Filed Under:  कथा, सौगात विशेष

गरिबको दशैं | दीपक घिमिरे

17th October 2015   ·   0 Comments

Dipak Ghimire C- दीपक घिमिरे

घरदेखि अलि परको डिलमा कपडा सिलाउने कल (सिलाई मेसिन) राखेर खोल्सामा रने दाइले सु गर्न ला’को टाढैबाट देखें । खुशीको सीमा नै रहेन । चिच्याउँदै घरभित्र छिरेर आमालाई सुनाएँ– ‘आमा रने दाइ हाम्रो घर लुगा सिउन आउँदैछन् । पैला मेरो सट सिउने है ।’

आमा केही बोल्नु भैन । कपडा सिलाउँदा सबैभन्दा पैला सिलाउने रहर यति तिब्र हुन्थ्यो कि मानौं सिलाएर सकेकै दिन हाम्रो दशैं हुन्थ्यो । नयाँ लुगा लगाउनका लागि हामी दशै कुर्दैनथ्यौं । सिलाएर सकेकै दिन लगाएर गाउँको एक फन्को मारिन्थ्यो । अनि बल्ल दशैं आएको जस्तो लाग्दथ्यो । त्यसैले पनि म मेरा लुगा सबैभन्दा पैला सिलाउन चाहन्थें ।

अस्ति गएको तीजमा दिदी र आफुलाई कपडा सिलाएकै कारणले गर्दा होला मौन समर्थन पाइएकै जस्तो भयो । मुखले हुन्च नभने पनि मनले मेरै कपडा पैला सिलाइदिने योजना बनिसकेको थियो सायद । त्यसैले आमाले केही भन्नु भएन ।

घरभित्रबाट परालको गुन्द्रो ल्याएर रने दाइलाई बस्ने ठाउँ बनाइदिएँ । दराजमा राखेको लुगामध्ये मेरो मात्र निकालेर बाहिर पेटीमा टुसुक्क बसें ।

‘नमस्ते ठूल्जेइ, दशैं ल्याएर आइगें म त । के गर्दै हुनुन्च भित्र ?’

रने दाइले लुगा सिउने कललाई मैले बिछ्याइदिएको गुन्द्रीमा राखेर म छेऊ टुसुक्क बस्दै आमालाई नमस्ते सुनाए । आमाभित्र भान्सामा भैसीलाई दाना उमाल्दै हुनुहुन्थ्यो । भित्रैबाट चिच्याउँदै भन्नुभयो, ‘नमस्ते जेठा, दशा लागेको बेला केको ल्याउँथिस् तैंले दशैं बाबु ।’

रने दाइ मुसुक्क हाँस्दै मलाई पुलुक्क हेरे । म पनि खिस्स हासें ।

रने दाइले कलमा मसिनो धागो छिराउने सुई मिलाएको जस्तो गरे । तलतिरबाट खै के निकाले अनि सफा गरे जस्तो गरेर फेरि उही स्थानमा छिराए । आफ्नो कपडाको झोलाबाट सानो तेलदानी निकालेर मेसिनका सबै ठाउँमा पिच्च–पिच्च तेल हालेर हल्का बनाए । उनकोे कार्य चुपचाप पेटीमा बसेर हेरिरहें मैले । यतिन्जेल आमा बाहिर आउनु भएन ।

‘ए ठूल्जेइ, खै कपडा ल्याउनुस् । सिलाउन सुरु गरौं, अन्त पनि जानु छ ।’

‘त्यै ठूलेको कप्रा पैला सिलाइदेऊ बा । जातिबित्ती गरेको छ ।’ आमाले भित्रबाट भनेको मेरो कानमा गुञ्जियो । पेटीबाट जुरुक्क उठेर रने दाइलाई कपडा बुझाएँ ।

रने दाइले कपडा ओल्टाइपल्टाई हेरेर भने, ‘यो त स्कुल ड्रेस हैन र भन्या ?’

प्रत्येक दशैंमा एक जोर नयाँ लुगा पाइन्थ्यो– सेतो सट अनि कालो पाइन्ट । दशैंको दिनमा लगायो अनि स्कुल खुलेसी त्यही स्कुल ड्रेस पनि भैहाल्ने । गरिब थियौं त्यसैले दशैंमा कहिल्यै रङ्गीचङ्गी कपडा लाउन पाइएन तर हामी यसैमा खुशी थियौं ।

रने दाइले फिताले मेरो कम्मर, पाखुरा सबै नापे । लम्बाइ चौडाई सबै । भित्रबाट आमाले कराउँदै भन्नुभयो, ‘जेठा, अलि ठूलो सिलाइदिएस् है आइसाल पनि यही लाउने हो । बर्षेनी किन्दिन सकिन्न नयाँ लुगा ।’

मगमग बसाउने काँचो कपडाको बासना मलाई अति मन पर्छ । कलको टिकटिक आवाज, फननन घुम्ने मेसिनको हत्ता सबै हेर्दै दिनभर बस्न मन थियो तर भित्रबाट आमा कराउन थाल्नु भो, ‘बाख्रा फुकाएर चराउन लान पर्दैन, त्यही दाइले लुगा सिलाको हेर्दै बस ।’

म जुरुक्क उठें । बाख्रा खोरमा गएँ । सातवटा बाख्रालाई पालैपालो फुकाएँ र लागें बाँसघारीतिर । घरमा रने दाइले मेरो लुगा सिलाएर सके कि नाइँ भन्ने कौतुहल मनमा पाल्दै ग्वाला बसियो ।

दशैंमा लुगाको महत्व धेरै थियो । सिलाएर सकेको लुगा राती भए पनि एकपटक लगाएरै छाडें । यता उता गर्दै हेरें । दिदीले भनी, ‘आहै नि कस्तो स्वायो ।’

म खुशीले गदगद थिएँ । मानौं आजको रात निद्रा पनि लाग्दैन ।

दशैंमा सबैभन्दा महत्व लुगाको हुन्थ्यो, त्यो पाइयो । दिनभर काम गरेर थाके पनि साँझ खोरखोरे खेल्न बाले सबै भाइलाई पाँच–पाँच रुप्पे दिनुभयो । हामी गाउँकै चौपारीमा खोरखारे खेल्न पुग्यौं । लालटिनको धिपधिपे उज्यालोमा पुनेले खेलाउने खेलमा एक रुप्पेबाट खेल सुरु त गरियो तर कहिल्यै जितेको भए पो आज जितिन्थ्यो । एक–एक रुप्पे गर्दै पाँचै रुप्पे सकियो । अनि आइयो घरतिर ।

टोलै गन्नाउने छिप्पेको बोका हल्दार बाजेले आँगनमै बाँधेका थिए । मासुको लोभले बोकाको गन्ध सबै बिर्साइदिन्थ्यो । भोलिपल्ट अष्टमीका दिन बोकालाई नछिनाल्दासम्म बोकाको गन्ध सुँघ्दै बस्नुको बिकल्प थिएन । दिनभर बो बो गरेर टोलै थर्काउँथ्यो ।

आँगनमा आमाले कुभिण्डोलाई काठका खुट्टा बनाइदिएर बोकाजस्तै बनाएर राख्नुभयो । बाले भित्रबाट अलिकति अबिर अनि धुप लिएर आउनुभयो । गोबरले लपक्क लिपेको आँगनमा त्यही कुभिण्डोलाई बोका उभिएजस्तै उभ्याएर पूजा गर्नु भो अनि बाले अलि–अलि पानी छम्केर मन्त्र पढेजस्तो गर्दै छत्रक्कै छिनाल्नु भो । अनि आमाले हामलाई टिका लगाइदिनुभयो ।

‘खै तो हाम्लाई रुप्पे ।’

दिदीलाई दक्षिणस्वरुप आमाले दशको नोट दिएको मैले देख्नासाथ हामी छोरालाई पनि माग गरे । यो कुरामा हामलाई आमाले सधैं पक्षपात गर्नुहुन्थ्यो । भन्ने बेला छोराछोरी बराबरी भन्ने तर हामलाई टिका लाएर दक्षिणा नदिने । दिदीलाई चै देखाइ–देखाई दश, बीस रुप्पे दिने ।

‘तँ छोरा मान्छे होस्, तँलाई दक्षिणा दिन पर्दैन ।’

आमाले सधैं भन्ने यही शब्द आज पनि दोहरियो । तर मैले माग्न छाडेन र भन्दिएँ– ‘अँ, हामी त सन्तानै हैनौ नि त । त्यही मात्र हो तिम्रो सन्तान ।’

आमाले खाउँलाझैं गरेर हेर्नु भो । म रिसाउँदै निस्किएँ ।

बाले दशैंको राम्रो ब्याख्या गर्नुहुन्थ्यो– धनीलाई दशैं, गरिबलाई दशा भनेर । वास्तवमै हो रहेछ । कुभिण्डोलाई बोका बनाएर घर बाहिर घुम्न निस्किएको मैले हल्दार बाको घरमा त्यो गन्नाउने बोको काटेर पोल्दै गरेको देखें । अरे बाफ रे ! कम्ता मिठो बासना त थिएन त्यो पोल्दै गरेको बोकाको बासना । हिजो ज्यूँदै पनि गनाउने, आज मरेपछि पनि गनाउने । बोकाको जातै गनाउने ।

‘ओए, उता जा । चोखे लाग्ने जसरी हेरेको छ, भाग त्याँबाट ।’

पोल्दै गरेको बोकालाई एकसुरे भएर हेरेर घुटुघुटु थुक निल्दै गरेको मलाई हल्दार बाको नातिले नराम्ररी थर्कायो । खुरुक्क आफ्नो बाटो लाग्दै त्यसलाई सरापें ।

गाउँका हरेकजसो घरमा बोका ढालिएका थिए । तर हाम्रो घरमा बोकाको रुपमा कुभिण्डो ढालिएको थियो । अरुको घरमा बोकाको मासु पाक्यो । हाम्रो घरमा कुभिण्डोको झोल ।

छिमेकका शंकर अंकलको घरमा पकाको मासुको बासना यति चाँडै आउँदै थियो कि कुभिण्डाको झोल र भात घाँटीबाट छिर्दै छिरेन । मैले खाना खाँदा ल्याङ ल्याङ गरेको देखेर आमाले हकार्दै भन्नुभो– ‘खाने मन भए खा, नत्र जुरुक्क उठेर जा । भोक भए पो भोजन मिठो मान्थिस् ।’

भोक त कति मानेको थिएँ तर पापी मासुको बासना नाकैमा परेसी आमाले भनेको ठीक उल्टो भयो– भोजन मिठो भए पो छिर्नु ।

‘बा साँझ त मासु ल्याउनु है ।’ भात खाँदै गर्दा बालाई सुनाएँ । मासुप्रतिको रुची मलाई मात्र नभएर सबैलाई थियो । तर दशै भन्दैमा तीन दिन मासु खाने हैसियत थिएन हाम्रो ।

‘आज ल्याउदिनँ । भोलि बेलुका श्यामेको घरमा खसी काट्ने हुन् रे । त्यही भनेको छु एक किलो ।’

‘दशैंमा जम्मा एक किलो ?’ दिदी बोली ।

बा चुप्प लाग्नु भो, आमा खौकिनु भो– ‘घाँटी हेरेर हाड निल्नु पर्च । धेरै खान मन भए आफ्नै मासु काटेर खा ।’

दिदी चुप लागी । बा हाँस्न थाल्नुभयो । मलाई रिस उठ्दै थियो ।

खाने पिने दिनमा पनि अड्कलेर अनि पु¥याएर खानुपर्ने । मान्छेहरु दैनिक एक छाक मासु नहुँदा खानै खादैनन् । तर हाम्रा लागि माछा मासु खान चाडपर्व नै कुर्नुपर्ने । चाडपर्वमा पनि अघाउन्जेल खान नपाइने । चाख्न पाइने भन्दा फरक नपर्ला ।

मुख सकसक ग¥यो मेरो । ‘बा, पर्सी दशैंको दिनसम्मलाई त एक किलो मासुले अलि पुग्दैन होला । तपाइँ त भस्मे कन्जुस हुनुन्च नास ।’

दिदीले हकारी मागेपछि चुप लागे पनि मैले फेरि बालाई दबाब दिन थालें । तर दबाब दिने शब्द अलि मन दुख्ने बोलेछु क्यारे । बा घोसे मुन्टो लाएर भात खानु भो । अनि केही नबोली बाहिरिनु भो ।

बा बाहिर जानासाथ आमाले मलाई हकार्र्दै भन्न थाल्नु भो– ‘जाबो मासुका लागि बाको मन दुखाइस् नि । अवस्था के छ बुझ्नु छैन, बालाई कन्जुस भन्नी । आफ्ना छोराछोरीले पेटभरि खाऊन् भन्ने कसको मन हुँदैन र ? घरको अबस्था नबुझी बालाई कन्जुस भन्ने हिम्मत गरिस् पापी ।’

साँच्चै बाको मन दुखाएजस्तो लाग्यो । हैसियत नहुने हाम्ले जमिन्दार र हल्दारको घरमा मनाउने जस्तो धुमधामले दशैं मनाउन सकिदैन जस्तो लाग्यो । बासँग माफी मागेर औकातअनुसारकै दशैं मनाउने रहर जाग्यो ।

‘बा, भो दशैं दशैंजस्तो गरेर मनाम् । दशैं मनाउँदा दशा लाग्ने गरी नमनाम् । हामी एक किलो मासुमै खुशी छौं । ऋण गरेर मनाएको दशैेंले खुशी हुँदैनम् ।’

बा खिस्स हाँस्नु भो । बाको हाँसोमा दशैंभन्दा ठूला पर्वहरु देखिए । बाको हाँसो नै मासुभन्दा मिठो लाग्न थाल्यो । बालाई पीडामा पारेर दुई चोक्टा मासु धेरै खानुभन्दा झोेल भात नै मिठो सोच्न थालें ।­

By

Readers Comments (0)