Filed Under:  कथा

ऐंठनले थिचेको घाँटी

17th October 2015   ·   0 Comments

Deepak_Sameer– दीपक शर्मा ‘समीर’

हिजो बिर्खे र सदिश हुर्केको पुरानो झुपडी । आँगनमै रहेको नास्पतिको बुढो जवानी छिचोलिरहेको चौतारो । त्यही चौतारो, नजिकैबाट कुदिएको गोरेटो । दुबैतिर रहेका स–साना खरले ओतेका झुपडीहरुकै आँगन चुम्दै लम्पसार सुतिरहेको चौबाटोमा लम्किरहेको हुन्छ । त्यही झुपडीतिरै, एउटै आमाका नाम्टा चुसेको भाई बिर्खे रुझेको बिरालोझैँ । देख्दा एक्कासी दाई सदिश झस्कन्छ, बस्छ टुस्स नास्पतिकोे छहारीमुनि । सम्झन्छ विगतका पुराना दिनहरु– खसाल्छ तप्प एक थोपा आँसु आफ्नै पैतलामा ।

मनभरि पोखिन्छन्, आँगनभरि छचल्किन्छन् उसका सपनाहरु । भतभति पोल्छ नुन खुसानीले डामेको मुटु ।

सदिश आँखै चिम्लेर कोरिरहेको हुन्छ बिर्खेको भविष्य । बस्नलाई एउटा राम्रो घर, पेटभरि खानालाई गाँस, जीवनभरि उसलाई साथ दिने राम्रो कुलघरकी सौभाग्यवती जीवनसंगिनी यस्तै–यस्तै । अनि गरिरहेको हुन्छ, बिर्खेका सपना पूरा गरिदिन भगवानसँग प्रार्थना ।

सदिशका आँखा खुल्छन् र डुल्छन् पहिलेझैं नजरहरु । तर त्यतिन्जेलसम्म हुँइकिसकेको हुन्छ बिर्खे आफ्नै दुनियाँतिर । सुनिन्छ– केही व्यवसाय गर्दैछु भन्दै बाआमालाई घुर्की देखाई मागेको पैसा विज्ञानले अंगालेका प्रविधिसँगै हावामा साट्दै मायालु शब्दहरु बुनिन्छ रे स्वीटर बुनेझैँ । अनि गाँसिन्छ रे एक अर्काका मुटुहरु । लात हानिन्छ सदिशका आशा अपेक्षाहरु । छिमेकी जिल्लाहरुलाई चुम्बन गर्दै राजधानीतिरै । एक्कान, दोकान, मैदान भनेझैं मुखामुख चल्छ रे गाउँमा बिर्खेका औकातहरुमा । सदिशका कानमा ठोकिन्छन् आवाजका तरङ्गहरु चट्याङ बर्षेझँै । मरेतुल्य सम्झन्छ आफैलाई सदिश …।

न भोक, न प्यास, न निद्रा । रिसले सीमा तोड्छ ऊ बाध्य हुन्छ निर्णय गर्न ।

बिर्खेका लागि सदिश म¥यो ! सदिशका लागि बिर्खे !

बलवान हुन्छ समय, बुन्छन् सपना आफन्तहरु । बालेका हुन्छन् आशाको दियो भने झैँ । समयले फेरि हुत्याउँछ र बाँच्न सिकेको हुन्छ सदिश ! सप्पै–सप्पै गरिदिन्छ माफ सम्झेर बिर्खेलाई अन्जान । बाआमाले दिएको माफीझैं छोराछोरीलाई …।

बिर्खे र सुन्तलीको लगनगाँठो राजधानीतिरै कस्ने निधो हुन्छ । घरपरिवारको तर्फबाट बा अफिसको कामले व्यस्त, आमाले घरधन्दा गर्नुपर्ने रे । अनि सदिश जेठोबाठो भएकाले नै विवाहका लागि राजधानीतिरै जानुपर्ने निधो भयो घरबाटै । इच्छा नहुँदा नहुँदै पनि बुवाको आदेश, आमाको आँसु, श्रीमतीको पिरलोभन्दा जान बाध्य बनायो राजधानीमा बिर्खे र सुन्तलीको बिवाहका लागि सदिशलाई । गल्तीबिना आफूलाई बाघझैं सम्झने सदिश रुझेको बिरालोझैँ ! रात्री गाडी चढ्न बाध्य हुन्छ । भोलिपल्ट बिहानै चियाको चुस्कीसँगै छरपस्ट पोखिएका घामका किरणलाई अँगाल्न पुग्छ सदिश राजधानीमा । अनि चाल्छ पाइला एकसुर सुनसान शहरमा । पुग्नलाई बिवाह मण्डपमा । बर्खाको खहरे खोलाझैं । धमिलो मन बोकेर ।

थियो सायद भाद्र महिना । हिर्काइरहेझैँ लाग्थ्यो, टन्टलापुर घाम । सोचिरहेझँै लाग्थ्यो उसलाई । थिर थिएन मन । भाइ बिर्खेको एक्लो निर्णयप्रति उदास थियो ऊ ।

बिर्खेलाई पहिले नै भनिसकेको हुन्छ सदिश । यदि त्यही केटी मन पर्छ भने पनि आफ्नो बन्दोबस्ती मिलाएर त्यही केटी नै बिवाह गर्लास् भनेर । तर पनि बिर्खे के पो मान्थ्यो त्यो कुरा ? यस्तै–यस्तै शब्दहरुले दुखिरह्यो सदिशलाई दिनभरि अरिङ्गालले चिलेझैं ।

तर पनि सम्हालियो भाइ बिर्खेले दिएको झापडको उपहार अङ्गाल्दै । फर्कियो भोलिपल्ट बिहानै गन्तव्यका लागि एसियाकै दोस्रो फाँटतिर सम्बन्ध सुधारिने आशा बोकी । जेहोस् सबै–सबै भुल्ने प्रयास ग¥यो बुहारी सुन्तलीको हँसिलो अनुहार देखेर ।

आशाको सप्तरङ्गी दियो बाली कुनै सिनेमाको हास्यकलाकारझँै । हँसिलो अनुहार बोकेर फर्कन्छ सदिश घरमा । खुसीले बुरुक्क उफ्रिइन् सदिशकी श्रीमती दीपा आकाशको तारा टिप्लिनझैँ गरेर । रातमा मुस्कुराइरहेको सडक बत्तीझैँ मुस्कुराइरहेको हुन्छ छोरा यम सडकमा उज्यालो पोखेझँै गरेर ।

डाहा लागेर आउँछ सदिशलाई त्यो दिनको खुसीप्रति । किनकि त्यो खुसी कसैले खोसेर लग्यो हुन सकेन दिगो । ऊ क्षणिक खुसी चाहदैन र ऊ भन्छ– यदि खुसी दिनेले पुनः खोसेरै लिने हो भने सधैंका लागि खुसी खोसिदिए पुग्छ सदिशलाई …।

पहिलो त्यो दशैं दशा बनेर प्रवेश गर्छ किनकि सुरुवात हुन्छ घरमा कलहझैँ झगडा । बिर्खेको भनाइअनुसार सुन्तलीको माइती धनी रे । कहिल्यै दुःख नगरेकी रे ।

छरछिमेकीले के भन्लान् ? शीरदेखि पाउसम्म गरगहना चाहिने रे… यस्तै–यस्तै । जे भए पनि गच्छेअनुसार केही गहना त पहिले नै बनाइदिएकै हो तर पुगेन रे गहना सुन्तलीलाई …।

अनि त्यसपछि बिर्खेका बाआमाले केही गहना किनिदिए । केही समयका लागि बन्द हुन्छ घरको कलह ।

केही वर्षदेखि राजधानीमा डेरा गरी बसेका बिर्खे र सुन्तली छोरी पढाउने बहानामा घर फर्केर पनि केही महिना घरमा बसे पनि राजधानीको कोठा नछोड्नु र सामान पनि घरमा नल्याउनुले झस्काउँछ सदिशलाई ।

व्यवसाय गर्ने बहाना गरि घरबाट पैसा फुत्क्याउने माझी दाइले जाल बुनेझैँ जाल बुनेपछि उनीहरुको नियतिप्रति शंका गरी सुरुवातका लागि केही पैसा दिदा पनि व्यवसाय नगरी घरपरिवारका बारेमा तमाम लाल्छनाहरु छरछिमेकमा ओकल्नु, इज्जतप्रति दाग लगाउनुले पनि प्रश्न खडा गर्छ बिर्खे र सुन्तलीप्रति …।

सदिशले यस्ता गलत कार्य नगर्न र घरको कुरा बाहिर भन्नुभन्दा घरमै समस्या समाधान गर्न र चित्त नबुझेको कुरा घरमै भन्नुपर्छ भन्दा आफ्नो मनोमानी शुरु हुन्छ निहुँ खोजेर राजधानीतिरै सुईकुच्चा ठोक्ने विचार बोकेकाप्रति जति राम्रो भन्दा पनि त्यसप्रति झन् नकारात्मक सोच उम्रिन्छन् बर्खामा च्याउ उम्रेझैँ ।

घरमा नसोधेरै हिड्ने जे मन लाग्यो त्यही गर्ने शुरु हुन्छ, भनिन्छ नि सहनेको पनि सीमा हुन्छ । एक दिन, दुई दिन, तीन दिन, कति सहनु । सुन्तली घरमा नसोधेरै एक हप्तासम्म अत्तोपत्तो नहुने गरि घरबाट जाँदा र बिर्खे पनि राजधानीतिरै डेरा जमाएपछि सदिशले भाइ बिर्खेलाई फोन गर्छ एक साँझ । दुइपटक पूरा घन्टी जाँदा पनि फोन उठ्दैन र केही समयपछि आउँछ फोन उतैबाट ।

बिर्खेलाई सदिशले सोध्छ कि ? तेरो श्रीमती खोई आज यतिका दिनसम्म पनि आ होइन र फेरि जाँदा पनि सोधेर गा छैन के हो ? मैले एफएममा फुकाउनु पर्ने त होइन ? भन्दा बिर्खे ठूलो स्वरमा कराउँदै तिमीहरु को हौ ? तिमीहरुलाई सोध्नुपर्ने ? मैले भने गई, अनि तिमीहरुले हाम्रो लागि केही गर्नु पर्दैन । अगाडि बाआमा छन्, जे गर्छन् उनीहरुले नै गर्छन् । तिमीहरुले जे नगर भन्यौँ त्यही गरे त्यही गर्छु । बा र ठूलाबाको झगडा बिस्र्यौ कि ? हाम्रो पनि त्यस्तै हुन्छ ! मेरी स्वास्नी तिमीहरुको नोकर्नी हो ? यस्तै–यस्तै शब्दहरु बर्सिरहे दाइ सदिशलाई असिना बर्सेझैँ ।

फोनमा बिर्खे र सदिशको भनाभन हुन्छ । जे भने पनि सदिश बिर्खेको दाइ न हो । भाइ बिर्खेले लगाएको झुठो आक्षेपले सदिशलाई त्यस रात निद्रा पर्दैन । घरमा बाआमालाई चिन्ता थप्न चाहन्न ऊ । मन हलुङ्गो पार्न नजिकै घरजम गरिदिएकी एउटी मात्र बहिनी लक्ष्मीलाई फोन गर्छ । सबै कुरा भन्छ तर पनि रातभरि निदाउँदैन सदिश । आधा गाँस भाइ बिर्खेलाई ख्वाई आधा गाँस आफुले खाएको भाई बिर्खेले भनेका वाणरुपी शब्दहरुले रातभरि बिझाइरहन्छ मरुभूमिको किरकिरे ढाँर बिझेझैँ ।

उज्यालो हुन्छ निद्रा परेकै हुदैन के खोल्नु निद्रा सदाझँै उठ्छ । नित्यकर्म गर्न बाथरुमतिर जान्छ सदिश । फर्कदा बिर्खेको कोठाको ढोका उघारै हुन्छ र ठुस्स गन्ध आउँछ अनि ढोकाभित्र यसो हेर्छ । कोठाको अवस्था फोहोरको डंगुरझैँ हुन्छ । ठुस्स गन्ध आउँछ । नाक च्याप्प समाउँछ, सबैतिर नजर घुमाउँछ । अनि कोठामा फालिएका खाद्य साम्रग्री, चिया र दुधका फोहोर गिलासहरु, लत्ताकपडाहरु आदि छरपस्ट बिस्कुट, चाउचाउ र अम्बा कुहिएका दाना यस्तै–यस्तै देख्छ । उसको मन पिरोल्छ । पोल्छ चसक्क तातो पानीले पोलेझैँ गरेर …।

भाइ बिर्खेको अघिल्लो रातको घुर्की र नुन खुर्सानी छर्केको तिखोवचनरुपी सियोले घोचेको विक्षिप्त मन टोलाइरहेको हुन्छ दाइ सदिशको घाइते मृगझैँ… ।

प्रवेश हुन्छ बिहान सुन्तली र छोरी सुबीको । छोरी सुबी चाहन्थी, दाइ यम, ठूलो बाबा सदिश र ठूलीअम्मी दीपाको न्यानो काखमा अङ्गालोमा बस्न, जिस्किन सदाझैँ  । सुन्तली सिंहझैँ उन्मुक्त देखिन्थी र देखिन्थ्यो उसको चेहरामा चम्किलो हाँसो । किनकि त्यो सबै बिर्खेलाई कान फुक्ने ऊ नै थिई …।

थिए सुन्तलीसँगै चोचो मिलाउनेहरु, जो सदिशका पसिना र पाए रगत पिउन तयार गोमन, करेत, वाइपरजस्ता दुध पिलाएर पालेका सर्पहरु । खुसी देखिन्थी घर भाँड्न योजना बुनिरहेकी सुन्तली सफल भएकोमा । चहल–पहल केही निश्चित व्यक्तिहरुसँग बढ्दै गयो सुन्तलीको, जो सदिशको हर प्रगतिमा डाहा गर्थे । जहाँ बनाइन्थे सदिश विरुद्धका तानाबाना । एक हप्तासम्म बिहानको गाँस र साँझको गाँसबास बाहेक झन् के खोस्छस् काना आँखा भनेझैँ सहज तुल्याइदियो सुन्तलीलाई पाँच दिनको त्यो पन्छिदाको समयले भोक न भुर्ता शोक न सुर्ता भनेझैँ बाँकी समय सदिश र दीपाका बारेमा बुनिरहे झुठा लाल्छनाहरु … ।

हाड घोटिरही दीपाले हरदिन घरमा । एक बचन पनि सोधिन जेठानी दीपालाई र फुत्त–फुत्त निक्लिरही सुन्तली । तैपनि इज्जतको ख्याल गरी चुप थिई दीपा । घरपरिवार इष्टमित्रहरुको घेरामा बाँधिएर तैं चुप मै चुप भनेझैँ ।

बिर्खे र सुन्तलीले सदिश र दीपालाई हरेक लाल्छना लगाएरै घरमा बाआमा, सासु–ससुरासँग साख्खै बन्न स–साना कुरा, नभएको चुक्ली भरिदिन्थे कानभरि । जेठानीले दुध छोरीलाई फाटेको खाना दिई । छोरी बिरामी छे, खाना दिएनन् छोरी र आफुलाई ।

बिना तुकका कुर्तन गुन्जिरहन्थे धम्कीपूर्ण स्वरहरुमा हरदिन । हरेक चर्तिकलाहरु दिनैपिच्छे नयाँ कुनै चलचित्रको कथाझैँ । लाग्थ्यो सदिशलाई । लाएका बिहान घरबाट निस्कदाका कपडा हुन्थेँ, फेरि घरमा फर्कदा कुनै पोलिथिनको कुनामा । फेरिसकेको हुन्थ्यो घर पुग्दा शरिरमा काँचुली फेरेझँै कपडाको रुप रङ । लाज लागेर आउँथ्यो सदिश र दीपालाई कुरा काट्लान् कि छरछिमेकले भनेर । भनिन्छ नि– हग्नेलाई भन्दा देख्नेलाई लाज भनेझँै ।

यस्ता अनगन्ती लाल्छनाहरु लागे पनि भनिन्छ नि सत्यको विजय हुन्छ । त्यसैझँै ढुक्क थियो सदिश । रतिभर पनि डगमगाएको थिएन । बगैंचामा चील र बाजहरुले ठुँगे पनि । झन् निडर, साहसी, आत्मविश्वासी बन्ने सोच पलाएको थियो सदिशलाई ।

कुरा हो एक दिनको । कोठामा एउटा सियोसमेत पनि नराखी सुन्तलीले सके जति अघिल्लो दिन नै घरबाट ओसारी अरु कसैको घरमा । साँझमा नौ÷दश बजे अन्य दिन खाना खानेले उसदिन भने सात बजे नै कोठाको चुकुल लगाई । छोरी सुबीलाई समेत खाना नदिइ सुत्छे ग्वामस्वाम परेर । खाना खानालाई छोरा यमले केही समयपछि बोलाउँदा समेत अन्य दिन एघार बजेसम्म नसुत्ने छोरी सुबी निदाइसकी भनेर टार्न खोजिरही सुन्तली । छोरी खुरखुर गरि कराउँदै थिई । दुइपटकसम्म बोलाउँदा समेत खाना खानालाई कोठाबाट आफु त के छोरी सुबीलाई समेत बाहिर आउन दिदैन । दिएको खाना गरिरहन्छ सुन्तलीको रातभरि पहरा …।

सुन्तली बिहानै उठ्छे र छोरी सुबीलाई एक्लै कोठामा छोडि हिजो सामान राखेतिर केही सामान बोकी लाग्छे उतैतिर । छोरी सुबी उठेर रुन थाल्छे । छोरीलाई बोलाउँछ सदिश । किन रोएको भनी सोध्छ । भोक लाग्यो भन्छे । बेलुका दिएको भात खाना तम्सन्छे । हिजो किन नखाएको भनी सोध्छ सदिश । मम्मीले खाना नदिएको भनी रुन थाल्छे । छोरी सुबीको कुरा सुनी तप्प आँसु भुइँमा खसाल्छ सदिशले । काखमा च्याप्छ, आफ्नो कोठामा लैजान्छ, केही खाने कुरा दिन्छ छोरी सुबीलाई । रमाउँदै खान्छे छोरी सुबी । हरेक क्रियाकलाप नियालिरहन्छ बडो स्नेहपूर्वक सदिशले …।

यत्तिकैमा ढोका खुल्छ उसको छोरीप्रतिको एकाग्रता भङ्ग हुन्छ । सुन्तलीको प्रवेश हुन्छ । छोरी सुबी सुन्तलीको पछि–पछि जान्छे । सधैं पाँच बजे उठिसक्ने सुबी कि ठूली अम्मी दीपा रुघाखोकी र ज्वरोले गर्दा अबेरसम्म उठ्न सकिरहेकी हुन्न त्यसदिन । बन्दले गर्दा पढाइ हुने नहुने निश्चित हुँदैन छोरा यमको । पढाइबारे बुझ्न स्कुलतिर जान्छ सदिश । इलेक्ट्रोनिक रिक्सा फोन गर्दै सुन्तलीलाई लिन आइपुग्छ घरमा । बाँकी सबै सामान त्यसै इलेक्ट्रोनिक रिक्सामा राख्छे सुन्तली । छोरी सुबी र सुन्तली त्यसै रिक्सामा बस्छन् अनि लाग्छन् हिजो बेलुका सामान राखेतिर । केही समयपछि सदिश छोरा यमको स्कुलबाट फर्किन्छ । सुन्तली घरदेखि टाढा–टाढा बालुवाभित्र डुबुल्की मारिरहेकी जस्ती देखिन्थी जीवन अस्ताउँदै गरेको सूर्यझँँै …।

सदिश आफू र दीपालाई लगाएका झुठा आरोप खाना दिएन, बस्न दिएन र घरबाट निकालेजस्ता आपत्तिजनक शब्दहरुको खण्डन गर्दै बिर्खे र सुन्तलीको घोर विरोध गर्छ  । अनि गल्ती गर्नेलाई बारबार माफी नदिने सोचमा पुग्छ । भनिन्छ नि– जो सोझो उसको मुखमा घोचो भनेझँै सदिशलाई बाआमाले बिर्खे र सुन्तलीका चेपारे कुरा सुनेर उनीहरुकै पक्षमा कुरा गरेझैँ लाग्छ, झन मन खिन्न पार्छ सदिश…।

सक्दैन विपना र सपना छुट्याउनै । गलहत्याउँछ आफैलाई । रेविज लागेको कुकुरझँै मुखबाट फिँज निकाल्दै । समात्छ ऐंठनमा आफ्नै घाँटी थिचेर बर्बराएझँै बटारिन्छ शरिर कसैले छुरा रोपेझँै । किनकि थिए हरेक लाल्छनाहरु ऊ विरुद्धका । फोनको रातो बटन दबाउँछ । आँखा बन्द गर्दै केहीबेर रुन्छ, सत्य त्यो फोनमा थिएन उसको आँसुमा थियो कसैले गरेन सत्य सुन्ने र बुझ्ने प्रयास । त्यसो नगरेकोमा बैकल्पिक बाटो अङ्गाल्न बाध्य बनाउँछ सदिशलाई । उसका हातहरु आफ्नै घाँटी थिच्न अगाडि बढिरहेका हुन्छन् । ऊ ब्यूँझन्छ । मुटु छिटोछिटो चलिरहेको हुन्छ । शरिर काँपिरहेको हुन्छ । निथ्रुक्क भिजेको बनेन फुकाल्दै घडि हेर्छ । रातको दुई बजेको हुन्छ । लामो सुस्केरा हाल्दै सदिश भन्छ सपना पो रहेछ विपना भैदिएको भए …।

By

Readers Comments (0)