Filed Under:  संस्मरण | निबन्ध

पुनर्जन्म पाएकी मेरी आमा

17th October 2015   ·   1 Comment

Meghraj_acharya- मेघराज आचार्य

असी पुगेर एकासीमा लागेकी मेरी आमा शरीरले कमजोर भए पनि पहिले लट्ठी टेकेर घर वरपर टुकुर–टुकुर हिड्ने गर्नुहुन्थ्यो । गत हप्ता उहाँ निमोनियाले एक्कासी थला पर्नुभयो । उहाँलाई रुघाखोकी र छातीको समस्याले गर्दा स्वासप्रस्वासमा धेरे समस्या देखिएपछि अस्पताल लगेर भर्ना गर्नुप¥यो । अस्पतालमा उहाँको सबै चेकजाँच पनि भयो । एक्स–रे गर्ने कोठामा लग्दा त एक्स–रे गर्ने प्राविधिकले मुन्टो बटारेर खिसी गरेको जस्तो हामीलाई भान प¥यो । सायद यस्तो सिरियस बूढी मान्छेलाई किन यहाँ ल्याएको होला भनेर होला । चार–पाँच दिनको अस्पताल बसाइ बडो कष्टपूर्ण तरीकाले बित्यो । दुई तीन दिन त उहाँलाई अक्सिजन र स्लाइनहरुबाहेक केही दिइएन । जो होचो उसको मुखमा घोचो भने जस्तो अस्पतालको बेडमा सुतेकी मेरी आमालाई पूर्वतिरको झ्यालबाट छिरेको बारुलाले निधारमा चिलेर मुखै सुनिएर आयो । त्यसैले पनि उहाँलाई झन समस्या थपियो । चार–दिन दिनपछि उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षणहरु देखिए । अलिकति भए पनि आध्यत्मिक चिन्तन भएकी मेरी आमालाई अस्पतालको बसाइ पनि साह्रै कष्टपूर्ण भएको थियो । उहाँजस्तै चिन्तन बोकेका इष्टमित्रहरुले उहाँलाई अस्पतालको बेडमा राख्नुभन्दा बरु घरै लगेर टीकाटाला, दान धर्म र उहाँको इच्छा आकांक्षा बुझ्नु नै बेस हुन्छ नभनेका होइनन् । तर ती कुरालाई कुनै प्रतिवाद नगरे पनि मैले सुनेको नसुन्यै गरें । आमालाई छातीको समस्या कम भएपछि उहाँलाई अक्सिजन, निमुलाइजर, स्लाइन र इन्जेक्सनहरुको आवश्यकता पनि रहेन । त्यसैले हामी दाजु भाइको इच्छा आकांक्षालाई बुझेर डा. मीनचन्द्र अधिकारीले एक–दुई दिन अरु राख्ने चाहना हुँदाहुँदै बिरामीलाई डिस्चार्ज गरिदिनुभयो । दुब्लो पातलो शरीर त्यसमा पनि निमोनियाले गर्दा उहाँको अवस्था दयनीय देखिन्थ्यो । घर ल्याएपछि एक–दुई चम्मच खाना पनि खान थाल्नुभयो । क्रमशः सुधारका लक्षण देखिए पनि फेरि उहाँलाई एक–दुई दिनपछि टाउकाको घाउले सताएर आयो । सारा मुख सुनियो । जसले गर्दा खाना त के औषधि पनि खान नसकेर लम्पसार सुत्ने र अब म मर्छु भन्दा अरु केही भन्न थाल्नु भएन । उहाँको आत्मबल पूरै गिरिसकेकाले उहाँलाई खुवाउन पनि सकिएन । बोली पनि क्रमशः बन्द हुँदै गयो । उहाँको त्यो स्थिति देखेर मैले पनि क्रमशः छोरी, बहिनी, दाजूभाइ इष्टमित्रहरुलाई खबर गरिदिएँ । मेरी आमामा आत्मबलभन्दा कायरपन अलि बढी नै थियो । उहाँको सिरियसपन देखेर धर्म, कर्म र दैवी शक्तिमा विश्वास गर्ने मेरा इष्टमित्रहरुले उहाँलाई अस्पताल लग्नुको कुनै अर्थ देख्नु भएन र सल्लाह पनि दिनुभएन ।

त्यसैले उहाँको स्थितिलाई देखेर उहाँलाई दान धर्म, पूजापाठ, टीकाटाला गरेर उहाँको अन्तिम दान (एक किसिमको बिदाइ) जस्तो गरेर आफू सुत्ने कोठाबाट घरको तल्लो तलाको बैठक कोठामा सा¥यौं । आमाको चाहना पनि झण्डै त्यस्तै बुझेर चुप लाग्नुबाहेक मसँग विकल्प पनि केही थिएन । कसैले आज साँझसम्म के हो कसो हो भन्न सकिन्न भन्नुभयो भने कसैले एक–दुई दिनभन्दा बढी जीवन लम्बिदैन भनेर मृत्युको भविष्यवाणी गर्नुभयो । म भने आमालाई मृत्युको भविष्यवाणी गरेर सबै घरपरिवारले पानी खुवाइदिएर तल सार्दा साँच्चिकै ममा आमा गुमाइसकेको एक किसिमको महसुस भइसकेको थियो । भित्रबाट भक्कानो छुटेर आँसु झार्नेबाहेक मैले मेरी आमा अझै मर्दिनन् तल नझारौं भन्ने आँटै गर्न सकिनँ । बुबा मरेको आज १४ वर्षपछि आमा पनि हामीलाई छोडेर जाने हुनुभयो । म साँच्चिकै टुहुरो पो हुने भएँ त भनेर मुखमा रुमाल कोचेर भित्रबाट छुटेको भक्कानोलाई थामिरहेको थिएँ । घरको तल्लो तलामा सबै इष्टमित्र दाजूभाइ, दिदीबहिनी, इष्टमित्र जम्मा भएर आमालाई पालैपालो पानी खुवाएर उहाँको सहज मृत्युको कामना गरिरहेका थिए । त्यहीबेला छिमेकमा बस्ने एकजना भाइ आएर हजुरआमालाई केही पनि हुँदैन । भोलिबाट हाम्रो टोलमा लट्ठी टेकेर मर्निङ्गवाक गर्ने हुनुहुन्छ भन्दै उहाँको हात तानेर ढोगेर बाहिर निस्कदा यस्तो बेला पनि के भनेको होला जस्तो लाग्यो । मैले केही बोल्न पनि सकिनँ । चूपचाप सुनिरहें । नाडी छाम्ने जोकोहीले पनि उहाँको नाडीमा समस्या खासै देखाएका थिएनन् । इष्टमित्र गाउँले छरछिमेकको आउने जाने क्रम चलिरहेको थियो । राति करीब ९ बजेतिर कसैले नाडी छ कसैले छैन भन्ने क्रममा उहाँलाई नाडीको गति बन्द भइसक्यो भनेर बाहिर सारियो । फेरि अर्को पटक सबैको रुवाबासी र पानी खुवाइ दिएर बिदाइ गर्नुभन्दा अरु विकल्प केही देखिएन । कसै कसैले नाडी त चलिरहेकै छ भनेको पनि सुनिन्थ्यो । मेरी आमा पनि कस्तो हो त्यतिका सबैले मुखमा पानी कोचाएको कोचायै गर्दा पनि भयो अब भन्न नसक्ने ! साँच्चिकै उहाँमा पनि मर्ने बेलामा पानी बेसरी खानुपर्छ भनेर होला । क्रमशः रात छिप्पिदै गयो बाहिर सारेको चिसो सिरेठोले हान्यो होला । करीब एक घण्टापछि उहाँ आफैले कोल्टे फेर्नुभयो । त्यही बीचमा मैले आफ्नो हिक्का थाम्दै आमालाई बाहिर सारेको खबर एक दुई ठाउँमा दिइसकेको थिएँ । सबै इष्टमित्रबाट मेरी आमा ठीकै भएको प्रमाणित भएपछि फेरि कोठामा ल्याएर राख्यौं । क्रमशः केही समयपछि आमा यताउता फर्किने पानी भनेर माग्ने गर्न थाल्नुभयो । अब आमालाई केही हुँदैन भन्ने विश्वासमा कोही कता कोही कता भएर पालैपालो निद्राको शरणमा प¥यांै । तर त्यस रात मलाई रातभरि एक मिनेट पनि निद्रा परेन । घरिघरि आमालाई बिदाइ गरेर घरको तल्लो तलामा झारेको घटना र मृत्युको घोषणा गरेर बाहिर सारेको घटना आदि सम्झन्छु अनि मनमनै कल्पन्छु मेरी आमालाई आफ्नै कोठामा अन्तिमसम्म रहन दिएको भए के हुन्थ्यो त ? फेरि तल बैठक कोठाबाट बाहिर चिसो पेटीमै लग्नुपर्ने के को बाध्यता थियो त ? त्यहीं बैठक कोठामै सहज मृत्युवरण भएर बाहिर लग्नै नहुने हुन्छ त ? कस्तो हो हाम्रो समाज ? आफैले आफूलाई धिकार्छु । फेरि आफूलाई सम्हाल्छु किनकि म भन्दा माथि तीनचार वटा दाइहरु दिदीहरु पनि त हुनुहुन्छ किन उहाँहरु बोल्नु भएन त ? सायद बाहिरै सार्नुपर्ने बाध्यताले पनि होला ?

अर्को दिन बिहान भयो । क्रमशः आमाको चलमलाइ पनि बढ्दै गयो । मलाई यस पितृपक्षभरि केही हँुदैन बुवाको श्राद्ध (दशमी तिथि) सम्म म मर्दैन भन्न थाल्नुभयो । अर्को दिन बिहान डा. प्रबोधलाई आमाको स्वास्थ्यबारे सबै जानकारी गराएँ उनी आएर आमाको चेकजाँच भयो । आमाको मुख पूरै सुन्निएको थियो । ती घाउहरु आमाको जनाइ खटिरो हो भने जानकारी दिए । फेरि पुराना औषधिलाई थाँती राखेर आमालाई नयाँ औषधि दियौं । क्रमशः कम हुँदै गयो । उता जडीबुटी पनि घोटेर लगाइदियांै । घाँटीको भित्रबाट नसादेखि बढ्दै गएका घाउहरु कम हुँदै गए । क्रमशः आमा पनि दुई–चार चम्मच खानेकुरा खाँदै जान थाल्नुभयो । चार पाँच दिन चम्मचबाट पानीभन्दा केही खान नपाएकी मेरी आमा आजभोलि आफै मुछेर खाना खान थाल्नुभएको छ । एकपल्ट मृत्युको घोषणा गरेर बाहिर सारेकी मेरी आमा आजभोलि लट्ठी टेकेर टुकुर–टुकुर दिसा पिसाब गर्न हिँड्न सक्ने हुनुभएको छ । त्यसैले म भन्छु– मेरी आमाको अब पुनर्जन्म भएको छ । सायद दह्रो आत्मबल बनाएर खानेकुरामा जोड गरेमा मेरी आमालाई केही हुनेछैन । मेरी आमालाई पुनर्जन्म दिन सहयोग गरेका डा. प्रबोध रेग्मी र डा. मीनचन्द्र अधिकारी साथै अस्पताल परिवारलाई मैले एक किसिमका धन्यवादको पात्र मानेको छु भने अर्कोतिर उहाँको स्वास्थ्यलाभको कामना गरेर अस्पताल र घरमा भेट्न आउने सम्पूर्ण घरपरिवार र इष्टमित्रहरु पनि धन्यवाद पात्र हुनुहुन्छ । यता घरको तल्लो तला बैठक कोठामा सारिएकी मेरी आमालाई उहाँको कोठामा लग्ने नलग्ने असमन्जसमा परेको छु । किनकि मेरी आमा एक किसिमले बिदाइ गरेर बाहिर सारिएकी पो हुनुहुन्छ ।

By

Readers Comments (1)

  1. Madhu Soodan Poudyal says:

    यहाँका अनुभूतिहरू हृदय स्पर्शी लाग्यो । यसपटकको संकट टरेको र आमाले पुनर्जीवन प्राप्त गर्नुमा बढी श्रेय यहांकै सेवा र समर्पणलाई दिनु पर्छ । छोराको पूण्य आर्जन होस् भनी पितृहरूबाट भएको कृपा हो ।