Filed Under:  सौगात विशेष

एउटा उभारको उल्लासमय अन्त्य !

19th September 2015   ·   0 Comments

Narendra cmyk- नरेन्द्र केसी

– २००७ फागुन ७, राजा त्रिभुवनद्वारा विधानसभाको चुनावद्वारा संविधान लेख्ने घोषणा ।
– २०५७ माघ, माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनद्वारा संविधानसभाको एजेण्डा पारित ।
– २०६२ मंसिर ७, सात दल र माओवादीबीच १२ बुँदे समझदारी ।
– २०६२ चैत २४, दोस्रो जनआन्दोलन आरम्भ ।
– २०६३ बैशाख ११, दोस्रो जनआन्दोलन सम्पन्न, लोकतन्त्र स्थापना ।
– २०६३ असार २, सरकार र माओवादीबीच ८ बुँदे सहमति, माओवादी शीर्ष नेता सार्वजनिक ।
– २०६३ मंसिर ५, बृहत शान्ति सम्झौतामा हस्ताक्षर ।
– २०६३ माघ १, अन्तरिम संविधान जारी ।
– २०६४ चैत २८, पहिलो संविधानसभाको चुनाव ।
– २०६५ जेठ १५, संविधानसभाको पहिलो बैठकमार्फत राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणा ।
– २०६९ जेठ १४, पहिलो संविधानसभा भंग ।
– २०७० मंसिर ४, दोस्रो संविधानसभाको चुनाव ।
– २०७० माघ ८, दोस्रो संविधानसभाको पहिलो बैठक ।
– २०७२ भदौ ३०, संविधानसभाबाट संविधान पारित ।
– २०७२ असोज ३, संविधानसभाबाट संविधान जारी (अब एक दिन बाँकी) ।

savasadहाम्रो पुस्ताका लागि मुखाग्र यी तिथिमिति भावी पुस्ताका लागि निकै कष्ट गरेर कण्ठस्थ गर्नुपर्ने इतिहास हुन् । दशक लामो पट्यारलाग्दो अन्योल र निराशालाई चिर्दै नेपाली इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान बनेको छ । भोलि असोज ३ गते नेपाली इतिहासमा एउटा त्यस्तो दिन हुनेछ, जुन दिन नेपालकै इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान जारी हुने छ । यसमा आलोचना र विरोधका स्वर पर्याप्त छन् तथापि इतिहास भनेको इतिहास हो, जो कसैले चाहेर पनि खारेज गर्न सकिदैन ।

***

baishakh 11-001आजको संविधानसभा भोलिको इतिहास हो । के संविधानसभाको इतिहास त्यति सजिलै तयार भएको हो ? एकैछिन २०६३ बैशाख १० गतेको दाङ घोराहीको दृश्य सम्झौं । नागरिक समाज दाङको संयोजनमा त्यस दिन घोराहीमा ठूलो संख्यामा राप्तीबासी ओइरिएका थिए । तत्कालीन नेकपा माओवादीको आव्हानमा राप्तीका हरेक घरबाट जनता नांगा खुट्टा पैदल हिडेर घोराही पुगेका थिए । त्यसको भोलिपल्ट हामीले यस्तो समाचार लेखेका थियौं :

दाङ, १० बैशाख । संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्र स्थापनाको माग गर्दै राप्ती अञ्चलका साढे दुई लाखभन्दा बढी जनताले आइतवार दाङको सदरमुकाम घोराहीमा अभूतपूर्व प्रदर्शन गरेका छन् । नागरिक समाज दाङलगायत दुई दर्जनभन्दा बढी संघसंस्थाको आव्हानमा ‘धोकापूर्ण’ शाही सम्बोधनको बिरोध तथा दलहरुलाई सम्झौतामा नफस्न सजग बनाउँदै सो प्रदर्शन गरिएको हो । दाङका अधिकांश गाउँहरु तथा रोल्पा, रुकुम, सल्यान र प्युठान समेतबाट आएका जनताले गगनभेदी नारा लगाउँदै घोराही बजार ढाक्ने गरी प्रदर्शन गरेका थिए ।

रोल्पाको थवाङ, भावाङ, खुंग्रीलगायतका स्थानबाट आएका ५० हजार भन्दा बढी जनता मसिनाको गाउँ हुँदै बजार प्रवेश गर्दा त्यस क्षेत्रका जनताले ‘लोकतान्त्रिक योद्धाहरुलाई स्वागत’ लेखिएका स्वागतद्वार खडा गर्नुका साथै ताली बजाउँदै घरका छतछतबाट पानी छर्केर स्वागत गरेका थिए ।

***

दोस्रो जनआन्दोलनको क्रममा २०६३ बैशाख १० गते घोराहीमा उर्लेको जनसागर

दोस्रो जनआन्दोलनको क्रममा २०६३ बैशाख १० गते घोराहीमा उर्लेको जनसागर

यो उभार र ऊर्जाको मूल आधार निसन्देहः एक दशकसम्म चलेको माओवादी जनयुद्ध थियो । राजनीतिको ‘र’ नजानेकाहरु स्वयं राजनीतिको नेतृत्व गर्ने तहमा पुगे । अधिकारको ‘अ’ नसुनेकाहरु स्वयं अधिकार दिने र लिने तहमा पुगे । सधैं अर्काका लागि औजार बनाउने दलितहरु आफै बम बारुद बनेर सरकारी अड्डामा पड्किए । जमिन्दारको खेतबारीमा जीवन अर्पेका थारुहरु खेतबारीमा मात्र होइन, राज्यसत्तामा समेत साझेदारी खोज्दै आन्दोलनको ज्वाला बनेर निस्के । सत्ताबाट पाखा लगाइएका आदिवासी जनजातिहरु आफ्नो इतिहास खोज्दै जुर्मुराए । आधा हिस्सा ओगटेर पनि दोस्रो दर्जाको नागरिकमा झारिएका महिलाहरु पिठ्यूँमा लालाबालासहित कम्मरमा खुकुरी र हातमा बन्दुक लिएर हिडे । विद्यार्थीहरु कापी कलम थन्काएर बिद्रोहमा जुटे । गाउँमा कखरा पढाउँदै चेतनाको दियो सल्काउने गुरुहरु अधिकार र चेतनाको दियो बाल्दै संघर्षमा होमिए । काठमाडौंको खाल्डोबाट ठगिएका कर्णाली र राप्तीका पहाडहरु जुलुस बनेर राजमार्गमा पोखिए । गाउँका गाउँ युवाविहीन भए तर बिचलित भएनन् बाआमाहरु । आँखै अगाडि बाआमा मारिदा डग्मगाएनन् लालाबालाहरु । घरहरु खरानी बने, गाउँहरु रित्ता भए तर पनि रुकेन अधिकारको आवाज ।

***

राप्ती आफैमा बिम्ब बनेको छ यो बेला । कहिल्यै नाम नसुनिने रोल्पा, रुकुमका पहाड र राप्तीका बेसी फाँट यो कालमा सबैभन्दा धेरै पढिए र सुनिए । देशकै तुफानी केन्द्र बन्यो राप्ती । बागमती, कोशी र गण्डकीमा पानी बगिरहँदा राप्तीमा रगत बगिरहेथ्यो एकनास ! देखिन्थ्यो जताजतै लाशैलाश । ड्यामड्याम गोलीका आवाजसँगै दाङको बर्गदी, फूलबारी र गोल्टाकुरीमा थुपारिएका गरीब किसानका लाश होऊन् या रोल्पाको भावाङ र सुकीदहमा गाडिएका सामूहिक चिहान । राप्ती नराम्ररी रोएको छ । राप्तीको पानीसँगै रगत र आँसु पनि बरोबर बगेको छ । यही रगत, आँसु र पसिना फेरियो संविधानसभामा । त्यसैले त यो हजारौं सपनाको संग्रह हो । संविधानसभाबाट संविधान बन्दा यीमध्येका कति सपना पूरा हुन्छन् र कति बाँकी रहन्छन् ? यो प्रश्नको जवाफ निरन्तर खोजिरहनुपर्छ ।

***

यो ऐतिहासिक कालखण्डमा सञ्चारकर्ममा तैनाथ हामी आफैले पनि कम्तीका सास्ती व्यहोर्नुपरेन । यो अभूतपूर्व कालखण्डको साक्षी बनेका छौं हामी । नेपथ्यभित्र र बाहिरका दृश्यहरुको साक्षात्कार गर्ने मौका पाएका छौं हामीले । गाडी हिड्ने राजमार्ग ‘लाशमार्ग’ बनेका सचित्रण खबर लेख्न विवश भयौं यो बेलामा । भालुबाङ पूर्वको जंगलमा प्रहरी चढेको यात्रु बसमाथि बिद्रोहीले आक्रमण गरेपछि दिनभर राजमार्ग ‘लाशमार्ग’ बनेको घटना होस् या प्युठानमा माडी तरेर घाँस जाँदै गरेका महिलाहरु सेनाको आक्रमणमा परी नदीको किनारमा लाश बनेर लडेको दृश्य । जन–जनका मनहरु भत्भती पोल्ने घटना थिए यी । लाग्थ्यो, यी दृश्य नदेखिने दिन कहिले आउने होला ? कागजका पानाहरु टुक्रा–टुक्रा पारी मोजाभित्र लुकाएर युद्ध क्षेत्रका खबर बोकेर गाउँबाट शहर पस्दा लाग्थ्यो, गाउँ शहरका खबर खुलेआम लेख्ने दिन कहिले आउँछन् होला ? छापाका खबर बजार पुग्दानपुग्दै शुरु हुन्थ्यो चियोचर्चा । कति साथी ब्यारेक बन्दी बने, कतिले कुटाइ खाए ! यी घटनाबाट अवाक भएर नै देशको शान्तिपूर्ण निकासका लागि मागिएको थियो संविधानसभा ।

***

fde10e2b9426d9e1f94efccec63e20b2_Lसाढे छ दशकदेखिको सपना । १५ बर्षदेखिको राजनीतिक कार्यक्रम । आठ बर्षदेखिको राष्ट्रको सम्पूर्ण लगानी भएको क्षेत्र । हजारौं जनताको रगत र लाखौं जनताको पसिनाले सिञ्चिएको एउटा खेतबारी । बीच–बीचमा बन्दै भत्कदै गरेका सहमतिका पर्खालले घेरिएको एउटा सपनाको घर । कतिपय शक्तिका आँखामा फल नदिने आक्चे रुख । यस्तै–यस्तै बिम्बले चिनिने संविधानसभाको भोलिदेखि औपचारिक समापन हुँदैछ । संविधान बन्ने हो कि होइन ? नेपालमा पहिलोपटक प्रयोग गरिएको संविधानसभाको अभ्यास असफल पो हुने हो कि ? यस्तै–यस्तै प्रश्नहरुले घेरिएको संविधानसभाले सबै तारबार भत्काउँदै आफ्नो मिसन पूरा गरेको छ । त्यसैले भन्न सकिन्छ, संविधानसभाबाट संविधान बन्नु एउटा उभारको सुखान्त हो । ढिलै सही, संविधानसभा आफैमा त सफल भएको छ तर देशलाई सफलताको सिंढी चढाउन सक्छ कि सक्दैन, यसको फैसला निकट भविष्यले गर्नेछ ।

By

Readers Comments (0)