशमान सिंह

17th October 2015   ·   0 Comments

Ganeshman Shinghसमाजले भन्छ, मनको बह कसैलाई नकह । तर मान्छेले मेरा कुरा सुन्छ भन्ने ठान्यो भने ढुङ्गालाई पनि आफ्नो वेदना पोख्छ । फाइदा बेफाइदा के भनौं अहिलेको सूचना क्रान्तिले हरेकलाई सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ भनेजसरी हरेक मनका कुरालाई सबैसँग पोखिने बनाएको छ– विद्युतीय पर्दामा ।

ससाना भाइबहिनीदेखि सँगैका दौंतरीहरु मार्क जुकरवर्गको कमाललाई भरपुर उपयोग गरिरहँदा मलाई कुनै चासो थिएन । तर दिन दुगुणा रात चौगुणाको दरले बढिरहेको फेसबुके व्यापारको जबर्जस्त ग्राहक हुनुको विकल्प मसँग रहेन । र, जोडिएँ फेसबुकमा । विषयवस्तु पाएसम्म, मनमा केही विचार फुरेसम्म स्टाटस दन्काउथेँ । कहिले राजनीतिका घगडान विचारदेखि साहित्यिक मनसम्म । कहिले राष्ट्रवादी भएर त कहिले सचेत नागरिक भएर । कहिले क्रान्तिकारी भएर त कहिले समाजसेवी भएर । गजल, कविता र मुक्तकको त बाढी नै बगाइदिन्थेँ ।

केही लाइक आउँथे । केही कमेन्ट आउँथे । केही सेयर जान्थे । कसै कसैले ट्याग खान्थे । कहिले राम्रा, कहिले नराम्रा कमेन्ट आउँथे । अनाम–अनाम नामबाट अनौठा जवाफ पाउँथे । म मख्ख पर्थें फेसबुके संसारमा जहाँ शरीर नमिले पनि थुप्रैसँग विचार मिल्थ्यो । मन मिल्थ्यो ।

एकदिन एकजना कविको दु्ई हरफ कविता पोखिदिएँ । कता–कता त्यो दिन आफै पनि अनौठो मनोदशामा थिएँ ।

आजभोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ

पोस्ट गरेको केही मिनेटमै अनाम नामबाट अनौठो कमेन्ट आयो । लेखिएको थियो त्यसो भए दोभान झर साइँला ।

माया जस्तो ।

आग्रह जस्तो ।

आदेश जस्तो ।

सामान्य लाग्ने कमेन्टले मलाई असामान्य बनाइदियो । शीरदेखि पाउसम्म झन्झनायो । प्रत्येक नसाको रगत चिसो भयो । मुटुको धड्कन बढिरहेको थियो । पोल्यो, चह¥यायो, भत्कायो । विगतको त्यो घाउले । घाउले भन्दा यादले । यादले भन्दा दोभानको मायाले । दोभानभन्दा दोभानकी ठूलीको झल्कोले । व्याकुल बनायो । उडेर जाउँ जस्तो लाग्यो ।

त्यो त्यही दोभान हो, जहाँ मैले मेरो स्वर्णीम बाल्यकाल बिताएको थिएँ । त्यो त्यही दोभान हो, जहाँ मैले मेरा रङ्गीन जवानीका केही पल बिताएको थिएँ । त्यो त्यही दोभान हो, जहाँ मैले मिठा–मिठा सपना देखेको थिएँ । विपना भोगेको थिएँ । त्यो त्यही दोभान हो, जहाँ मैले सम्हाल्न धौ हुने माया पाएको थिएँ ।

आज त्यही दोभानको सम्झनामा टेकेर केही लेख्दैछु ।

***

यताबाट बग्ने अँधेरी खोला, उता माथि बाद्ने लेखबाट झर्ने ठाडो खोला मिसिएर बनेको त्यो विशाल फाँट नै दोभान थियो । दोभानदेखि पूर्व माथि ठूलीको गाउँ थियो । घरमाथि घरै खप्टिएका जस्तो लाग्ने त्यो बस्तीमा ठूलीको आफन्तका मात्रै तीस चालीस घर थिए । अलिपरतिर बाहुन गाउँ थियो । त्यसको तलतिर दमाइ बस्ती । अर्कोपट्टिको किनार किनारै माथि विद्यालय थियो । ठीक त्यसको वारीपट्टि हाम्रो घर । स्कूलदेखि हाम्रो घर नजिक पथ्र्यो भने दोभानदेखि ठूलीको । गाउँका धेरै घरहरु खरका छानाका थिए । कसै–कसैका ढुङ्गाले छाएका । रातो, सेतो, खैरो, कालो, पहेँलो माटोले लिपेका थरि–थरिका घरहरु टाढाबाट हेर्दा रङ्गीबिरङ्गी फूलबारीजस्तै लाग्थे । दशैं तिहार आउँदा दोभानमा निकै रौनक बढ्थ्यो– रमाइलो मेलाझैं । मिल, घट्ट थिए । दोभानको घारीतिर ठूलो पानीको मूल थियो । पानी भर्न, लुगा धुन गाउँभरिका महिला जम्मा हुन्थे । ठूलीका बाबाले हालेको लिङ्गे पिङ र रोटे पिङ खेल्न टाढा–टाढाबाट केटाकेटी जम्मा हुन्थे । कसै–कसैका सुन्दर जोडी पनि देखिन्थे दोभानमा । जसले सबैको नजर एकतमासले तानिन्थ्यो । अलि ठूला केटाहरु भलिबल खेलिरहेका देखिन्थे । ठूली, हामीहरु त लुकामारी, गुच्चा खेल, खुट्टे, गिरौटी, तातो आलु आदि खेल खेल्थ्यौं । बूढापाकाहरु तास खेल्थे । त्यत्रो फैलिएको दोभानमा एउटै पसल थियो– घाटबूढाको चिया पसल ।

ठूली र म एकै उमेरका थियौं । सायद केही महिनाले म जेठै हुँदो हुँ । उसले सधैं रातो फ्रक लाउँथी । म भने हरियो जाङ्गे, धर्के सर्ट र राता बुट लाउँथे । यस्तै–यस्तै कपडा लाउँथ्यौं । स्कूलमा ठूलीले हाफबिदामा आफूले ल्याएका खानेकुरा मलाई दिन्थी । कहिले भुटेको भात, कहिले कोदोको रोटी । खाजा, खीर खुवाउँथी । मैले पनि कहिले टाटा बिस्कुट, कहिले रातो लामो न लामो चकलेट किनेर खुवाउँथे । स्कूल छुट्टीको दिन हामीसँगै गाइवस्तु चराउन जान्थ्यौं । हामी त्यतिबेला खासै ग्वाला जाने उमेरका त भएका थिएनौं तर पनि रहरले जाने गथ्यौं । धेरैजसो हामी गाइबाख्रा चराउन दोभानतिर लग्थ्यौँ । कहिले–कहिले भने स्याँला, भीर, मूलखोलादेखि लामाडाँडासम्म लैजान्थ्यौँ । ठूलीलाई जुकाको खुब डर लाग्थ्यो । लाग्यो कि चिच्याइहाल्थी । गएर फालिदिनुपथ्र्यो । वनमा जाँदा पनि हामी बेरु, तिमिला, खनिउँ, च्याउ त कहिले सिम्ता पोलेर, माछा मारेर खान्थ्यौँ । वनमा भएका ठूल्ठूला रुखमा, पातमा, केतुकीमा के–के हो के–के लेख्थ्यौँ । एकदिन मैले केतुकीमा साइँलो+ठूली लेखेँ । त्यो लेखेको हेरेपछि ठूलीले भनी– किन लेखेको त्यस्तो लेख्छन् ?

खासगरी ठूलीको र मेरो कक्षा छ देखि अलि घनिष्ठ सम्बन्ध भएको हो । त्यो वर्ष हाम्रो स्कूलले दोभानमा वनभोज खाएको थियो । राजकुमारी, तारा, विमला, ठूलीहरुले गीत गाउँदै थिए । केटाहरुले पनि नाच्ने गाउने गरिरहेका थिए । रुद्रले खुब दोहरी गाउँथ्यो । श्रीकुमार, नेत्र नाच्दै थिए । त्यतिबेलै खड्का सरले ठूलीलाई र मलाई नाच्न उठाइहाले । गीत थियो–

बाँझो खेतमा
छड्के सलाम छ मायालाई पहिलो भेटमा ।

खुब नाचियो । साथीहरुले पनि खुब हुटिङ गरे । त्यसैदिनदेखि ठूलीलाई र मलाई जोडेर सबले गिज्याउन थाले स्कूलमा । हामी टाढिनुको सट्टा मज्जैले गासियौँ ।

पाँच कक्षामा पढ्दा एउटा रमाइलो घटना घट्यो । त्यसबेलादेखि नै ठूलीले मसँग रिसाए ए नारायण गोपाल भनी जिस्काउँथी । म पनि के कम कन्नो भनिदिन्थेँ । एकदिन कक्षामा हेम सरले नेपाली विषयको नारायण गोपालको पाठ पढाउँदै हुनुहुन्थ्यो । बीचैमा सरले सोध्नुभयो– गीत गाउने मान्छेलाई के भन्छन् रे ? मैले झटपट उठेर जवाफ दिएँ– नारायण गोपाल सर । सबै गललल हाँसे । त्यसदिनदेखि त म नारायण गोपाल भइहालेँ । ठूलीको पनि त्यस्तै भयो अर्काे दिन । अंग्रेजी सरले दिएको पाँचवटा मिनिङ घोकेर सुनाउनु पथ्र्याे । चारवटा ठीक–ठीक भनेकी ठूलीले अन्तिममा त पलयध कन्नो, कन्नो माने था पाउनु पो भनी । त्यसदिनदेखि उसको नाम पनि कन्नो भयो । स्कूलभरि म गणेशमानबाट नारायण गोपाल भएको थिएँ भने ऊ दीपाबाट कन्नो भएकी थिइ ।

आठ कक्षा पास गरिसकेपछि उसले पढ्न नसक्ने कुरा गरी । किनकि माध्यमिक तहको विद्यालय धेरै टाढा थियो । आफ्नै गाविसभित्रको स्कूल जानलाई दुइघण्टा लाग्थ्यो भने अर्को जिल्लामा पर्ने स्कूलमा जान तीन÷साढे तीन घण्टा लाग्थ्यो । त्यहाँ पढे डेरा गर्नैपर्ने हुन्थ्यो । स्कूलमा पढाइ पनि राम्रै हुन्छ भन्थे । हाम्रो स्कूलबाट आठ पास गर्ने विद्यार्थीहरुमा केटाहरु अर्को जिल्लाको स्कूलमा जान्थे । उतै डेरा गरी बस्थे । केही केटीहरु पढ्न छोड्थे । पढ्नेहरु गाउँकै स्कुल जान्थे । ठूलीले पढ्दिनँ भनेपछि मेरो मन निकै बेचैन भयो ।

बैशाख महिनाको आधा आधीसम्म पनि मेरो कतै पढ्ने सुरसार थिएन । घरमा गाली गर्थे । म भने ठूलीलाई फकाउनमा व्यस्त थिएँ । एक साँझ दोभानको फाँटमा बसेर ठूलीलाई निकै फकाएँ । ऊ फकिइहाली । हामी दुबैले गाउँकै स्कूलमा पढ्ने सल्लाह ग¥यौं । भोलि नै भर्ना गर्न जाने कुरा भयो । दिनदिनै आउँदा जाँदा चार घण्टा हिड्नुपर्छ भन्ने थाहा थियो तर त्यो रोजाइ मेरो मात्र थिएन । ठूलीको मात्र थिएन । त्यो खुशी, अठोट, लक्ष्य अनि योजना हामी दुबैको थियो । हामी मिले संसारै जित्ने आँट थियो त्यो बेला । चार घण्टाको पाजी दुःख त के दुःख ?

सँगै गयौँ । सँगै भर्ना भयौँ । कोठामा एकलहर केटीहरु, अर्को लहर केटा बस्थे । ठूली र मेरो बेञ्च तेस्रो तेस्रो थियो । जे गर्दा पनि हाम्रो सजिलै हेराहेर हुन्थ्यो । कुनै दिन हामी दिउँसै स्कूलबाट भाग्थ्यौँ । कहिले जाँदाजाँदै आधा बाटोमा बस्थ्यौँ । कहिले मेरो घरमा ठूली आउँथी र सँगै होमवर्क गथ्र्यौँ । कहिले उसको घरमा म जान्थेँ । स्कूल जाँदासँगै जान्थ्यौँ । कुनै दिन एकजना काम परे दुबै जाँदैनथ्यौँ । यसरी कहिले पानीमा रुझ्दै, कहिले पसिनाले भिज्दै त कहिले जाडोमा कठ्याङ्ग्रिदै दुई वर्ष बितेको पत्तै भएन ।

त्यो बेला देशमा चर्को युद्ध चलिरहेको थियो । हाम्रो स्कूलमा पनि माओवादीले ठूलाठूला कार्यक्रम गर्थे । सांस्कृतिक कार्यक्रम गर्थे । कुनै–कुनै बेलामा लडाइँ जितेर आएका जनसेनालाई हामी सबैले खाना, खाजा र माला अबीरले स्वागत गथ्र्यौं । दश कक्षामा पढ्दा अखिल क्रान्तिकारीको कमिटी बन्यो । जसमा म कोषाध्यक्ष भएँ भने ठूली सदस्य भई । त्यतिबेला एसएलसी परीक्षा जिल्ला सदरमुकाममा मात्र हुन्थ्यो । बेला–बेलामा आउने विद्यार्थी नेताहरुले यो बुर्जुवा शिक्षा काम छैन भनी नपढ्न सल्लाह दिन्थे । जनवादी शिक्षा लागू गर्नुपर्छ भन्थे । त्यसकै प्रभावले हो वा पुलिस सेनाको डरले गर्दा हो वा पास भइदैन भन्ने चिन्ताले पढेको जति सबै परीक्षा दिन जादैनथे । त्यो वर्ष पनि हाम्रा पाँच जना साथीले परीक्षा दिएनन् । हामीहरुले एसएलसी डरत्रासको बीचमा दियौँ । ठूलीले पास हुन्न भन्थी । मलाई भने मेरो मनको कुनामा पास हुन्छु भन्ने आत्मविश्वास त थियो तर भन्दैनथेँ । परीक्षा दिइसकेपछि ठूली र म झन फ्री भएका थियौँ । ती दिन निकै रमाइला थिए ।

भन्दाभन्दै र दिन गन्दागन्दै रिजल्ट पनि आयो  । पास भएको/नभएको थाहा पाउने माध्यम डाँडामाथिको सैनिक व्यारेक नजिकैको फोन थियो । ठूलीको र मेरो सिम्बोल नम्बर लिएर म एक्लै गएँ । म पास भएछु । ठूली फेल भई । जे डर थियो त्यै भयो । थोरैै खुशी र धेरैै दुःखी भएर घर फर्किएँ । मेरो घरमा व्यग्र भएर पर्खेकी ठूलीलाई त्यै नमिठो खबर सुनाएँ । अँध्यारो मुख लगाउँदै ठूली घरतिर लागी । त्यो रात मैले पनि निकै पीडामा बिताएँ । आफू पास भएकोमा एकरत्ति खुशी थिइनँ । भोलिपख बिहान पढ्न जान कुरा उठाएँ । बुवामुवाले पैसा जुटाइदिने हुनुभयो । फेरि राम्ररी पढ्न सम्झाउनु भयो । मैले बाचा गरेँ । त्यसदिन साँझ म ठूलीलाई भेट्न दोभानतिर लागेँ ।

त्यसको एक हप्तापछि म दाङ झरेँ । डेरा बनाएँ । क्यापस भर्ना भएँ । अनि शुरु गरेँ वर्षौंदेखिको क्याम्पस पढ्ने धोको । तुलसीपुर बजारको रमझम । क्याम्पसको रमाईलो वातावरण । शुरु शुरुमा त रमाईलै लाग्यो तर केही दिनपछि घरको निकै याद आयो । ठूलीको याद आयो । घरीघरी मन दोभानमै गएर अल्झिन्थ्यो । ठूलीको सम्झनामा बल्झिन्थ्यो । यसअघि त्यति था भएन कि यो मनभित्र ठूली पनि छ । उसले पनि ओगटेकी छ यो मुटुको आधा हिस्सा । ठूली टाढा भए पनि सपनीमा नजिक आउँथी । उस्तै गरी हाँस्थी । उस्तै गरी बोल्थी । उस्तै गरी जिस्कन्थी । विपनामा उ मेरो याद भई । प्राण भई । फेरिरहने सास भई । नभई नहुने साथ भई । कोठामा बस्न मन भएन । किताब हेर्न जाँगर चलेन । खाना रुच्न छोड्यो । बारम्बार भावनामा नबहकिन मनलाई भनिरहेँ तर अहँ मनले मानेन । बरु उल्टै आदेश दियो– ठूली बिना तँ बाँच्न सक्दैनस् । बस्न सकिनँ । पढ्न छाडी घर फर्किएँ । घरमा भन्दिएँ दशैं तिहारको बन्द भयो । बुवाले पत्याउनु भएन । भन्नुभयो, अझै एक महिना छ त । फेरि ढाँटें, एक महिनालाई घरमै बसी गर्ने होमवर्क दिएका छन् क्या । पढेको छोरो हो नपत्याइ–नपत्याई पत्याउन कर लाग्यो घरमा । मेरो आँखाले भने ठूलीबाहेक अरु केही खोज्दैनथे ।

साँझतिर ठूलीलाई भेट्न दोभानतिर झरेँ । निकै नियालेँ ठूलीको घरतिर । कतै देखिनँ । खल्लो मन लिएर वरपर गरिरहेँ । फेरि दोभान पनि बजार भएछ । दुई चारवटा पसल थपिएछन् । सबैले साइनबोर्डमा दोभान बजार लेखेको देखेर खुशी लाग्यो । ठूलीको बारेमा सानो भाइलाई सोधेँ, ‘ठूली खै बाबु ?’ भाइले भन्यो– ‘दिदी त मावल गैगी । अब उतै बस्छे ।’

म छाँगोबाट खसेझैँ भएँ । कहाँदेखि ठूलीको लागि के गरी आएँ । तर आज ठूली यहाँ छैन । मनमा पहिरो गएको गयै ग¥यो– मायाको । कति माया बोकिएछ मनमा ठूलीको । दोभान बजार नै एकछिन त ढलपल–ढलपल गरेजस्तो लाग्यो । ठूलीलाई देख्न आतुर यी आँखाले अँध्यारोबाहेक केही देखेनन् ।

ठूली बिनाको गाउँमा बस्न मनै लागेन । आउँदै गरेको दशैं तिहारले मनमा कुनै उमंग ल्याएन । दशैंमा लाग्ने त्यो माथि डाँडाको मेला पनि ठूलीबिना फिक्का हुने भो । ठूलीबिनाको भैली पनि के खेल्नु ? यसपालिको दशैँ तिहार नजम्नेदेखि गाउँ नै छोड्ने सुरमा लागेँ । कोहलपुर मामाघर थियो । मुवासँग हान्निएँ त्यतैतिर । सयौँ टनको बोझिलो मन बोकेर ।

साथीभाइ भन्थे– दशसम्मको पढाइ बोझ हो, क्याम्पसको पढाइ मोज हो । तर मेरो लागि ठीक उल्टो भो । गणितको कमजोर विद्यार्थी म भोलि पढिसके गाउँमै मास्टर हुने लोभले गणित विषय नै रोजेको थिएँ । गणितको हिसाब गर्दा पिसाबै आएझैँ गाह्रो हुन्थ्यो ।

दिनहरु आफ्नै रफ्तारमा बितिरहेका थिए । विभिन्न जिल्लाका साथीहरुको संगतले पनि क्याम्पस जीवन रमाइलो बन्दै गइरहेको थियो । प्रत्येक शुक्रबार क्याम्पसमा विभिन्न साहित्यिक कार्यक्रम हुन्थ्यो । प्रायः म गजल लेख्थेँ– उही मायाकै । अझ भनौँ उही ठूलीकै । एकदिन कार्यक्रमको लागि गजल लेख्दै थिएँ । साथीले चिठी आएको सुनायो । खाम बाहिर हेरेँ । अक्षर नचिन्ने कुरै थिएन । पाउनेमै साइँलो थिएँ । पठाउने उही ठूली थिई । के गजल के कार्यक्रम सब छोडेर कुदेँ कोठातिर । उत्तानो परेर खाटमा पढ्न थालेँ ठूलीका अक्षर ।

मिति र स्थान लेखेकी थिई । वातावरण र समय लेखेकी थिई । सम्झनामा लेखेकी थिई केवल तिम्रै भनी । मनमनै हाँसे । मेरो स्वास्थ्यको लागि पशुपतिनाथसँग दश औँला जोडेकी थिई । गाउँघर जताततैको खबर पठाकी थिई । गाउँमा धेरै घटना भएछन् । धेरै फेरिएछ पनि । सेना प्रहरीले थुप्रै गाउँलेलाई मारेछ । दिपेन्द्र हेडसरलाई पढाउँदा पढाउँदै मारेछ । डाँडाका भद्र, अँधेरीका जगत, ठाडाखोलाका भानुलाई पनि मारेछ । गहुँ पिस्न गएकी शिलालाई प्रहरीले बलात्कार गरी मारेछ । मनै सिरिङ्ग भयो । गाउँका थुप्रै साथीहरु माओवादी सेनामा भर्ती भएछन् । ठूलीले पनि महिला संगठनमा काम गर्न थालिछ । निकै विद्रोही भएर लेखेकी थिई । चुलोचौका र चारपर्खालमा सीमित नहुने भनेर लेखेकी थिई । पढाइ बिग्रेको, जीवन बिग्रेको गुनासो पोखेकी थिई । अब भेट नहुन सक्ने भनी निकै गहिरा र अनिश्चयको कुरा पनि गरेकी थिई । लेखेकी थिई, तिमी त साइँला शहरमै भुल्ने भयौ । शहरकी केटी खोजे हौला भनी शंका गरेकी थिई । अन्तमा एउटा सायरी लेखेकी थिई–

म भुइँको धुलो भए पनि तिमी माथि चढ्दै जाऊ
म यै दोभानमा अल्झे पनि तिमी अघि बढ्दै जाऊ
उही तिम्रो ढुकढुकी ठूली
दोभान बजार ।

उसले अरु जे लेखे पनि मुटुको ढुकढुकी लेखेकी थिई । केही दिनसम्म मेरो मन पनि मायाकै बारीमा फुल्यो ।

गाउँमा म एकैचोटी आइए पास गरिसकेपछि फर्किएँ । गाउँको परिवेश निकै फेरिएको थियो । दोभान बजार पनि ठूलो भएछ । ट्याक्टर आउन थालेछन् । निकै चहलपहल बढेको थियो । देशभरि राजनीतिक आन्दोलनले नयाँ गति र शैली लिइरहेको थियो । हिजोका दुश्मन माओवादी र सात दलबीच वार्ता र सहमति भएको सुनिदै थियो । गाउँका माओवादी, कांग्रेस, एमालेका कार्यकर्ताहरु मिलेर विकास निर्माणका कार्यहरु गरिरहेका थिए । हाम्रो गाउँको निमावि पनि मावि हुँदै थियो । म गणितको शिक्षक भएको थिएँ । क्लब, समूहहरु गठन हुँदै थिए । ठूलीले चौथोपटक एसएलसी दिदै थिइ । मसँग साँझ–साँझ ट्यूसन पढ्न आउन थाली । पढ्नभन्दा बढी गफिन्थ्यौँ । एकदिन म अलि बढी नै उत्तेजित भएछु । ठूली त रुन पो थाली । के–के हो के–के भन्दै थिई । केटा स्वार्थी हुन्छन् । पापी हुन्छन् । भावना बुझ्दैनन् । समस्या बुझ्दैनन् । समाजले के भन्छ के गर्छ केटाहरुले सोच्दैनन् । यस्तै–यस्तै भन्थी । म पनि भावुक भइरहेको थिएँ । आँखाबाट आँसु आउन खोज्दै थियो । रोकिरहेको थिएँ । झर्किदै सोधी– ‘तिमीलाई त गरेपछि पुग्यो, मलाई के हुन्छ था छ ?’ मैले टाउको हल्लाउँदै था छैन भनेँ । ठूली त रुँदै पो हाँसी । ठूली हाँसेको देखेर म पनि हाँसे ।

ठूलीले त्यो वर्ष पनि पास गर्न सकिनँ । ऊ निकै गलेकी थिइ । पढाइदेखि थकित थिइ । परीक्षा अब नदिने भन्दै थिइ । मलाई पनि गाउँमा निजी शिक्षक भएर भविष्य बन्ला जस्तो लागेन । आफूसँगका साथीभाइले बीए पास गरिसकेका थिए ।

म स्कूल छोडेर काठमाडौँ पढ्न गएँ । ठूलीले दोभान बजारमा नास्ता पसल खोली । केही महिनापछि नै नास्ता पसललाई ठूलीको स्टाफ होटल बनाई ।

म काठमाडौँ गएदेखि र ठूली पनि व्यापारमा लागेपछि हामी आ–आफ्नै काममा व्यस्त भयौँ । ठूलीले कहिलेकाँही फोन गर्थी । सामान्य कुरा हुन्थ्यो । म पनि राजनीति गर्ने कि पढाइ सक्ने दोधारमै थिएँ । आवश्यकताले राजनीतितिर तान्दै थियो भने घरको बाध्यताले पढाइतिर । मेरो जिन्दगी भनेजस्तो सफल लिकमा अगाडि बढिरहेको थिएन । म चारैतिर भौतारिरहेको थिएँ । करिब एक वर्षपछि गाउँ जाँदा ठूली निकै फेरिएकी थिई । सायद उसको नजरमा पनि म पनि बदलिएको हुँदो हुँ ।

ठूलीले प्यान्ट लगाउन थालेकी थिइ । कपाल पनि रातै बनाकी । लामा–लामा नङ पाल्न थालेकी थिइ । आँखीभौँ फाल्न थालेकी रहिछ । माओवादी आन्दोलनसँगै पूरै राजनीतिक माहोल बदलिएको थियो । त्यो सँगै गाउँको राजनीति बदलिएको थियो । गाउँलेको फेरिदो परिवेशसँगै ठूलीको जीवनशैली फेरिएको थियो ।

घर आएको बेला मलाई किन–किन ठूलीलाई भेट्न मन लाग्यो । र झरेँ दोभानतिर । ठूलीको होटेलमा निकै चहलपहल थियो । बिस्तारै साँझतिर मान्छेहरु पातलिदै गए । म र ठूली मात्र भयौँ ।

मैले भने– के छ ठूलीको स्टाफ होटेलको खबर ?’ ऊ केही बोलिनँ । फेरि बोलाएँ अनि मात्र बोली । मलाई त्यो दिन मात्तिन मन लागेको थियो । भनिहालेँ– केही खुवाऊ न ?

के खान्छौ ?

के दिन्छ्यौ ?

जे माग दिन्छु तर नरोई माग । फेरि हँसाइहाली ।

उसले त्यो साँझ खुब खुवाई । भन्थी खाऊ जति खान्छौ । बच्चैदेखि खुवाएकी हुँ तिमीलाई । अब धेरै दिन छैनन् भन्दै भावुक भएकी थिइ । भो भन्दा पनि मानिन । विगतका गफ, ठूलीको साथ निकै पिइयो त्यो दिन । आधा रातमा घर फर्किएँ– अमिलो मन बोकेर ।

त्यसको केही दिनपछि उसलाई नभेटी काठमाडौँ फर्किएँ । केही दिनपछि सुनेँ– ठूली ट्याक्टर ड्राइभरसँग पोइल गई रे । उसलाई दाङ झर्ने खुब रहर थियो । मलाई धेरै भनेकी थिई, जाउँ घुम्न तुलसीपुर भनेर । मेरी महान ठूलीले बिहे गरेरै आफ्नो रहर पूरा गरी ।

गत साल तिहारमा माइत आएकी थिई । निकै पाका कुरा गर्थी । अब चाहिँ बिहे गर साइँला भनेर खुब कर गरी । मैले गरिरहेको राजनीतिलाई त ठिकै हो भन्थी तर बिग्रेको, भत्केको, टुटेको, अपूरो र हारेको माओवादी आन्दोलन धोका नभई पूरा हुनेमा अलि–अलि शंका गर्थी ।

***

आज धेरै समयपछि ठूलीले कमेन्ट मात्र गरिन– मेरो मनको घाउ उप्काइदिई । पुरानो याद बल्झाइदिई । दोभानको झल्को लगाइदिई ।

आजको चल्तीको यो फेसबुके पुस्ताले हाम्र्रो कहिल्यै नमिसिएको दोभानको मायालाई कसरी हेर्दो हो ? बुझ्दो हो ? आज मायाको नाममा निकै विकृति भित्रिएको छ । फेसबुक र ट्विटरबाटै क्ष् यिखभ ग, क्ष् mष्कक ग भन्यो । अर्को दिन डेटिङ गयो । मस्ती ग¥यो । पाँचौँ दिनमा फेरि ब्रेकअपको फन्डा मच्चायो । दिउँसै लाजमर्दो गरी चाटाचाट र अङ्गालो मारामार हाम्रो मायामा कहिल्यै भएन । र पनि हाम्रो माया अमर रहनेछ । फेरि–फेरि ठूलीले उस्तै कमेन्ट पठाउने छे– साइँला त्यसो भा’ दोभान झर न !

By

Readers Comments (0)