Filed Under:  व्यक्ति, संस्मरण | निबन्ध

सम्झनामा ‘इन्द्र यात्री’

19th September 2015   ·   0 Comments

OLYMPUS DIGITAL CAMERA- काशीराम डाँगी

काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्र (मुटु अस्पताल) बाहिर हातमा कागज बोकेर स्वर्गीय शिक्षक इन्द्र यात्री (इन्द्रबहादुर पुन) निस्कनु भयो । आफ्नी पत्नीसहित घाम ताप्न उहाँहरु हामी बसेकै ठाउँमा आएपछि निकै बेर सँगसँगै बस्यौं । अस्पताल बाहिर केही वर्षअघि मुटुको अप्रेशन गराएकी मेरी पत्नी आशा र म थियौं । अस्पताल बस्दाका, नजिक आउदै गरेको तिहार र उहाँको आफ्नो विद्यालयका बारेमा लामो कुराकानी पनि भए । ‘म जसरी पनि यसपालि विद्यालय पुग्नु छ । तिहार आउनै लाग्यो ।’ उहाँले कुराकानीका बीच–बीचमा पटक–पटक यस्तो दोहो¥याइरहनुहुन्थ्यो ।

२०६४ कात्तिकको समय थियो । त्यसको चार वर्षअघि त्यसै अस्पतालमै मुटु अप्रेशन गराएकी मेरी पत्नी र म निकै बेर अस्पताल बाहिरको खुला चौरमा घाम ताप्दै थियौं । डाक्टरसँग भेट गर्न र मुटुको चेक–जाँच गराउने पालो पर्खेर हामी बिहानैदेखि लाइनमा बसेका थियौं । कति बेला डा.भगवान कोइराला फुर्सदमा होलान् र हाम्रो पालो आउला भन्नेमा मात्र हाम्रो ध्यान केन्द्रित थियो । इन्द्र पनि आफ्नो मुटुको पुनः जाँच गराउन यही आउनु भएको थियो । त्यसैले हामी दुई जोडीहरु घाम ताप्ने स्थानमा भेट भएका थियौं । हामी पनि आशाको मुटुको पुनः जाँच गराउने क्रममा पुगेका थियौं भने इन्द्र पनि आफ्नो मुटुको पुनः जाँच गराउन पुग्नु भएको थियो ।

इन्द्र यात्री (इन्द्रबहादुर पुन)

इन्द्र यात्री (इन्द्रबहादुर पुन)

हामी दुवै जोडीहरु अचानक त्यहाँ भेट भएका थियौं । त्यस अघि सँगै रोल्पा फर्कने बारेमा कुरा नभएकाले हाम्रो भेट अचानक भएको थियो । केही वर्ष अघि इन्द्र सर (उहाँ शिक्षक भएर मात्र हैन, एउटा सामाजिक कार्यकर्ता भएकाले म लगायत सबैले सर भनी बोलाउथ्यौं) को गंगालाल अस्पतालमा मुटुको भल्भ फेरिएको थियो भने मेरी पत्नी आशाको मुटुमा भएको प्वाल टालिएको थियो । त्यसैले पुनः चेकजाँचका क्रममा पुगेका हामीहरुलाई डा. भगवान कोइराला र डा.रामेश कोइरालाको चिकित्सक टोलीले हेर्थे । हामी लामो समय कुरेर पनि उहाँहरुलाई भेट्थ्यौं र फर्कन्थ्यौं । इन्द्र सर हामीहरु कैयौं पटक स्वास्थ्य जाँचका लागि गंगालाल अस्पताल पुग्ने गरेका थियौं ।

तर दुखद् कुरा, त्यसपछि इन्द्र सरसँग कहिल्यै भेट भएन । सम्भव पनि भएन । उहाँले पढाउने रोल्पाको खुमेलको खेवासेस्थित इन्द्रश्वरी (हालको मावि) प्राथमिक विद्यालयमा चाँडै पुग्ने र विद्यालयको आयस्रोत बढाउन भैलो कार्यक्रम सेटिङ गर्नुपर्ने उहाँले सुनाउदै हुनुहुन्थ्यो । त्यसैले उहाँहरु अर्को दिन काठमाडौंबाट रोल्पा जानुभयो । हामी भने अरु केही दिनपछि काठमाडौमै बस्यौं ।

काठमाडौबाट हामी घोराही पुगेको दिन हामीले निकै दुखद् खबर सुन्नुपु¥यो, जुन इन्द्र यात्री सरको मृत्युको खबर थियो । घोराहीमा भएका बेला भाई गौरीकिरणले मध्यरातमा फोनबाट त्यो दुखद् खबर सुनायो । निकै बेरसम्म हामीले त्यो खबर विश्वास गर्न सकेनौं । किनकि २÷४ दिन अघि मात्र हामीहरु काठमाडौंमा भेटेका थियौं । विद्यालयमा पुगेर भैलो कार्यक्रम मिलाउने उहाँहरुको योजनाबारे हामीले विभिन्न कोणबाट निकै बेर कुरा गरेका थियौं । त्यसपछिका ती दिन मात्र सम्झनामा रहे ।

भोलिपल्ट बिहान स्वर्गीय इन्द्र ‘यात्री’ सरको शव घोराहीमा ल्याउन लागिएको भन्ने खबर थाहा पाएपछि हामी त्यही पर्खेर बस्यौं । इन्द्र सरका भाई गोकर्ण जेठानबाट फोनमार्फत् घोराहीमा शव ल्याउन लागिएको जानकारी पाएपछि हामीले ती सबै घटना पत्याउन कर लाग्यो । मन बाँधेर पख्र्यौं । एकैछिनपछि उहाँको मृत शरीर आफ्नै आँखाअघि ल्याइएपछि पत्याउन कर लाग्यो । मृत्युप्रति पूर्ण विश्वास गर्नु समयको बाध्यता थियो । घटना अनुसार खेवासे विद्यालयमा भैलो कार्यक्रममा सुरु गरेलगत्तै इन्द्र सर बिरामी हुनु भएछ । त्यस लगत्तै बेहोस हुनुभएका उहाँको होस फर्केन र थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बुटवलमा उहाँको मृत्यु भयो । त्यस घटनापछि इन्द्र सरलाई भौतिक रुपमा जो कोहीले पनि भेट्न पाएनौं ।

इन्द्र पुनलाई मैले २०५२/५३ सालतिर पहिलो पटक चिनेको थिएँ । बहुआयामिक क्षेत्रमा चिनिएका उहाँलाई कसैले शिक्षकका रुपमा चिन्थे । कसैले कलाकारका रुपमा चिन्थे । कसैले साहित्यकारका रुपमा चिन्थे । कसैले सामाजिक कार्यकर्ताका रुपमा चिन्थे । तर मलाई लाग्छ, स्वर्गीय इन्द्र बहु क्षेत्रमा परिचित व्यक्ति हुनुहुन्थ्यो । बहु प्रतिभाशाली व्यक्तिका रुपमा उहाँले आफ्नो पहिचान र परिचय बनाइसक्नु भएको थियो । म जन्मेको जुगार गाविससँगै सीमा जोडिएको अर्को गाविस गैरीगाउँमा उहाँको जन्म भएकाले पनि हामीहरुबीच चिनजान र परिचय पहिल्यै हुनु स्वभाविक थियो ।

२०५२/५३ तिर उहाँ पश्चिमी रोल्पाको जुगारमा दोहोरी गाउन जानुभएको बेला मैले नजिकबाट उहाँलाई चिन्ने अवसर पाएको थिएँ । जुगार २ को शिव गुफामा लाग्ने मेलामा पहाडी कल्याण संघका तर्फबाट प्रतिनिधित्व गरेर उहाँको समूह गएको थियो । त्यस कार्यक्रममा उहाँको समूह प्रथम भएको क्षण मलाई अहिले पनि स्मरणमा छ । त्यसपछि मैले उहाँ सहभागी हरेक सांस्कृतिक, सामाजिक, साहित्यिक र शैक्षिक कार्यक्रमलाई निकै नजिकबाट हेर्ने र बुझ्ने मौका पाएको थिएँ । उहाँ शिक्षक भएर खुमेलको खेवासे पुगेका बेला म लिबाङमै थिएँ र उहाँलाई थप गहिरो रुपमा बुझ्ने मौका पाएँ । पछि उहाँले अघि सारेको विद्यालयको सुधार योजना हेर्न खेवासे पनि पुगेँ । त्यो निकै सफल भयो । विद्यालय स्थापना गरेर मात्र हैन, कसरी स्रोत साधन जुटाउने, स्थानीयको सहभागिता कसरी बढाउने र आन्तरिक सहमति कसरी निर्माण गर्ने भन्ने बारेमा उहाँलाई राम्ररी थाहा थियो । यस्तै गुणले उहाँ गतिलो शिक्षक र सामाजिक अभियन्ताका रुपमा उदाहरण बन्नुभयो । खेवासे विद्यालयको चर्चा पनि शिखरमै पुग्यो ।

एउटा विद्यालय वास्तवमै ‘विद्यालय’ जस्तो हुनुपर्छ भन्ने उहाँ संलग्न कार्यले देखाइसकेको छ । उहाँ संलग्न भएको त्यो ‘शैक्षिक जग’ अहिले पनि खेवासेवासीका लागि प्रेरणा बनेको छ । अहिले स्थानीयले उहाँको संलग्नता भुल्न सकेका छैनन् । एक पटक उहाँ विद्यालयमै छँदा म लगायतका पत्रकार, शिक्षाप्रेमी र सरकारी अधिकारीसहितको टोली त्यहाँ पुग्दा पनि यस्तो लागेको थियो । शिक्षक, अभिभावक र विद्यार्थी मिलेर शैक्षिक सुधार गर्न सजिलै सकिन्छ भन्ने प्रमाण पेश गर्दै उहाँले भन्नुभएको थियो, ‘म यो विद्यालयमा सम्पूर्ण बुद्धि र सामथ्र्य लगानी गर्छु । एउटा शक्तिशाली सामुदायिक विद्यालय स्थापना गर्नेछु ।’ हुन पनि त्यो विद्यालयले जिल्लामै नाम कमाएको छ । जसलाई खेवासे मात्र हैन सम्पूर्ण जिल्लाले नै सम्झिरहेका छन् । शिक्षाको एउटा बलियो जग बसाइएको छ ।

इन्द्रले रचना गरेका ‘चिनारी’ (२०५५) र ‘रुमाल साटेर’ (२०५६) जस्ता दुई वटा गीति संग्रह छन् । स्वर्गीय इन्द्रका ‘उसको यात्रा’ (२०६०) कविता, ‘स्पन्दन’ (२०६०) गजल, ‘व्यथित कथा’ (२०६१) कविता र ‘जिजीविषा’ गजल संग्रह पनि प्रकाशित छन् । मृत्युअघिसम्म करिब आधा दर्जन पुरस्कार पाएका इन्द्र दर्जन जति सामाजिक संघ–संस्थामा संलग्न हुनुहुन्थ्यो । बहु प्रतिभामा दक्षता राखेका इन्द्रलाई हामीले सामाजिक सुधारक, सांस्कृतिक अभियानकर्ता, शैक्षिक सुधारक, मानवअधिकारकर्मी तथा साहित्यिक व्यक्तित्वका पक्षबाट चिन्न र बुझ्न सक्छौं । तर उहाँको मृत्युले समाजलाई अपुरणीय क्षति पु¥याएको महसुस सबैले गरेका छन् ।

एउटा गतिलो शिक्षक, साहित्यिक स्रष्टा, सांस्कृतिक अभियानकर्ता र सामाजिक कार्यकर्ताका रुपमा स्वर्गीय इन्द्र यात्रीलाई हामीले सम्झिरहनु पर्छ । दुर्गम जिल्लाको दुर्गम गाउँ गैरीगाउँमा जन्मेर पनि ४० वर्षको उमेरभित्रै उहाँले जिल्लालाई महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । मुटु जस्तो शरीरको महत्वपूर्ण अङ्गको शल्यक्रिया गरेर पनि उहाँले बाँच्दासम्म गर्नुभएको कार्यले समाजका लागि अवश्य नै फाइदा पु¥याएको छ । त्यसैले एउटा गतिलो र गर्विलो पुत्रका रुपमा सिंगो रोल्पाले उहाँलाई सम्झना गरिरहनु पर्छ भन्ने मेरो बुझाई छ । मानिसले एक पटक जन्म ल्याई आएपछि केही महत्वपूर्ण कार्य पनि गर्न सक्नुपर्छ भन्ने शिक्षा इन्द्रको जीवनबाट सिक्न सकिन्छ ।

मुटुको अपरेशनपछि पनि निरन्तर शिक्षण पेशामा लाग्दै आएकी मेरी पत्नी आशाले इन्द्र सरको शैक्षिक योगदानबारे स्मरण गर्दै भन्छिन्–सरकारले अलि सुगम ठाउँमा उहाँको दरबन्दी पारिदिएको भए उहाँको मृत्यु नहुन सक्थ्यो । सम्भवतः आफू पनि मुटुकै बिरामी भएर होला, दिनभरि चकको धुलो मुखमा पर्ने, उत्तिकै बोल्नुपर्ने र दुर्गममा बसेर पेशालाई मर्यादित बनाउनु पर्ने बाध्यताले इन्द्र लामो समय बाँच्नबाट बञ्चित हुनु परेको आशाको निष्कर्ष छ । हुन पनि हो, सामान्य सुविधाबाट टाढा भएका, फाइदा र नाफाको पछि कुद्न नचाहने र सबैतिर पहँुच नभएकाहरुले ‘इन्द्रको जस्तो नियति’ भोग्नुपर्ने दिन अझै गएका छैनन् । न त राज्यले यसबारे सोच्छ न त स्थानीय देखि माथिल्लो निकायमा रहेका ‘अगुवाहरुले’ यी र यस्ता विषयहरुलाई गम्भीरतापूर्वक लिएका छन् ।

अन्तमा, स्वर्गीय इन्द्रको जीवनी र उहाँबारे सम्पूर्ण जानकारीसहित रोल्पाको साहित्यिक संस्था ललित साहित्यिक परिषद्ले केही वर्षअघि स्वर्गीय इन्द्रबारे पुस्तक प्रकाशित गरेको छ । त्यस कार्यसँग आवद्ध सम्पूर्ण साथीहरु धन्यवादका पात्र छन् । जिल्लामा महत्वपूर्ण योगदान पु¥याउने एक असल ‘पुत्र’ इन्द्र यात्रीबारे खोजी गरी पुस्तक नै छाप्नु पक्कै पनि सानो कार्य हैन । जो जसले आफ्नो क्षेत्रबाट पहल गर्नुभयो, सबैलाई समयले भुल्न सक्दैन । यस खालका कार्यले आउँदो पुस्तालाई नयाँ गोरेटो देखाइदिन सहयोग पुग्नेछ । स्वर्गीय इन्द्र यात्रीप्रति हार्दिक श्रदा सुमन अर्पण गर्दछु ।

twitter : @KashiRamDangi

By

Readers Comments (0)